कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

पत्रकार थापा हत्याका आरोपीहरू बल्ल पक्राउरोपमा ५ जना पक्राउ

प्रकाश अधिकारी

दैलेख — पत्रकार डेकेन्द्रराज थापाको हत्याको आठ वर्षपछि प्रहरीले शनिबार पाँच अभियोगीलाई पक्राउ गरेको छ । पक्राउ पर्ने सबै तत्कालीन माओवादीका कार्यकर्ता हुन् । अन्य तीन जना अझै फरार छन् ।


पक्राउ पर्नेमा द्वारी गाविस-१ का लक्षीराम घर्ती, द्वारी-३ का हरिलाल पुनमगर, बालुवाटार-७ का वीरबहादुर केसी, बालुवाटार-९ का निरकबहादुर घर्तीमगर र रानीवन गाविस-१ लामीडाँडाका जयबहादुर शाही रहेका छन् । वीरबहादुर एमाओवादीका जिल्ला सदस्य हुन् भने बाँकी सबै वैद्य नेतृत्वको नेकपा-माओवादीमा आबद्ध छन् । जयबहादुर नेकपा-माओवादीका भेरी-कणर्ाली राज्य समिति सदस्य हुन् । त्यसैगरी लक्षीराम, निरकबहादुर र हरिलाल नेकपा-माओवादीकै क्षेत्रीय सदस्य हुन् । डेकेन्द्रकी पत्नी लक्ष्मी थापाले जिल्ला प्रहरीमा दिएको किटानी जाहेरीका आधारमा प्रहरीले घर्तीलाई पक्राउ गरेलगत्तै उनकै बयानका आधारमा थप चार जना पनि समातिएका हुन् । लक्ष्मीले ०६५ भदौ १२ गते लक्षीरामसहित कट्टीका बमबहादुर खड्का मुक्ति, छिउडीपुसाकोटका बमबहादुर खड्का, केशव खड्काविरुद्ध जाहेरी दिएकी थिइन् । ०६१ साउन २७ गते तत्कालीन माओवादी कार्यकर्ताले द्वारी गाविसको नेपाल राष्ट्रिय निमाविको एक कोठामा बीभत्स हत्या गरेका थिए । जाहेरी दर्ताको चार वर्ष बितिसक्दासमेत प्रहरीले घटनाको अनुसन्धान र दोषीलाई पक्राउ नगरेपछि लक्ष्मीले गत मंसिर २७ गते दैलेख प्रहरी र सरकारी वकिल कार्यालयविरुद्ध पुनरावेदन अदालत सुर्खेतमा रिट दायर गरेकी थिइन् । रिटमाथि सुनुवाइ गर्दै पुनरावेदनले १५ दिनभित्र कारण देखाउ आदेश जारी गरेको थियो । भेरी अञ्चल प्रहरी प्रमुख एसएसपी माधवप्रसाद नेपालले बिहीबार दैलेख आएका बेला हत्याका अभियुक्तलाई तुरुन्त पक्राउ गर्न निर्देशन दिएका थिए । रेडियो नेपाल र नेपाल समाचारपत्रमा स्थानीय संवाददाता रहेका डेकेन्द्रलाई माओवादीले खानेपानीसम्बन्धी वार्ता गर्न भनी बोलाई कब्जामा लिएको थियो । सदरमुकाममा खानेपानी सुचारुबारे माओवादीसँग छलफल गर्न नागरिक समाजको तर्फबाट ०६१ असार १२ मा  भवानी गाविसतर्फ लागेका थिए ।  इन्स्पेक्टर विनोद शर्माले फरार  अन्य ३ आरोपीको खोजी भइरहेको बताए । यसैबीच आफ्ना कार्यकर्ता पक्राउ गरेको भन्दै एमाओवादी इन्चार्ज कर्ण बस्नेत, नेकपा-माओवादीका पूर्व सभासद भरत रेग्मीसहित नेताहरूले प्रहरी र पत्रकारलाई धम्की दिएका छन् । उनीहरूले  प्रहरी परिसरमै हातपात गर्ने कोसिस गरेका थिए । प्रहरी र पत्रकारलाई धम्की दिएपछि सदरमुकामवासीले माओवादीविरुद्ध माइकिङ गरेका थिए । 'डेकेन्द्रराज थापाका हत्यारालाई कारबाही गर्न नदिए माओवादीले यहाँ अझै ठूलो क्षति बेहोर्नुपर्ने छ,' मानव अधिकार तथा शान्ति समाजका सल्लाहकार भेषराज थापाले दुवै माओवादीका नेतालाई अपिल गर्दै भने, 'सदरमुकामवासी खनिए परिणाम नराम्रो हुनेछ । अपराधीलाई बचाउन नलाग्नुस् ।' पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेले दैलेख प्रहरीले आरोपीहरू पक्राउ गरेकामा प्रशंसा गरेका छन् । 'हत्या आरोपीलाई नियन्त्रणमा लिएर दैलेख प्रहरीले स्वागतयोग्य काम गरेको छ,' उनले कान्तिपुरसँग भने, 'बाँकी अभियुक्तलाई तत्काल पक्राउ गर्न र सबै दोषीलाई न्यायालयमार्फत सजाय दिएर पीडित परिवार र पे्रस जगतलाई न्याय दिलाउनुपर्छ ।' जिल्लास्थित पत्रकारहरूले पनि प्रहरीले मुद्दा प्रक्रिया अघि बढाएकामा खुसी व्यक्त गरेका छन् । अनुसन्धानबारे बुझ्न पत्रकार महासंघका मध्यपश्चिम संयोजक सूर्यमणि गौतम र डेकेन्द्र पत्नी लक्ष्मी दैलेख आएका छन् ।  'न्याय मरिसकेको थियो, अब दोषीले सजाय पाउने आशा छ,' लक्ष्मीले भनिन् । आफ्ना व्यक्ति पक्राउपछि दुवै माओवादी आक्रोशित भएकाले स्थितिलाई ध्यानमा राखी सुर्खेतस्थित क्षेत्रीय प्रहरी कार्यालयबाट ५० जना सुरक्षाकर्मीलाई दैलेख झिकाइएको छ । गाउँका चौकीहरूको पनि सुरक्षा बढाइएको छ ।

थप समाचारको लागि यहाँ क्लिक गर्नुहोस् ।   'न्यायको लडाइँ लड्छु'
 
 
 
 
 



प्रकाशित : पुस २१, २०६९ १५:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×