कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

धुलाम्मे कार्पेटमा विद्यार्थी, टेबलमा थन्कियो कम्प्युटर

कक्षाकोठा र शिक्षक अभावका कारण अन्य सुविधा भए पनि प्रयोग हुन सकेन
सन्तोष सिंह

धनुषा — महोत्तरीको एकडारा गाउँपालिका–५ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय बहेडा जब्दीमा ६६ जना विद्यार्थी छन् । ६ कक्षामा आएदेखि कम्प्युटरको छेउमै बसेर दिनहुँ पढे पनि उनीहरूले कम्प्युटर चलेको देख्न पाएका छैनन् ।

धुलाम्मे कार्पेटमा विद्यार्थी, टेबलमा थन्कियो कम्प्युटर

कक्षाकोठामा धुलाम्मे कार्पेटमा उनीहरूको पढाइ हुन्छ । कार्पेटमाथि बस्न म्याट छ । तर फोहोर हुने भन्दै कुनामा थन्काइएको छ । छेउमा प्रयोगविहीन महँगा कम्प्युटर धुलाम्मे पर्दाले छोपिएको छ । र्‍याकमा पुस्तकहरू खाँदिएको छ । छेउका कोठामा फरकफरक कक्षाका विद्यार्थीलाई एकै ठाउँमा राखेर पढाउने गरिएको छ ।

विद्यालयमा गाउँपालिका र गैरसरकारी संस्थाले फर्निचर, कम्प्युटर, कार्पेट, पंखा, टीभी, म्याट, कुर्सी उपलब्ध गराए पनि प्रयोगमा आउन सकेको छैन । शिक्षक नहुँदा कम्प्युटर प्रयोगमा आउन नपाई धूलोले ढाकिएको छ । फर्निचरहरू स्टोर रुममा थन्किएको छ । चार वर्ष अगाडि गाउँपालिकाले उपलब्ध गराएको ६ लाख बजेटबाट विद्यालयले ७ थान कम्प्युटर, एक ल्यापटप र प्रिन्टर खरिद गरेको थियो । कम्प्युटर दिए पनि कक्षाकोठा र शिक्षक अभावका कारण प्रयोगमा आउन नसकेको प्रधानाध्यापक रामईश्वर मण्डलले बताए ।

‘विद्यालयमा कम्प्युटर दिनुभयो । तर, कम्प्युटर पढाउने शिक्षक र कक्षाकोठाको अभाव छ,’ प्रअ मण्डलले भने, ‘शिक्षक नहुँदा कक्षाकोठाको कुनामा धूलोबाट बचाउन पर्दाले छोपेर राखिएको छ । कक्षाकोठा अपुग हुँदा कम्प्युटर ल्याबकै भुइँमा बसेर विद्यार्थी पढाउने गरेको छु ।’ बालविकासदेखि कक्षा ८ सम्म पढाइ हुने विद्यालयमा न्यूनतम ९ जना शिक्षक आवश्यक पर्ने भए पनि ७ जना मात्रै रहेको उनले बताए ।

शिक्षक अभावकै कारण बालविकासका ३, ४ र १ कक्षाका ७६ गरी ११० जना विद्यार्थी एउटै कोठामा राखेर पढाउने गरिएको छ । विद्यार्थी सम्हाल्न नसक्दा कक्षाकोठाको टीभीमा कार्टुन चलाएर विद्यार्थी भुलाउने गरेको अनिता साहले बताइन् । विद्यालयमा कक्षाकोठा अभावकै कारण ५ कक्षासम्म संयुक्त कक्षा चलाउनुपरेको उनले बताइन् । विद्यालयमा ५ सय ९८ विद्यार्थी छन्, जसमध्ये मुस्लिम, दलित र विपन्न बालबालिकाको संख्या धेरै छ । विद्यालयमा स्थायी शिक्षक १ जनामा मात्रै छन् । करारका शिक्षकले विद्यालय धानिएको छ ।

विद्यालयमा राम्रो पढाइ र बस्ने ठाउँ नभएकै कारण बालबालिका नियमित विद्यालयसमेत आउँदैनन् । मदरसामा पढ्ने गरेका बालबालिका विद्यालयमा नामांकन गराएका कारण विद्यार्थीको संख्या बढी देखिएको प्रअ मण्डलले बताए । विद्यालयमा कक्षाकोठाको अभाव हटाउन नयाँ भवन निर्माणको प्रक्रिया अगाडि बढाइएको छ । पुरानो भवन भत्काएर नयाँ भवन नबनेसम्म विद्यालयमा थप समस्या आउने स्थानीय बताउँछन् । एकडारा गाउँपालिकाका १५ वटा विद्यालयको अवस्था यस्तै मिल्दोजुल्दो छ । सबै विद्यालयमा कक्षाकोठा र शिक्षक अभाव रहेको गाउँपालिकाका शिक्षा संयोजक शिवशरण दासले बताए । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आए पनि विद्यालयमा कुनै बदलाव नआएको संयोजक दासले बताए ।

एकडारा–४ मा रहेको राष्ट्रिय आधारभूत विद्यालय भंगहिया, वडा २ मा रहेको नेपाल राष्ट्रिय अधारभूत विद्यालय बेला र मुनरी राष्ट्रिय आधारभूत विद्यालय भटौलियाको अवस्था पनि बहेडा जब्दीजस्तै छ । ती विद्यालयमा विद्यार्थीअनुसार कक्षा र शिक्षक नहुँदा पढाइ प्रभावित भइरहेको छ । गाउँपालिकाका अध्यक्ष दीपनारायण मण्डलले विद्यालयको अवस्था सुधार्न भवन निर्माण कार्य अगाडि बढाइएको बताए । स्थानीय तहमा निर्वाचित भएको डेढ वर्षमा शिक्षा अवस्थामा सुधार भएको उनले दाबी गरे । मधेश प्रदेशका ८ वटै जिल्लाका सामुदायिक विद्यालयमा शिक्षक र भौतिक संरचनाको अभाव छ । विद्यालय शिक्षामा स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारको बजेट खर्च भए पनि उपलब्धि भने हुन सकेको छैन ।

प्रकाशित : फाल्गुन १, २०८० ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×