कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

डोबाटेले सम्हाले आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी

काठमाडौँ — गण्डकी प्रदेशका मन्त्री डोबाटे विश्वकर्माले आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् । गत साउनमै मन्त्री बन्ने टुंगो लागेर बधाई आदानप्रदान गरेपनि अन्तिम समयमा नाम काटिएका विश्वकर्मा पाँच महिनापछि आन्तरिक मामिला मन्त्री बनेका हुन् ।

डोबाटेले सम्हाले आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी

उनले आइतबार कार्यभार सम्हालेका हुन् । त्यसक्रममा उनले प्रदेश प्रहरीका उच्च अधिकृतहरुसँग छलफल गरेका थिए । उनलाई विनाविभागीय मन्त्री बनेको करिब अढाई महिनापछि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफूसँगै रहेको आन्तरिक मामिला मन्त्रालयमा जिम्मेवारी दिएका हुन् । मुख्यमन्त्री पोखरेलले गत बुधबार मन्त्री विश्वकर्मालाई आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी दिन सिफारिस गरेका थिए । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शुक्रबार मन्त्रालयको जिम्मेवारी तोकेपछि मन्त्री विश्वकर्माले मन्त्रालयको कार्यभार सम्हालेका छन् ।

गत ८ साउनमा मन्त्रिपरिषद् विस्तार हुँदा नै विश्वकर्माको मन्त्री बन्ने टुंगो लागेको थियो । तर, मुख्यमन्त्रीको सचिवालयबाट मन्त्रीको शपथ लिन निम्तो पाएका विश्वकर्मा तनहुँबाट शपथ खान पोखरा नपुग्दै सभापति शेरबहादुर देउवा र तत्कालिन महामन्त्री शशांक कोइरालाको निर्देशनमा उनको नाम काटिएको थियो । उनको ठाउँमा व्यापारी विन्दुकुमार थापा मन्त्री बनेका थिए । थापा देउवानिकट नेता हुन् भने विश्वकर्मा रामचन्द्र पौडेलनिकट छन् ।

दलित समुदायबाट लामो समयदेखि कांग्रेसको संगठनमा काम गरेका डोबाटेको नाम काटिएपछि त्यसबारे आलोचना भएको थियो । मन्त्रिपरिषद्लाई समावेशी बनाउनुको सट्टा दलित समुदायका एक जनालाई मन्त्री बनाउने तयारी भएपनि उनको समेत नाम काटिएपछि कांग्रेसभित्रै त्यसको विरोध भएको थियो । देउवा र कोइरालाको निर्देशनमा मुख्यमन्त्री पोखरेलले लिएको त्यो निर्णय संविधान र पार्टी नीति, सिद्धान्तविपरीत भन्दै नेताहरूले त्यसलाई तुरुन्तै सच्याउन माग गरेका थिए ।

करिब तीन महिनापछि सभापति देउवाले गत असोजमा पोखरा भ्रमणका क्रममा निर्देशन गरेपछि मुख्यमन्त्री पोखरेलले मन्त्रीको सूचीबाट नाम काटेको ८१ दिनपछि २६ असोजमा डोबाटेलाई विनाविभागीय मन्त्री बनाएका थिए । देउवाको निर्देशनमा गठबन्धनमा छलफल नै नगरी मुख्यमन्त्री पोखरेलले विश्वकर्मालाई मन्त्री बनाएपछि गठबन्धनमा असन्तुष्टि चुलिएको थियो । मन्त्री नियुक्त भएपछि विश्वकर्माको न कार्यस्थल थियो, न कुनै काम । उनी भूमिकाविहीन मन्त्री थिए । तर, मन्त्री नियुक्त भएको अढाई महिनापछि जिम्मेवारी पाएका छन् ।

त्यसो त विश्वकर्मा र पोखरेलको पारिवारिक राजनीतिक सम्बन्धसमेत छ । पोखरेलका पिता गोवर्धन पोखरेल र विश्वकर्माका पितासमेत राजनीतिमा सहयात्री थिए । पछि पोखरेल परिवारकै अगुवाईमा डोबाटे पनि राजनीतिमा सक्रिय छन् । उनी तनहुँबाट समानुपातिकतर्फ प्रदेश सांसद हुन् ।

प्रकाशित : पुस १८, २०७८ १३:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतिप्रति तपाईंको के टिप्पणी छ ?