२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

जनादेशी र परमादेशी शक्तिबीच लडाइँ छ : ओली

लालप्रसाद शर्मा

पोखरा — नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले सत्यको पक्षमा जनादेशी र असत्य शक्ति परमादेशीबीच लडाइँ चलेको अवस्था रहेको बताएका छन् । इतिहास र शास्त्रमा कहिले राम र रावण, कहिले कृष्ण र कंस त कहिले कौरव र पाण्डवबीच विभिन्न समयमा सत्य र असत्यको लडाइँ चलेको भन्दै उनले अहिले भने परमादेशी र जनादेशी शक्तिबीचको लडाइँ लड्नुपर्ने अवस्था आएको बताएका हुन् । 

जनादेशी र परमादेशी शक्तिबीच लडाइँ छ : ओली

‘आजको असत्यचाहिँ बडो रोचक ढंगले प्रकट भइरहेको छ‚’ पोखरामा मंगलबार पार्टी प्रवेश कार्यक्रममा बोल्दै ओलीले भने, ‘असत्यको प्रतिनिधित्व गर्ने शक्ति परमादेशी र जनताको जनादेशको पक्षमा जान खोज्ने; जनताको पक्षमा लड्ने शक्ति हामी सत्यको पक्षमा रहेका छौं ।’ महाभारतको लडाइँमा लड्न गएका अर्जुन धनुवाण फालेर रुँदै बस्दा कृष्णले ‘जसले तिमिमाथि प्रहार गर्दै छ‚ उसलाई आफन्त भन्ने भ्रम छाडेर युद्धमा होमिन’ आग्रह गरेको प्रसंग जोड्दै उनले नेता कार्यकर्तालाई सत्यको पक्षमा लड्न आह्वान गरेका हुन् ।

धेरै योद्धाहरूले अभिमन्यूलाई घेरेर मारेको उदाहरण दिँदै उनले सत्यको पक्षमा ल‍ड्दालड्दै पनि युद्धका नियम तोडिएको तर आफूहरू लडाइँ र खेलको नियम नतोडी प्रतिस्पर्धी ढंगले प्रस्तुत हुने दाबी गरे । महाभारतमा वर्णित युद्धको उदाहरण दिँदै उनले आजको सन्दर्भमा लोकतन्त्रका मूल्यमान्यता, आधारभूत नियम, सिद्धान्तअनुसार राजनीतिक मैदानमा उत्रिने बताए । परमादेशीहरूले सरकार ढल्ला भनेर नियम उल्लंघन गरेको भन्दै उनले सरकार नभई आफूहरूको गन्तव्य सुखी नेपाली र समृद्ध नेपाल रहेको जनाए ।

‘हामीले खोला, खोल्सी, फोहोर, नाली अनेक मिसायौं‚’ उनले भने, ‘त्यसले पानी कहिँकहिँ कालोकालो देखियो । त्यसको अवशेष अहिले पनि बाँकी छ ।’ एमालेमा लागेर पद र अवसर पाइनँ भन्ने गुनासो आएको भन्दै उनले सबैले अवसर पाउने दाबी गरे । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्न र सार्वभौमसत्ताको रक्षाका लागि एमालेले कुनै कसर बाँकी नराख्ने बताए ।

इतिहासको गौरव र स्वाभिमानलाई कायम राख्दै देशलाई नोक्सान पर्नेगरी कसैसँग व्यवहार, लेनदेन र क्रियाकलाप नगर्ने भन्दै उनले देशको हितमा मात्र काम गर्ने बताए । कार्यकर्तालाई बैंक लुट्ने, हातखुट्टा भाँच्ने, अपहरण गर्ने र कसैलाई मार्नेजस्ता गलत क्रियाकलापमा नलगाई राष्ट्र निर्माणमा लगाउने उनले जनाए ।

प्रकाशित : फाल्गुन २४, २०७८ १२:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?