कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

मतदान केन्द्रमा खटिए कर्मचारी

मतदाता संख्याअनुसार कामको चाप र सुरक्षा संवेदलशीलता हेरी परिचालन

पोखरा — स्थानीय तह निर्वाचनका लागि गण्डकी प्रदेशका सबैजसो स्थानीय तहका मतदान केन्द्रमा खटिने कर्मचारी निर्वाचन सामग्रीसहित मंगलबार त्यसतर्फ लागेका छन् । मतपेटिका, परिचयपत्र, स्वस्तिक चिह्नलगायत सामग्रीसहित मतदात अधिकृतको नेतृत्वमा कर्मचारी र सुरक्षाकर्मी खटाइएको जिल्लास्थित निर्वाचन कार्यालयहरूले जनाएका छन् ।

मतदान केन्द्रमा खटिए कर्मचारी

तनहुँमा १३६ मतदानस्थलका २९७ मतदान केन्द्रमा खटिने मतदान अधिकृतलाई निर्वाचन सामग्री उपलब्ध गराइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट नियुक्ति पत्र बुझेर आएका कर्मचारीलाई सामग्री वितरण गरिएको निर्वाचन कार्यालय प्रमुख हरिप्रसाद ढकालले बताए । ‘६१ प्रकारका सामग्री वितरण गरिएको छ, जसमा मतपेटिका, परिचयपत्र, लाहाछाप, स्ट्याम्पलगायत छन्,’ उनले भने ।

जिल्लाभर कुल २ हजार ३ सय ७६ जना जनशक्ति परिचालन गरिएको छ । मतदानस्थलको सुरक्षा तथा मतदातालाई सुरक्षित, भयरहित वातावरणमा मतदान गर्ने वातावरण बनाउन पर्याप्त सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बताए । उनका अनुसार जिल्लाका ५ मतदानस्थललाई अति संवेदनशील, ३८ वटालाई संवेदनशीलमा राखिएको छ । जिल्लामा ९ वटा इलाका प्रहरी कार्यालय, १६ वटा प्रहरी चौकी र ४ वटा अस्थायी प्रहरी पोस्ट छन् । निर्वाचन सामग्री बुझेपछि सुरक्षा निकायको निगरानीमा कर्मचारीलाई सम्बन्धित मतदान केन्द्रसम्म लैजाने व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाले बताए । ‘मतदान केन्द्रमा खटिने सबै कर्मचारी मंगलबार बेलुकासम्म सम्बन्धित मतदान केन्द्रमा पुगिसक्ने छन्,’ उनले भने, ‘मतदान केन्द्रमा पुगेपछि सम्बन्धित ठाउँका दलसँग बैठक, मतदाता परिचयपत्र वितरण, मतदान केन्द्र निर्माणलगायत काम गर्नुपर्नेछ ।’

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ४ नगरपालिका र ६ गाउँपालिकाका ८५ वडाका ४४५ पदमा विभिन्न दल र स्वतन्त्र गरी १ हजार ६ सय ३७ उम्मेदवार चुनावी मैदानमा छन् । जिल्लामा १ लाख १७ हजार १ सय ३४ पुरुष र १ लाख २७ हजार २ सय ६ महिला गरी २ लाख ४४ हजार ३ सय ४० मतदाता छन् ।

जिल्ला निर्वाचन कार्यालय र प्रशासनले बागलुङमा ४० मतदान केन्द्रलाई संवेदनशील क्षेत्रमा राखेको छ । निर्वाचन सम्पन्न गर्न अप्ठ्यारो पर्न सक्ने स्थानलाई संवेदनशील घोषणा गरेर सुरक्षाकर्मीसमेत बढाइएको प्रमुख जिल्ला अधिकारी रमेश ढकालले बताए । ‘अघिल्ला निर्वाचन जस्तो राजनीतिक रूपमा अप्ठ्यारो त छैन, तर संवेदनशील भने छन्,’ ढकालले भने, ‘यो क्रम परिवर्तन भइरहन्छ ।’

जिल्लाका १०३ मतदानस्थलका २३० केन्द्रमा ७६९ कर्मचारी तथा प्रत्येक केन्द्रमा १५ जनाका दरले सुरक्षाकर्मी खटाइएको छ । संवेदनशीलता हेरेर हरेक केन्द्रमा सशस्त्र प्रहरीसमेत परिचालन भएको छ । प्रजिअ ढकालले आम नागरिकले ढुक्क भएर मतदान गर्न सक्ने गरी वातावरण तयार भएको बताए । ‘निर्धक्क भएर मतदान गर्नुहोला, संवेदनशीलता भएका स्थानमा पनि पर्याप्त सुरक्षा छ,’ उनले भने ।

‘नेपाली सेनाले बाहिरी घेरामा रहेर सुरक्षा दिन्छ, अन्य सुरक्षा प्रहरीले नै गर्ने हो,’ मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले भने, ‘अहिलेसम्म शान्तिपूर्ण रूपमा कार्यक्रम अगाडि बढेका छन् ।’ मंगलबारै जिल्लाका सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगिसकेको न्यौपानेले बताए । केन्द्रमा पुगेका मतदान अधिकृतले मंगलबार दिउँसो सार्वजनिक सूचना टाँस गरेका छन् । सर्वदलीय बैठक बसेर निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सूचना टाँस गरिएको मालिका मावि मतदान केन्द्रका अधिकृत डम्बरबहादुर जिसीले बताए ।

गणनास्थलमा तारजाली
पूर्वी नवलपरासीका ८ वटै स्थानीय तहका मतगणनास्थलमा सुरक्षाका लागि तारजाली लगाइएको छ । पालिका कार्यालयमा खडा गरिएका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तारजाली लगाइएको हो । गणनास्थलमा कर्मचारी र उम्मेदवारका प्रतिनिधिबाहेक अरूलाई प्रवेश निषेध गर्न र सुरक्षा व्यवस्था कडा पार्न तारजाली लगाइएको बताइएको छ ।

गणनास्थलमा सीसीटीभी क्यामेरासमेत जडान गरिएको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले बताए । मतपेटिका ल्याएपछि राख्ने स्थल र गणनास्थलको विशेष सुरक्षाका लागि निर्वाचन आयोगको निर्देशनअनुसार व्यवस्था गरिएको उनले जानकारी दिए । पूर्वी नवलपरासीका ९२ वटा वडामा शुक्रबार निर्वाचन हुनेछ । जिल्लाभर २ लाख ५४ हजार मतदाता छन् ।

पर्वतका मतदानस्थल अपांगतामैत्री
पर्वतमा पनि सबै मतदान केन्द्रका लागि कर्मचारी खटिएका छन् । मंगलबार मतदान अधिकृतसहित सबै कर्मचारी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नियुक्तिपत्र बुझेर मतदानका लागि आवश्यक सामग्रीसहित मतदानस्थलतर्फ लागेका हुन् । जिल्लाका ७४ मतदानस्थलका १४७ मतदान केन्द्रमा १४७ मतदान अधिकृत र त्यत्तिकै संख्यामा सहायक मतदान अधिकृत खटिएका हुन् । हरेक मतदान केन्द्रमा ५ जनाका दरले कर्मचारी खटाइएको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले बताए ।

उनका अनुसार हरेक मतदान अधिकृतले आवश्यकता हेरी ३ जनासम्म स्वयंसेवक नियुक्ति गर्न सक्नेछन् । यसपटक मतदाता शिक्षासमेत कर्मचारीले नै दिनुपर्ने भएकाले कर्मचारीलाई कामको चाप बढी हुनेछ ।

यस पटक जिल्लाका सबैजसो मतदान केन्द्र र मतदानस्थल अपांगतामैत्री हुने निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला सुरक्षा समितिले मतदानस्थलको संवेदनशीलतालाई आधार बनाएर निर्वाचन सुरक्षाको व्यवस्थापन गरेको जनाएको छ । पर्वत प्रहरी प्रमुख डीएसपी शिवराज बुढाथोकीका अनुसार केन्द्रको अवस्था हेरी ८ देखि २१ जनासम्म सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्लाका ७४ मतदानस्थलमध्ये ३५ अति संवेदनशील, ३१ संवेदनशील र ८ सामान्य निर्वाचनस्थलका रूपमा विभाजन गरेर सुरक्षाकर्मी परिचालन गरिएको छ ।

- सम्झना रसाइली (तनहुँ), प्रकाश बराल (बागलुङ), अगन्धर तिवारी (पर्वत) र नारायण शर्मा (पूर्वी नवलपरासी)

प्रकाशित : वैशाख २८, २०७९ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?