कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

झूट नीतिले भरिएको कूटनीति घातक

पाठक पत्र

कूटनीतिक असफलताका कारण दशकौंदेखि नेपाल र नेपालीको विश्वमा बदनाम भइरहेको छ । परराष्ट्र मामिलाबारे जानकारी नभएका दलहरूले मुलुकमा कब्जा जमाएपछि विदेश नीति अरू अस्पष्ट, कमजोर बनेसँगै नेपाली राजनीतिज्ञको असफलता, हैसियत छताछुल्ल बनेको र मुलुकको गरिमा धुमिल बन्न थालेको होइन र ?

धेरैलाई त परराष्ट्र नीति र कूटनीतिबीचको भिन्नताबारे जानकारी छैन । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारमा केही शीर्ष नेताले डडेलधुरालगायत दुर्गम जिल्ला पुगेर कूटनीतिको परिभाषा खोज्दै आफ्नो वैचारिक दरिद्रता प्रकट गरेका थिए ।

केही दिनअघि संसदीय बैठकमा जीवनको अन्तिम प्रहरमा पुगेका नेताले भारतसँगको कूटनीति कस्तो हुने भन्दै हास्यास्पद, होहल्लाको विषय बनाउन खोजेका थिए । यथार्थमा कूटनीति विज्ञ व्यक्तित्वले मात्र तय गर्न सक्ने, चातुर्य, दृष्टिकोणमिश्रित, अति गोप्य विषय हो, जसबाट मुलुकको सार्वभौमिकता, अखण्डता, स्वाभिमान जोगिनुका साथै सुरक्षा र विकासको प्रत्याभूति पाउन सकिन्छ ।

कूटनीति संसद्मा होहल्ला मच्चाउँदै कुर्लने, सार्वजनिक ठाउँमा भाषण गरेर उफ्रने विषय हुँदै होइन । यसभित्र कतिपय अलिखित विषय पनि जोडिएर आउँछन् भने आकस्मिक संकटको सामना गर्नुपर्ने हुन्छ ।

जस्तो इजरायल–हमास, रुस–युक्रेन युद्ध, भारत र चीनको सीमा क्षेत्रका सेनाबीच हुने कुस्ताकुस्ती अलिखित, अमूक विषय होइनन् र ? सफल कूटनीतिबाट सिंगापुर, कतार, स्वीट्जरल्यान्ड, बेल्जियमजस्ता देश समृद्धिको शिखरमा पुगेका छन् ।

आपसी सम्बन्ध सुमधुर वनाएर भिसाको आवश्यकतासमेत नचाहिने गरी युरोपियन युनियन अन्तर्गतका देशहरू एकढिक्का भई ‘युरो’ लाई अन्तर्राष्ट्रिय मुद्रा बनाउन सफल भएका छन् । यसबाट हामीले कहिले पाठ सिक्ने ?

यता कूटनीतिबारे जानकारी नभएका आफ्ना मान्छेलाई राजदूत बनाउने प्रथा हाबी हुँदा अन्तर्राष्ट्रिय सम्बन्ध क्षतविक्षत भएकामा कहिले गम्भीर हुने ? हालै सरकारले कार्यकाल पूरा नहुँदै ११ जना राजदूतलाई फिर्ता बोलाएको छ, जुन भर्त्सनायोग्य छ ।
– भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं

प्रकाशित : असार ३, २०८१ १२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×