२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४३

जोमसोममा ४० वर्षयताकै अधिक वर्षा

यो वर्ष १४१ प्रतिशत बढी वर्षा
फलफूल, तरकारीमा असर
माटोका छानाका घर फेरिँदै 
दिनेश रेग्मी

जोमसोम — मुस्ताङको सदरमुकाम जोमसोम र आसपासका क्षेत्रमा यसपालि ४० वर्षयताकै अधिक वर्षा भएको छ । जोमसोममा प्रतिवर्ष औसत २७६.५ मिलिमिटर (मिमि) वर्षा हुने गरेकामा यो वर्ष ६६५.७९ मिमि वर्षा भएको हो । हिमालपारिको यो जिल्ला देशमै सबैभन्दा कम पानी पर्ने जिल्ला भनेर चिनिन्छ ।

जोमसोममा ४० वर्षयताकै अधिक वर्षा

जल तथा मौसम विज्ञान विभागका अनुसार यो वर्ष सदरमुकाम जोमसोममा औसतभन्दा ३८९.९ मिमि बढी वर्षा भएको छ । यो वर्ष औसत वर्षाको तुलनामा १४१ प्रतिशत अधिक वर्षा भएको हो । स्याउको राजधानी मानिने मार्फामा पनि अन्य वर्षभन्दा यसपालि बढी वर्षा भएको छ । वर्षा वृद्धि भएसँगै मुस्ताङमा फलफूल, तरकारी, जनजीवनलाई समेत असर पारेको स्थानीय बताउँछन् ।

विभागले मुस्ताङका ८ वटा हावापानी केन्द्रबाट पूर्ण प्रतिवेदन प्राप्त नभइसकेकाले मुस्ताङभरिको रेकर्ड तयार गर्न नसकेको जनाएको छ । विभागका अनुसार जोमसोममा हरेक वर्ष २.८ मिमिका दरले वर्षामा वृद्धि भएको छ । ‘सन् १९८१ देखिको रेकर्ड हेर्दा जोमसोममा २०७७ पुसदेखि ०७८ पुससम्ममा परेको पानी रेकर्ड ब्रेक नै हो,’ वरिष्ठ मौसमविद् डा.इन्दिरा कँडेलले कान्तिपुरलाई भनिन्, ‘यो हाम्रा लागि पनि विस्तृत अनुसन्धान गर्नुपर्ने विषय भएको छ ।’

विभागको रेकर्डअनुसार जोमसोममा यो वर्ष सबैभन्दा बढी पानी असार ४ मा ४१ मिमि परेको थियो भने असार ५, असार २ र असार १ मा क्रमशः बढी वर्षा रेकर्ड गरिएको थियो । ५औं बढी वर्षा कात्तिक २ मा २४.५ मिमि भएको थियो । जोमसोम निवासी पूर्वस्वास्थ्यकर्मी सकबहादुर लालचनले बेमौसममा यसपालि सबैभन्दा ठूलो वर्षा भएको अनुभव गरे । ‘मेरो बाउबाजेले पनि यस्तो वृष्टि भएको सुनाएका थिएनन्, यो वर्ष अचाक्ली भयो,’ ६३ वर्षीयले लालचनले भने । यसपालि असोज मसान्तदेखि कात्तिक ४ सम्म लगातार पाँच दिन परेको सिमसिमे वर्षाले मुस्ताङका कतिपय ठाउँ हिलाम्मे भएका थिए । खोलानाला पनि बढेका थिए । ‘पाँच दिनसम्म पानी पर्नु अप्रत्याशित थियो, अझै एक दिन थपिएको भए ठूलै क्षति हुन्थ्यो,’ जोमसोमका व्यवसायी चन्द्रबहादुर थकालीले भने, ‘वर्षाले मार्फा खोला बढेर आवतजावतमै बाधा पारेको थियो ।’ कृषि ज्ञान केन्द्र, मुस्ताङका निमित्त प्रमुख प्रकाश बस्ताकोटीले वर्षाका कारण मार्फामा स्याउ उत्पादन घटेको बताए । ‘मार्फामा यसपालि उत्पादन आधा कम भएको छ,’ बस्ताकोटीले भने, ‘दाना सानो र गुणस्तर पनि कम भो ।’ उनले बढी वर्षा, झरी, घाम नलाग्ने कारणले स्याउमा स्क्र्याप (दादे) रोग देखिएको बताए । जिल्लामा गत वर्ष ५१ सय मेट्रिकटन स्याउ उत्पादन भएकोमा यसपालि ५५ सय ४० मेट्रिकटन स्याउ उत्पादन भएको छ । मौसम विभागका अनुसार जोमसोममा सन् २०२१ पछि २०१५ को सर्वाधिक वर्षा भएको रेकर्ड छ । सन् २०१५ मा ४०८ मिमि वर्षा भएको थियो । त्यसअघि सन् २०१३ मा ३९४ मिमि, सन् १९९६ मा ३६४.४ मिमि र सन् १९८३ मा ३६४.२ मिमि पानी परेको थियो ।

मुस्ताङका पूर्वस्वास्थ्यकर्मी लालचनले वर्षाका कारण मुस्ताङको तल्लो क्षेत्र टुकेचे, मार्फा, जोमसोम, कागबेनीसम्म तीव्र गतिमा घरहरू ढलान हुन थालेको बताए । उनी आफैंले पनि जोमसोममा माटोको छाना भएको घरलाई टिन हालेर छोपेका छन् । मार्फास्थित शितोष्ण बागबानी विकास केन्द्रले वर्षा र तापक्रम वृद्धिबाट मुस्ताङमा स्याउ तथा तरकारी उत्पादनमा प्रतिकूल असर भएको जनाएको छ । यस्तै, कात्तिक २७ मा मुस्ताङको थासाङ–२ कोबाङमा ठूलो हिमपहिरो गएपछि मौसम विभागले प्रारम्भिक अध्ययन विवरण निकालेको थियो । उक्त विवरणमा पनि औसतभन्दा बढी वर्षा भएको उल्लेख छ । हिमपहिरो गएको क्षेत्रबाट ८ किमि दक्षिणपूर्वस्थित थाकमार्फा हावापानी केन्द्रको औसत वार्षिक वर्षा ४१० मिमि छ । तर, सन् २०२० मा ५२९ मिमि र २०२१ मा ६ सय ५५ मिमि वर्षा भएको थियो, जुन औसतभन्दा बढी हो । विभागले ३० वर्षको आधारमा सरदर वर्षा दर निकाल्ने गरेको छ ।

प्रकाशित : फाल्गुन २९, २०७८ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?