समाज र संस्कृति : गाउँदै मासको दाइँ

दीपेन्द्र शाक्य

संखुवासभा — धानको दाइँ त सामान्य नै हो तर यहाँ एक जातिमा मासको समेत दाइँ गर्ने चलन छ । खाँदबारी १३, तुम्लिङटारको कुमाल गाउँका बासिन्दा सबै एकै घरमा भेला भई गीत गाएर फनफनी घुम्दै मास कुट्ने गर्छन् ।

यो उनीहरूको मौलिक संस्कृति हो ।
दाइँमा गोरु घुमाइन्छ । गोरुसँगै पचासौं मानिसले वरिपरिबाट घुमीघुमी मासको थुप्रोमा एकैपटक लाठी वषर्ाउँछन् । एकै स्वरमा महिला, पुरुष, बालबालिका, युवायुवती र वृद्धवृद्धाले 'मैया रानीलाई' गीत गाउँछन् । धोवीलाई धारा सञ्चरबारमै लुगा धुवाउँला एकै र दिनको पिरती ज्यानले वर्ष दिन रुवाउला... । अनि, गीतको तालमा तँछाडमछाड गर्दै कसको ताकत बढी भनेर देखाउन थाल्छन् ।
लामो स्वरमा मैयाारानीलाई र त्यसपछि हुर्रा...हुर्रै... एकै स्वरमा भन्छन् । ३ सय वर्षयता यसरीनै मास खेती र दाइँ गर्दै आएको कुमालहरूको भनाइ छ । मुख्य पेसा माटोको भाँडा बनाउने भए पनि आजभोलि माटो र कोइला नपाइने भएकाले उक्त पेसा छाड्दै आएका छन् ।
५ सय ५७ मिटर उचाइमा रहेको विश्वकै होचो अरुण उपत्यकाको मध्य भाग तुम्लिङटारमा बसोबास गर्ने यी दुई सय परिवार कुमाल जातिको मुख्य खेती नै मास हो । स्थानीय मनमाया कुमाल भन्छिन्, 'हाम्रो मुख्य खेती नै मास हो, त्यसपछि फिलुङ्गे र मकै हो ।' उनी वाषिर्क ४ देखि ८ मुरीसम्म मास उत्पादन गर्छिन् ।
सिंचाइ अभाव भएकाले यहाँका कुमालहरूले मास खेती गर्ने गरेका हुन् । यसका लागि परिश्रम पनि कम लाग्छ । अन्य खेती सन्तोषजनक नभएपछि मास खेती नै उनीहरूको विकल्प बनेको हो । तुम्लिङटारका टेकराज कुमालले ठाउँअनुसारको खेती गर्नुपरेकाले मास उपयुक्त भएको बताए । 'सिंचाइबिना पनि मास खेती सम्भव हुने भएकाले गीतको तालमा मासको दाइँ परापूर्वकालदेखि नै कुमाल जातिले मास खेती सुरु गरेका हुन्,' उनले भने । त्यसैले आजभोलि कुलपितृलाई चढाएर मात्र मासको दाइँ गर्ने चलन भएको टेकराजले बताए ।
दाइँ गर्दा एकै दिन एकै घरमा गाउँ नै उर्लेर आउँछन् । त्यसपछि पालैपालो अर्को घरमा जान्छन् । पर्म तिर्न आफू समानको चाहिने भएकाले बालबालिकाका लागि पनि छुट्टै मास कुट्ने व्यवस्था मिलाइएको हुन्छ । जेठ र असारमा रोपिएको मासको दाइँ गर्न कुमालहरू मंसिर सुरुदेखि पुस १५ सम्म व्यस्त रहन्छन् । मास बेचेर उनीहरू अन्य समान किन्ने गर्छन् । एक किलो मास १ सय ८० रुपैयाँमा बिक्री हुने गर्छ ।
औसतमा एक परिवारले प्रतिवर्ष २ लाख रुपैयाँ बराबरको मास उत्पादन गर्छन् । गुजारा चलाउने मुख्य पेसै यही भएको खाादबारी १३ का शान्ता कुमालले बताइन् ।
नेपाल कुमाल समाज सुधार समितिका अध्यक्ष भुवन हलिदेले मास कुट्ने चलन संस्कृतिसँग जोडिएको र ३ सय वर्षअघिबाट मास कुट्ने कामलाई निरन्तरता दिंदै आएको बताए ।

प्रकाशित : पुस १७, २०७० १३:५१
प्रतिक्रिया
पठाउनुहोस्

भेडेटारमा 'फुड फेस्टिवल’

कान्तिपुर संवाददाता

धनकुटा — पर्यटकीयस्थल भेडेटारमा मंगलबार दोस्रो फुड फेस्टिवल सुरु भएको छ । अंग्रेजी नयाँ वर्ष २०१४ को अवसर पारेर आयोजना गरिएको फुड फेस्टिबलमा स्वदेशी तथा भारतीय पर्यटकको घुइँचो लागेको छ ।


'भेडेटार प्राकृतिक गहना, पर्यटन भित्र्याउने चाहना' भन्ने नारासहित आयोजना गरिएको फेस्टिवलमा स्थानीय राई, मगर लगायत जातजातिका जातीय खानाका परिकारहरूसहित १५ वटा स्टल छन् । अर्गानिक खेतीबाट उत्पादित स्थानीय तरकारी तथा फलफूल, हस्तकला, कृषि तथा घरेलु सामग्री पनि प्रदर्शनीमा राखिएका छन् ।
भेडेटार होटल एसोसिएनको मूल आयोजनामा सुरु फेस्टिवलको एक कार्यक्रमका बीच धनकुटा क्षेत्र नम्बर १ का सभासद् टीकाराम चेम्जोङले उद्घाटन गरे । उदघाटनका अवसरमा स्थानीय जातजातिको जातीय पहिचान झल्किने झाँकीहरू प्रदर्शन गरिएका थिए ।
पर्यटन, होटल व्यवसाय, व्यापार, कृषि, सांस्कृतिक र शिक्षा क्षेत्रको प्रवर्द्धनमा टेवा पुर्‍याउने लक्ष्य फेस्टिवलको रहेको होटल एसोसिएसन भेडेटारका सचिव जितेन्द्र रुम्दाली राईले बताए । यसका लागि लागि ८ लाख ३० हजार रुपैयाँ बजेट छुट्याइएको एसोसिएसनका अध्यक्ष विष्णुराज श्रेष्ठले बताए । मेलका आगन्तुकलाई माउन्टेन बाइक र प्याराग्लाडिङको समेत व्यवस्था गरिएको छ ।
फेस्टिवलमा राष्ट्रिय तथा स्थानीय कलाकारको सांगितिक प्रस्तुति समेतले आगन्तुकलाई मनोरञ्जन प्रदान गर्ने व्यवस्था मिलाइएको छ । बुधबारसम्म चल्ने फेस्टिबलमा १० हजार आन्तरिक तथा वाह्य पर्यटक सहभागी हुने अपेक्षा गरिएको छ । १० लाख बराबरको आर्थिक कारोबार हुने सचिव राईले बताए । दोस्रो पटक आयोजना गरिएको फेस्टिवलले स्थानीय होटेल र पर्यटन व्यवसायी उत्साही बनेको होटेल एसोसिएसन भेडेटारका अध्यक्ष विष्णुराज श्रेष्ठले बताए । उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष लालचन्द गोङ्गवा तामाङले फेस्टिवलले पर्यटकलाई तान्न मद्धत पुगेको भन्दै भेडेटारको भौतिक विकासमा राज्यको तर्फबाट योगदान हुनुपर्ने बताए ।

प्रकाशित : पुस १७, २०७० १३:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×