मौसमी रुघा भन्दै बिरामी घरमै- गण्डकी - कान्तिपुर समाचार

मौसमी रुघा भन्दै बिरामी घरमै

परीक्षण गरेकामध्ये ८० देखि ९० प्रतिशतमा संक्रमण देखिन थालेको छ
आश गुरुङ

लमजुङ — ‘चिसो समय छ । अघिपछि पनि यो रुघाखोकीको मौसम हो । घााटी दुख्ने, अलि अलि ज्वरो त आइहाल्छन् नि । जाँच्न गए कोरोना भनिहाल्छन् ।’ चोकचोकमा सुनिने यस्तै धारणाबाट मात्रै होइन, अस्पतालमा आउने भीडभाडले पनि अहिले घरघरै रुघाखोकी र ज्वरोका विरामीको संख्या ठूलो हुन सक्ने मानिएको छ । 

बेंसीसहर नगरपालिका–८ शेराकी कल्पना दनाइाले कोही न कोही भेट हुँदा रुघाखोकी लागेको र कसैले ज्वरो आएको बताउने गरेको बताइन् । ‘यहाँ केही ठाउँमा घरघरै जस्तो बिरामी छन् । मौसमी रुघाखोकी हो भन्दै जँचाउन जाँदैनन् । मेडिकलबाट औषधि किनेर खाने गर्छन्’ उनले भनिन् ।

बेंसीसहर नगरपालिका स्वास्थ्य शाखा प्रमुख मनोजसिंह बोहराले केही ठाउँमा घरघरैजसो बिरामी भएको खबर आएको बताए । ‘हाम्रो सम्पर्कमा आएका, चिनाजान भएकालाई अस्पताल जान सुझाएका छौं । कतिपय स्वास्थ्य संस्था नगइकन बसेका छन्’ उनले भने, ‘जबर्जस्ती गर्न नसकिने भयो । यसले संक्रमण अझै फैलिने खतरा बढेको छ ।’

सुन्दरबजार नगर स्वास्थ्य शाखा प्रमुख परमेश्वर पियाले रुघाखोकी, घाँटी दुख्ने र ज्वरोका बिरामी बढेको बताए । ‘सरकारी, सामुदायिक तथा निजी स्वास्थ्य संस्थामा आएर कोभिड परीक्षण गरेकामध्ये ८० देखि ९० प्रतिशतमा संक्रमण देखिन थालेको छ’ उनले भने, ‘अझै पनि ज्वरो र रुघाखोकीका बिरामी घरघरै छन् । रुघाखोकी सामान्य हो भनी बसेका छन् । यसले संक्रमण बढ्ने देखाएको छ ।’ उनका अनुसार पीसीआर परीक्षण गर्न पोखरा पठाए पनि ३ दिनसम्म रिपोर्ट आएको छैन । यसले पनि जोखिम बढाएको छ ।

जिल्ला अस्पतालका प्रशासन प्रमुख हेमन्त श्रेष्ठले सोमबार अस्पतालमा एन्टिजेन परीक्षण गरिएकामध्ये ११ जनामा कोरोना संक्रमण देखिएकोमा मंगलबार २१ जनामा संक्रमण देखिएको छ । उनका ५५ जनाको परीक्षण गरिएकोमा एकतिहाइमा कोरोना संक्रमण देखिएको हो । उनले सोमबारसम्म १ सातामा १ सय ७१ जनामा एन्टिजेन परीक्षण गर्दा ५६ जनामा कोरोना संक्रमण देखिएको बताए ।

उनका अनुसार अस्पतालमा आउने बिरामीमध्ये अधिकांशमा रुघाखोकीको समस्या छ । रुघाखोकी भएकामध्ये धेरैजसोमा ज्वरोको समस्या छ । ‘अहिले बिरामी घरघरै जसो छ । अस्पतालमा आउने अधिकांश ज्वरो र रुघाखोकीका विरामी छन् । कोही सामान्य हो भन्दै घरमै बसिरहेको अवस्था छ,’ उनले भने । उनका अनुसार रुघाखोकी र ज्वरोका एकतिहाइ बिरामीमा कोरोना संक्रमण देखिएपछि अस्पतालले फिबर क्लिनिक सञ्चालन गरेको छ । ‘ज्वरोका बिरामीलाई सुरुमा फिबर क्लिनिकमा लगिन्छ । एन्टिजेन गरेपछि कोरोना हो या होइन भनेर छुटिन्छ । त्यसपछि उपचार गर्न सहज हुन्छ,’ उनले भने । उपचारमा आउने अधिकांशले घरपरिवार पनि बिरामी भएको र अवस्था सामान्य रहेको जानकारी गराउने गरेको उनले बताए ।

स्वास्थ्य कार्यालय प्रमुख अमर दवाडीले यसअघि संक्रमितबाट विस्तारै घरभित्रैका सदस्यमा कोरोना सर्न थालेको बताए । ‘यहाँ २ साताअघि कोरोना थिएन । अहिले दिनमै १५/२० जना देखिन थालेका छन्’ उनले भने, ‘कतिपय शंका लागेर कोरोना हो भनी घरमै बसेका छन् । कोही सामान्य रुघाखोकी हो भनी घरमै बसेका छन् ।’

प्रकाशित : माघ ५, २०७८ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्

कोभिडविरुद्धको खोप कार्ड हराएमा के गर्ने ?

कान्तिपुर संवाददाता

काठमाडौँ — कोभिड-१९ विरुद्धको खोप लगाइसकेका व्यक्तिले कोभिड खोप कार्ड हराएमा खोप कार्डको प्रतिलिपी बनाउन सकिने भएको छ ।

दुवै मात्रा खोप लगाइसकेको भए दोस्रो मात्रा लगाएको खोप केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट कार्ड लिन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी जोन्सन एन्ड जोन्सन खोप लगाएको भए सोही केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट लिने र पहिलो मात्रा खोप लगाएकाले खोप लगाएकै केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट लिन सकिने सूचनामा जनाइएको छ ।

सरकारले यही माघ ७ गतेदेखि सार्वजनिक स्थल प्रवेश गर्न र सेवा लिन जाँदा खोप कार्ड अनिवार्य गरेको छ ।

प्रकाशित : माघ ५, २०७८ १०:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×