सदरमुकाममै पानी अभाव- प्रिन्ट संस्करण - कान्तिपुर समाचार

सदरमुकाममै पानी अभाव

काशीराम डाँगी

रोल्पा — सदरमुकाम लिबाङमा खानेपानीको उचित व्यवस्थापन गर्न नसक्दा दैनिक हजारौं लिटर पानी खेर गइरहेको छ ।

खुला पाइप जडान, ठाउँ-ठाउँमा पाइप काटिनु र उचित हेरचाहबिना पूरै पानी उपभोक्ताको धारासम्म पुग्न पाउँदैन । जसका कारण पानीको सदुपयोगमा समेत प्रश्न उब्जिएको छ । वातावरणीय परिवर्तनका कारण वर्षेनी पानीको मात्रा कम हुँदै गएको र कतिपय स्थानमा पानीका मुहान सुक्दै गएकाले गतिलो गरी पानीको व्यवस्थापन गर्न नसकेमा आगामी केही वर्षमै लिबाङमा पानीको समस्या बढ्ने सम्भावना पनि उत्तिकै छ । यसबाट उब्जने नकारात्मक प्रभावप्रति कतिपय उपभोक्ता चिन्तित छन् ।
लिबाङ बजार खानेपनी उपभोक्ता समितिका अनुसार बजारभित्र रहेका करिब ५ सय उपभोक्ताले आफ्नो घर घरमा पानी आएको देख्न चाहन्छन् तर कति बेला धारो बन्द गर्ने भन्ने बारेमा कुनै चासो नै छैन । समितिका अध्यक्ष मानबहादुर खत्री भन्छन्, 'पानी आएसम्म वास्ता छैन, पानी नआए उपभोक्ता आफैले पाइप काटेर पानी तान्छन् ।' उनका अनुसार दिनदिनै बढ्दै गएका उपभोक्ता संख्यालाई पानीको व्यवस्था मिलाउन नयाँ तरिकाले सोच्न नसके केही वर्षभित्र पानीको अभाव बढ्दै जानेछ ।
लिबाङ बजार खानेपनी उपभोक्ता समितिका अनुसार सदरमुकाम लिबाङमा दैनिक २ सय १० घनमिटर -दुई लाख दस हजार लिटर) पानी खपत हुँदै आएको छ । सदरमुकाममा ल्याउने पानीका साना ठूला गरी ९ वटा ट्याङ्की छन् । ती ट्याङ्कीहरूमा दैनिक रूपमा करिब २ लाख ३० हजार लिटर पानी जम्मा हुँदै आएको छ तर ट्याङ्कीबाट उपभोक्ताका धारासम्म लैजानुअघि नै काटिएका, प्वाल पारिएका र अस्तव्यस्त पारिएका पाइपबाट पानी चुहिएर सकिन्छ । समितिका अध्यक्ष खत्री भन्छन्, 'धारा बन्द गर्ने, आफ्नो पाइपको ख्याल आफै गर्ने तथा पानी चुहिएको थाहा पाउने बित्तिकै कार्यालयमा जानकारी दिने प्रणाली सुरुवात गरे पनि खासै प्रभावकारी हुन सकेको छैन । यसका लागि सबै उपभोक्ता सचेत हुन अझै केही समय लाग्ने देखिन्छ ।'

प्रकाशित : पुस १७, २०७० १३:५४
प्रतिक्रिया
पठाउनुहोस्

समाज र संस्कृति : १५ पुस, ल्होसार र नयाँ वर्ष

राजेन्द्र नाथ

नेपालगन्ज — पारिलो घाममा बसेर मीठोमसिनो खाएर मनोरञ्जन लिनुको बेग्लै मजा हुन्छ । त्यसैले हिउँदका यी दिन पिकनिक जाने समूह बढेको पाइन्छ ।


'पुस महिना 'पिकनिके' महिना भने पनि हुन्छ,' यही महिना दुई पटक पिकनिक गइसकेका रेडियोकर्मी पि्रयास्मृति ढकालले भने, 'जाडोले पट्टयार लाग्दा बनेका हिउँदा दिनमा साथीसंगी बसेर रमाइलो गर्ने मौका जोसुकैले हातबाट सजिलै फुत्काउन चाहन्नन् ।'
उसो त 'मन्दिर नै मन्दिरको देश' भनेर चिनिने मुलुक अचेल 'पर्व नै पर्वको देश' जस्तो भएको छ । यहाँका आर्यले 'पुसे १५' मनाए, त्यही दिनलाई गुरुङ समुदायको ह्लोसार । 'यही मेसोमा अग्रेजी नयाँ वर्षसमेत परेको छ । बर्दिया, डल्लास्थित होमस्टेमा पिकनिके रमाइलोमा भुलिरहेका सामाजिक कार्यकर्ता यम घिमिरेले भने, 'कामको चाप छलेर कहिलेकसो फुत्त निस्कँदा रिपेस भइन्छ ।'
पुसे १५ का अवसरमा बाँकेको ढकेरीस्थित वनस्पति उद्यान, सिक्टाको राप्ती किनार, चिसापानीको थारू होमस्टे, बर्दियाको बढैया ताल, डल्ला, कणर्ाली पुल तथा बर्दिया राष्ट्रिय निकुञ्जको किनारमा पिकनिङ खानेको लर्को लागेको थियो ।
पुस १५ मा १५ थरि परिकार र १५ हात लामो मुढा बालेर रातभर आगो ताप्ने चलन छ । १५ गतेपछि आधा जाडो समेत गइसक्छ भन्ने विश्वास बूढापाकाको छ । राजनीतिकर्मी नारायण कँडेल भन्छन्, 'त्यो रात तेलमा पकाएका परिकार खाएर जाग्राम बस्नुपर्छ भन्ने मान्यता थियो तर अहिले पिकनिङ जाने चलन बढेको हो ।'
अरू धर्म-सम्प्रदायका चाडपर्व र तिनका चलन पनि सहजै स्वीकार गरेर हिंड्न सक्ने ठूलो छाती भएकाहरूले अंग्रेजी नयाँ वर्ष र क्रिसमसलाई पनि अँगालेको देखिन्छ । क्रिसमसमा आफ्ना पाहुनालाई 'गजल सन्ध्या' ले स्वागत गरेको भ्यू होटल सिद्धार्थले नयाँ वर्षमा राष्ट्रिय कलाकारलाई बोलाएर मनोरञ्जनात्मक प्रस्तुति पस्केको छ ।
'नयाँ वर्षको रमाइलो मनाउन यहाँका स्थानीयलाई पोखरा र काठमाडौं जस्ता सहरमा जानुपर्ने बाध्यता थियो,' होटल प्रबन्धक कृष्ण भण्डारीले भने, 'त्यही भएर मनोरञ्जन दिन स्थानीय स्तरमै कार्यक्रम गर्न थालेका हौं ।'

प्रकाशित : पुस १७, २०७० १३:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×