कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

कोशीमा एमाले नेतृत्वको सरकार ढल्यो

देवनारायण साह

विराटनगर — कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभामा शुक्रबार विश्वासको मत पाउन नसकेपछि सरकार ढलेको हो । २०७९ मंसिरमा भएको प्रदेश सभा चुनावपछि पुस २४ मा कार्की मुख्यमन्त्री नियुक्त भएका थिए ।

कोशीमा एमाले नेतृत्वको सरकार ढल्यो

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा प्राप्त दलको नेताको हैसियतमा कार्की पुस २४ मा मुख्यमन्त्री नियुक्त भएका थिए ।

एक महिनाअघि सत्ता गठबन्धनमा रहेको माओवादी र जसपाले एमाले सरकारलाई दिएको फिर्ता लिएपछि कार्कीले शुक्रबार प्रदेशसभामा विश्वासको मतको प्रस्ताव राखेका थिए । शुक्रबार भएको मतदानमा कार्कीले ९३ सदस्यीय प्रदेश सभामा बहुमतका आवश्यक पर्ने ४७ मत प्राप्त गर्न नसकेपछि सरकार ढलेको हो । प्रदेशसभामा शुक्रबार उपस्थित ८९ सांसदमध्ये विश्वासको मतको पक्षमा ४६ र विपक्षमा ४३ मत परेको थियो । जनता समाजवादी पार्टीकी प्रदेश सांसद निर्मला लिम्बूका साथै प्रतिपक्षी दलका थप दुई गरी तीन जना प्रदेश सांसद अनुपस्थित रहे ।

विश्वासको मत लिने प्रस्तावमाथि प्रदेशसभामा बिहीबार सत्तापक्ष र विपक्षी दलका नेताहरूले छलफलमा भाग लिएका थिए । मुख्यमन्त्री कार्कीकै आग्रहमा दिउँसो पटक–पटक सारिएको बैठक मुख्यमन्त्री र मन्त्रीहरू सभामा नफर्किएपछि बिहीबार बस्न सकेन । माओवादी र जसपाले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री कार्कीले सुरुमा बिहीबार आधा घण्टा, त्यसपछि एक घण्टा हुँदै शुक्रबारसम्मका लागि बैठक स्थगित गर्न आग्रह गरे थिए । त्यसै पछि बैठक शुक्रबारका लागि सारिएको थियो ।

मुख्यमन्त्री कार्कीले विश्वासको मत नपाएपछि बन्ने नयाँ सरकार कसको नेतृत्वमा बन्ने भन्नेमा पनि दलहरूभित्रको आन्तरिक प्रतिस्पर्धाले अन्योल छ । गठबन्धन दलमध्ये २९ जना सांसद रहेको कांग्रेस र सभामुखसहित १३ सांसद रहेको माओवादीबीच सरकारको नेतृत्वका विषयमा रस्साकसी चलिरहेको छ । कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले नयाँ सरकारको नेतृत्व कसले गर्ने विषय टुंगिन बाँकी रहेको बताए । ‘आलोपालो प्रणालीमा सरकार गठन गर्ने एक किसिमको सहमति भएको छ तर पहिले सरकारको नेतृत्व कसले गर्नेबारे टुंगो लागिसकेको छैन,’ उनले भने, ‘संसदीय दलका नेताहरूको बैठकमा सरकारको नेतृत्वको विषयमा कसैले आफ्नो अडान नछोडेकाले केन्द्रीय गठबन्धन दलले गरेको निर्णय स्विकारेर जाने सहमति भएको छ ।’

माओवादी केन्द्रका कोशी प्रदेश इन्चार्ज राम कार्कीले प्रदेशको समग्र स्थितिले नयाँ बन्ने प्रदेश सरकारको नेतृत्व माओवादीले नै पाउनुपर्ने अवस्था रहेको दाबी गरेका छन् । ‘अन्य प्रदेशमा कांग्रेसको नेतृत्व माओवादीले सहर्ष स्विकारेको अवस्थामा कोशी प्रदेश सरकारको नेतृत्व माओवादीले पाउनुपर्छ,’ उनले भने, ‘प्रदेशमा भइरहेको आन्दोलन र अन्य दलको समर्थनले पनि माओवादीले सरकारको नेतृत्व पाउनुपर्ने माग हामीले राखेका छौं ।’

९३ सदस्यीय प्रदेशसभामा एमालेका ४० र राप्रपाका ६ गरी ४६ प्रदेश सांसद मुख्यमन्त्री कार्कीको पक्षमा छन् । कांग्रेसका २९, माओवादीका सभामुखसहित १३, एकीकृत समाजवादीका ४ गरी ४६ सांसद छन् । एक सांसद मात्र रहेको जनता समाजवादी पार्टीले तटस्थ बस्ने निर्णय गरिसकेको छ ।

प्रकाशित : असार १५, २०८० १३:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?