कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.६७°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

ताप्लेजुङमा खोलाले गाडी बगायो, पाथीभरा जाने सडक अवरुद्ध

आनन्द गौतम

ताप्लेजुङ — फुङलिङ नगरपालिका-९ हाङदेवाको हिरिया खोलाले मे १ज २५७९ नम्वरको बोलेरो गाडी बगाएको छ । फुङलिङ नगरपालिका-११ फुरुम्वुको मित्लुङबाट सदरमुकामतर्फ आउँदै गरेको गाडी बगाएको हो । 

ताप्लेजुङमा खोलाले गाडी बगायो, पाथीभरा जाने सडक अवरुद्ध

खोलाभित्र पसेपछि गाडीको स्टार्ट बन्द भएकाले र त्यहीबेला आएको लेदोले बगाएर १५ मिटर तल पुर्‍याएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कमल कुमार लुङगेलीले जानकारी दिए ।

गाडीमा रहेका चालक राजकुमार पौडेल सकुशल रहेका छन् । पौडेलका अनुसार खोलालेनै गाडी किनारामा पुर्‍याएको थियो ।यता, सदरमुकाम फुङलिङबाट पाथीभरा जाने मोटरबाटोमा झरको पहिरोले को१झ २९५८ नम्वरको बोलेरो गाडी पुरिएको छ ।

पुरिएको गाडीलाई जेसीबीको सहयोगमा निकालिएको प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए । चालक कुमार भट्टराई भनें सकुसल रहेका छन् । गाडीमा चालक मात्रै रहेका थिए । यहाको पहिरोले पाँचवटा बिजुलीका पोल, काफ्लेपाटीबाट सेवारो चोकसम्म ल्याएको खानेपानीको तीन क्वायल पाइप समेत पूर्णरुपमा क्षति गरेको स्थानीयले बताएका छन् ।

यहाँको सार्वजनिक शौचालय र आसपासमा रहेका घरहरु समेत पहिरोको जोखिममा रहेको प्रहरीले जनाएको छ । जोखिमका घरहरुलाई सुरक्षित हुन सल्लाह दिएको रावलले बताए। अवरुद्ध सडक खुलाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा रहेको र सरोकारवाला निकायसँग पनि छलफल भइरहेको रावलले बताए ।

ताप्लेजुङमा वुधबारदेखि लगातार वर्षा भइरहेको छ ।

प्रकाशित : असार २, २०८१ १५:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहमाथि नगरसभामै भएको आलोचना र विरोधलाई कसरी लिनु भएको छ ?

x