कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६७

पितृसत्ताको भाष्य र विभ्रम

सत्ता संरचना पितृसत्तात्मक भएकै कारण यसको चौतर्फी मारमा महिला नै बढी परेका छन् । तर, पुरुष पनि दुःख र उत्पीडनबाट मुक्त छैनन् । फरक यति हो कि, उत्पीडनका आयाम फरक छन् र तिनको घनत्व फरक छ । त्यसैले पितृसत्ता महिला–पुरुष दुवैका निम्ति विषाक्त प्रवृत्ति हो ।
सुमिना

सदियौंदेखि पितृसत्तामाथि पुस्तक, विचार या आन्दोलनमार्फत घनीभूत बहस हुँदै आइरहेको छ । नेपालमा भने पितृसत्ता महिला र पुरुष कुनै एक लिंगको सरोकारको विषय मात्रै नभएर जो कोहीभित्र पनि हुर्किन र बाँच्न सक्ने विषाक्त चिन्तन प्रणाली हो भनेर स्पष्टीकरण दिइरहनुपर्ने अवस्था रहनु विडम्बना हो । त्यसो त नेपालमै पनि महिला मुक्तिको सवालमा पितृसत्ताविरुद्धको न्यायिक लडाइँमा एकताबद्ध भएर सँगसँगै उभिइरहेका फुरषको पनि उल्लेख्य उपस्थिति नभएको होइन ।

पितृसत्ताको भाष्य र विभ्रम

आज पनि एउटा यस्तो ठूलो तप्का उपस्थित छ, जो ठूल्ठूला आन्दोलन, बहस र सामूहिक लडाइँका गतिविधिबाट बेखबर भएर पितृसत्ता भन्नु नै पुरुष, अर्थात् पितृसत्ताको विरोध गर्नु पुरुषको विरोध गर्नु हो भन्ने चिन्तनसहित बेलाबेला कर्कश गाली ओकलेर पितृसत्ताको रक्षाकवच बनी ठिंग उभिन्छ । यसो गर्नेमा स्वयम् महिलाको पनि निकै ठूलो लावालस्कर छ । जो बेलाबेला पितृसत्ताविरुद्ध गरिएको प्रहार रोक्न पुरुषमैत्री आवरणमा आफ्नै लोग्ने, प्रेमी, साथी, पिता या छोरा भतिजाहरूको अघिल्तिर ढाल बनेर उभिन्छन् ।

पितृसत्तात्मक समाजले महिलाको मथिंगलमा जोगाइराखेको दासत्वको कुरा गर्दा पुरुषको विरोध गरेको तर्क गर्नेमध्ये कतिपय साँच्चिकै पितृसत्ताको सही अर्थसँग अन्जान पनि होलान् । तर, कतिपय भने मस्तिष्कभरि फुरषवादी अहङ्कार र महिलाद्वेष बोकेकाहरू आफ्नो भागको लडाइँ महिला स्वयम्ले लडिरहेका कारण पुलकित भइरहेका पनि देखिन्छन् । सामाजिक सञ्जाल होस् या कुनै मिडिया, लैंगिक न्यायको सरोकारमा पीडित या पीडितपक्षीय आवाज जब मुखरित हुन थाल्छ तब प्रतिक्रियास्वरूप ‘पुरुषमाथि प्रहार भयो’ भन्ने भाष्य अत्यन्तै सक्रिय हुन थाल्छ । यसो गर्नेमा आम सर्वसाधारण सामाजिक सञ्जाल प्रयोगकर्ता मात्रै नभएर कथित बौद्धिक कहलिएका लेखक, साहित्यकार, संस्कृतिविद् भन्नेहरूदेखि सरकारी निकायका उच्चपदस्थ व्यक्ति पनि सम्मिलित देखिन्छन् । मुक्तिको मार्गमा महिलालाई नै अवरोधक बनाएर आफ्नो रक्षाका निमित्त नयाँ नयाँ भाष्य निर्माण गरिरहने परिपाटीलाई आजको सामाजिक सञ्जालले झनै टेवा पुर्‍याइरहेको छ ।

पितृसत्तामा शोषणका आयाम केलाउने हो भने सबैभन्दा गहन केन्द्रबिन्दुमा आमाहरू घेरिएका देखिन्छन् । जो युगौंदेखि पितृसत्ताको चौतर्फी मारले थिचिएका छन् । विवाहित महिलाको सन्दर्भमा विश्व प्रसिद्ध लेखक बालज्याकले भनेजस्तै आमाहरू पनि चुलोचौकाका साम्राज्ञी सँगसँगै लोग्नेकी यौनदासी, बालबच्चा र घरपरिवारकी सेवकका रूपमा घरायसी नोकरको भूमिकामा सामेल छन् । जन्मपश्चात् छोरालाई त्यो स्वतन्त्रता आमाले नै प्रदान गर्छिन् कि ऊ भविष्यमा पितृसत्तात्मक संरचनामा फिट हुने ‘मर्द’ बन्न सकोस् र छोरीका लागि त्यो सङ्कुचित दायरा निर्माण गरिदिन्छिन् कि ऊ भविष्यमा स्त्रीयोचित गुणहरूले सु–सम्पन्न तथा संस्कारी बनोस् । सिमोन दी बोउवार भन्छिन्, ‘महिला जन्मिँदैनन्, बनाइन्छन् ।’ वास्तवमा एउटी छोरीलाई समाजले चाहेजस्ती ‘महिला’ बनाउन परीक्षणको आरनमा पहिलो पटक आमाले नै हाल्छिन् ।

कुनै छोरीमाथि हिंसा भएको कुरा जब खुलासा हुन्छ तब महिलाहरू नै हिंस्रकप्रति आक्रोश व्यक्त गर्नुको साटो वनबासमा सीताले लक्ष्मणरेखा पार गरेर अपहरणमा परेजस्तै छोरीलाई नै लक्ष्मणरेखा पार गरेको आक्षेप लगाउँदै संस्कार र मर्यादाको पाठ पढाउन थाल्छन् । सीतालाई अपहरण गर्नेको योजना, चालबाजी र नियतमाथि प्रश्न नउठेजस्तै यहाँ पनि हिंस्रकको नियतमाथि प्रश्न उठाइँदैन, बरु छोरीलाई सहनै नसक्ने आक्षेपको निकै ठूलो अग्निकुण्डमा हाम्फाल्न बाध्य पारिन्छ । जो सदियौंदेखि थिचिँदै आइरहेको छ, ऊ स्वयम् थिच्ने व्यवस्थाको रक्षक बनेर किन खडा हुन चाहन्छ ? यो आज दासत्व स्वीकार गरिरहेका र दासत्वको रक्षक बनेर वकालत गरिरहेका हरेकको सन्दर्भमा लागू हुन्छ । यसको बेग्लै सामाजिक, मनोवैज्ञानिक र समाजशास्त्रीय अर्थ पनि छ । एउटा हो, सत्ताको चातुर्य । कसरी सत्ताले महिलालाई स्वैच्छिक रूपमा दास बन्न लगाइरहेको छ ? कसरी आफैंले शोषण गरेको छ र पितृसत्ताकै रक्षक बनाएर उभ्याएको पनि छ ? महिलामा निहित स्वैच्छिक दासत्वसँगै सत्ताको यस्तो रणनीतिमाथि पनि निर्मम बहस गर्नु अत्यावश्यक छ ।

सत्ताको एउटा विशेषता हुन्छ, त्यसले जहिल्यै पनि उत्पीडित जाति, समुदाय र लिंगहरूलाई आपसमा भिडाएर आफू सुरक्षित हुने माहोल निर्माण गरिरहन्छ । स्वयम् उपस्थित नभएर पनि शोषणका निम्ति अनुकूल वातावरण बनाइरहनु चतुर शासकीय प्रवृत्ति हो । हाम्रो समाजमा पनि सत्ता र शासकीय प्रवृत्तिले यही रणनीति अख्तियार गरिरहेको छ । महिला स्वयम् परिवर्तनका निम्ति तयार नभएका होइनन् । बरु उनीहरूलाई तयार हुन नदिने षड्यन्त्र रचिएको हो । साँचो अर्थमा हामी मुक्ति चाहन्छौं भने महिलालाई सत्ताको सांस्कृतिक वर्चस्वबाट मुक्त गराउनु अत्यावश्यक छ । जो स्वयम् उत्पीडित भएर पनि उत्पीडनको पक्षमा खडा छ, त्यसो हुन प्रेरित गर्ने सत्ता संरचनाको चातुर्यलाई चिर्ने गरी वैचारिक सचेतना र जागरणको अभियानलाई तीव्र बनाउनु आवश्यक छ । दासत्वको मुग्धताबाट मुक्त भएको दिन अवश्य पनि त्यसको दुखाइ महसुस हुनेछ । जब दुख्नेछ तब दुखेकाहरूले दुखाउने व्यवस्थामाथि फ्रहार गर्न सुर गर्नेछन् ।

नारीवादी आन्दोलनको दौरान विश्वमा केही ‘र्‍याडिकल’ गतिविधि उभारमा आए । त्यसका कारण पुरुषलाई हिंस्रक बनाउने पितृसत्तात्मक सत्ता संरचनाभन्दा पनि व्यक्ति विशेषलाई केन्द्र बनाएर घृणा ओकल्ने, बहिष्कार र आक्रमण गर्ने, आपसी समन्वयको सम्बन्धलाई अलग्याएर महिला–महिलाबीचको समलिंगी सम्बन्धलाई मुक्तिको विकल्पमा प्रस्तुत गर्नेजस्ता गलत अभ्यास प्रयोगमा आए । त्यस्ता क्रियाकलापले महिला मुक्तिको सवाललाई फुरुषविरद्धको आक्रोशमा बदलेको सत्य हो । तर, त्यस्ता आन्दोलनहरू समयकै गर्तमा बिलाए । त्यसको प्रभावले कहीँकतै महिला आन्दोलन भन्नेबित्तिकै पुरुषको विरोधजस्तो विभ्रम सिर्जना हुनु स्वाभाविक पनि हो । तर, पछिल्लो समय निरन्तर यसमाथि विचार विमर्श र बहस हुँदै आइरहेको परिप्रेक्ष्यमा पनि यस्ता विभ्रम र गलत भाष्यले काम गरिरहनु दुःखद छ । जबकि, पछिल्लो समय त्यस्ता विचारविहीन पुरुषविरोधी ‘र्‍याडिकल’ आन्दोलनहरूको आलोचना र खण्डन पनि तीव्र रूपमा महिला मुक्ति आन्दोलनले नै गर्दै आइरहेको छ । यो आन्दोलन कुनै फुरषविरोधी आन्दोलन होइन, पितृसत्ताविरोधी आन्दोलन हो । पितृसत्ता महिला या फुरष कुनै लिंग विशेष नभएर हर कोहीभित्र रहने विषाक्त चिन्तन हो । जुन अत्यधिक मात्रामा महिलामा पनि छ ।

सत्ता संरचना पितृसत्तात्मक भएकै कारण यसको चौतर्फी मारमा महिला नै बढी परेका छन् । तर, पुरुष पनि दुःख र उत्पीडनबाट मुक्त छैनन् । फरक यति हो कि, उत्पीडनका आयाम फरक छन् र तिनको घनत्व फरक छ । त्यसैले पितृसत्ता महिला–पुरुष दुवैका निम्ति विषाक्त प्रवृत्ति हो । जसले आपसी समन्वय, सहअस्तित्व, प्रेम र सद्भावलाई खण्डित गरी एकअर्काको परस्पर विरोधमा खडा गरेको छ । जहाँ सम्बन्ध प्रेमपूर्ण समानतामा आधारित हुनुपर्थ्यो, त्यहाँ एउटालाई मालिक र अर्कोलाई दास बनाएर शोषणको कष्टकर अवस्थातर्फ धकेलेको छ । जहाँ सम्बन्ध स्वतःस्फूर्त र सुखद नभएर दुःखद र औपचारिक छ ।

पितृसत्ताबाट मुक्ति समस्त मानव मुक्तिको कुरा हो । यो मुक्तिको लडाइँ कुनै महिला अथवा फुरष व्यक्ति विशेषको नभएर सबैको लडाइँ हो भन्ने कुराको बोध जति छिटो भयो त्यति नै समस्त मानवजातिका लागि फाइदाजनक हुनेछ । अतः नियतवश वा अज्ञानतावश पितृसत्ताविरोधी आन्दोलनलाई पुरुषविरोधी करार गर्ने र फितृसत्ताविरद्धको प्रहारलाई पुरुषमाथिको प्रहार सोच्ने विभ्रमबाट हर कोही मुक्त हुनु आवश्यक छ । यस आन्दोलनमा मुक्तिकामी र न्यायप्रेमी पुरुषसँगको हातेमालो जति आवश्यक छ, त्यति नै कडा ढङ्गले पितृसत्तात्मक महिला मानसिकतामाथि प्रहार गर्नु पनि आवश्यक छ । दासत्वलाई जीवनको अभिन्न अंग बनाएर त्यसकै वकालत गरिरहने र आन्दोलनमाथि घृणा ओकल्ने, अवरोध सिर्जना गर्ने पितृसत्ताकै पैरवी गरिरहेका महिला मानसिकतामाथि पनि चेतनाको चड्कन हिर्काएर नवीन रूपान्तरणको बीजारोपण नगरेसम्म मुक्ति असम्भव छ ।

यो पितृसत्ताविरुद्धको लडाइँ हो । तपाईं पुरुष हुनुहुन्छ या महिला, त्यसले कुनै अर्थ राख्दैन । बरु तपाईं कहाँ उभिनुहुन्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । प्रहारको निसानामा तपाईं आफू रहेको ठान्नुहुन्छ भने सम्झिनुस्, तपाईंभित्र पितृसत्ता जीवित छ, विषाक्त पुरुषत्व बाँचिरहेको छ ।

प्रकाशित : जेष्ठ १६, २०८१ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×