कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

५ दिन हिँडेर मतदान केन्द्र

गोरखा

काठमाडौँ — भौगोलिक हिसाबले विकट चुमनुव्री गाउँपालिकाका मतदान केन्द्रमा मतदान सामग्रीसहित कर्मचारी पुगेका छन् । चीनसँग सीमा जोडिएको चुमनुव्रीका मतदान केन्द्रमा कम्तीमा ५ दिन हिँडेर कर्मचारी र सुरक्षाकर्मी पुगेका हुन् । उनीहरूले साथमा मतपेटिका, मतपत्रलगायत निर्वाचन सामग्री बोकेर लगेका थिए ।

५ दिन हिँडेर मतदान केन्द्र

चुमनुव्री–१ सामागाउँस्थित साम्दोको निर्वाचन केन्द्र पुग्न सदरमुकामबाट कम्तीमा ५ दिन लागेको चुमनुब्री गाउँपालिकाका सहायक निर्वाचन अधिकृत भीमसेन श्रेष्ठले बताए । वडा–७ को छेकम्पारस्थित छुलेनिलेको मतदान केन्द्र पुग्न पनि कम्तीमा ४ दिन लागेको छ । सदरमुकामबाट वैशाख २३ मा चुमनुव्रीका लागि निर्वाचन सामग्री बोकेर कर्मचारी खटिएका थिए । ‘बेलाबेला झरी पनि परिरहेको छ, टाढाको बाटो कर्मचारीलाई मतदान केन्द्र समयमै पुग्न दबाब परेको छ,’ उनले भने । चुमनुव्रीमा २१ मतदान केन्द्र छन् । गाउँपालिकाको केन्द्र रहेको सिर्दिवास पुग्न कम्तीमा २ दिन हिँड्नुपर्छ ।

सिर्दिवास माथिका मतदान केन्द्र पुग्न भने कर्मचारीलाई ३ देखि ५ दिनसम्म लाग्छ । भौगोलिक हिसाबले विकटमा रहेको चुमनुव्री गाउँपालिकामा हेलिकप्टरमार्फत मतदान सामग्री पुर्‍याउन जिल्ला निर्वाचन व्यवस्थापन समितिले निर्वाचन आयोगसमक्ष अनुरोध गरे पनि स्वीकृत नभएपछि कर्मचारी पैदल नै त्यसतर्फ लागेका हुन् । मंगलबार साँझसम्म सम्बन्धित मतदान केन्द्र पुग्ने गरी कर्मचारी खटाइएको थियो । भौगोलिक हिसाबले दुर्गममा रहेको धार्चे गाउँपालिकामा पनि सोमबारबाट कर्मचारी मतदान सामग्रीसहित खटिएका छन् ।

जिल्लाभर ३१८ केन्द्रमा १ हजार ५१८ कर्मचारी खटाइएको छ । मतदान अधिकृत, सहायक मतदान अधिकृतसहितका कर्मचारी तथा नेपाल प्रहरी र म्यादी प्रहरी खटाइएको हो ।

प्रकाशित : वैशाख २८, २०७९ ११:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?