कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेशले गण्डकी रत्नबाट सम्मान गर्ने

पोखरा — प्रदेशभित्र रहेर विभिन्न क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएका तीन जनालाई गण्डकी प्रदेश सरकारले गण्डकी रत्नबाट सम्मान गर्ने भएको छ । शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, उद्योग, पर्यटन, पूर्वाधार, विज्ञान प्रविधि र समाजसेवालगायत क्षेत्रमा अतुलनीय योगदान पुर्‍याई प्रदेशको गरिमा बढाएको प्रदेशवासीलाई सम्मान गर्न लागिएको सरकारले जनाएको छ । 

प्रदेशले गण्डकी रत्नबाट सम्मान गर्ने

सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्काले यसका लागि सोमबारको मन्त्रीपरिषद् बैठकले विशिष्ट व्यक्ति सम्मान गर्नेसम्बन्धी कार्यविधि २०७८ स्वीकृत गरेको बताए ।

‘प्रदेशसभाले पास गरेको, यसअघिका नीति तथा कार्यक्रममा समेटिएको र बजेटको व्यवस्थासमेत छ,’ उनले भने, ‘प्रदेशको विकासमा योगदान पुर्‍याउने विशिष्ट व्यक्तिलाई सम्मान गर्न लागेका हौं । यो प्रदेशको सर्वाधिक ठूलो सम्मान हो ।’ यसै वर्षदेखि बढीमा ३ जनालाई बर्सेनि सम्मान गरिने उनले जनाए ।

मन्त्रिपरिषद्ले विशिष्ट व्यक्ति सिफारिसका लागि वरिष्ठ मन्त्रीको अध्यक्षतामा अर्थ र आन्तरिक मामिलामन्त्री, प्रमुख सचिव सदस्य र आन्तरिक मामिलाका सचिव सदस्यसचिव रहने सिफारिससमेत गठन गरेको छ । सम्मानित व्यक्तित्वलाई सार्वजनिक सभा, समारोहमा प्रदेश सांसदसरहको मान्यता दिने, प्रदेश अस्पतालमा निःशुल्क सुविधा दिने, संरक्षणविहीन भएमा प्रदेश सरकारले संरक्षकत्व दिने, सार्वजनिक सेवालाई प्राथमिकतादेखि प्रदेशभित्रका विमानस्थलमा अति विशिष्ट कक्ष प्रयोग गर्न सुविधा दिइने कार्यविधिमा छ ।

प्रदेश सरकारले बेरोजगारको लागत संकलन गर्न, विवरण प्रकाशन, रोजगारदाता सूचीकरण र रोजगारदाता तथा बेरोजगारबीच श्रम विनिमयको व्यवस्थाका लागि रोजगार सूचना केन्द्र सञ्चालन गर्ने भएको छ ।

प्रकाशित : माघ १, २०७८ १२:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?