कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

मधेशमा गठबन्धनभित्र असन्तुष्टि चुलिँदै

अजित तिवारी

जनकपुर — ५ दल सरकारमा रहेको र केही साना दलको समर्थनमा बनेको मधेश प्रदेश सरकारमा गठबन्धनभित्रै तीव्र असन्तुष्टि देखिएको छ । दलहरूबीचको मिलाउन संघीय सत्ता गठबन्धनको दबाबपछि जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादव आफैंले अग्रसरता लिए पनि असन्तुष्टि झन् चुलिएको छ । 

मधेशमा गठबन्धनभित्र असन्तुष्टि चुलिँदै

मन्त्रालय बाँडफाँड नमिलेको, मन्त्रालयलाई टुक्र्याएर कमजोर पारिएको र मुख्यमन्त्री सरोजकुमार यादव आफूखुसी हिँडेको भन्दै सत्ता गठबन्धन दलचित्र असन्तुष्टि छ । मधेश प्रदेशका जसपा नेतृत्वमा कांग्रेस, माओवादी(केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) र नेकपा(एस) सम्मिलित सरकार छ । मधेश प्रदेश सरकारलाई साना दल राप्रपा, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदको समर्थन छ ।

कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा झडपै भएपछि सरकारमा सहभागी जनमत पार्टीले आफ्ना दुई मन्त्रीलाई फिर्ता बोलाएर समर्थनसमेत फिर्ता लिएको थियो ।मधेश प्रदेश सरकारमा गठबन्धनबीच समस्या देखिएपछि जसपाका अध्यक्ष यादवले मंगलबार साँझ दलका नेताहरूलाई बोलाएर छलफल गरेका थिए । जनकपुरस्थित मुख्यमन्त्रीको सरकारी निवासमा बोलाइएको गठबन्धन दलको बैठकमा नेता यादवले जनमत पार्टी सरकारबाट बाहिरिएपछि खाली रहेको दुई शिक्षा तथा संस्कृति र श्रम तथा यातायात मन्त्रालय बाँडफाँड गर्न अफर गरेका थिए । गठबन्धन दलको असन्तुष्टि नसुनी जसपा अध्यक्ष थोरै समयमा बैठकबाट बाहिरिएका थिए । उनी काठमाडौं फर्किनुपर्ने भएकाले बैठकमा समय दिन नसकेको जसपाका एक मन्त्रीले बताए ।

‘गठबन्धनभित्र ठीकठाक छैन । समस्या छ । तर, त्यसको सुनुवाईहुन सकेको छैन,’ लोसपाका प्रदेश सांसद उपेन्द्र महतोले कान्तिपुरसँग भने,‘मन्त्रालय मिलेको छैन । मन्त्रालयहरूलाई टुक्र्याएर कमजोर पारिएको छ । गठबन्धन दलको बैठक बोलाइँदैन ।’ महतोका अनुसार जसपा अध्यक्ष यादवले गठबन्धनको बैठक बोलाए पनि चिया–कफी खाएर आफूहरू बाहिरिएको बताए । ‘गठबन्धनभित्रको समस्या सम्बोधन होला भनेर हामी गएका थियौं,’ उनले भने,‘उपेन्द्रजी थोरै समयमा बाहिरिनु भयो । हामी पनि चिया–कफी खाएर निस्कियौं । खासै कुराकानी भएन ।’ माओवादी(केन्द्र)का संसदीय दलका नेता भरतप्रसाद साहले गठबन्धन दलको बैठक बोलाए पनि आफूहरूको गुनासो नसुनेको बताए । ‘हाम्रा केही गुनासा छन् । मुख्यमन्त्रीको कामगराइप्रति असन्तुष्टि छ,’ उनले भने,‘यी सबै कुरा सुन्न जसपा नेतृत्व तयार देखिएन । अनि हामी बैठकबाट बाहिरियौं ।’

मधेश प्रदेश सरकारमा गठबन्धनभित्र यतिबिघ्न असन्तुष्टि छ कि जनमत पार्टीले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनुअघि माओवादी(केन्द्र), लोसपा र एमालेका सांसदहरु भारत, विहारको सुरसन्ड पुगेका थिए । मुख्यमन्त्री यादवलाई विश्वासको मत नदिने अडानमा भारत पुगेका सांसदहरूलाई भने दलको केन्द्रीय नेतृत्वको दबाबमा जनकपुर फर्काइएको थियो ।

प्रकाशित : फाल्गुन १६, २०८० ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×