कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अब शिक्षालयभित्रै कमाउँदै पढ्दै

आश गुरुङ

लमजुङ — लमजुङको राइनास नगरपालिका–८ कुसुण्डेचौरमा राइनास बहुप्राविधिक शिक्षालयमा ३ वर्षीय प्रमाणपत्र तहको वन विज्ञान (रेन्जर) र आईएससी एजी (बाली विज्ञान) को पढाइ हुन्छ । प्राविधिक शिक्षा तथा व्यावासायिक तालिम परिषद् (सीटीईभीटी) अन्तगर्तको शिक्षालयले कम शुल्कमा विद्यार्थी पढाउँदै आएको छ ।

अब शिक्षालयभित्रै कमाउँदै पढ्दै

शिक्षालयले ‘सिक, कमाऊ र तिर’ को नीतिबाट विद्यार्थीलाई अघि बढाइरहेको शिक्षालय प्रमुख ईश्वरीचन्द्र देवकोटाले बताए । यसका लागि शिक्षालयले जग्गाको व्यवस्थापन गरेको छ । ‘नर्सरी, ग्रिनहाउस, टनेलको व्यवस्थापन गरिदिएका छौं,’ उनले भने, ‘विद्यार्थीले आफैं काम गरेर कमाउन सक्छन् । यो वातावरण बनाएका छौं ।’ उनका अनुसार थप कार्य व्यवस्थापनका लागि स्थानीय महादेव सामुदायिक वनसँग भोगाधिकारका लागि ८० रोपनी जग्गाको सम्झौता भएको छ । यसको प्रक्रिया मन्त्रालयमा पुगेको छ । ‘पहिलो वर्ष जनरल सिक्ने हो । दोस्रो र तेस्रो वर्ष प्राक्टिकल हो,’ उनले भने ।

अहिले विद्यार्थीलाई वीरभक्ति माविको भवनमा राखेर पढाइएको छ । आफ्नै भवनमा सार्न ३२ कोठे भवन निर्माण सुरु भएको छ । सीटीईभीटीको नाममा रहेको २३ रोपनी, स्थानीयले दिएको ८ रोपनी, राइनास नगरपालिकाले दिएको २ रोपनी र वीरभक्ति माविले भोगचलनका लागि दिएको २३ रोपनीसहित ५६ रोपनीमा भवनलगायत संरचना निर्माण हुन लागेको हो । संघ सरकारको ४ करोड ३३ लाख रुपैयाँ बजेटमा चालु आर्थिक वर्षभित्रै शिक्षालयको भवन निर्माण गर्ने लक्ष्य लिइएको शिक्षालयका प्रमुख देवकोटाले बताए । ‘आगामी आर्थिक वर्षदेखि आफ्नै भवनमा राखेर विद्यार्थी पढाउने योजना हो । निर्माण कम्पनीलाई असार २० सम्म भवन निर्माण सकेर हस्तान्तरण गर्न अनुरोध गरेका छौं,’ उनले भने । उनका अनुसार भवन निर्माणका लागि माघ ३ मा पृथ्वीबेसी सीएम जेभी काठमाडौंसँग सम्झौता गरिएको छ ।

देशभरका १ सय ३८ जना विद्यार्थी उक्त शिक्षालयमा ३ वर्षे प्रमाणपत्र तहको वन विज्ञान (रेन्जर) र आईएससी एजी (बाली विज्ञान) पढिरहेका छन् । सीटीईभीटीको आंगिक उक्त शिक्षालय २०७७ असोज १५ देखि सञ्चालनमा आएको हो । उक्त शिक्षालयमा हाल १२ जना प्रशिक्षक छन् । ५० हजार रुपैयाँमा ३ वर्षे अध्ययन पूरा हुन्छ । यसमा ५ हजार रुपैयाँ पछि फिर्ता हुने गरी धरौटी र प्रत्येक वर्षको १५/१५ हजार रुपैयाँ लिइन्छ । ‘पहिले ६७ हजार रुपैयाँ लिने निर्णय भएको रहेछ । गरिबका छोराछोरी पढ्ने हुन भनी म आएपछि ५० हजार रुपैयाँ प्रस्ताव गर्‍यौं । अहिले ५० हजार कायम भएको छ,’ उनले भने ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा शिक्षालय व्यवस्थापन समिति हुन्छ । उक्त समितिले शुल्क निर्धाण गर्छ । ‘मुलुकभरका ६२ वटा शिक्षालयमध्ये राइनास बहुप्राविधिक शिक्षालय सबैभन्दा सस्तो भएको देवकोटाको दाबी छ । उनका अनुसार यही विषय र यही तह निजी रूपमा पढ्ने हो भने २ लाख ८० हजार रुपैयाँसम्म लाग्छ । शिक्षालयमा अहिले वन विज्ञान पहिलो वर्ष र दोस्रो वर्षमा ३८/३८ जना विद्यार्थी छन् । कृषितर्फ पूर्ण छात्रवृत्तिमा ४० जना र नियमित कार्यक्रमतर्फ २६ जना अध्ययन गरिरहेका लेखा तथा प्रशासकीय प्रमुख जीवननाथ देवकोटाले बताए ।

राइनास नगरपालिका प्रमुख सिंहबहादुर थापाले आर्थिक अभावमा प्राविधिक शिक्षाबाट वञ्चित निम्न तथा मध्यमस्तरका नागरिकलाई सहज भएको बताए । बहुप्राविधिक शिक्षालयको उनले आइतबार शिलान्यास गरेका हुन् । ‘यो प्रविधिको युग हो । प्राविधिक र जीवनयापन गर्ने खालको शिक्षाले मानिसलाई बाँच्न र व्यावसायिक बनाउन सिकाउँछ । बजारमा बिक्ने भनेकै प्राविधिक शिक्षा हो,’ उनले भने ।

प्रकाशित : माघ १८, २०७८ १३:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?