भेडेटारमा 'फुड फेस्टिवल’

धनकुटा — पर्यटकीयस्थल भेडेटारमा मंगलबार दोस्रो फुड फेस्टिवल सुरु भएको छ । अंग्रेजी नयाँ वर्ष २०१४ को अवसर पारेर आयोजना गरिएको फुड फेस्टिबलमा स्वदेशी तथा भारतीय पर्यटकको घुइँचो लागेको छ ।


'भेडेटार प्राकृतिक गहना, पर्यटन भित्र्याउने चाहना' भन्ने नारासहित आयोजना गरिएको फेस्टिवलमा स्थानीय राई, मगर लगायत जातजातिका जातीय खानाका परिकारहरूसहित १५ वटा स्टल छन् । अर्गानिक खेतीबाट उत्पादित स्थानीय तरकारी तथा फलफूल, हस्तकला, कृषि तथा घरेलु सामग्री पनि प्रदर्शनीमा राखिएका छन् ।
भेडेटार होटल एसोसिएनको मूल आयोजनामा सुरु फेस्टिवलको एक कार्यक्रमका बीच धनकुटा क्षेत्र नम्बर १ का सभासद् टीकाराम चेम्जोङले उद्घाटन गरे । उदघाटनका अवसरमा स्थानीय जातजातिको जातीय पहिचान झल्किने झाँकीहरू प्रदर्शन गरिएका थिए ।
पर्यटन, होटल व्यवसाय, व्यापार, कृषि, सांस्कृतिक र शिक्षा क्षेत्रको प्रवर्द्धनमा टेवा पुर्‍याउने लक्ष्य फेस्टिवलको रहेको होटल एसोसिएसन भेडेटारका सचिव जितेन्द्र रुम्दाली राईले बताए । यसका लागि लागि ८ लाख ३० हजार रुपैयाँ बजेट छुट्याइएको एसोसिएसनका अध्यक्ष विष्णुराज श्रेष्ठले बताए । मेलका आगन्तुकलाई माउन्टेन बाइक र प्याराग्लाडिङको समेत व्यवस्था गरिएको छ ।
फेस्टिवलमा राष्ट्रिय तथा स्थानीय कलाकारको सांगितिक प्रस्तुति समेतले आगन्तुकलाई मनोरञ्जन प्रदान गर्ने व्यवस्था मिलाइएको छ । बुधबारसम्म चल्ने फेस्टिबलमा १० हजार आन्तरिक तथा वाह्य पर्यटक सहभागी हुने अपेक्षा गरिएको छ । १० लाख बराबरको आर्थिक कारोबार हुने सचिव राईले बताए । दोस्रो पटक आयोजना गरिएको फेस्टिवलले स्थानीय होटेल र पर्यटन व्यवसायी उत्साही बनेको होटेल एसोसिएसन भेडेटारका अध्यक्ष विष्णुराज श्रेष्ठले बताए । उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष लालचन्द गोङ्गवा तामाङले फेस्टिवलले पर्यटकलाई तान्न मद्धत पुगेको भन्दै भेडेटारको भौतिक विकासमा राज्यको तर्फबाट योगदान हुनुपर्ने बताए ।

प्रकाशित : पुस १७, २०७० १३:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?