२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७४

८ वर्षमा पनि बनेन पुल

कान्तिपुर संवाददाता

पूर्वी नवलपरासी — त्रिवेणीधाम र वाल्मीकि आश्रम जोड्ने झोलुंगे पुल ८ वर्षमा पनि पूरा हुन सकेको छैन । त्रिवेणीस्थित गजग्राह र पूर्वतर्फ नारायणी नदी पारिको चितवन निकुन्जको वाल्मीकि आश्रम जोड्ने पुलको शिलान्यास गरेको ८ वर्ष पूरा भइसक्दा पनि निर्माण सम्पन्न नभएको हो । 

२०७० असार ३० मा पुल निर्माण गर्न ठेकेदार श्री गीता रुविना मना जेभीले ठेक्का पाएको थियो । कम्पनीले २०७३ असार ९ मा निर्माण सकेर हस्तान्तरण गर्नुपर्ने सम्झौतामा छ । तर ठेकेदारले तोकिएको समयमा काम सम्पन्न नगरेर म्याद थप्न मन्त्रालयमा दिएको निवेदनअनुसार मन्त्रालयले तेस्रो पटक म्याद थपेर २०७७ मंसिर २० को समय दिएको थियो । त्यो अवधिमा पनि काम सम्पन्न नगरेर फेरि ठेकेदार कम्पनीले म्याद थप्न निवेदन दिएको विनयी त्रिवेणी गाउँपालिकाले जनाएको छ । तत्कालीन मुख्यसचिव लीलामणि पौडेलले २०७० मा पुलको शिलान्यास गरेका हुन् ।

गाउँपालिकाका अध्यक्ष डम्बर जीसीले ठेकेदारले म्याद थप्न निवेदन दिने र मन्त्रालयले सदर गर्दै बस्दै गरेको बताए । ‘पुल त्रिवेणीको विकासका लागि कोसेढुंगा नै हो, तर ठेकेदारले कामै गर्दैन,’ उनले भने, ‘हामीलाई अनुगमन गर्ने अधिकार छैन । स्थानीय बासिन्दा किन काम भएन भनेर सोधेको सोध्यै गर्छन् । हामीसँग जवाफ छैन ।’ समयमा काम नगरेका कारण लागत रकम पनि बढेको र यो ठेकेदार र मन्त्रालयको चरम लापरबाही भएको उनले बताए । ठेकेदारले शुक्रबारसम्म नारायणी नदीमा २ वटा खम्बा ठड्याएर पुलको माथिल्लो भागको तार तानेको छ । पुलमा हिँड्ने स्थानको तार अझै हालिएको छैन । मान्छे हिँड्ने तार तान्न र दायाँबायाँ बार बनाउने काम थालेकै छैन ।

सरासर काम भए पनि अझै कम्तीमा ५/६ महिना लाग्ने जीसी बताउँछन् । ‘चरम लापारबाही छ । १५ दिन काम गरेपछि ठेकेदार बेपत्ता हुने गरेका छन्,’ उनले बताए । पुल निर्माणको सुरुको लागत रकम ५ करोड ८७ लाख २२ हजार ३ सय ८५ रहेको छ । त्यसपछि थपिएको म्यादमा कति रकम बढ्यो भन्ने जानकारी नै नभएको जीसी बताउँछन् । पुल हेर्ने जिम्मेवारी सस्पेन्सन बृज डिभिजन कार्यालय पुल्चोकको रहेको छ । त्रिवेणीधाम र पूर्वतर्फको चितवन निकुन्ज जोड्न यहाँ पुल निर्माण थालिएको हो । पुल ६ सय मिटर लामो रहनेछ । स्थानिय रामथान भुसाल ठेकेदार कम्पनीले वर्षमा एक हप्ता काम गर्ने र फेरि एक वर्ष हराउने गरेकाले समयमै काम हुन नसकेको सुनाए ।

त्रिवेणीधाम र चितवन निकुन्जको बीचमा रहेको नारायणी नदीमा पुल नहुँदा श्रद्धालुहरू वाल्मीकि आश्रममा ढुंगाबाट आउजाउ गर्ने गरेका छन् । झोलुंगे पुलको निर्माणपछि वाल्मीकि आश्रम आउजाउ गर्न सहयोग पुग्ने र आन्तरिक पर्यटकको चहलपहल बढ्ने स्थानीयको अपेक्षा रहेको छ ।

प्रकाशित : फाल्गुन १४, २०७८ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?