कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

सरकारी कागज किर्ते अभियोगमा रंगेली-४ का वडाध्यक्षसहित १३ जनालाई पक्राउ गर्न अदालतको आदेश

विनोद भण्डारी

विराटनगर — सरकारी कागज किर्ते गरेर अंशबण्डाको जमिन अंशीयारलाई एकलौटी पार्न सहयोग गरेको भन्दै परेको उजुरीमा जिल्ला अदालत मोरङले रंगेली नगरपालिका-४ का वडाअध्यक्ष अभदेश मण्डलसहित १३ जनालाई पक्राउ गर्ने आदेश दिएको छ ।

सरकारी कागज किर्ते अभियोगमा रंगेली-४ का वडाध्यक्षसहित १३ जनालाई पक्राउ गर्न अदालतको आदेश

उनीहरुमध्ये एकलौटी अंश लिने प्रयास गर्ने राजकिशोर साहलाई आइतबार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार वडाअध्यक्षसहित अरु सबै फरार छन् ।

पक्राउ सूचीमा किर्तेमा सहभागी भएर साक्षी बसेका रंगेली नगरपालिकाका उपमेयर झुमा पराजुली (निरौला) का पति गणेश निरौला, मालपोत कार्यालय विराटनगरका तामेली फाँटका प्रमुख तुलसीराम चौधरी, मालपोत कार्यालय रंगेलीका मुद्दा फाटका प्रमुख अर्जुन घिमिरे, लेखापढि व्यवसायी लोकनाथ निरौलासहित १३ जना छन् । जिल्ला अदालतले जेठ ९ गते उक्त आदेश जारी गरेको थियो ।

रंगेली ४ आमतोलाका ७९ वर्षीय रामप्रसाद साहको नाममा रहेको जग्गा उनकी जेठी पत्नीका छोरालाई छलेर कान्छी पत्नीको नाममा ल्याउन रङ्गेली ४ का वडाअध्यक्ष मण्डललाई आर्थिक प्रभावमा पारेर एकपक्षीय अंशियारका नाममा नामसार गरेको जेठी तर्फका छोरा वीरेन्द्र साहले उजुरी गरेका थिए ।

रामप्रसाद साहको नाममा साविक गाविस रंगेली वडा नं. ८ को नक्सा सिट नं. १७८०७१८ को किता नं. १५६ र १५७ रहेको २०५ र ३३८.६३ वर्ग मिटरको जग्गा जेठी पत्नी कलावतीका सन्तानलाई छलेर कान्छी पत्नी कौशीलाका छोरालाई मात्र अंशबण्डा गर्न सरकारी कागजपत्र किर्ते गरेको विरोधमा उजुरी परेको थियो । उक्त जग्गाको मुल्य अहिले करिब तीन करोड पर्ने बताइएको छ ।

रामप्रसाद साहको ८ वैशाख २०७९ मा मृत्यु भएपछि कान्छी पत्नीका छोरा राजकिशोरले बावुको १३ औं दिनमा मृृत्य दर्ता बनाए । बावुको मृत्यु भएपछि काजकिरिया सकिएकै दिन १३ दिनमा एकलौटी रुपमा आफूले मात्रै अंश लिने उद्देश्यले रंगेली ४ नं. वडा कार्यालयबाट २१ वैशाख २०७९ मा मृत्यु दर्ता बनाए । त्यसपछि जेठीपट्टीका छोरा वीरेन्द्रलाई २६ भदौ २०६५ मा ५० हजार रुपैयाँ अंश दिएको देखाएर कान्छी तर्फका छोरा राजकिशोरले बावुको नाममा रहेको जग्गा आफ्नो नाममा ल्याउन सर्जमिन मुचुल्का बनाए ।

५ फागुन २०७९ मा एकल अंशियार देखाए राजकिशोरले सर्जमिन मुचुल्का उठाए । उक्त सर्जमिन मुचुल्कामा उपप्रमुखका पति गणेश निरौला, विनोदकुमार मण्डल, अनिल मण्डल, दिनेश मण्डल, अजय प्रसाद साह, धिरज कुमार मण्डल र प्रमानन्द मण्डलले हस्ताक्षर गरिदिए ।

त्यसपछि १७ साउन २०८० मा राजकिशोरको मन्जुरीमा उनी आमा कौशिलादेवि साहको नाममा मृत्यु भएको बावु रामप्रसादको जग्गा र घर नामसारी गरिदिन मालपोत कार्यालय रंगेलीलाई वडाअध्यक्ष अभदेशकुमार मण्डलले सिफारिस बनाइदिए । वडाले दिएको उक्त सिफारिसको आधरमा मालपोत कार्यालय रंगेलीले १८ साउन २०८० मा कौशिलादेवी साहको नाममा जग्गा नामसारी गरेको देखिएको छ ।

बावुको नाममा रहेको जग्गा एकलौटि रुपमा राजकिशोरले आफ्नी आमा कौसीदेविको नाममा ल्याएको १० महिनापछि मात्रै जेठीपटिका छोरा वीरेन्द्रकुमार साहले थाहा पाए । उक्त जग्गा बैंकमा राखेको थाहा पाएपछि मात्रै वीरेन्द्रले आफ्नो बावुको नाममा रहेको जग्गा अंशबन्डा नगरी कान्छी आमातर्फका छोरा राजकिशोरले जनप्रतिनीधि र बिचौलिया प्रयोग गरि एकलौटि आफ्नो नाममा ल्याएर गत वैशाखमा थाहा पाएका हुन् ।

एकलौटी रुपमा बावुको अंश कान्छीतर्फका छोराले मात्र लगेको पत्तो पाएपछि वीरेन्द्रले मालपोतमा गएर हेरेपछि सरकारी कागजपत्र किर्ते गरेको पत्तो पाएका हुन् । त्यसपछि उनले वडाअध्यक्ष अवधेशकुमार मण्डलसहित १३ जना विरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा सरकारी कागजपत्र र छाप किर्ते मुद्दामा जाहेरी दर्ता १ जेठमा दर्ता गराएका थिए ।

मोरङ प्रहरीमा जाहेरी दर्ता भएपछि ९ जेठमा वडाअध्यक्षसहित १३ जना विरुद्ध पक्राउ पूजी मोरङ अदालतबाट अनुमति प्रहरीले पाएको छ । वडाअध्यक्षसहित १३ जना विरुद्ध सरकारी कागजपत्र किर्ते गरेको मुद्दामा उजुरी दर्ता भएपछि अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । अहिले घटनाको अनुसन्धान सुरू भएको र अनुसन्धानपछि थप कुरा खुल्ने बस्नेतले बताए ।

अदालतबाट पक्राउ पूर्जी जारी भएपछि वडाअध्यक्षसहित १३ जना गाउँबाट अहिले फरार रहेको प्रहरीले बताएको छ । प्रहरीकाअनुसार पक्राउ पुर्जीमा उल्लेख भएको व्याक्तिको खोजी कार्य सुरु भएको छ ।

रंगेल- ४ आमतोलामा रामप्रसाद साहको जग्गामा बनेको घर । उनको ८ वैशाख २०७९ मा मृत्यु भएपछि कान्छीतर्फका छोरा राजकिशोरले एकलौटि रुपमा बिचौलियामार्फत् ठूलो रकम खर्चेर आमा कौसिलादेवि साहको नाममा ल्याएको जग्गा । तस्बिर : कान्तिपुर





प्रकाशित : जेष्ठ १३, २०८१ १४:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?