२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

पितृसत्तालाई गाली गरेर मात्र होला ?

रामेश्वरी पन्त

'म हिला भएर महिलालाई दोष दिने ? किन महिलाले महिलामाथि हिंसा गर्छन् थाहा छ ? यो सब पितृसत्ताको कारणले भएको हो ।

त्यसैले पुरुषलाई गाली गर, महिलालाई गाली गर्न पाइन्न । फेमिनिष्ट पि्रन्सिपल तिमीले बुझेकी रहिनछौ, राम्रोसँग पढ, मकहाँ आऊ, किताबहरू दिउँला,' गत पुस १० गते प्रज्ञा-प्रतिष्ठानको प्राङ्गणमा महिला अधिकारकर्मी भनिएकी डा. अरुणा उप्रेतीले मेरो मंसिर २५ गते कान्तिपुरमा प्रकाशित लेख 'महिलाबाटै सुरु हुन्छ, घरेलु हिंसा' को आलोचना गर्दै झपारिन् । महिलाले महिलाका गल्ती देख्न वा लेख्नैै हुन्न रे र रजनी ढकालले पनि अरुणाको समर्थन गरिन् ।
यतिबेला मलाई एकपटक एउटा टेलिभिजन कार्यक्रम हेर्दै गर्दा राउटे समुदायका मुखियाले भनेको कुरा याद आइरहेछ । उनले सञ्चारकर्मीसँग 'तपाईंहरूका छोराछोरीलाई पढाउनु पर्दैन ?' भन्ने प्रश्नको जवाफमा भनेका थिए, 'संसार पढ्नु नै हाम्रो पढाइ हो, किताब किन पढ्नुपर्‍यो ?' यसो भन्दैमा राउटेका बालबालिका शिक्षाको उज्यालोबाट टाढै बस्नुपर्छ भन्नु सही हुन सक्दैन, तर पनि यो भनाइको गहिराइ कम आँकलन गर्न पनि सकिँंदैन । वास्तवमा संसार पढ्न नसक्नेले जतिसुकै किताबका ठेलीहरू घोकेर कण्ठ पारे पनि ऊ अल्पज्ञानी नै हुन्छ । विश्वविद्यालयका डिग्रीका प्रमाणपत्रका खातको सिरानी बनाए पनि संसार बुझ्न नसक्नेले समाज रूपान्तरण गर्न सक्दैन । संसार बुझ्नलाई समाज बुझ्नुपर्छ र सामाजिक व्यवहार र मूल्य-मान्यताको राम्रो अध्ययन गर्नुपर्छ । सायद यो अध्ययनको कमी स्वयम् अरुणाहरूमै छ कि भन्ने लागिरहेछ ।
पश्चिमाहरूले तयार पारेका 'फेमिनिष्ट थ्योरी'हरू कुनै सेमिनार र विश्वविद्यालयका कक्षाकोठामा 'लेक्चर' दिन काम लाग्न सक्छन्, तर तिनीहरूलाई कण्ठ गरेर नेपाली समाजमा जबर्जस्ती लादेर 'समाज रूपान्तरण गर्छौं र पितृसत्ताको अन्त्य गर्छौं' भन्नु पछिल्लो समयमा नेपालमा हावी हुँदै गएको एनजीओ/आईएनजीओको भाषा बोल्नु हो जस्तो लाग्छ । अरुणाहरूले के-कति थ्योरीहरू पढेका छन्, त्यो त थाहा छैन, तर समाजशास्त्रको एक सानोतिनो विद्यार्थी भएको नाताले भन्नैपर्ने हुन्छ- समाजमा हुने कुनै पनि प्रकारका हिंसाबारे अध्ययन गर्न वा समाधानका उपाय पत्ता लगाउन सर्वप्रथम हिंसाको कारण पत्ता लगाउनु आवश्यक हुन जान्छ ।
हो, महिलामाथि हुने विभिन्न खाले हिंसामा समाजमा जरो गाडेर बसेको पितृसत्तात्मक मानसिकताको प्रभाव पक्कै पनि छ, तर यसो भनेर पितृसत्तालाई मात्र सत्तोसराप गरेर महिला हिंसा कम हुनसक्दैन । यसर्थ मेरो भन्नु केमात्र हो भने पितृसत्ताले उब्जाएको हिंसाको जरो उखेलेर फाल्नका लागि गालीमात्र पर्याप्त छैन, स्वयम् महिलाहरू सक्षम हुनुपर्छ, सचेत बन्नुपर्छ र आफ्नो बौद्धिक क्षमता वृद्धि गर्नेतिर लाग्नुपर्छ । खालि पितृसत्तालाई मात्र दोष दिई महिलाले नै महिलाका खुट्टा तान्ने र महिलामाथि नै हिंसा गर्ने प्रवृत्तिको अन्त्य हुनु जरुरी छ ।
सत्य सधैं तीतो नै हुन्छ र फेरि पनि 'महिलामाथि हुने अधिकांश घरेलु हिंसामा महिलाकै हात हुने' तीतो सत्यलाई दोहोर्‍याउन चाहन्छु ।
महिलामाथि हुने गरेका अन्यायका विषयमा कलम चलाउँदा केहीले 'महिलावादी' भन्ने गरे तापनि मलाई 'अहिलेका महिलावादी'को बिल्ला भिरेर हिंँड्नु छैन । हो, 'महिला हकहितको पक्षमा आवाज उठाउने जोकोही पनि महिलावादी हो' भन्ने कमला भासिनको भनाइलाई नै सत्य मान्ने हो भने म पनि केही हदसम्म महिलावादी हुन सकुँला, तर विदेशीहरूले लादेका सिद्धान्त पढेर आकर्षक 'प्रपोजल' तयार पार्दै हिंसापीडित महिलाका तस्वीरहरू देखाएर डलरको खेती गर्ने महिलावादी म होइन ।
पछिल्लो समयमा हाम्रो समाजका पुरुषहरू पनि धेरै चेतनशील र विवेकी बन्दै गएका छन् कि -केहीलाई छाडेर) उनीहरू पनि हरेक पारिवारिक र सामाजिक क्रियाकलापमा महिलाको समान सहभागितालाई स्वीकार्न र पचाउन सक्ने भएका छन् । स्वेच्छाले होस् वा बाध्यताले आफ्ना छोरी, श्रीमतीलाई शिक्षा र रोजगारीको अवसरमा समान सहभागी गराएका छन् । पितृसत्ताकै कुरा गर्दा आज परिवारमा कुनै पनि पुरुषले महिलामाथि हिंसा गर्नकै निम्ति महिलालाई उक्साउँदैन भन्ने लाग्छ ।
धेरै नभए पनि सासूले बुहारीलाई र बुहारीले सासूलाई हेर्ने दृष्टिकोणमात्रै फेरिनसक्ने हो भने हरेक परिवार 'शान्त र सुखी' बन्न सक्छ । मदिरा सेवन गरेर छोराले बुहारीमाथि ज्यादती गर्न खोज्दा सासूले त्यसमाथि मलजल नगर्ने हो भने सायद महिलामाथि लोग्नेबाट हुने शारीरिक हिंसा कम हुनसक्छ । घरमा श्रीमती हुँदाहुँदै बाहिर बरालिएर हिंँड्ने छोरालाई 'मर्दका दसवटी' भन्दै आमाले नच्याप्ने हो भने सायद कुनै पनि महिलाले सौता बेहोर्नुपर्ने अवस्थामा कमी आउन सक्छ । अर्को कुरा, एउटा बलात्कारी पुरुषलाई जोगाउन परिवारकै महिला लागिनपर्ने हो भने पक्कै पनि बलात्कारका घटना दोहोेरिन सक्दैनथे ।
रूढीग्रस्त विचार र अन्ध मान्यताबाट महिलाहरू नै ग्रसित छन् । पढालेखा भनिएका महिलाहरूमा त अन्धविश्वासले जरो गाडिरहेको हुन्छ भने अनपढ ग्रामीण महिलाको मानसिकता झन् कस्तो हुन्छ होला र 'बोक्सी'मा विश्वास पुरुषमा भन्दा महिलामा नै बढी हुने हुनाले धामी-झाँक्रीको शरणमा महिला नै पुग्छन्, अनि झाँक्रीले भन्यो भन्दैमा सोझासाझा, गरिब, विधवा, वृद्ध महिलाहरूलाई महिला नै बोक्सी देख्छन् र उनीहरूलाई मलमूत्र खुवाउन तथा आँखा फुटाउन, अङ्गभङ्ग गर्न र आगो लगाउन महिलाहरू नै पुरुषहरूसँग सरिक हुन्छन् । केही वर्षअघि राजधानीको जोरपाटीमा बोक्सी भन्दै सुनिता पुडासैनीको आँखा फुटाउन महिला नै अगाडि सरेका थिए । चितवनमा ढेगनीदेवीलाई बोक्सी भन्दै जलाएर मार्न र कैलालीमा राजकुमारी रानालाई यातना दिने काममा महिलाहरू नै सहभागी थिए । यस्ता कैयौं उदाहरण छन् । दाइजोको लोभ महिलाहरूलाई नै हुन्छ र बुहारीलाई जलाएर मार्न सासू नै अघि सर्छन् । छाउपडीको विश्वास महिलामा नै छ र महिलाले नै महिलालाई अछूतको व्यवहार गर्छन् । तर किन महिला अधिकारकर्मीहरू, जसले यी सम्पूर्ण कुरामा पितृसत्ताको मात्र दोष देख्छन्,
यस्ता अन्धविश्वास र साँघुरो मानसिकताबाट ती महिलाहरूलाई मुक्त गर्नसकेका छैनन् ?
यस्ता कुरामा महिलाहरू सचेत र एकताबद्ध भएर लाग्नसक्ने हो भनेमात्र महिलामाथि हुने हरेक खाले हिंसाको अन्त्य गर्न सकिन्छ । यसका लागि सहरी एवं ग्रामीण दुबै खाले महिलामा सचेतना पुग्नु जरुरी छ । महिला हिंसा न्युनीकरणका लागि भन्दै राज्य र विदेशी दाताहरूबाट गरिएको लगानी प्रभावकारी छ कि छैन भनेर मापन गर्ने निकायको उपस्थिति शून्य रहेको परिप्रेक्ष्यमा गैरसरकारी संघ-संस्थाहरूले यस्ता हिंसा न्युनीकरण गर्न के-कति लगानी कुन-कुन क्षेत्रमा गरेका छन् र त्यसको उपलब्धि कस्तो छ भन्ने कुरामा राज्य र सरोकारवालाको चासो पुग्नु पनि जरुरी देखिन्छ ।
किन आम महिलामा चेतनामूलक शिक्षाको पहुँच पुग्नसकेको छैन ? किन अरुणाहरूले पितृसत्तालाई पूर्णरूपले भत्काउन सक्षम 'महिलाशक्ति' निर्माण गर्न सकिरहेका छैनन् त ? किन 'महिलाले महिलामाथि गर्ने हिंसा पितृसत्ताको उपज हो, त्यसैले यस्तो हिंसा नगर' भनेर आम महिलाहरूलाई बुझाउन सकिरहेका छैनन् त ? यस्ता प्रश्न गर्ने हक सबै नागरिकलाई छ र हुनुपर्छ । हरेकलाई आफ्नो अभिव्यक्ति स्वतन्त्रता छ र एउटा स्वतन्त्र लेखकको हैसियतले आफ्ना विचार राख्दा 'यस्तो लेख्न पाइन्न' भन्नु मेरो अभिव्यक्ति स्वतन्त्रताको हनन हो कि होइन ?
पश्चिमाहरूले थोत्र्याएका सिद्धान्तलाई नेपाली समाजमा जबर्जस्ती लादेर समाज रूपान्तरण हुन्छ भन्नुले साँचो अर्थमा महिलालाई हिंसामुक्त गर्न र अधिकारसम्पन्न गर्न सक्दैन । हाम्रोजस्तो समाजलाई रूपान्तरण गर्न सामाजिक-सांस्कृतिक पक्षहरू र तिनले व्यवहारमा निम्त्याएका समस्यालाई केलाउन जरुरी छ । साथै सामाजिक-सांस्कृतिक रूपान्तरण नभई सामाजिक-सांस्कृतिक रूपमै हेपिएका र दबिएका महिलाहरू बलिया बन्न सक्दैनन् । हुनसक्छ, यसरी महिला हेपिनु र दबिनुमा पितृसत्ताको मानसिकताले काम गरेको होला । तर महिलाले महिलामाथि गर्ने दोस्रो दर्जाको व्यवहार र हिंसा न्युनीकरण गर्न वा समाप्त पार्नका लागि महिलाभित्रै चेतना जगाउन आवश्यक छ, जुन कुरा एनजीओ मानसिकताले सकेको छैन भन्दा अत्युक्ति नहोला ।

प्रकाशित : पुस १७, २०७० १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x