कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेवास्तामा परेको मुस्लिम बस्ती

प्रकाश बराल

बागलुङ — निर्वाचनमा खानेपानी ल्याइदिन्छु भन्दै भोट मागेका नेताले वास्ता नगरेको यहाँका बासिन्दाले गुनासो गरेका छन् । नजिकमा पानीको स्रोत नभएपछि बागलुङ–१२ अमलाचौरका मुस्लिम समुदायले टाढाबाट पानी बोक्न बाध्य छन् । उनीहरूले दैनिक एक घण्टा परबाट पानी खेपेर खानु परेको गुनासो गरे । यहाँका २० घर मुस्लिम मुख्य बस्तीभन्दा पर छन् ।

बेवास्तामा परेको मुस्लिम बस्ती

सडकसमेत अप्ठ्यारो छ । गिठेदेखि कुम्मीसेरातर्फ जाने सडक खन्दा बस्ती पनि जोखिममा परेको छ । गाउँमा विकास ल्याइदिन्छु भन्दै भोट मागेकाले अझै पनि काम नगरिदिएको स्थानीय महम्मद इशुप मियाँले बताए ।

नजिकमा पानी नभएपछि ७० वर्षका वृद्धले पनि गाग्रीमा पानी खेप्न बाध्य भएको बताए । खाने र सरसफाइका लागि दैनिक ५ देखि ७ पटक पानी खेप्नुपर्ने उनीहरूको बाध्यता छ । अमलाचौरको बनबोटको मुस्लिम बस्तीका अहिम मियाँ, मुनिर खाँ, मोहमत जानलगायतले बुढ्यौलीमा पनि पानी खेप्न बाध्य भएको बताए । यहाँ नजिकमा पानी छैन । खोल्सामा पुगेर खेप्ने बाध्यताबाट उनीहरूले अहिलेसम्म छुटकारा पाउन नसकेको गुनासो गरे । नियारमारेको पुरानो मुहानबाट उनीहरूले पानी खेपीरहेका हुन् । पुरानो ट्यांकी समेत फुटेकोले सुक्खा मौसममा पानीको हाहाकार पर्ने गरेकोमा भोट मागेर जानेहरूले विकासका लागि वास्ता नगरेको गुनासो गरे ।

उपभोक्ता समिति गठन गरेर जाँदा नगरपालिकाले बजेट विनियोजन नगरेको, विनियोजन भएको सानो रकम पनि भुक्तानीमा समस्या परेको उनीहरूले गुनासो गरे । चौबिसे राजाको पालादेखि यहाँ बसेका मुस्लिम आदिवासी हुन् । २०६३ को राजनीतिक परिवर्तनपछि आदिवासी, लोपोन्मुख र दलितको अधिकारबारे धेरै बहस भए पनि यो बस्तीमा परिवर्तनको अनुभूति नआएको अधिकांशको गुनासो छ । मुस्लिममध्ये पनि हुने खाने कुश्मा र बागलुङ बजार पसेका छन् । यहाँ स्थायी बसोबास गर्नेलाई दैनिकी कटाउन सधैं सास्ती छ । वर्षौंदेखि खानेपानीको योजना माग गरे पनि सुनुवाइ नभएको महमदले बताए । ‘चुनाव आउँदा मुस्लिम बस्तीमा खानेपानी ल्याइदिने, सडक बनाउने र सिँचाइको व्यवस्था गर्ने भन्दै नारा लगाउँछन्,’ उनले भने, ‘अहिले कोही फर्केर आएका छैनन् ।’ यहाँ खानेपानीसहित सिँचाइको समेत अभाव छ । सिँचाइ अभावमा किसानले खेती लगाउन नसकेको गुनासो गरे ।

मुख्य बस्तीदेखि १ किमि परको दूरीमा रहेको मुस्लिम बस्ती बेवास्तामा परेको स्पष्टै देखिन्छ । गाउँभरि सडकको सञ्जाल खनिए पनि यो बस्ती जाने बाटो जीर्ण छ । यहाँ रहेको मदरसा बाँसका खपटाले बारेको छ । २० जना बालबालिका पढ्ने यो विद्यालयका लागि १ जना मात्रै शिक्षक छन् । यहाँ एउटा मस्जिद छ । वर्षौंअघि बनेको यो मस्जिदको मर्मत गर्नसमेत बजेट अभाव भएको उनीहरूले बताए । ‘सरकारी खर्चले केही वर्षअघि चिहानघाट बनाएका थियौं, अरू सेवा सुविधा पाएका छैनौं’, मियाले भने, ‘योजना कहिले बन्छ, कहिले बजेट आउँछ भन्ने हामीले थाहा पाउन सकेका छैनौं ।’ धार्मिक पर्वमा गरिने ध्यान, पूजाका लागि व्यवस्थापन खर्च पनि उनीहरूले नपाएको गुनासो गरे ।

प्रकाशित : वैशाख २०, २०७९ ११:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?