कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लथालिंग आइसोलेसन

आइसोलेसन र आईसीयू तयारी अवस्थामा राखेको भने पनि जनशक्ति नहुँदा अक्सिजन, भेन्टिलेटर अलपत्र अवस्थामा छन्
घनश्याम खड्का

म्याग्दी — कोरोना महामारीको तेस्रो लहर सुरु भइसक्दा पनि म्याग्दीमा भने यसका लागि कुनै तयारी गरिएको छैन । कोरोनाको पहिलो र दोस्रो लहरमा स्थापना गरिएको अक्सिजन जडित भेन्टिलेटर र आईसीयूसहितको आइसोलेसनका संरचना यतिबेला लथालिंग अवस्थामा छन् । संक्रमणको प्रभाव कमजोर भै लकडाउन हटेसँगै कोरोना परीक्षण तथा उपचारको तरिका परिवर्तन गरिएको थियो । 

लथालिंग आइसोलेसन

बेनी अस्पतालमा सञ्चालनमा ल्याइएको आइसोलेसनमा जनरल वार्ड राखिएको छ । आइसोलेसन भवनबाट मात्र होइन, पूरै सञ्चालन उपकरण, स्वास्थ्यकर्मीसहित प्रणाली नै भताभुंग भएको हो । जिल्ला कोभिड संकट व्यवस्थापन समितिका सदस्य सचिव एव स्वास्थ्य कार्यालय प्रमुख एकनारायण लम्साल कोरोना संक्रमणको तेस्रो भेरिएन्टको जोखिम सामना गर्न जिल्लामा तयारी थालेको दाबी गर्छन् । निष्क्रिय बनेका स्वास्थ्यकर्मीसहितको टिम, आइसोलेसन, आईसीयूहरू तयारी राख्न जुटेको उनले बताए । भने, ‘बेनी अस्पतालमा २० बेड र सबै ५ वटा पालिकामा रहेका कोभिड अस्पतालमा ५–५ बेडका आइसेलोसन तयारी हालतमा राखिएको छ ।’

आइसोलेसन र आईसीयू तयारी अवस्थामा राखेको भने पनि जनशक्ति नहुँदा अक्सिजन, भेन्टिलेटर अलपत्र अवस्थामा छन् । अन्नपूर्ण गाउँपालिकाको कोभिड अस्पतालमा डाक्टरसमेत छैनन् । स्वास्थ्य कार्यालय प्रमुख लम्सालका अनुसार साधारण संक्रमितलाई होम आइसोलेसनमा बस्न लगाउने, जटिल भएका बिरामी मात्र कोभिड अस्पताल ल्याउने तथा सदरमुकाम बेनी समेत बजार क्षेत्रमा घरमै आइसोलेसन/क्वारेन्टाइन बस्न नसक्ने (डेरामा बस्ने) संक्रमितलाई बेनीमा एक क्वारेन्टाइन बनाउने पनि निर्णय गरेको छ ।

गण्डकी प्रदेश सरकारले पठाएका ४ वटा भेन्टिलेटर मात्र बेनी अस्पतालमा रहेका छन् । बेनी अस्पतालमा मात्र होइन, स्थानीय तहमा सञ्चालित कोरोना अस्पतालमा पनि आईसीयू र भेन्टिलेटर छैनन् । बेनी अस्पतालमा भेन्टिलेटर भए पनि यी प्रयोगमा छैनन् । बेनी अस्पतालले ५ बेड क्षमताको आईसीयू र भेन्टिलेटर उपलब्ध भए पनि जनशक्ति अभाव हुँदा आईसीयू सञ्चालन गर्न नसकिने जनाएको छ । आईसीयू सञ्चालन गर्ने र बिरामीलाई भेन्टिलेटर चलाएपछि २४ सै घन्टा चल्नुपर्छ । त्यसका लागि कम्तीमा ३ जना मेडिकल डाक्टर र १२ जना स्टाफ नर्स आवश्यक पर्ने अस्पतालले जनाएको छ ।

बेनी अस्पतालका प्रमुख सुपरिन्टेन्डेन्ट डाक्टर जीतेन्द्र कँडेलले अहिले बेनी अस्पतालमा २ बेडको अस्थायी प्रि–आइसोलेसन राखे पनि आइसोलेसन र आईसीयू सञ्चालन गर्ने जनशक्ति नहुँदा कार्यान्वयनमा नआएको बताए । भने, ‘आईसीयू सञ्चालन गर्ने र बिरामीलाई भेन्टिलेटरमा राखेपछि एकजना डाक्टर र स्टाफ नर्स २४ सै घन्टा स्ट्यान्डबाइ रहनुपर्छ । मनिटरिङ गर्न मुख्य समस्या हो । नियमित बिरामी परीक्षण र उपचारमै डाक्टर अभाव छ ।’

कोभिड फोकल पर्सन सुरत केसीका अनुसार बिहीबारसम्म बेनीमा ८ जना, अन्नपूर्णमा २ जना, रघुगंगामा ३ र धवलागिरी गापामा १ जना गरी जिल्लामा १४ जना सक्रिय संक्रमित होम आइसोलेसनमा छन् । पछिल्लो एक सातामा यी संक्रमित थपिएका हुन् । स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका १८ वर्ष माथिका ५८ हजार बढी नागरिकले कोभिडविरुद्धको पूर्ण खोप पाएका छन् । थप १० हजार बढीले पहिलो मात्र खोप लगाएका छन् । त्यस्तै १२–१७ वर्ष उमेर समूहका ११ हजार २ सय ७८ जना बालबालिकाले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाएका छन् । बालबालिकाको लक्षित संख्याको ९० प्रतिशत खोप समेटिएको हो ।

‘यो इस्टिमेटेड जनसंख्या हो । व्यवहारमा हेर्ने हो भने वयस्कहरूमा ७० प्रतिशत बढीले खोप पाएको र बालबालिकामा करिब सबैले पहिलो खोप पाएको स्वास्थ्यकर्मीको रिपोर्ट छ,’ स्वास्थ्य कार्यालय प्रमुख एकनारायण लम्सालले दाबी गरे ।

प्रकाशित : पुस ३०, २०७८ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?