२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

ग्रामीण सडक सुधार्दा छोटियो लोकमार्ग

प्रकाश बराल

बागलुङ — ग्रामीण सडक मर्मत र पक्की पुलसमेत बनाएपछि मुख्य राजमार्ग ११ किमि छोटिएको छ । गलकोट नगरपालिका–२ को नरेठाँटीदेखि तोरीखोला हुँदै रगेनी निस्कने सडक स्तरीय भएपछि मध्यपहाडी लोकमार्गको यात्रा छोटिएको हो । यो सडक बनेपछि मध्यपहाडी लोकमार्गको विकल्पका रूपमा उपयोग हुन थालेको छ ।

ग्रामीण सडक सुधार्दा छोटियो लोकमार्ग

वर्षात्मा तर्न नसकिने चुक्ति खोलामा पक्की पुल निर्माणाधीन छ । आगामी असार मसान्तभित्रै सक्ने गरी थालिएको निर्माणले बाह्रै महिना सवारीसाधन चल्ने स्थानीय धनकुमारी विकले बताइन् । ‘नरेठाँटी झरेपछि पैदलै एक घण्टा लगाएर घर पुग्थ्यौं, अहिले बाटो पनि स्तरीय भयो, पुल पनि बन्दै छ,’ उनले भनिन्, ‘वडाले गौरवको आयोजनाका रूपमा बनाएको एउटै सडकले सयौं घरलाई फाइदा पुगेको छ ।’

यो सडक बनेपछि घोडाबाँधेदेखि ३५ देखि ४० मिनेट छोटो समयमा गलकोट पुग्न सकिन्छ । यो सडक साना गाडीका लागि उपयोगी भएको वडा सदस्य भक्तबहादुर घर्तीमगरले बताए । ‘जिपको यात्रा गर्नेलाई छोटो मात्र हैन, बस्तीसम्म सामान ढुवानी गर्नेलाई पनि उपयोगी भयो,’ उनले भने, ‘यहाँका सबै बस्तीसम्म नै स्तरीय सडक बनिसकेको छ ।’ यो सडकले यहाँका तीन–चार वटा गाउँलेलाई समेत सहज भएको उनले बताए ।

तोरीखोला, ठाना, घसघसालगायत गाउँलेले यो सडक बनेपछि ठूलो राहतको महसुस गरेका छन् । लोकमार्गको बाटो नरेठाँटी झरेपछि तोरीखोला र ठानाका बासिन्दा पैदल यात्रा गर्न बाध्य थिए । ग्रामीण सडकको ट्र्याक खुले पनि खोलामा पुल नहुँदा वर्षात्मा पनि थप सास्ती थियो । वडा कार्यालयले ३४ लाख खर्चेर साना गाडी पार गर्न सक्ने पुल निर्माण गरेको छ । उक्त पुलले नरेठाँटी बजार र मध्यपहाडी लोकमार्गलाई जोडेको छ ।

ठूला गाडीसमेत चल्ने गरी गण्डकी प्रदेश सरकारको सहयोगमा चुक्ति खोलामा ३ करोड ४८ लाखमा पुल निर्माणाधीन छ । असार मसान्तसम्म पुल बनिसक्ने वडाध्यक्ष हिमबहादुर भण्डारीले बताए । ‘यो पुल बनेपछि बाह्रै महिना साना–ठूला सवारी गाउँ पुग्न पाउनेछन्,’ भण्डारीले भने, ‘वडामा आउँदा गरेको वाचा पूरा गर्ने अवस्था बल्ल बन्यो ।’ यहाँका सबै घरघरमा शुद्ध पानीको धारा निर्माण र टोलटोलमा स्तरीय सडक पुर्‍याउने भण्डारीले आश्वासन दिएका थिए ।

गण्डकी प्रदेश सरकार, गलकोट नगरपालिका र वडाको समेत बजेट गरी १ करोड ५० लाखमा सडक स्तरीय भएको हो । सडकमा नाली निर्माणका लागि समेत काम भइरहेको छ । ‘गण्डकी प्रदेशका पर्यटन मन्त्री मणिभद्र शर्माले पनि यो सडकमा नाली बनाउन चालु वर्ष २० लाख र गत वर्ष १५ लाख सहयोग गर्नुभयो,’ घर्तीले भने, ‘चन्दा पनि उठायौं, श्रमदान पनि गरेका छौं ।’ वर्षात्को बाढीले नबिग्रने गरी सडक बनेको उनले बताए ।

प्रकाशित : माघ ८, २०७८ १३:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?