सुनसान माघी- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुनसान माघी

बिहान नुहाई पुर्खालाई पूजा गरी दिदीबहिनीलाई तरूलको विशेष खाना ‘निस्रो’ दिने परम्परा
घनश्याम खड्का

म्याग्दी — मगरजातीको प्रमुख चाड माघे संक्रान्ति यस वर्ष पनि खल्लो रह्यो । सदरमुकाममा सांस्कृतिक झाँकीसहित गरिँदै आएको माघे संक्रान्ती पर्व यस वर्ष मगर संघले औपचारिकताका लागि सीमित पुर्ख्यौली समूहमार्फत ‘सरस्वती’ पूजा गरी मनायो ।

औपचारिक कार्यक्रम नगरे पनि जिल्लाका मगरले घर–घरमा वन तरुलको प्रसाद ‘निस्रो’ ले कुलदेवता र दिदीबहिनीको पूजा गरी माघे संक्रान्ति मनाए ।

प्रकृति पूजक मगर जातिले माघे संक्रान्तिलाई मुख्य चाडको रूपमा मनाउँछन् । माघे संक्रान्ति बिछोड/बिदाइको पर्व पनि हो । माघे संक्रान्तिपछि ‘उभौली’ सुरु भएको मानिन्छ । हिउँदमा जाडो छल्न बेंसी झरेका मगरहरू छुट्टिएर आ–आफ्ना खर्कतर्फ गोठ लाग्ने हुँदा माघे संक्रान्ति उल्लासपूर्वक मनाउने र हिउँदमा माइती भेट्न आएका चेलीबेटीलाई वनको कन्दमूल खुवाई बिदाइ गर्ने पुर्ख्यौली चलन हो ।

‘माघे संक्रान्ति पर्व मनाउने पुख्यौली संस्कार थेग्न एक दिन भए पनि औपचारिकतामा सीमित थियो । यो कोरोना महामारीले त्यो पनि गर्न दिएन । सामूहिक पर्व मनाउन नपाए पनि घर–घरमा भने तरुलका परिकार खाएर उल्सासमय रूपमा मनायौं,’ नेपाल मगर संघ म्याग्दीकी अध्यक्ष डकमाया पाइजाले भनिन्, ‘युग फेरियो । संस्कार र संस्कृति पनि फेरिएको छ । पुर्खाले जे गरे त्यही गर्न सम्भव छैन । यो निरन्तर प्रक्रिया मात्र हो ।’

वनको कन्दमूल तरुलको परिकार बनाई चेलीबेटी पुज्ने र पितृ पूजा गरी मनाउने गर्छन् । पुस मसान्तमा दाजुभाइले ल्याएको वन तरुललाई राति पकाउने चलन छ । माघे संक्रान्तिको बिहान नुहाई पुर्खा (कुलकुलायन) लाई पूजा गरी दिदीबहिनीलाई तरुलको विशेष खाना ‘निस्रो’ दिने गर्छन् । महिला वनमा गई निस्रो खाँदै रमाइलो गर्ने र पुरुषले दिनभर धनुषकाँड (तारो हान्ने) खेल्ने परम्परा हो । तर पछिल्ला तीन वर्षदेखि कोरोना महामारीका कारण मगरहरूले सामूहिक रूपमा माघी मनाउन पाएका छैनन् ।

साँझ सबै एक ठाउँमा जम्मा भई ‘ख्याली’ गाउने परम्परा भए पनि पछिल्ला वर्ष सांस्कृतिक झाँकीसहित शुभकामना आदानप्रदान गरी मनाउने गरिन्थ्यो । पशुचौपायासहित जहाँ जे बाली पाक्छ त्यहीं नै बसोबास गरी अर्को बाली खान अर्को खर्क (खेतीफाँट) मा बसाइँ सर्ने, जाडो/गर्मी मौसमअनुसार गोठलाई लेक–बेंसी गर्ने परम्परालाई नै ‘उँधौली–उँभौली’ भन्ने गरिन्छ । फिरन्ते गोठ राख्ने (पशुचौपाया पाल्ने) र खेती गरिने फाँटअनुसार बस्ती सार्ने परम्परामा माघदेखि हिँउद सकिएकाले अब बिस्तारै बेंसी झरेका गोठहरू माथिल्लो क्षेत्रतर्फ लग्ने प्रचलन छ ।

यसैबीच म्याग्दी र कालीगण्डकी नदी दोभान बेनीमा परम्परादेखि लाग्दै आएको माघे संक्रान्ति मेला यस वर्ष पनि लागेन । सूर्य धनु राशि छोडेर मकर राशिमा प्रवेश गर्ने पहिलो दिन (माघ १) मा दोभानमा गई स्नान गरिन्थ्यो । यस वर्ष पनि कोरोना महामारीका कारण भीडभाड गर्न सरकारले रोक लगाएकाले बेनी दोभानमा स्नान गर्नेको संख्या नगन्य रह्यो । पछिल्ला केही वर्षदेखी म्याग्दी उद्योग संघ मातहतको महिला उद्यमी संघले माघे संक्रान्तिका दिन गर्ने सडक खाना महोत्सव पनि यस वर्ष मनाइएन ।

प्रकाशित : माघ २, २०७८ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्

सुर्खेतमा एकै घरका चार जना मृत फेला

चाँदनी कठायत

वीरेन्द्रनगर — सुर्खेतमा एकै घरका चार जना मृत फेला परेका छन् । वीरेन्द्रनगर नगरपालिका–१० बुदबुदेमा उनीहरु मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

मृत्यु हुनेमा जाजरकोटको शिवालय गाउँपालिका–४ स्थायी घर भएका ३५ वर्षीया कल्पा बुढा, उनका आठ वर्षीय छोरा निरज, नौ वर्षीय छोरा चिरञ्जीवी र कल्पाका दाजु मानबहादुर बुढाका पाँच वर्षीय छोरा सोमराज बुढा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

शुक्रबार राति सुतेका उनीहरुलाई प्रहरीले शनिबार बेलुकी मृत अवस्थामा फेला पारेका हो । प्रहरीका अनुसार शुक्रबार बेलुकी खाना खाएर चारैजना एकै कोठामा सुतेका थिए । भोलिपल्ट (शनीबार) बिहानै ७७ वर्षीया कल्पाका ससुरा वीरबहादुर बुढा पूजाआजाका लागि मन्दिर गएका थिए । अपराह्न ४ बजेतिर फर्कँदा कोही पनि उठेको नदेखेपछि शनिबार करिब ६ बजेतिर उनले प्रहरीलाई खबर गरेको डिएसपी घर्तीले जानकारी दिए । उनका अनुसार कोठाभित्रबाट चुक्कुल लगाएर खाटमा सुतेको अवस्थामा प्रहरीले फेला पारेको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घरमा कोइला बाली झ्याल ढोका थुनेर सुत्दा मृत्यु भएको हुन सक्ने देखिएको छ । ‘थप अनुसन्धान चलिरहेको छ,’ उनले भने, ‘तसलामा कोइला बालेको देखिएको छ, झ्याल ढोका, भेन्टिलेसन पनि बन्द गरेको अवस्था छ ।’ निसास्सिएर मृत्यु भएको आशंका गरेको प्रहरीले घटनाबारे थप अनुसन्धानपछि रहस्य खुल्ने जनाएको जनाएको छ ।

बुदबुदेमा कल्पाका दुई छोरा, भदै र ससुरा बस्दै आएको प्रहरीको भनाइ छ । उनका ससुरा भने छुट्टै कोठामा सुतेका थिए । प्रहरीलाई ससुरा वीरबहादुर बुढाले खबर गरेका थिए । कल्पाका श्रीमान कृष्णबहादुर बुढा जाजरकोटमा मेडिकल सञ्चालन गरेर बस्दै आएका छन् । उनी घटनाबारे जानकारी पाउनासाथ राति नै जाजरकोटबाट आईसकेका छन् । केही बेरमा शव पोष्टमार्टमका लागि पठाईने प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरीले सुरक्षा दिईरहेको छ ।

प्रकाशित : माघ २, २०७८ ०९:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×