कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दिल्लीमा 'स्वराज' मन्त्र

पार्टी गठनको १४ महिनामै आम आदमी पार्टी -आप) ले दिल्लीमा पाएको वाहवाही अचम्मलाग्दो
छ ।

पार्टी गठनको १४ महिनामै आम आदमी पार्टी -आप) ले दिल्लीमा पाएको वाहवाही अचम्मलाग्दो
छ । यहाँको पुरानो विरासत र शास्त्रीय शासन पद्धतिमा धावा बोल्दै कहिले मेट्रोमा, कहिले अटो-रिक्सामा हिँडिरहेको 'आप' सरकारले खासै केही गरिहालेको छैन । तर यसले गर्न खोजेका कामका केही संकेतहरू आफैंमा काफी छन् । यही संकेतका भरमा 'आप' र यसका अध्यक्ष अरविन्द केजरीवालका फ्यान-फलोवर यहाँ दिनहुँ बढ्दा छन् । कांग्रेस गठबन्धन सरकारका केही मन्त्री र कार्यकर्तासमेत 'आप'का प्रशंसक बनेका छन् । मंगलबार मात्रै एक लेखमार्फत प्रखर कूटनीतिज्ञ एवं वर्तमान सरकारका एक सदस्य शशी थरुरले पनि संकेतमा केही भन्न चाहेका छन् ।
'राजनीति भनेको केही वर्षमा चुनाव गर्ने अथवा मतपरिणाम सुन्ने कुरामात्रै होइन, बरु दैनन्दिन जीवनमा पार्नसक्ने प्रभाव र परिवर्तनको अर्को आधार पनि हो' भन्दै भारतको मानवस्रोत विकास राज्यमन्त्री थरुरले आम आदमी पार्टी
-आप) को अभियानमा सांकेतिक रूपमा सराहना गर्नथालेका छन् । जनता दल युनाइटेडका नेता एवं स्वतन्त्रता हिमायती मौलाना आजादका पनाति इरफानउल्ला खान र सम्पदाविद् फिरोज अहमद बख्तले 'आप' प्रवेश गर्ने निधो गरिसकेका छन् भने 'बाजा अनुसारको नाच नाच्ने' तयारीमा अरु थुप्रै राजनीतिक नेताहरू पनि दिल्लीमा पंक्तिबद्ध छन् ।
केजरीवाल दिल्लीको मुख्यमन्त्री बनेपछि उनले आत्मनिर्णयको अधिकार र स्वशासनबारे लेखेका पर्चाहरू पनि बिक्रीको सूचीमा खरो उत्रिएका छन् । एक वर्षअघि प्रकाशनमा आएको 'स्वराज' बारेको केजरीवाल मेनिफेस्टो पुस्तिका पनि यतिखेर दरियागन्जदेखि कर्नड प्यालेसका खुला पुस्तक बिक्री केन्द्रहरूमा हारालुछ हुनथालेको छ । अल्पमतको सरकार गठन भएको चार दिनपछि आएको निर्णयमा केजरीवाल सरकारले दिल्लीवासी घरपरिवारलाई हरेक दिन ६६६ लिटर पानी निःशुल्क दिने कार्यक्रम बाहिर ल्याएको छ । नयाँ वर्ष २०१४ को उपहार बनेर आएको कार्यक्रमपछि यसरी निःशुल्क पानी वितरण गरिएपछिको उल्टो प्रभाव र व्ययभार नहेरिकन भन्न थालिएको छ- झाडु जिन्दावाद ।
दिल्ली सरकारले गरेको २०११ को जनगणना अनुसार झन्डै ३४ लाख दिल्लीवासी घरपरिवारमध्ये ८० प्रतिशतले घरमा जोडिएको धाराबाट पानीको सुविधा पाएका छन् । बाँकी २० प्रतिशत भने ट्यांकर पानीमा निर्भर छन् । यो ट्यांकर सञ्चालनको खेलकुदमा पनि भारतीय जनता पार्टी र कांग्रेसका ठालु नेताहरूको 'ठेकेदारी राजनीति' रहँदै आएको आम आदमी पार्टीको दाबी छ । पानी वितरणको घोषणापछि बिजुली महसुल आधा घटाउने अर्को 'वचन' पुरा गराउनमा आम आदमी पार्टीको सरकार लागिपरेको छ । यस्तै प्रतिबद्धता एलपीजी ग्यासको कोटा, अटो-रिक्सा, फोहोरका कन्टेनर आदि सम्बन्धित पनि छन् ।
'जसरी अल्पमतको सरकार बनाउने बेलामा समेत जनमत र जनआकांक्षा सुनेर मात्रै निर्णय लिइयो, हरेक कामकुरा र कदममा जनधारणा बटुल्ने काम हुन्छ नै,' आपका प्रवक्ता एवं जवारलाल नेहरू विश्वविद्यालयका प्राध्यापक आनन्दकुमार भन्छन्, 'वालमार्ट', 'केएफसी', 'पिज्जाहट'जस्ता अन्तर्राष्ट्रिय ब्रान्डमा पनि जनधारणा र राय बुझेर मात्रै थपघट गर्ने वा बन्द गर्ने निर्णय लिइने भनेर आएको चासो पनि यतिखेर उत्तिकै बहसमा छ ।'
आपका 'भिजनरी' नेता एवं मुख्यमन्त्री केजरीवालको मेनिफेस्टो 'स्वराज'को एउटा सन्दर्भ अहिले बहस र बैठकमा उदाहरण बनाएर सुनाउन थालिएको छ । 'स्वराज' पुस्तकको एक अंशमा आत्मनिर्णयको अधिकार बारेमा एक अमेरिकी व्यापारको उदाहरण दिइएको छ, जहाँ 'वालमार्ट' स्टोरले ओरेगन राज्यमा आफ्नो केन्द्र विस्तार गर्न चाहेको तर स्थानीय जनताले त्यसको विरोध गरेपछि अझै वालमार्ट खुल्न नसकेको उदाहरण दिइएको छ । ओरेगनको मिडल टाउनस्थित टाउन हलमा स्थानीयलाई सहभागी गराएर उनीहरूले दिएको रायअनुसार 'वालमार्ट' खोल्न नदिएको सन्दर्भसँगै भारतीय सहरहरूमा स्थानीय जनतालाई सोध्दै नसोधी वालमार्ट फैलिरहेको विरोधाभाष 'स्वराज'मा उल्लेख छ । 'जहाँबाट वालमार्ट सुरु भयो, त्यहीं यो प्रतिबन्धित हुँदैछ । तर भारतीय गाउँ-सहरमा भने वालमार्ट बजार बढ्दो छ,' स्वराजको अर्थ खुलाउँदै भनिएको
छ । पुस्तकमा स्वीट्जरल्यान्डदेखि ब्राजिलसम्मका 'स्वराज' उदाहरण
पस्कने काम भएको छ ।
'स्वराज'का मन्त्रहरू एकपछि अर्को गर्दै बाहिर आइरहेकै भए पनि अब एक सातामा मात्रै आम आदमी सरकारको भविष्य सुनिश्चित हुँदैछ । भ्रष्टाचार, सुशासन, सूचनाको अधिकार र आत्मनिर्णय अधिकारको यो लडाइँ केहीअघि हावाको झोंँक्काझैं सुरु भएको थियो, अहिले आँधीबेहरी बनिसकेको छ । तर यो 'आँधी' नेपालमा कथित परिवर्तनकारी शक्तिले भनेझैं भाषण र कागजी गफको विषय नबने हुन्थ्यो भनेर शुभचिन्तक बन्ने मध्यममार्गी पनि दिल्लीमा उत्तिकै छन् । 'यो आजको स्वराज-मन्त्र भोलिको भारतका लागि समृद्धि र सपनाको मन्त्र हो,' सामाजिक अभियन्ता अन्ना हजारेले 'स्वराज' मेनिफेस्टोमा भनेका छन्- 'दिल्ली, मुम्बई वा कोलकतामा रहेको राजनीति र शक्तिको केन्द्र भारतका ७ लाख गाउँमा पुर्‍याउन सक्ने क्षमता यो स्वराजमा छ ।'
यो 'स्वराज' चेतना हाम्रो नेपालमा कहिले आउने होला ?

प्रकाशित : पुस १७, २०७० १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?