कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लमजुङमा दिनहुँ बढ्दै संक्रमण

आश गुरुङ

लमजुङ — केही दिनयता लमजुङमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । पुस १५ यता कोरोना संक्रमण देखिएको स्वास्थ्यकर्मीले बताएका छन् । बेंसीसहरस्थित जिल्ला अस्पतालमा परीक्षण गरिएकामध्ये आइतबार मात्रै १६ जनामा कोरोना संक्रमण देखिएको छ ।

लमजुङमा दिनहुँ बढ्दै संक्रमण

यसमा १ वर्षदेखि ६० वर्ष उमेरसम्मका ४ महिला र १२ पुरुष छन् । शंका लागेर परीक्षण गरेकामध्ये बढीजसोमा संक्रमण देखिएको स्वास्थ्यकर्मीको भनाइ छ ।

अस्पताल प्रशासन प्रमुख हेमन्त श्रेष्ठका अनुसार शनिबार मात्रै ८ जनामा कोरोना संक्रमण देखिएको थियो । शुक्रबार ११ जनामा संक्रमण देखिएको थियो । ‘सहरबजारका मात्रै नभएर गाउँका नागरिकमा पनि संक्रमण देखिएको छ,’ उनले भने । उनले पुस १५ देखि पछिल्लो समय कोरोना संक्रमण देखिन थालेको बताए ।

लमजुङमा आइतबारसम्म ४९ जना सक्रिय संक्रमित छन् । यीमध्ये २ जना जिल्ला अस्पतालको आइसोलेसनमा छन् । पछिल्लो समय मात्रै बेंसीसहर, मध्यनेपाल, सुन्दरबजार, राइनास, दोर्दी र मर्स्याङ्दी गाउँपालिकाका नागरिकमा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य कार्यालय प्रमुख अमर दवाडीका अनुसार कोरोना संक्रमण सहरमा मात्रै नभएर गाउँसम्म फैलिएको छ । उनले केही दिनयता संक्रमितको संख्या दिनदिनै बढ्दै गइरहेको बताए । गत वैशाखयता दोस्रो भेरिएन्ट सुरु भएदेखि लमजुङमा ३ हजार बढी कोरोनाबाट संक्रमित भइसकेका छन् । ३८ जना मृतकका परिवारले सेवा सुविधा लिइसकेका छन् ।

प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले कोरोना संक्रमण बढेको भन्दै यसको नियन्त्रणका लागि आवश्यक कदम चालिएको बताए । उनले तनहुँबाट लमजुङ सीमा पाउँदीमा माक्स डेस्क राख्ने र सामान्य स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइने बताए ।

उनले खोपमा बढी ध्यान केन्द्रित गरेको बताए । सुन्दरबजारस्थित नमुना सामुदायिक अस्पतालमा ४० बेड र बेंसीसहरस्थित जिल्ला अस्पतालको २५ बेडमा आइसोलेसनको व्यवस्थापन गरिने उनले बताए । ‘स्कुल बन्द गरेका छौं ।

औपचारिक कार्यक्रम, सभा समारोहलाई रोक लगाएका छौं,’ उनले भने । उनले स्थानीय तहसँग समन्वय गरेर कोरोना संक्रमण न्यूनीकरणका लागि सबै आ–आफ्नो तवरबाट अघि बढ्न स्थानीय तहलाई भनिएको बताए ।

प्रकाशित : माघ ३, २०७८ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?