२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७७

गठबन्धनभित्र जोगी देखेर भैंसी डराउने, भैंसी देखेर जोगी डराउने स्थिति छ : पृथ्वीसुब्बा गुरुङ

आश गुरुङ

लमजुङ — नेकपा एमाले उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले सरकार चलाइरहेको गठबन्धनभित्र एकअर्काप्रति अविश्वास पैदा भएको बताएका छन् । प्रेस चौतारी नेपाल लमजुङले आयोजना गरेको पत्रकार भेटघाटमा उनले एमसीसीलाई ‘सत्तापक्षको गाँडमाथिको खटिरा’को संज्ञा दिँदै भने‚ ‘एमसीसी सत्तापक्षलाई निल्नु न ओकेल्नु भएको छ । घाँटीको गाँडमाथि आएको खटिराजस्तै भएको छ।’

गठबन्धनभित्र जोगी देखेर भैंसी डराउने, भैंसी देखेर जोगी डराउने स्थिति छ : पृथ्वीसुब्बा गुरुङ

उनले गठबन्धनभित्र एकले अर्कोलाई विश्वास गर्न सक्ने वातावरण नरहेको बताए । ‘गठबन्धनभित्र जोगी देखेर भैंसी डराउने, भैंसी देखेर जोगी डराउने स्थिति छ‚’ शनिबारको भेटघाट कार्यक्रममा उनले भने, ‘अविश्वासै अविश्वासबीच गठबन्धनको राजनीति चलिरहेको छ ।’ गठबन्धनमा आबद्ध केहि दलहरू एमसीसीलाई देखाएर चुनाव भाँड्ने, चुनावलाई पर धकेल्ने, चुनाव हुन नदिने षडयन्त्रमा लागेको उनले आरोप लगाए ।

कांग्रेस र सत्तासाझेदार अन्य दलबीच कसैको कसैमाथि पनि विश्वास नरहेको उनले बताए । ‘गठबन्धन टुटिहाले देउवालाई केपी ओली र प्रचण्ड मिल्छन् कि भन्ने डर छ‚’ उनले भने‚ ‘डरैडरबीचमा गठबन्धनको राजनीति चलिरहेको छ ।’

उनले एमसीसी संसद्‌मा टेबल गरेर देखाउन चुनौतीसमेत दिए । ‘हामी प्रतिपक्ष हौं । एमसीसी अहिले एमालेको एजेन्डा होइन । गठबन्धनभित्र एकजुट भएर आओस् । झगडा मिलाएर आओस् । सरकारको प्रस्ताव हामीले स्विकार्नैपर्छ भन्ने छैन’ उनले भने, ‘दुईतिहाई मत ल्याएर सरकार बनाएको होइन ? त्यो दुईतिहाई मत कायम गरोस्, एमसीसीका लागि हाम्रो भोट चाहिँदैन । हामीतिर फर्किनुपर्ने जरुरी नै छैन ।’

उनले सरकार र सभामुख निकम्मा भएर संसद् अवरुद्ध भएको आरोप लगाए । ‘हामीलाई संसद् अवरुद्ध गर्‍यो भन्छ । संसद् अवरुद्धले कहिले रोकेको छ उसको काम ? बजेट पास गर्नु थियो, पास गर्‍यो । विस्थापन विधेयक पास गर्नु थियो, गर्‍यो । हाम्रो कारणले उसको काम रोकिएको छ ? रोकिएको छैन‚’ उनले भने ।

सरकारले एमसीसीको बारेमा ठोस धारण सार्वजनिक गरेसँगै एमालले त्यस विषयमा मुख खोल्ने गुरुङले बताए । ‘हामी अवस्था हेरिरहेका छौं । कसको पक्ष लिने भन्नेबारे अहिले हामी केहि भन्दैनौं‚’ उनले भने, ‘बल उनीहरूको कोर्टमा छ । मौका परेको बेला हामी गोल हुने गरी पेनाल्टी सुट हान्छौं । अहिले पेनाल्टी सुट हान्ने बेला भएको छैन ।’

अर्को प्रसंगमा उनले राजनीतिमा असम्भव भन्ने केही नहुने बताए । उनले बामपन्थीबीच चुनावी एकताको सम्भावना रहेको पनि संकेत गरे । ‘आज निरपेक्ष देखिएको कुरा भोलि सापेक्ष हुन सक्छ । राजनीतिमा एकता, एकीकरण, कार्यगत एकताको ढोका कहिल्यै बन्द हुदैन । हामीले ढोका बन्द गरेका छैनौं‚’ उनले भने, ‘संयुक्त मोर्चाको नीति हामीले बन्द गरेका छैनौं । यो नीति कुन बेला कोसँग गरिन्छ भन्ने कुरा त्यो बेलाको परिस्थिति र राजनीतिक शक्ति सन्तुलन, पार्टीले हामीलाई गर्ने व्यवहारले निर्धारण गर्छ ।’

एमाले एक्लै चुनाव लड्न सक्ने पार्टी भएको बताउँदै उनले भने‚ ‘हाम्रो पार्टी एकीकृत ढंगले लागेको छ । गठबन्धन एकातिर र हामी एकातिर भए पनि हाम्रो बहुमत आउँछ ।’

पार्टीले कारबाही गरेर पठाएका सांसदहरू नहटाएसम्म संसद् चल्न नदिने उनले दोहोर्‍याए । ‘माओवादी केन्द्रले कारबाही गरेर पठाएका सांसदमाथि कारबाही हुने; एमालेले कारबाही गरेर पठाएका सांसदमाथि कारबाही नहुने ? सभामुख भएर पक्षपात गर्न पाइन्छ ?’ उनले भने, ‘सभामुख माफी माग्न लायक पनि हुनुहुन्न । गल्ती सच्याओस्, अनि मात्रै संसद् खुल्छ ।’ उनले समस्या समाधानका लागि सरकारले एमालेसँग एकपटक पनि वार्ता नगरेको बताए । ‘हामीलाई बदनाम गर्न खोजिँदैछ । उनीहरू पक्षपात गर्ने, काम नगर्ने । अनि दोषचाहिँ हामीलाई लगाउने काम भएको छ‚’ उनले भने ।

प्रकाशित : फाल्गुन १, २०७८ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?