कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४७

निर्माणस्थलमै पुगेर मन्त्रीले निर्देशन दिए पनि बनेन हेवा खोलाको पुल

तीन सातादेखि यातायात र ढुवानीका साधन ठप्प हुँदा ताप्लेजुङमा व्यापारिक तथा दैनिक उपभोग्य वस्तुको अभाव भएको छ ।
लक्ष्मी गौतम

पाँचथर — असार २ गतेको बाढीले मेची राजमार्गमा पर्ने पाँचथर र ताप्लेजुङ जोड्ने हेवा खोलाको पुल बगाउँदा दुई जिल्ला बीचको यातायात ठप्प भएको तीन साता बित्यो ।

निर्माणस्थलमै पुगेर मन्त्रीले निर्देशन दिए पनि बनेन हेवा खोलाको पुल

घटनालगत्तै संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले क्षतिग्रस्त स्थानमा सात दिनभित्र बेलीब्रिज बनाउन निर्देशन दिए । असार १६ मा मन्त्री ज्वालाले स्थलगत निरीक्षण गर्दा काम आधा पनि नभएको देखे । त्यसपछि उनले बेलीब्रिज निर्माणमा थप ढिलाइ नगर्न अर्को निर्देशन दिएर फर्किए । तर शुक्रबारसम्म पुल निर्माणको कार्य ज्यूँकात्यूँ छ ।

असार ५ गते सामग्रीसहित सडक डिभिजन कार्यालय इलामबाट आएका प्राविधिक र कर्मचारीले पुल निर्माण सुरु गरेका थिए । सडक डिभिजन इलामका इन्जिनियर बिपिन ढुङगाना पुल निर्माणको काम सकिन अझै केही समय लाग्ने बताउँछन् । उनका अनुसार यो पुलको लम्बाइ ४८ मिटर छ । जहाँ ३–३ मिटर लम्बाइका १६ वटा बेड जोड्नुपर्ने हुन्छ । हालसम्म १० वटा मात्रै बेड जोडिएको छ भने ६ वटाको काम बाँकी छ ।

‘वारि र पारि बेस निर्माण र ढलानको काम सकियो, बेड जडान धमाधम हुँदैछ निरन्तर काम गर्न पाए अबको ५ दिनभित्रमा गाडी तर्नसक्ने अवस्थामा पुर्‍याउँछौं,’ उनले भने ।

पुल निर्माणका लागि ५० हाराहारीमा जनशक्ति परिचालन गरिए पनि डाइभर्सन गर्ने ठाँउमा अलमलिँदा काममा ढिलाइ भएको उनको भनाइ छ । अस्थायी रुपमा यातायात खुलाउन पुल बनाउँदै गरेको स्थानदेखि करिब १ सय मिटरमाथि ह्युमपाइप राखेर डाइभर्सन गरिए पनि त्यो सफल हुन सकेको छैन ।

प्रहरी, स्थानीय र सडक विभागका कर्मचारी जुटेर बनाएको डाइभर्सनमा यसअघि ३ पटक यातायात संचालन गराएको थियो । तर दिनभरी काम गरेर डाइभर्सन गराए पनि राती बाढी बगाउँदा मेची राजमार्गबाट हुने ताप्लेजुङसँगको सम्बन्ध टुटेको छ । तीन सातादेखि यातायात र ढुवानीका साधन ठप्प हुँदा ताप्लेजुङमा व्यापारिक तथा दैनिक उपभोग्य वस्तुको अभाव भएको छ ।

डाइभर्सनमा मान्छेसँगै स्काभेटरसहितका उपकरण पनि प्रयोग गर्नुपर्ने भएकाले ‘डिस्टर्ब’ भइरहेको ढुंगाना टिप्पणी गर्छन् । पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष नवराज घिमिरे सडक विभागको ढिलाइकै कारण हेवा खोलामा कामले गति लिन नसकेको आरोप लगाँउछन् ।

सडक डिभिजन इलामका प्रमुख विदुर पोखरेल भने वर्षात, काम गर्ने ठाँउ साँघुरो र डाइभर्सनमा जनशक्ति विकेन्द्रित हुनु परेकाले कामले गति लिन नसकेको दाबी गर्छन् ।

पुल निर्माणमा भएको ढिलाइले पाँचथरका हिलिहाङ, फालेलुङ र याङवरक सँगै सिङ्गो ताप्लेजुङ जिल्ला प्रभावित भएको छ । चाँडो काम सकिने आशामा विभिन्न स्थान जान हिँडेका सवारी र यात्रु हेवा खोला वारिपारि अलपत्र छन् । मोटरसाइकल र मान्छे आउजाउका लागि सुरक्षाकर्मीले बाँसको झोलुंगे बनाएका छन् भने सामान तार्न तुइन प्रयोग भइरहेको छ ।

प्रकाशित : असार २२, २०८० १४:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?