२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

सडक दुर्घटना कम गराउने उपाय

सडक दुर्घटनाका हरेक समाचारले गहिरो दुःख र पीडा लिएर आउँछन् । किनकि हरेक दिन औसत सात जना नेपालीले सडक दुर्घटनाकै कारण ज्यान गुमाउँछन् । ट्राफिक प्रहरीका अनुसार आर्थिक वर्ष २०७९/८० मा १० हजार ६ सय ७५ सडक दुर्घटना भए ।

सडक दुर्घटना कम गराउने उपाय

सडक दुर्घटनाका कारण अप्रिल २०२२–अप्रिल २०२३ मा २ हजार ३२० जनाको मृत्यु र २८ हजार ८५६ घाइते भएको नेपाली टाइम्स (२०२३) ले उल्लेख गरेको छ । यो सो वर्ष बाढीपहिरो, विमान दुर्घटना र अन्य प्राकृतिक प्रकोपबाट भएको मानवीय क्षतिभन्दा बढी हो । सरकारी निकाय, कानुन प्रवर्तन निकाय र सामुदायिक संस्थालगायत सरोकारवालाले दुर्घटना न्यूनीकरणका लागि प्रयास गरिरहेको भने पनि डरलाग्दो वास्तविकता यथावत् छ ।

यसरी हेर्दा प्रगतिको सूचक मानिने सवारीसाधन ज्यान मार्ने मौन उद्योगमा परिणत हुँदैछन् । अपर्याप्त पूर्वाधार, ट्राफिक कानुनको लापरबाह प्रयोग वा सडक सुरक्षाप्रतिको सामाजिक मनोविज्ञानले दुर्घटना बढ्दो छ । यस्तो कहालीलाग्दो अवस्थालाई नियन्त्रण गर्न असफल हुनुले सामूहिक अक्षमतालाई झल्काइरहेको छ ।

नेपालको सडक सञ्जालको थोरै मात्र खण्ड पक्की भएको र वर्षाको मौसममा बाढीपहिरोको प्रकोप हुँदा खतरा झन् बढ्दै जाने विश्व बैंकले बताएको छ । ओभरलोड भएका सवारीसाधन, विशेषगरी सार्वजनिक बस र ट्रकले जोखिम बढाएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ३५ प्रतिशत दुर्घटनाको कारक ओभरलोडिङलाई उद्धृत गरेको छ । विद्यमान ट्राफिक कानुनका बाबजुद पनि कार्यान्वयनमा लापरबाही भएको छ । जुन २०२३ मा मात्रै तीव्र गतिका कारण ४० हजारभन्दा बढी सवारीसाधन दुर्घटनामा परेको ट्राफिक प्रहरी विभागको तथ्यांक छ । यसबाहेक, यातायात व्यवस्थापन विभागको सर्वेक्षणअनुसार ३० प्रतिशत चालकले मात्र औपचारिक प्रशिक्षण पाएका छन्, जसले यात्रुको गन्तव्य सधैं असुरक्षित देखाउँछ । २०२२ मा १ हजार २ सयभन्दा बढी पैदलयात्रुको मृत्यु भएको ट्राफिक प्रहरीको विवरण छ ।

२०२३ मा २ हजार ५८७ जनाको ज्यान गएको र १२ हजार ४६० जना घाइते भएको ट्राफिक प्रहरीको तथ्यांक छ । तत्कालको दुर्घटनाको प्रभाव गम्भीर र लामो समयसम्म रहिरहन्छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार ज्यान गुमाउनेबाहेक दुर्घटनाबाट बाँचेका कतिपय काम गर्न नसक्ने अवस्थामा पुग्छन् । उनीहरूलाई हेरचाह गर्ने मानिस आवश्यक पर्ने कारणले कार्यसम्पादनमा ह्रास हुने गर्छ । रोड सेफ्टी कन्ट्री प्रोफाइलअनुसार नेपालमा सडक दुर्घटनाबाट हुने मृत्यु र घाइतेको ७२ प्रतिशत उत्पादनशील उमेर समूहका छन् । जसका कारण २०२१ मा नेपालको जीडीपीमा दुई प्रतिशत अनुमानित आर्थिक घाटा पुगेको उल्लेख छ । एसियाली विकास बैंकको अनुमानअनुसार सडक दुर्घटनाले नेपाललाई वार्षिक ४४ करोड डलर घाटा पुर्‍याउँछ, जुन देशको कुल गार्हस्थ्य उत्पादनको १.७ प्रतिशत बराबर हुन्छ । यसबाहेक सडक दुर्घटनाको मनोवैज्ञानिक असर गहिरो छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सर्वेक्षणले दुर्घटनामा बाँचेका ३० प्रतिशतमा घटना भएको ६ महिनापछि पोस्ट–ट्रमाटिक स्ट्रेस डिसअर्डर (पीटीएसडी) का लक्षण देखापरेको देखाएको छ ।

कारणको पहिचान

नेपालमा सवारी दुर्घटनाको मुख्य कारण चालकको लापरबाही, अनुभवहीनता, कामको बोझ, मदिरा तथा लागूऔषधको प्रयोग र तीव्र गति नै देखिन्छ । विचलित भएर सवारी चलाउने र ट्राफिक नियम पालना नगर्ने कारण दुर्घटनाको दर उच्च रहेको प्रहरीको अध्ययमा उल्लेख गरेको छ । एउटै चालकले लामो समय गाडी चलाउँदा थकान हुने र समयभित्र गन्तव्यमा पुग्ने दबाबले दुर्घटनाको जोखिम बढ्छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार चालकले मदिरा र लागूपदार्थ सेवन गर्दा निर्णय लिने क्षमता र समन्वयमा कमी आउँदा पनि दुर्घटनाको सम्भावना बढिरहेको छ ।

नेपाल सडक सुरक्षा चुनौतीसँग जुध्नुको अर्को कारण सडकको दयनीय अवस्था पनि हो । भौगोलिक अवस्थाका कारण धेरै क्षेत्रमा भौतिक पूर्वाधार अत्यन्तै अपर्याप्त छन्, भएका पनि उचित मर्मतसम्भारको अभावमा जीर्ण भइसकेका छन् । सडकमा अनगन्ती खाल्डाखुल्डी, कमजोर ढल निकास प्रणाली, हिलोधूलो, अस्पष्ट सडक चिह्नले चालकमात्रै होइन, पैदल यात्रुलाई पनि जोखिम बढाएको छ । खोलाबाट बालुवा र ढुंगा उत्खनन गरी ढुवानी गरिँदा पुलहरू जीर्ण बनेका छन् । आर्थिक सर्वेक्षण २०७९/८० का अनुसार २०७९ फागुनसम्म सडकको कुल लम्बाइ ३३ हजार ९ सय ९६ किमि छ, त्यसमध्ये कालोपत्र ५१.३ प्रतिशत, ग्राभेल २३.३ प्रतिशत र कच्ची २५.४ प्रतिशत छ । कालोपत्र गरिएका सडकको अवस्था पनि दयनीय छ । यी सडक व्यवस्थित र वैज्ञानिक ढंगले निर्माण भएका छैनन् । सडकमा गुड्ने पुराना सवारीसाधनको इन्जिन वा सुरक्षा सूचकहरूले काम नगर्दा दुर्घटना हुने गरेका छन् । ट्राफिक प्रहरीको प्रतिवेदनअनुसार सन् २०२३ मा ७० प्रतिशतभन्दा बढी सडक दुर्घटनामा १० वर्षभन्दा पुराना सवारीसाधन कारक रहेका छन् । नेपालमा दर्ता भएका सवारीसाधनमध्ये झन्डै ६० प्रतिशत एक दशकभन्दा पुराना छन् ।

दुर्घटना हुनुको अर्को कारण चालक इजाजतपत्र (लाइसेन्स) जारी गर्दाको अनियमितता र अव्यवस्थित प्रणाली पनि हो । नेपालमा सामान्य लिखित परीक्षा र त्यसपछि ड्राइभिङ टेस्ट गरेर सवारी लाइसेन्स जारी गरिन्छ । गहन लिखित परीक्षा, विभिन्न सडक परिस्थितिमा व्यावहारिक ड्राइभिङ परीक्षण र अनिवार्य प्रशिक्षण लागू गरिएका छैनन् । प्रणालीविपरीत कर्मचारी र बिचौलियाबीच हुने आर्थिक लेनदेनले अक्षम व्यक्तिले लाइसेन्स पाउने प्रवृत्ति पनि देखिन्छ । नेपालमा सडक अनुगमन र निरीक्षण एउटा कमजोर पाटो हो, जसले सडक दुर्घटनालाई बढावा दिएको छ । सडकको अवस्था, संकेत र ट्राफिक नियन्त्रण उपकरणको पूर्ण निरीक्षणसहित सडक पूर्वाधारको नियमित मूल्यांकन हुन सकेको छैन । सीसीटीभी क्यामरा, स्वचालित गति क्यामेरा र वाहन ट्र्याकिङ प्रणालीमा लगानी गरी निगरानी क्षमता बढाउन नसक्दा दुर्घटना हटस्पट पहिचान गर्न, ट्राफिक ढाँचा विश्लेषण गर्न, सडक सुरक्षा उपायको प्रभावकारिता मूल्यांकन गर्न र अति आवश्यक तथ्यांक प्राप्‍त गर्न नसक्दा पनि दुर्घटना बढेका छन् ।

ढुवानी साधन जस्तैः टिपर र ट्रकको व्यवस्थित पार्किङले पनि दुर्घटनामा भूमिका खेलेको छ । सडकमै राख्‍नुपर्ने बाध्यताले ट्राफिक प्रवाहमा अवरोध हुनुका साथै दुर्घटनाको जोखिम बढाउँछ । ओभरलोड, सवारीसाधनमा अत्यधिक चाप, नियमित सवारी मर्मत नहुनु र ट्राफिक नियम पालनाको कमीले पनि दुर्घटनाको जोखिम बढाउँछ । वातावरणीय कारण जस्तैः प्रतिकूल मौसम, भारी वर्षाले निम्त्याउने पहिरो र सुक्खा पहिरोले सडक सुरक्षामा थप चुनौतीहरू खडा गरेका छन् ।

अन्य देशका सफल अभियान

सरकारले २०२३ को बजेटमा सडक पूर्वाधार विकासका लागि ५ सय मिलियन डलर विनियोजन गर्नु सही कदम थियो । कडा कानुनको प्रयोग, सुरक्षित सडक सञ्‍चालनको कार्यान्वयन अवधिमा दुर्घटना २० प्रतिशतले कमी भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले युनिसेफसँगको सहकार्यमा सुरु गरेको ‘सुरक्षित यात्रा, सुरक्षित नेपाल’ अभियानजस्ता जनचेतनामूलक अभियानले जिम्मेवार सडक व्यवहार संस्कृतिको विकासमा निर्णायक भूमिका खेलेका छन् । २०२२ मा यातायात व्यवस्था विभागद्वारा पेस गरिएको अनिवार्य चालक प्रशिक्षण कार्यक्रमले सुरक्षित रूपमा ड्राइभिङ गर्नका लागि चालकसँग आवश्यक सीप र ज्ञान छ भन्ने सुनिश्चित गरेको थियो । २०२१ मा सुरु गरिएको दिगो सहरी यातायात परियोजनाले भीड कम गर्न र सवारी ट्राफिक घटाउन केही आशा जगाएको थियो । सरकारले यस्ता कार्यक्रमलाई निरन्तरताका साथ अझ प्रभावकारी ढंगले अघि बढाउनुपर्छ ।

विकसित देशले सडक दुर्घटना न्यूनीकरण गर्न उन्नत प्रविधि, कडा नियम तथा व्यापक सार्वजनिक शिक्षा अभियानका उपाय अवलम्बन गरेका छन् । दुर्घटना कम गर्ने प्रमुख रणनीतिमा सडक पूर्वाधारको निरन्तर सुधार गर्नु हो । जसमा ट्राफिक लाइट र सडक प्रयोगकर्ताका लागि सुरक्षा दिन डिजाइन गरिएका पैदलयात्री क्रसिङहरू समावेश गर्नुपर्छ । ट्राफिक नियमको कडाइका साथ कार्यान्वयन गर्नु दुर्घटना न्यूनीकरण प्रयासको महत्त्वपूर्ण पक्ष हो । यसका अलावा लापरबाहीपूर्ण ड्राइभिङ रोक्न गति मापन क्यामरा र रातो बत्ती क्यामराजस्ता स्वचालित उपकरण प्रयोग गर्न सकिन्छ । नियमित प्रहरी गस्ती र सडक छेउमा गरिने सवारी जाँचले ट्राफिक नियमको पालना सुनिश्चित गर्न योगदान गर्छ । सवारीसाधन सुरक्षा प्रविधिमा गरिएका लगानीले पनि महत्त्वपूर्ण भूमिका खेलेका छन् । विकसित देशले सवारीसाधनका लागि कडा सुरक्षा मापदण्ड लागू गरेका छन्, जसमा एयरब्याग, एन्टी–लक ब्रेकिङ प्रणाली (एबीएस) र इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ईएससी) जस्ता सुविधाको अनिवार्य स्थापना गरेका छन् । सिटबेल्ट र बाल सुरक्षा सिटको प्रयोगलाई बढावा दिने अभियानले दुर्घटनामा चोटपटकको गम्भीरता घटाएको छ ।

नेपालले स्वीडेनको सडक सुरक्षा मोडेल, जसलाई ‘भिजन जिरो’ का रूपमा चिनिन्छ, अवलम्बन गर्न जरुरी छ । स्वीडेनको सडक सुरक्षा विश्वव्यापी उदाहरणका रूपमा परिचित छ । ट्राफिक सम्बन्धित कारणले हुने मृत्यु र चोटपटकको दर स्वीडेनमा विश्वव्यापी रूपमै सबैभन्दा कम छ । त्यहाँ सडक सुरक्षा साझा जिम्मेवारीको सिद्धान्तमा आधारित छ । भिजन जिरोले सुरक्षित सडक पूर्वाधार डिजाइन, ट्राफिक कानुनको कडा कार्यान्वयन, सुरक्षित ड्राइभिङ व्यवहार प्रवर्द्धन गर्ने शिक्षा अभियान र दुर्घटनापछिको हेरचाह समावेश गरी बहुआयामिक दृष्टिकोण प्रयोगमा ल्याउँछ ।

सडकमा शून्य मृत्यु वा गम्भीर चोटपटकको अन्तिम लक्ष्यलाई प्राथमिकता दिएर स्वीडेनले सरकारी एजेन्सी, कानून प्रवर्तक, सडक इन्जिनियर, सवारीसाधन निर्माता र जनतालाई समावेश गरी सहयोगात्मक इकोसिस्टम सिर्जना गरेको छ । दुर्घटना जोखिम न्यूनीकरण गर्ने यातायात सञ्जाल बनाइएको छ । स्वीडेनको सडक पूर्वाधार डिजाइनको केन्द्रीय सिद्धान्तमध्ये एक भनेको ‘शान्त ट्राफिक’ उपाय कार्यान्वयन हो । जस्तैः राउन्ड अबाउट, बम्प, पैदल यात्रीका लागि क्रसिङ, जसले चालकको गति घटाउन र सतर्क रहन बाध्य पार्छ । साथै, ‘क्षमा गर्ने सडकहरू’ को अवधारणा भिजन जिरोको अभिन्न अंग हो । यसमा इन्जिनियरले मानव त्रुटिका परिणाम कम गर्ने सुविधालाई प्राथमिकता दिन्छन् । फराकिलो सडक स्पष्ट देखिने सडक संकेत र रेखामा ध्यान दिन्छन् । अर्को विशेषता सडक मर्मतसम्भार र त्यसप्रतिको प्रतिबद्धता हो । उन्नत प्रकाश प्रविधिको प्रयोगले दृश्यता (भिजिबिलिटी) बढाउँछ, जुन प्रतिकूल मौसमका बेला दुर्घटना न्यूनीकरणमा अत्यन्तै महत्त्वपूर्ण हुन्छ । यस्ता उपाय नेपालले पनि कडाइका साथ अनुशरण गर्न जरुरी छ ।

दुर्घटना समाधानका उपाय

चालक सम्बन्धित दुर्घटनाका कारण कम गर्न व्यापक उपाय लागू गर्नुपर्छ । सर्वप्रथम, सबै चालकले ट्राफिक नियम, सुरक्षा अभ्यास र रक्षात्मक ड्राइभिङ प्रविधिमा पूर्ण निर्देशन प्राप्त गर्छन् भन्ने सुनिश्चित गर्न प्रशिक्षण कार्यक्रममा सुधार गर्नुपर्छ । नयाँ चालकका लागि प्रारम्भिक प्रशिक्षण र सुरक्षित ड्राइभिङ बानीलाई सुदृढ पार्ने पाठ्यक्रम र अनुभवी चालकका लागि रिफ्रेसर पाठ्यक्रम समावेश गरी लागु गर्नुपर्छ । मादक पदार्थ र लागूपदार्थको प्रभावमा ड्राइभिङ भए नभएको नियमित जाँच गर्नुपर्छ । चालकलाई आराम क्षेत्रमा पहुँच र परामर्श सेवाजस्ता अति आवश्यक व्यवस्थाले तनावलाई कम गर्न र थकानको कारण दुर्घटनाको सम्भावना घटाउन मद्दत गर्न सक्छ । तालिम प्रवर्तन, सचेतना र सहयोगी उपायको संयोजनमार्फत यी बहुआयामिक चालक सम्बन्धित कारकलाई सम्बोधन गर्न जरुरी छ । यसले नेपालले सडक दुर्घटनाको डरलाग्दो दर कम गर्न र सबैका लागि सुरक्षित सडक सिर्जना गर्न सक्छ ।

नेपालमा चालक लाइसेन्स दिने विधिलाई सुधार गर्न कठोर लिखित परीक्षा र विभिन्न सडक परिस्थितिमा व्यावहारिक ड्राइभिङ परीक्षण, अनिवार्य प्रशिक्षण कार्यक्रम लागू गर्नुपर्छ । लाइसेन्स दिने प्रणालीको पाठ्यक्रममा व्यापक समीक्षा अद्यावधिक गर्न जरुरी छ । सडक सुरक्षा नियम, रक्षात्मक ड्राइभिङ प्रविधि र अति आवश्यक प्राथमिक उपचारलगायत आपत्कालीन समस्या समधान गर्ने विषय पनि समावेश गर्न सकिन्छ । पुराना सवारीले निम्त्याउने जोखिम न्यूनीकरण गर्न व्यापक रणनीतिको आवश्यक छ । नियमित निरीक्षण, मर्मत, चालकलाई पुराना सवारीसँग सम्बन्धित खतराबारे प्रशिक्षण सञ्चालन गर्नुपर्छ । सवारीको अधिकतम उमेर निर्धारित गरी पुरानालाई चरणबद्ध हटाउँदै जाने र सवारी सूचकको अवस्थालाई संकेत गर्न रङ–कोडसहितको स्टिकर वा ब्याज प्रयोग गर्न सकिन्छ ।

नेपालमा पूर्वाधार विकास, मर्मतसम्भार र विस्तार परियोजनामार्फत सडकको अवस्था सुधार गर्नु अत्यावश्यक छ । चालक तथा पैदल यात्रीलाई सडक सुरक्षा अभ्यास, सिट बेल्ट र हेलमेटको उचित प्रयोग, तीव्र गति र लापरबाहीपूर्ण सवारी चलाउँदाका खतराका सम्बन्धमा जनचेतनामूलक कार्यक्रम चाहिन्छ । ट्राफिक नियम उल्लंघन गर्नेउपर दण्डित गर्न कानून प्रवर्तक निकायको प्रयासलाई सहयोग गर्नु, सडकमा अनुपालन र जवाफदेहिताको संस्कृतिलाई बढावा दिन महत्त्वपूर्ण छ । यातायातको प्राथमिक माध्यमका रूपमा रहेका मोटरसाइकल र साइकलको महत्त्वपूर्ण भूमिकालाई विचार गर्दै हेलमेट र रिफ्लेक्टिभ (टल्किने) कपडाजस्ता सुरक्षा साधनको प्रयोगलाई बढावा दिन सकिन्छ । यसबाहेक, स्थानीयस्तरमा मातृभाषाको माध्यम तथा सांस्कृतिक सन्दर्भअनुरूप सडक दुर्घटनासम्बन्धी जनचेतना अभियान सञ्चालन गर्नाले सडक सुरक्षा नियमको बुझाइ बढाउन सकिन्छ ।

पहाडी भूभाग र दुर्गम क्षेत्रको भू–बनोटका कारण दुर्घटनापछि आवश्यक आपत्कालीन सेवा र चिकित्सकीय हेरचाहका लागि चुनौती सिर्जना गरेको छ । आपत्कालीन चिकित्सा सेवा र ट्रमा सेन्टरले दुर्घटना पीडितका लागि समयमै चिकित्सा हेरचाह सुनिश्चित गर्छ । मृत्यु र दीर्घकालीन रूपमा असर गर्ने अपांगताको सम्भावना कम गर्छ ।

चालक शिक्षा र सचेतना, पूर्वाधारको सुधार, सुरक्षित सवारीसाधनको व्यवस्था, सुधारिएको लाइसेन्स वितरण प्रणाली, नीति नियमको उचित कार्यान्वयन, बलियो आपत्कालीन प्रतिक्रिया प्रणालीको संयोजनले सडक दुर्घटना कम गर्न सकिन्छ । यी चुनौतीलाई सम्बोधन गर्न बहुआयामिक दृष्टिकोण आवश्यक छ । नेपालमा सडक दुर्घटनाको विपत्तिलाई सम्बोधन गर्न सरकारी निकाय, नागरिक समाज र निजी सरोकारवालाबीचको एकजुट प्रयास आवश्यक छ ।

– तिमिल्सिना गण्डकी विश्वविद्यालयका रजिस्ट्रार हुन् ।

प्रकाशित : चैत्र ८, २०८० ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?