२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

वर्षाले किसानलाई राहत

अगन्धर तिवारी

पर्वत — लामो समयको खडेरीपछि शनिबार र आइतबार पर्वतका बिभिन्न स्थानमा भएको वर्षाले किसानलाई राहत भएको छ । गहुँ, फापर, तोरीलगायत बाली भित्र्याउने र मकै तथा बेमौसमी तरकारी रोप्ने समयमा वर्षा भएपछि किसान उत्साहित छन् । हिउँदको समयमा खोलानालामा पानीको सतह घट्ने, पानीका मूल पनि सुक्ने हुँदा लेकाली बस्तीमा सिँचाइको अभाव हुन्छ । हिउँदे वर्षा भएमा मात्रै मकै खेती गर्ने किसानका लागि २ दिनसम्म लगातार परेको वर्षाले राहत मिलेको छ । सुक्खा खेतबारी वर्षाले भिजेपछि किसान खेतबारी खनजोत गरी तरकारी तथा मकै बाली लगाउन व्यस्त छन् ।

वर्षाले किसानलाई राहत

आसन्न निर्वाचनलाई लक्षित गरी किसान त्यसअघि नै खेती लगाएर सक्ने तयारीमा छन् । समयमा वर्षा नभएकै कारण विगत वर्षमा वर्षे धान लगाएपछि हिउँदभर बाँझै रहने ठूलीपोखरी, खौला, आर्थर, थापाठाना, शंकरपोखरी, मुडिकुवा, खानीगाउँ, लिमिठानाका किसान बाँझो रहने जमिनको उपयोग गरेर मकैबाट आम्दानी लिने आसमा छन् । ‘धेरै वर्ष खडेरी परेर खेती नै भएन । दुःख उठाउनै मुस्किल थियो,’ कुश्मा–१३ का सुरेश परियारले भने, ‘अहिले माघमा पानी परेर गहुँ राम्रो फल्यो । अहिले मकै रोप्ने समयमा पनि बेलैमा पानी पर्‍यो । असिना नआइदिए राम्रै हुन्छ ।’

‘पहिला जति लगाए पनि खाइखेती मात्रै हुन्थ्यो,’ लिमिठानाका विजय पौडेलले भने, वर्षा राम्रो हुँदा उन्नत जातको मकैले राम्रो उत्पादन दिएको छ ।’ उत्पादित मकैको बजारीकरण, उन्नत जातको बीउबिजन, मकै लगाउने उन्नत प्रविधि, यान्त्रिक हलो, भण्डारण, सिँचाइलगायतका सहजताले मकै खेतीको उत्पादन बर्सेनि बढिरहेको कृषि ज्ञानकेन्द्र पर्वतले जनाएको छ ।

चैतको दोस्रो सातादेखि रोप्न सुरु गर्ने बारीको मकै यसपालि दुई साता ढिला भएको किसान बताउँछन् । तर, ढिला रोपेको मकै हरियो बिक्री गर्न सहज हुने ठूलीपोखरीका एकनारायण केसीले बताए । सिजनको मकै असारको अन्तिम सातासम्म पाकिसक्छ । बेसिजनमा रोपेको मकै साउनमा हरियो बिक्री गर्न पाइने भएकाले राम्रो मूल्य पाइने उनले बताए । पर्वतमा मकै खाद्यान्नको साथै गाईबस्तुलाई खुवाउनमा समेत प्रयोग हुँदै आइरहेको छ । त्यसबाहेक बीउका रूपमा पनि बिक्री गर्ने व्यवस्था मिलाइएको कृषि ज्ञानकेन्द्र प्रमुख मनिता थापाले बताइन् ।

फलेबास–४ स्थित सामुदायिक खाद्य प्रशोधन उद्योगले २ वर्षअघिदेखि मकैको प्रशोधन गरेर विभिन्न परिकार बनाउन थालेको छ । भुटेका मकै, च्याख्ला, पिठो, सातुलगायत परिकार उत्पादन गर्न थालिएको उद्योगका सञ्चालक थानेश्वर भुसालले बताए । मकैका परिकारमा उपभोक्ताको आकर्षण बढेपछि प्रशोधन थालिएको उनले जनाए ।

प्रकाशित : चैत्र ३०, २०७८ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?