कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तातोपानीको मज्जा

घनश्याम खडका,

म्याग्दी — डाँडाकाडा सेताम्मे हिउँले ढाकिएको छ । आकाश धुम्म छ । माथि हिउँको चिसो स्याँठ र तल कालीगण्डकीको पानी छोएर चल्ने मुटु कमाउने सिरेटो । 

तातोपानीको मज्जा

कालीगडकी किनारमा उभिएर जीउका लुगा फुकाल्दा आवाज निक्लन्छ, आच्छु जाडो । कठ्यांग्रिने जाडोमा पनि नदी किनारामा मान्छेहरू नुहाउन धुइरिएका छन् । स्वास्थानी व्रत बस्न गंगा नुहाउन होइन, नदी छेउमा निक्लेको भत्भती पोल्ने तातोपानी नुहाउन आएका हुन् । चिसो मौसममा तातोपानीको पोखरीमा डुबेर बस्दा छुट्टै आनन्द । तातोपानीमा डुब्दा हाडजोर्नीको प्राकृतिक उपचार सित्तैमा हुन्छ । शरीरलाई आराम पनि हुन्छ ।


म्याग्दी जिल्लामा कालीगण्डकी, राहुघाट र म्याग्दी खोला किनाराका ८ स्थानमा प्राकृतिक तातोपानीका मूलहरू छन् । यी मूलहरूमा परम्परादेखि स्थानीयले जाडो भगाउन तातोपानीमा डुबुल्की मारेर (हट वाटर स्पा गरी) नुहाउँदै आएका छन् । घर छेउको धाराको चिसो पानीमा ज्यान पखाल्न आँट नहुनेहरू टाढा टाढाबाट पनि गम्छा, साबुन, सेम्पु र फेर्ने कपडा झोलामा बोकेर दिनभरको निमेक खेर फालेरै तातोपानी नुहाउन आउने धेरै हुन्छन् । तातोपानी डुब्दै जाँदा स्थानीयको अनुभवले अहिले यहाँका तातोपानीका पोखरीहरू प्राकृतिक अस्पताल कहलिएका छन् ।


केही तातोपानीका मूलहरूको व्यवसायीकरण गरिए पनि कालीगण्डकी किनाराको रातोपानी, नारच्याङ, महभीर, दग्नाम र मुदीसमेतका मूलमा अझै परम्परागत शैलीका अस्थायी पोखरी बनाएर नुहाउने र डुबुल्की मार्ने प्रचलन जीवित छ । ‘घर छेउमा तातोपानी भएकाले बिहान सबैरै उठ्यो, तातोपानी गयो, आधा–एक घण्टा तातोपानीमा चोपलियो, खललल पसिना बगायो, बडो आनन्द हुन्छ । दिनभरि ज्यान हलुंगो बन्छ,’ अन्नपूर्ण गाउँपालिका–६ पोखरेका खड्ग गिरीले भने, ‘जाडो सिजनमा प्राकृतिक उपचारका लागि पोखरीमा डुब्न मात्र होइन, चिसो पानीले नुहाउन नसक्ने सबै तातोपानीमा ओइरिन्छन् । उपचार हुने, तातोपानीले नुहाउन पनि पाइने ।’


संसारको सर्वाधिक गहिरो अन्धगल्छीमा अवस्थित तातोपानी प्राचीनकाल भारत–भोट (तिब्बत) नुन व्यापार गर्ने थलो थियो । भोटको नुन लिएर बेच्न झरेका थकाली र नुन किन्न आएका ढाक्रेहरूले कालीगण्डकी नदी किनारामा तातोपानी देखेपछि अस्थायी पोखरी बनाई ‘जाडो फाल्न’ नुहाउन थालेका हुन् । वरपरका दाना, नारच्याङ, भुरुङ, दोवा, पाउद्धार, शिख, घार, र घराम्दीसमेतका बस्तीको बीचमा ‘घाट’ परेकाले सामान किन–बेचका लागि हिउँद आउने र तातोपानीमा डुब्ने चलन परम्परादेखि नै थियो । अहिले स्थानीयलाई भन्दा तातोपानीले विदेशी पर्यटकलाई बढी स्वागत गर्ने गरेको छ ।


‘हजुरआमाले भनेअनुसार पुर्खादेखि नै थाकखोलाबाट हिउँदमा जाडो फाल्न तातोपानीमा आउने र ८/१० दिन तातोपानीमा डुबेर फर्कने गर्थे । सिस्नुघारी थियो, बस्ती थिएन । पछि थकालीहरूले आफ्नो नाममा दर्ता गरेछन्,’ भुरुङ–तातोपानीका भुवन गौचनले भने, ‘वरपरका मान्छेहरू डुब्ने र नुहाउने तातोपानी २०३५/४० तिरबाट पर्यटक बढेपछि स्थानीयले भन्दा पर्यटकले प्राथमिकता पाउन थालेका हुन् ।’

७० वर्षअघिसम्म सिंगाको स्वता नजिक म्याग्दी खोला बगरमा तातोपानीको मूल निक्लन्थ्यो, बग्थ्यो । हिउँदमा गोठालाहरू खोला किनाराको तातोपानीमा अस्थायी कुण्ड बनाई नुहाउने चलन थियो ।


हिउँदको जाडो छल्न तातोपानीको पोखरीमा डुब्दा हाडजोर्नी र पेटका बिरामीलाई फाइदा भएपछि वरपरका वस्तीबाट मान्छेहरू डुब्न आउन थालेका हुन् । विस्तारै वचन विज्ञापनले मान्छे तातोपानी डुब्न आउने क्रम बढेको हो । ‘हाडजोर्नीका समस्या र पेट ढुस्स हुने रोगीका लागि तातोपानी बढी उपयोगी छ,’ म्याग्दी अस्पतालका डा. विराज शर्माले भने, ‘एलोपेथिक उपचारमा पनि कतिपय रोगको उपचार गर्दा तातोपानीले सेक्न लगाउँछौं । यो उपचारपद्धति वैज्ञानिक पनि छ ।’


बेनी नगरपालिका–४ को म्याग्दी खोला किनाराको सिंगा तातोपानी र अन्नपूर्ण गाउँपालिका–२ स्थित कालीगण्डकी किनारको भुरुङ–तातोपानीको मुहान बढी प्रख्यात छन् । सिंगा तातोपानीमा बिरेनुन र भुरुङ र नारच्याङ तातोपानीमा नुनको गन्ध र स्वाद पाइन्छ । अन्य स्थानका तातोपानी भने गन्धरहित छन् ।


अन्नपूर्ण गाउँपालिकाअन्र्तगत कालीगण्डकी किनारामा पर्ने महभीर, रातोपानी र नारच्याङ वेंसीमा पनि तातोपानीका मूलहरू छन् । यहाँका तातोपानीमा वरपरका बस्ती र पोखरा, काठमाडांै, बुटवलसमेतका सहरमा बसाइँ सरेका स्थानीयहरू यहाँका तातोपानीमा डुब्न आउने गरेका छन् ।


पश्चिम धौलागिरी फेदीको गुर्जा र मुदी बगरामा पनि तातोपानीका मुहान छन् । बस्तीबाट धेरै टाढा भएकाले यहाँ गुर्जा र मुदीको बगराका बासिन्दा मात्रै डुब्न पुग्छन् । जिल्लाको तेस्रो ठूलो रघुगंगा खोलामा पनि तातोपानीको मुहान छ । रघुगंगा गाउँपालिकाको पीप्ले, दग्नाम, दर्मिजा, चिमखोला, कोटगाउँ, पाखापानी र झिं बस्तीको पुछारमा रहेको यो तातोपानीमा स्थानीयले डुबेर प्राकृतिक उपचारको लाभ लिने गरेका छन् ।


लामो पदयात्राबाट गलेको शरीरलाई आराम दिन, जोर्नी मर्केको र चोट लागेका बिरामीले स्वास्थ्य आरोग्यताका लागि तातोपानी थेरापी वैकल्पिक उपचार पद्धति हो । पृथ्वीको धेरै तल पुगेको पहाडका ढुंगा भित्री म्याग्माले तातेको ढुंगामा पानीको मूल सम्पर्कमा पुग्दा तलको बाफले धकेलिएर बाहिर तातोपानीको मुहान निक्लने मान्यता छ ।


नेपालमा भेटिएका तातोपानीमध्ये सबैभन्दा बढी म्याग्दीका ९ स्थानमा मुहान छन् । म्याग्दीमा पाइएका तातोपानीमध्ये सबैभन्दा बढी अन्नपूर्ण–६ रातोपानीको मूलमा तापक्रम ७३ डिग्री सेल्सियस, भुरुङमा ७१ डिग्री र सिंगाको कुण्डमा ५५ डिग्री हुने गरेको छ ।


‘म्याग्दीमा तापक्रम मापन गरेका ७ वटा मुहानमध्ये रातोपानीमा सबैभन्दा बढी तातो ७३ डिग्री र धौलागिरि फेदीको बगराको तातोपानीमा कम २५ डिग्री सेल्सियस भेटियो,’ जाइकाको सहयोगमा तातोपानीको अध्ययन गरिरहेका याम खडकाले भने, ‘तातोपानीमा भएका मिनिरल्स र अन्य विवरण विज्ञ टिमबाट अध्ययन भइरहेको छ ।’

प्रकाशित : माघ १२, २०७५ ११:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?