२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध 

प्रकाश बराल

बागलुङ — बिहीबार रातिदेखि परहेको हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । निसिखोला गाउँपालिका वडा नम्बर ६ को सिपदेखि पाती हाल्नेसम्म लोकमार्ग अवरुद्ध भएको वडाध्यक्ष हरिबहादुर घर्तीले जानकारी दिएका छन् । 

भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध 

हिमपात भएपछि पशुचरनमा हिँडेकासमेत अलपत्र परेका छन् । यातायात अवरुद्ध भएपछि जिल्ला प्रहरी कार्यालय र निसीखोला गाउँपालिकाले सडक खुलाउने प्रयास गरेको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरले बताए । ‘डोजरहरु खोजेर हिउँ फाल्ने र कम्तीमा यातायात र पैदल यात्रीलाई आउजाउ गराउने प्रयास गर्दैछौँ,’ पल्ली मगरले भने, ‘अझै हिमपात र झरी परिरहेकोले शुत्रबार दिनभर काम गर्न कठिन छ ।’

यो सडक अवरुद्ध भएपछि रुकुमदेखि बागलुङ हुँदै पोखरा, काठमाडौं यात्रा गर्नेहरू रुकुमको लुकुमतर्फ नै रोकिएको उनले बताए । पूर्वी रुकुमदेखि पोखरा र काठमाडौंका लागि नियमित बसलगायतका सवारी साधन चल्न थालेका छन् ।

व्यापक हिमपात भएपछि काठेखोला गाउँपालिका वडा नम्बर ५ को घोडाबाधे, बिहुँकोट, वडा नम्बर ४ को तंग्राम र फापरखेत तथा वडा नम्बर ३ को धम्जा बढी प्रभावित भएका छन् । सेताम्मे भएकोले गाउँलेहरू घर बाहिर निस्कन सकेका छैनन् । घोडाबाँधेस्थित नेपाली सेनाको ब्यारेकका सैनिक सडक खुलाउने र अप्ठ्यारोमा परेकाहरुलाई सहयोग गर्न परिचालित भएको एक अधिकारीले बताए । हिउँ पन्छाएर सडक खुलाउन सहयोग गरे पनि अझै चिप्लो भएकोले जोखिम भने रहेको छ ।

हिमपातले ढोरपाटन, ताराखोलालगायतका क्षेत्रमा पनि जनजीवन प्रभावित भएको छ । ढोरपाटनका घरकुरुवाहरु पनि अहिले बाहिर निस्कन सकेका छैनन् । सिकार आरक्षका वार्डेन वीरेन्द्र कण्डेलले कर्मचारीसमेत घरभित्रै बस्न बाध्य भएको बताए । हिमपातले ढोरपाटन उपत्यका भने पूरै ढाकेको छ ।

प्रकाशित : माघ २१, २०७८ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?