कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

तरकारी खेती गर्दै विद्यार्थी

बन्धकीमा लिएको १८ रोपनी जग्गामा यतिबेला स्थानीय आलुदेखि बेमौसमी तरकारीसम्म
हरिराम उप्रेती

गोरखा — पालुङ्टार नगरपालिका–९ को त्रिवेणी माध्यमिक विद्यालयका विद्यार्थी मंगलबार खेतबारीमै व्यस्त थिए । कोरोना कहरका बीच अधिकांश विद्यालय बन्द रहँदा यी विद्यार्थी भने आफूले लगाएको तरकारी स्याहारमा तल्लीन देखिन्थे । मल बोक्ने, बारी खनजोत, आलु गोडमेललगायत विद्यार्थीको सामूहिक प्रयासमा व्यस्त छन् । पढाइसँगै तरकारी खेती थालेका विद्यार्थीलाई शिक्षकले पनि सघाए ।

तरकारी खेती गर्दै विद्यार्थी

मंसिर तेस्रो साताबाट विद्यार्थीले पढाइसँगै तरकारी खेती थालेका हुन् । ‘हाते ट्र्याक्टर चलाउने, दूरी कायम गरेर तरकारी लगाउने, जैविक मलको प्रयोग गर्ने नयाँ कुरा पनि सिक्दै छौँ,’ ९ कक्षाका मोहित कुँवरले भने, ‘विद्यालयमा सिकेका कुरा घरमा गएर परिवारलाई पनि सिकाएका छौँ, परम्परागत रूपमा गरेको खेतीभन्दा सिकेर गर्दा केही भिन्नता हुँदोरहेछ ।’ विधि पुर्‍याएर खेती गर्न सिकेको विद्यार्थी बताउँछन् ।

दुईदेखि तीन घण्टासम्म खेतीका बारेमा सिक्ने गरेको विद्यार्थी सुनमाया तामाङ बताउँछिन् । ‘कृषि विषय पढेका हौँ, पढेर आफैं खेती गरेपछि सिक्न सजिलो भएको छ,’ उनले भनिन्, ‘पढेर नयाँ–नयाँ प्रविधिका बारेमा पनि थाहा हुँदोरहेछ ।’ विद्यार्थीले १० रोपनी क्षेत्रफलमा लगाएको आलु गोडेर पनि सकेका छन् ।

२८ विद्यार्थीले भाडामा लिएर १० रोपनी खेतमा आलु लगाएका छन् । विद्यालयनजिकैको अर्को ८ रोपनी बारीमा बेमौसमी तरकारी खेती सुरु गरेको प्रधानाध्यापक गणेशराज सेडाईंले बताए । ‘१० रोपनीमा स्थानीय जातको आलु लगाएका छौँ,’ उनले भने, ‘आठ रोपनीमा भने घिरौंला, काँक्रो, करेला छ, दुवै जग्गा भाडामा लिएर खेती थालेका हौँ ।’ विद्यालयले कफी खेती र मौरीपालनको योजना पनि बनाएको छ । चालु शैक्षिक सत्रबाट कक्षा नौमा कृषि प्राविधिक विषयमा पठनपाठन सुरु गरेसँगै विद्यार्थीलाई प्रयोगात्मक, व्यावसायिक र व्यावहारिक सिकाइतर्फ केन्द्रित भएको उनले बताए । प्रयोगात्मकका लागि जमिन आवश्यक भएपछि १८ रोपनी जग्गा बन्धकीमा लिएको सेडाईंले बताए ।

‘यो वर्ष नौ कक्षामा कृषि धारतर्फ पढाइ सुरु गरेका छौँ । अर्को वर्ष १० मा पनि कृषि धारतर्फका पाठ्यक्रम लागू हुन्छ,’ उनले भने, ‘एक बजेसम्म क्लास लिन्छौँ, त्यसपछि प्राक्टिकल हुन्छ ।’ नर्सरी बिरुवा पनि उत्पादन गरेर स्थानीय बजारमा बिक्री गर्ने विद्यालयले जनाएको छ । उत्पादित कृषिउपज बिक्री गरी नाफाको २५ प्रतिशत विद्यार्थीलाई उपलब्ध गराउने उनले बताए ।

नाफा घाटाभन्दा पनि अर्गानिक कृषि उत्पादन गर्ने लक्ष्य रहेको शिक्षिका प्रमिला अधिकारीले बताइन् । रासायनिक मलको प्रयोग निरुत्साहित गर्दै जैविक मल प्रयोगमा जोड दिएको उनले बताइन् । कृषि विषय अध्यापनका लागि विद्यालयले दुई शिक्षिका करारमा नियुक्त गरेको छ । गाउँको जमिन बाँझिने क्रम बढेकाले कृषि विषयको पढाइले किसानलाई पनि कृषि पेसालाई निरन्तरता दिन सघाउने अपेक्षा लिइएको छ । कमाउँदै सिक्दै गर्ने कार्यक्रमलाई सरकारले प्रोत्साहन गर्ने योजनालाई विद्यालयको उक्त कार्यक्रमले सघाउने विश्वास लिइएको छ ।

प्रकाशित : माघ २०, २०७८ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×