कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

व्यास नगरपालिकाः पूरा भएनन् प्रतिबद्धता

पाँच वर्षअघि ‘यो गर्छौं, त्यो गर्छौं’ भनी मतदातासामु वाचा गरेर चुनाव जिते पनि अहिले त्यस्ता धेरै वाचा अपूरै रहेको स्वयम् नगरप्रमुख स्वीकार्छन् । 
सम्झना रसाइली

तनहुँ — लोभलाग्दा नारा र महत्वाकांक्षी चुनावी घोषणापत्रका साथ निर्वाचित भएका व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने अहिले आफैं अन्योलमा छन् । जुन प्रतिबद्धतासाथ निर्वाचित भए अहिले ती प्रतिबद्धता पूरा गर्न नसक्दा अन्योलमा परेका हुन् उनी ।

व्यास नगरपालिकाः पूरा भएनन् प्रतिबद्धता

उनले नेपाली कांग्रेसको घोषणापत्रमा उल्लेखित प्रतिबद्धतालाई पूर्ण रुपमा पालना गर्दै व्यासमा जल्दोबल्दो समस्या समाधान गर्ने आफ्नो चुनावी एजेण्डामा समावेश गरेका थिए ।

नगरको अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्दै सार्वजनिक जग्गा र सम्पत्तिको संरक्षणमा कडाइ गर्ने, नगरलाई सफा राख्न फोहोरमैला व्यस्थापन एवम् प्रशोधन गर्ने, युवालाई रोजगारीको अवसर सिर्जना गर्ने प्रमुख चुनावी एजेण्डा बनाएका थिए । तर ५ वर्षमा यी कुनै पनि काम भएनन् ।

आमा तथा युवा समूहका भवन उद्घाटन, भेटघाट, भाषणबाजी तथा राजनीतिक गतिविधिबाहेक अन्य उपलब्धि देखिएको छैन । उनले नगरभित्रका केही उच्च पहाडी क्षेत्रलाई छनोट गरी नमुना पार्क, बगैँचा निर्माण गरी आन्तरिक पर्यटनलाई बढुवा दिनेसमेत मतदातासँग प्रतिबद्धता गरे पनि त्यो कामले पूर्णता पाउन सकेन ।

दमौली अस्पताललाई एकसय शैय्यामा स्तरोन्नति, वडा स्वास्थ्य केन्द्रको स्तरीकरण गरी गाउँ, टोलसम्म प्रसूति सेवा तथा घुम्ती स्वास्थ्य कार्यक्रमसहित स्वास्थ्य सेवाको पहुँच वृद्धि गर्ने, व्यवस्थित घर, व्यस्थित परिवार, स्वास्थ्य बिमाद्वारा उपचारको प्रबन्ध गर्ने नारालाई व्यवहारमा सार्थक बनाउने प्रतिबद्धता जनाएका थिए । तर निर्वाचनका बेला गरिएका प्रतिबद्धता पूरा गर्न नसकेको उनी स्वीकार्छन् ।

‘नगरप्रमुख भएर जिम्मेवारी सम्हाल्न थालेसँगै घोषणपत्रमा उल्लेखित प्रतिबद्धताबाहेक पनि धेरै काम देख्दै गयौँ’, नगरप्रमुख न्यौपानेले भने, ‘विभिन्न कारणले आफ्नै प्रतिबद्धता पूरा गर्न सकिएन ।’ मुलुक संघीयतामा गएसँगै सदरमुकाममा रहेको दमौली अस्पताल प्रदेशअन्तर्गत गएकाले आफूले गरेको प्रतिबद्धता पूरा गर्न नसकेको उनी बताउँछन् । उनले भने, ‘अहिले कोभिड–१९ व्यवस्थापनको सन्दर्भमा कोभिड अस्पतालको रुपमा निर्माण गरेका छौँ, पछि त्यही अस्पताल जनरल अस्पतालको रुपमा परिणत भइहाल्छ ।’ नगर यातायात पनि सुरु गर्न नसकेको उनी बताउँछन् । नगरपालिकाका ३, ४ वटा वडामात्रै सहरी क्षेत्रमा रहेको र नगरपालिका आफैंले बस किनेर कर्मचारी राख्दा खर्च बढी हुने भएकाले नगरबस सञ्चालन गर्न नसक्दा आफ्नो प्रतिबद्धता पूरा नभएको उनको भनाइ छ ।

‘फूलैफूलको सहर, व्यास नगर’ त्यतिकै हरायो । फोहोरमैला व्यवस्थापनमा पनि पछि परेको छ । फोहोरमैला व्यवस्थापनका लागि जनप्रतिनिधि र सरसफाई शाखाका टोली विभिन्न स्थानमा रहेको सरसफाई केन्द्रको अध्ययन तथा आवलोकनमा गए पनि आजसम्म कुनै ठोस उपलब्धि निकाल्न नसकेको नगरप्रमुख न्यौपाने बताउँछन् । उनले भने, ‘हामीले कुहिने र नकुहिने फोहोर छुट्याएर कुहिने फोहोरबाट बायोग्यास पनि निकालिसकेका छौं । अबको २ महिनामा नकुहिने फोहोरको पनि व्यवस्थापन गरेर जानेछौं ।’

प्रतिबद्धता बाहेकका कार्यमा नगरपालिकाले कृषि, पर्यटन, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर नीति, कार्यक्रम तथा बजेट निर्माण गरेको थियो । न्यौपानेका अनुसार एकीकृत विकास परियोजनाअन्तर्गत ३ परियोजनाको डीपीआर तयार गरी काम अघि बढाइएको छ । परियोजनाअन्तर्गत खड्गकालिका सडक निर्माणाधीन अवस्थामा रहेको, कुलुङ केशवटार हुँदै छाब्दी जाने मार्ग विश्व बैँकको परियोजनमा परेर काम अगाडि बढिरहेको, ‘टाउन डेभलपमेन्ट फन्ड’ सँग पनि सम्झौता गरेर नगरपालिकाका पुराना भवन हटाएर नयाँ भवन बनाउन २८ करोड रुपैयाँमा सम्झौता गरिएको नगरपालिकाले जनाएको छ । यीनै कामलाई न्यौपाने आफ्नो ५ वर्षे कार्यकालको मुख्य उपलब्धि मान्छन् ।

पटक–पटक नगरपालिकाको राजस्व खर्च गरी ठाउँ खोज्दा पनि फोहोर व्यवस्थापनमा केही उपलब्धि गर्न नसकेको वडा सदस्य बसुन्धरा घर्तीले बताइन् । ‘५ वर्ष भनेको निकै लामो हुन्छ’, उनले भनिन्, ‘नगरपालिकालाई अति आवश्यक परेको ल्याण्डफिल्ड साइट बनाउँछु भनेर आउनुभएको थियो, त्यो पनि पूरा गर्न सक्नु भएन । फरक पार्टीको भएर होला बैठकमा हाम्रा सुझावलाई महत्व दिइएन ।’

मादी नदीमा बाँध हालेर कृत्रिम ताल बनाउने भनिएको थियो तर ५ वर्ष तालको डीपीआर निर्माणमै बितेको घर्तीले बताइन् । यो कार्यकाल व्यासलाई नमुना नगरपालिका बनाउनेभन्दा पनि टुक्रे योजना, आमा समूहका भवन उद्घाटन, युवा समूहका भवन उद्घाटन, गुटबन्दी, आफ्नालाई काख अर्कालाई पाखा गर्दैमा सकिएको उनको आरोप छ ।

जनप्रतिनिधि आएसँगै सिंहदरबारको अधिकार गाउँगाउँमा आउँदा गाउँबाटै हरेक सेवासुविधा लिन सहज भएको व्यास–१० का युवा माधव पौडेल बताउँछन् । ‘वडामै हरेक किसिमको सिफारिस पाइन्छ र काम पनि बन्छ’, उनले भने, ‘तर, सामान्य घरपरिवारका मान्छेले तिर्न नसक्ने गरी राजस्व र सिफारिस शूल्क बढ्दा दैलो अगाडिको सेवा लिन आर्थिक भार परेको छ । जनप्रतिनिधिलाई पाल्न हामीलाई महङ्गो परेको छ ।’

नगरपालिकाबाट कोभिड–१९ कहरमा धेरै सहयोग भएको पनि उनले बताए । यससँगै पछिल्ला ५ वर्षमा स्कुल बने, सडक कालोपत्रे, विकास निर्माण, आमा, युवा समूहका भवन, विभिन्न समुदायका मठमन्दिर बने । तर, जनप्रतिनिधि भोलि कहीं गएर ५ वर्षमा मैले व्यासमा यस्तो नमुना काम गरें भनेर सुनाउनका लागि हुनेगरी कुनै काम गरिदिएको भए नगरवासी पनि खुसी हुने पौडेल बताउँछन् ।

पौडेलले भने, ‘दीर्घकालीन विकासतिर नसोची चुनावी प्रचारप्रसारमा हिँड्नका लागि मान्छे बटुल्ले प्रकारका विकासलाई अँगालेको देखियो ।’ चाहे राम्रो गरोस् वा नराम्रो मेरै मान्छे मेरै पार्टीबाट जित्नुपर्छ भन्ने कुरामा अल्झिएको उनले बताए ।

नगरवासीलाई प्रत्यक्ष रोजगारसँग जोड्न, यहाँका कला संस्कृति संरक्षण गर्दै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न, धार्मिक स्थलको विकास, ठूला र दीर्घकालीन विकास निर्माणका आयोजन लगायत एकीकृत योजना तयार गर्न नसकी ५ वर्ष बर्वाद गरिएको एमाले जिल्ला उपसचिव प्रदिपराज अधिकारी बताउँछन् ।

धार्मिक स्थल छाब्दी बाराही, तनहुँ कालिका, वेदव्यासको जन्मस्थल, परासर ऋषिको आश्रम, सहिद गाउँ पुलिमराङलगायत विभिन्न धार्मिक तथा प्राकृतिक स्थानहरु रहेको व्यासको पर्यटकीय प्रचारप्रसारको लागि आवश्यक योगदान नदिएको उनले आरोप लगाए । एमाले जिल्ला उपसचिव अधिकारीले भने, ‘निर्वाचनको समयमा जनतलाई छिटो, छरितो र सहज ढंगले सेवा दिने भन्नुभएको थियो तर, त्यो कुरामा उहाँहरु चुक्नु भएको छ ।’

प्रकाशित : फाल्गुन १६, २०७८ १५:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?