कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

कोभिड बिरामीको गाउँमै उपचार

बागलुङ

बागलुङ — ज्वरोसँगै श्वासप्रश्वासमा समस्यापछि परीक्षण गराउँदा २६ वर्षीय धनबहादुर पुनलाई गत असोजमा कोरोना पोजिटिभ देखियो । काठेखोला–४ तंग्रामका उनी संक्रमणपछि धौलागिरि अस्पतालमा २ सातासम्म उपचार गराए ।

कोभिड बिरामीको गाउँमै उपचार

तर निको नभएपछि पोखराको गण्डकी अस्पताल रिफर गरिइए । त्यहाँ पनि साढे दुई महिना बस्दा पनि अवस्था झन कमजोर बन्यो । एक महिना भेन्टिलेटरमा बस्दा पनि ठीक नभएपछि चिकित्सकले काठमाडौं लैजान सल्लाह दिएका थिए । अक्सिजन लेबल ३५ प्रतिशतमा झरेपछि बाँच्ने आशा कमजोर बन्दै गयो । परिवारले काठमाडौं लैजानुभन्दा गाउँकै ताराखोला गाउँपालिकाको कोभिड अस्पतालमा फर्के । यसअघि सहरका अस्पतालमा निको नभएका कोभिड बिरामी उक्त अस्पतालबाट स्वस्थ भई घर फिरेका थिए ।

गाउँपालिकाले संचालन गरेको उक्त अस्पतालमा पुन २ महिना उपचारमा बसे । गाउँपालिकाले निःशुल्क खाना र खाजा खुवायो । स्थानीय आमा समूहले बनाएका जौ, गहुँ र कोदोका परिकार खाएर उनी तंग्रिए । अहिले भने उनको अक्सिजन लेबल ९० भन्दा माथि छ । ‘बाँच्ने आस नै मारेका थिए, अहिले पुरानै अबस्थामा फर्केका छन्’ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख उदित थापाले भने, ‘अहिले हिडेरै घर गए ।’ उनको मृगौलामा पथ्थरी भएकोले कोभिडले पनि बढी सताएको थापाले बताए । पुन गत आइतबारमात्र घर फर्किएका हुन् ।

कोभिड अस्पतालमा बस्दा थापासहितका बिरामीलाई स्वास्थ्यकर्मीले दैनिक योगा र ध्यान गराउँथे । प्राकृतिक उपचार पद्दतिले धेरै रोग निको भएको थापाले बताए । पुनलाई पनि प्राकृतिक उपचार, गाउँको हावापानी र अर्गानिक खानाले बचाएको उनको दाबी छ । अहिले घरमै अक्सिजन सिलिन्डर ल्याएर राखेका पुनले भने, ‘गाह्रो काम गर्न सक्दिन, घरको सामान्य काम गर्न थालेको छु ।’ उनको उपचार र नयाँ जीवन देखेर गाउँपालिका अध्यक्ष प्रकाश घर्ती दंग छन् । ‘हामीले जस पाएका हौं कि अर्गानिक खाना र प्राकृतिक उपचारले साथ दिएको हो, सफलता मिलेको छ’ घर्तीले भने, ‘धेरै समस्यामा परेका ताराखोला आएर निको भइ फर्केका छन् ।’ गाउँपालिकाले उपचारमा आएकालाई खानेबस्ने र उपचार निःशुल्क गराएको छ ।

प्रकाशित : फाल्गुन २९, २०७८ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?