एमाओवादीमा भट्टराई-श्रेष्ठ रुष्ट- अन्य - कान्तिपुर समाचार

एमाओवादीमा भट्टराई-श्रेष्ठ रुष्ट

गंगा बीसी

काठमाडौ — केही समय संविधानसभामा नजाने अड्डी लिएको एमाओवादीभित्र समानुपातिक सभासद चयनमा चर्को विवाद देखिएको छ । नेता बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ पक्षले अध्यक्ष पुष्पकमल दाहालले 'आफ्ना' लाई प्राथमिकता दिएको भन्दै तीव्र असन्तुष्टि व्यक्त गरेका छन् ।


दाहाल पक्षले भने समानुपातिक सभासद पार्टीले तय गरेको मापदण्डबाटै चयन गरिएको दाबी गर्दै विरोध गर्नुको औचित्य नभएको जनाएको छ । नेता कृष्णबहादुर महरा निवास धोबीघाटमा सोमबार दिउँसो नेताहरू पोस्टबहादुर बोगटी, महरा, वर्षमान पुन, टोपबहादुर रायमाझी र गिरिराजमणि पोख्रेल सभासद चयन गर्न बसेका थिए । छलफलमा दाहाल पक्षले आफ्नालाई बढी प्राथमिकता दिएको भन्दै भट्टराई निकट रायमाझी र श्रेष्ठ निकट पोख्रेलले बैठक छाडेर हिँडेका थिए । उनीहरूले केन्द्रीय समितिले पारित गरेको मापदण्डविपरीत सभासद छानेको भन्दै बैठक बहिष्कार गरेको जनाएका छन् ।
'केन्द्रीय समितिले तयार पारेको मापदण्डअनुसारै सूची तयार गरिएको हो,' तर प्रवक्ता अग्नि सापकोटाले कान्तिपुरसँग भने, 'अध्यक्षले एकलौटी गर्न खोजेको भन्नु गलत हो ।' दाहाल निकट नेताले भट्टराई र श्रेष्ठले अध्यक्षलाई धम्क्याएर आफ्ना मान्छे बढी समानुपातिक सूचीमा हाल्न खोजेको बताए ।
उता भट्टराई निकट नेताले भने दाहालले आफ्ना मान्छे बढी हाल्न खोजेको भन्दै आफूले विरोध गरेको जनाए । 'अध्यक्षको पुरानो बानी कहिल्यै गएन, यस पटक पनि त्यस्तै भयो,' ती नेताले भने, 'पार्टीमा योगदान गरेकाभन्दा टिके प्रथा बढेकाले विरोध गरिएको हो ।'
दाहाल पक्षले भने मापदण्डभित्र रहेर सभासद चयन गरिएको दाबी गर्दै भट्टराई र श्रेष्ठले आफू निकटका व्यक्ति नपरेको भन्दै बैठक बहिष्कार गरेको जनाएको छ ।
दाहाल निवास लाजिम्पाटमा सोमबार अपराह्न समानुपातिक सूचीलाई दाहाल, भट्टराई, श्रेष्ठ र बोगटीले अन्तिम रूप दिने तयारी थियो । समानुपातिक चयनमा असन्तुष्टि जनाउँदै भट्टराई र श्रेष्ठ बैठकमा गएनन् । लाजिम्पाटबाट दाहालको स्वकीय सचिवालयले बारम्बार टेलिफोन गर्दा दुवै नेता सम्पर्कमा आएनन् । त्यसपछि बोगटी र पुन निर्वाचन आयोग पुगेर सभासदको सूची बुझाएका थिए ।समानुपातिकमा ५४ सिट पाएको एमाओवादीले २७ पुरुष र २७ महिलाको सूची बुझाएको छ ।

अधिकांश अनुहार नयाँ
एमाओवादीको समानुपातिक सूचीमा अधिकांश नयाँ अनुहार परेका छन् । सूचीमा पूर्वपोलिटब्युरो सदस्य सुरेन्द्रकुमार कार्की (राम कार्की), केन्द्रीय सदस्य एवं पूर्वलडाकु कमान्डर सन्तकुमार दरै, केन्द्रीय सदस्यहरू भक्तिप्रसाद पाण्डे, रेखा शर्मा, श्रीप्रसाद जगेबु, डोरप्रसाद उपाध्याय, दलजित विक श्रीपाली छन् ।
बन्द सूचीमा परेका नेताहरू दीनानाथ शर्मा, हेमन्तप्रकाश ओली, डिलाराम आचार्य, झक्कुप्रसाद सुवेदी, कालीबहादुर मल्ल, विश्वनाथ साह, खिमलाल देवकोटा, प्रल्हाद बुढाथोकी, अन्जना विशंखे, देवी खड्कालगायत नेताहरू सूचीमा परेनन् । पूर्वप्रहरी महानिरीक्षक रवीन्द्रप्रताप साह, एमालेबाट प्रवेश गरेका जेबी टुहुरे (जुठबहादुर टुहुरे) र रामसिंह यादव, विद्यार्थी नेतृ निशाकुमारी साह परे । लार्केल लामा, लक्की शेर्पा भने अटाएनन् । स्रोतका अनुसार ५४ समासदमध्ये भट्टराईका १९/२०, श्रेष्ठका ७/८ जना समानुपातिक सूचीमा परेका छन् ।

प्रकाशित : पुस १६, २०७० ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्

'विद्युत् प्राधिकरणले गर्दा' सडक निर्माणमा ढिलाइ

अशोक दर्नाल

काठमाडौ — कछुवा गतिमा निर्माण भइरहेको उपत्यकाको सडक निर्माणलाई जमिनमुनि तार राख्ने विद्युत् प्राधिकरणको कामले अवरोध गरेको छ । विद्युत् प्राधिकरणले भूमिगत तार बिछ्याउन बनिरहेको सडक खन्न र भत्काउन थालेपछि लैनचौर, लाजिम्पाट, बालाजु, महाराजगन्ज हुँदै चपलीसम्मको निर्माण कार्यमा अवरोध पुगेको छ ।


लैनचौर-लाजिम्पाट सडक विस्तार भएको डेढ वर्ष बित्दासमेत ४५ प्रतिशत पनि काम सकिएको छैन । आयोजनाले फराकिलो पारी ग्राभेल गरिरहेको सडकमा विद्युत् प्राधिकरणले भूमिगत तार बिछ्याउने भन्दै भत्काउन सुरु गरेको हो । प्राधिकरणले सडक निर्माणपूर्व नै ती स्थानमा भूमिगत तार बिछ्याइसक्नुपर्ने थियो । तर, दुई वर्ष अघिदेखिको आग्रहलाई 'अटेर गर्दै' प्राधिकरणले अहिले कालोपत्रे गर्न तयार सडक खनेर अवरोध सिर्जना गरेको आयोजना प्रमुख श्याम खरेलले बताए । 'सडकको छेउ खन्न थालेपछि, निर्माणमा ढिला भइहाल्छ नि ?' उनले भने, 'पहिला तात्नु भएन, अब दिन-रात गर्दा हामीलाई असर पुग्यो ।'
प्राधिकरणले अहिले लैनचौर-महाराजगन्ज- गल्फुटार-बूढानीलकण्ठ खण्डको सडकमा भूमिगत तार बिछ्याउन र केही स्थ्ाानमा पोल गाड्न भन्दै सडक खन्न थालेको छ । आयोजनाका अनुसार प्राधिकरणले ६० दिनभित्र सक्ने सहमतिमा भूमिगत तार बिछ्याउन थालेको हो । लैनचौर-लाजिम्पाट सडक खण्डमा केबुल बिछ्याउने काम बल्ल पानीपोखरीसम्म पुगेको छ । पहिलो चरणमा कालो पाइपमा तार छिराउने मात्रै काम भएको छ । बाँकी तार पूरै तानिसकेपछि सबै लाइन चेक गरी जडान गरिनुपर्छ । प्राधिकरणले उक्त सडक खण्डमा ११ केभी अन्डरग्राउन्ड केबुल बिछ्याउन लागेको छ ।
प्राधिकरणले भने समयमै बजेट नआएकाले भूमिगत तार बिछ्याउन ढिला भएको जनाएको छ । प्राधिकरणको योजना तथा प्रविधि सेवा विभागका अनुसार भूमिगत तार बिछ्याउन एसियाली विकास बैंक (एडीबी) ले समयमै बजेट उपलब्ध नगराएकोले हो । 'हामी त पहिला नै उक्त स्थानमा, तार बिछ्याउन चाहन्थ्यौं, विभागका एक कर्मचारीले भने, 'तर के गर्नु समयमा बजेट आएन, काम ढिला हुन गयो ।' प्राधिकरणका चपली सबस्टेसनका प्रोजेक्ट म्यानेजर रोशन अग्रवालले सडक विभागकै ढिलाइका कारण तार बिछ्याउन ढिलो भएको बताए । 'चुनाव, बन्द, हडताल आदि कारणले पनि ढिलो भयो, अब ६० दिनभित्रै काम सक्छौं,' उनले भने ।
(प्रशिक्षार्थी)




 

प्रकाशित : पुस १६, २०७० ०९:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×