कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

चमत्कारको प्रतीक्षामा भीड

चन्द्रकिशोर

फागुन–चैततिर देहातका महिला सामूहिक कार्यमा लोकगीत गाउँछन्– ‘अवधा लगेला उदास हम न अवध में रहबै, रघुवर संगे जाब, हम न अवध में रहबै ।’ यस्तो गायनले उनीहरूमा अद्भुत उष्मा निर्माण गरिरहेको हुन्छ । गीतको यो जुन टेक छ, त्यो बराबर गुञ्जिरहेको हुन्छ– ‘रघुवर संगे जाब, हम न अवध में रहबै ।’

चमत्कारको प्रतीक्षामा भीड

रामका साथ म पनि वन हिँड्छु, अयोध्यामा मलाई बस्नु छैन । ग्रामीण महिलाको यस्ता गीत सुनेर आफैंसँग प्रश्न गर्छु– कुन अवधमा यिनीहरू बसिरहेका छन् कि त्यस ‘अवध’ माथि यत्रो रिस जागेको छ ? कुन रामका लागि यस्तो व्याकुलता ? निजको घर अवधमा होस् वा नहोस् तर चौखट नाघेर बाहिर निस्किने यत्रो व्याकुलता किन ?

लोकमानसमा शताब्दीयौंदेखि विराजमान ‘राम’ को महत्त्वपूर्ण पक्ष के हो ? लोकका रामबारे हिन्दु र मुस्लिम स्रष्टाले प्रशस्त लेखेका छन् । तुलसीदासकृत रामचरितमानसमा राम भन्छन्– ‘जौ कछु अनुचित भाषहु भाइ, तौ मोही बरजेउ भय बिसराई ।’ एक नागरिकले समेत शासकको कृत्यमाथि रोक लगाउन सक्ने, सिधा प्रश्न गर्न सक्ने सन्दर्भ छ । राज्यको नीतिबारे तुलसीदासले ‘दोहावली’ मा लेखे– ‘मणि माणिक महंगे किए, सहंगे तृण जल नाज । एते तुलसी जानिए राम गरिब नवाज ।’ यो रामको अर्थनीति हो, जनताका उपयोगका वस्तु सस्तो गरिदेऊ, विलासिताका साधन महँगो । लोकमानसमा रामराज्यको अवधारणा एक न्यायपूर्ण समाजको परिकल्पना हो । भन्सार नीतिबारे प्रतिनिधिसभा सदस्यको गन्थन सुन्दा लाग्छ, सरकारको रवैया अहिले पनि जनतामारा नै हो । ऊ कुनै चमत्कारका लागि आतुर छ कि अर्थ व्यवस्था आपसेआफ ठीक भइहाल्छ ।

अवधी भाषाका कवि तुलसीदासले शासक र जनताबीच नातालाई परिभाषित गरेका छन् । राज्य र जनताबीच राम सम्पर्क सेतु हुन् । तुलसीदासले आफ्नो लोकतन्त्रमा रामलाई व्यक्ति होइन, आदर्श र मूल्यका रूपमा कोरेका छन् । एक पंक्ति छ– ‘बरसत हरसत सब लखे, करसत लखे न कोय, तुलसी प्रजा सुभाग से, भूप भानु सो होय ।’ आसय हो सरकारले कर यसरी लगाओस् कि कसैले चाल नपाओस् तर त्यही राजस्व जनहितमा खर्च गरिँदा सबैले थाहा पाऊन् ।

अहिले के भइरहेको छ ? भक्तिका नाममा च्यादर ओढ्न घम्साघम्सी गर्ने राजनीतिज्ञहरू आफूले रचेको एकपछि अर्को क्रूर प्रहसन हेरेर आफैं मुसुमुसु हाँसिरहन्छन् । कतै पर्दा उठेको जस्तो देखिए पनि कतिखेर पटाक्षेप हुन्छ, त्यसको प्रत्याभूति छैन । यसैले ठूला माछा समातियो भने पनि आमजन त्यो कौतुक हेरेर बसिरहेका छन् ।

चमत्कारको खेती

‘चमत्कार’ कसलाई प्रिय लाग्छ ? जो आफूलाई वञ्चित ठान्छ । जो वितरण प्रक्रियामा पहुँच राख्न सक्दैन । जसको भरोसा राज्यतन्त्रमाथि कमजोर रहन्छ । जो ज्ञान उत्पादनबाट पर धकेलिएकाहरू छन् । अनि पो सीमान्त सहर वीरगन्जमा कोही काला कम्बलवाला बाबा पारिबाट आउँछ र कम्बलले टकटकाइदिएपछि असाध्य रोगको निदान स्वात्तै भइहाल्छ भन्दै सार्वजनिक शिविर राख्दा हजारौंको भीड लाग्छ । केवल शासितहरू मात्र चमत्कारका लागि विकल छैनन्, हिजो आन्दोलन गरेर नेपालीको पुर्पुरोमा होइन, पद्धतिमा लेखेर शान्ति, सम्मान, सुरक्षा र समृद्धि आउँछ भनेर पाठ पढाउनेहरू पनि त्यही गोरेटोमा हिँडिरहेका छन् । कहिले उत्तर त कहिले कताको चमत्कार खोज्छन् । कोही विकल्पको राजनीतिमा पनि चमत्कारबाटै अग्लिन चाहन्छन् ।

लोकतान्त्रिक समाजबेगर लोकतान्त्रिक राज्य व्यवस्था सम्भव छैन । हामी धर्मको निहुँमा टाढाको पुनःसंरचना गर्न त खोज्छौं तर आफ्नै समुदायभित्रको अलोकतान्त्रिक सोचलाई सच्याउन चाहँदैनौं । कुनै पनि धर्मको नाम लिएर आमजनमा अन्धविश्वास फैलाउन खोजिन्छ भने त्यसले समाजलाई निरीह बनाउँछ । अनपढ व्यक्ति केवल आफ्नो नोक्सानी गर्छ तर पाखण्डी र अन्धविश्वासीले सिंगो समाजलाई पछाडि धकेल्छ ।

आजको सत्ता राजनीति आफ्नै फर्मूलामा राज गरिरहेको छ । संख्या बल, धन बल र बाहु बलका आधारमा चल्ने उपभोक्तावादी र भ्रष्ट राजनीतिको यो माहोलमा अरू बढीको आशा गर्न सकिन्न । आज न्यायप्रिय, लोकतान्त्रिक र सद्भावपूर्ण नेपालको सपना धूमिल हुँदै गएको देखिन्छ । जीवनको प्रत्येक क्षेत्रमा चमत्कारको खोजी छ । यस्तोमा सामाजिक न्यायका लागि आर्थिक र सामाजिक क्रान्तिको आह्वानलाई कसले सुन्छ ? पछिल्लो संविधानमार्फत ‘हामी नेपाली’ को परिकल्पना गरियो । हाम्रो राष्ट्रिय संकल्पको अभिव्यक्ति हो हाम्रो संविधान र त्यसको अद्भुत प्रस्तावना । समाजवादी मूल्यबाट प्रभावित एक समतावादी समाजको कल्पना र त्यसलाई तयार गर्ने हाम्रो संकल्पले सामाजिक, आर्थिक र राजनीतिकस्तरमा उत्तीर्णांक प्राप्त गर्न सकेको छैन । यतिखेर ‘सोसल इन्जिनियरिङ’ को आधुनिक परिधानमा निहित स्वार्थ आधारित नयाँ जातीय समीकरण उठेर खडा भएको छ । दबे–कुचलों (दबाइएका–थिचिएका) हरूको नेतृत्व फेरि दबंगहरूको हातमा पुगेको छ । गणतान्त्रिक नेपालमा यो एक प्रकारले ‘सामन्ती ट्रासफरेन्स अफ पावर’ हुन पुग्यो । परिणाम दबाइएका–थिचिएकाहरूका माझ नै कैयौं सामन्त फल्न फुल्न थाले । फरक यति मात्र देखिँदै छ, हिजोसम्म जो समाज उपेक्षित थियो, आज त्यसलाई ‘भोट बैंक’ बनाइँदै छ ।

राजनीतिशास्त्रीमाझ विमर्शको विषय भएको छ कि शोषित समाजलाई मुख्य धारासँग जोड्न सबैभन्दा बढी खाँचो छ । यसका लागि पिछडिएको समाजलाई अगाडि रहेकाहरूको तुलनामा प्रश्रय दिनु पनि जरुरी छ । योभन्दा पनि बढी जरुरी यस विषयप्रति संवेदनशील रवैया अपनाउनुपर्ने हो जहाँ सामाजिक सामञ्जस्यसमेत कायम रहोस् । सामाजिक न्यायका संवैधानिक प्रयत्नलाई प्रभावकारी बनाउन सामाजिक सौहार्दको सन्तुलन त्यतिकै अपरिहार्य छ । यसकारण भन्नुपरेको कि न्यायका लागि गरिने प्रत्येक आन्दोलनसँगै एउटा अर्को पक्ष उक्त आन्दोलनबाट आफूले गुमाउनुपर्ने ठान्न थाल्छ । न कुनै समुदायविशेषले दिने हो न त कसैले लिने ।

नेपालमा जनआन्दोलन सँगसँगै कैयौं आन्दोलन भएका छन् । संविधान कार्यान्वयनमा आइसकेपछि पनि आन्दोलनका छाल उठ्ने गरेकै छन् । यसले संस्थापनलाई धक्का दिँदै छ, वर्चस्वशालीहरूका महल मक्किँदै छन् । संघीय लोकतान्त्रिक गणतन्त्रद्वारा प्राप्त खुलापनको प्रयोग देखेर लाग्छ, दक्षिण एसियामा नेपाल नै हो जहाँ लोकतन्त्रको आत्मा बाँचेको छ । यहाँ लोकतन्त्रको पक्षमा मात्र होइन, विरुद्धमा पनि बोल्ने छुट छ । तर, जहाँ बोल्नु आजको सार्वजनिक जीवनमा जरुरी थियो, त्यहाँ बोलिएन, बोल्न मुनासिब ठानिएन । आआफ्नो दलभित्र आन्तरिक लोकतन्त्रका लागि, आआफ्नो धार्मिक समुदायभित्र टुसाउँदै गरेको कट्टरताविरुद्ध, एक क्षेत्र विशेषमा अर्काप्रति निषेध गर्न खोजिँदा मौन बसिन्छ । आआफ्नो प्रादेशिक, स्थानीय सरकार, राज्यतन्त्रमा बढ्दो मनपरी वा राष्ट्रिय मुद्दामा ओठ बन्द राखिन्छ । यो डरलाग्दो गरी एक स्वाभाविक क्रिया मान्न थालिएको छ ।

इतिहास पुस्तकभन्दा पनि बढी हाम्रो स्मृतिमा जीवित रहन्छ । कुनै पनि बदलाव हाम्रो मानसपटलमा अभिरेखांकित हुनुपर्छ । राष्ट्रको निर्माण र इतिहास लेखन सँगसँगै हिँड्ने प्रक्रिया हो । यो प्रक्रियामा छुट्न पुगेकाहरू सधैं आफ्नो हिस्सेदारी माग्छन् । मान्छे इतिहास बनाउने मात्र होइन, इतिहासबाट परिचालित पनि हुन्छ । हामीले पढ्दै, सुन्दै आएको कथामा समाजका वर्चस्वशालीहरू चुप नै बस्न मुनासिब ठाने जहाँ ‘राजा नांगो छ’ भन्नु अपरिहार्य भइसकेको थियो । अर्थात्, चुप लागेर गुजारा चलाउने समूह प्रत्येक कालखण्डमा देखापर्छ । इतिहास त्यो मुख फोर्नेको नै हुन्छ । मुख फोर्ने कोही निस्किएन भने तबसम्म चमत्कारीलालहरूको हर्कत रोकिँदैन । भीडले तिनकै जय–जयकार गरिरहन्छ ।

संक्रमण छोट्याऊ

सामाजिक र राजनीतिकस्तरमा मुलुक संक्रमण कालबाट गुज्रिँदै छ । सर्वव्यापी भ्रष्टाचार एक राष्ट्रव्यापी मुद्दा बनिसकेको छ । अनेक काण्डले आमजनको विश्वासलाई हल्लाइदिएको छ । संसदीय अंकगणित कतिपयको भाग्यफल बन्न पुगेको छ । अग्लाअग्ला कदका व्यक्तिहरूको कर्तुत उजागर हुँदै छ । यतिबेला अंग्रेजी लेखक शेक्सपियरको हृदयविदारक पंक्ति याद आउँछ– ‘यु टू ब्रुट्स ?’ भुइँमान्छेहरू विश्वास गरून् को प्रति ? अहिलेका शासकहरू क्षरण हुन बेर लाग्दैन ।

शारीरिक रोगको उपचारजस्तै दलीय वा देशकै राजनीतिमा चमत्कार खोज्नु विधि प्रक्रियालाई अवमूल्यन गर्नु हो । तर्क र दाबीलाई हेय मान्नु हो । जब आममान्छे आफूलाई भयाक्रान्त ठान्छ ऊ कोही चमत्कारी मुक्तिदाताको खोजी गर्न थाल्छ, त्यो भनेको कुनै अधिनायकको खोजी गर्नु हो । अहिले सडक र संसद् जाग्नुपर्छ । उज्यालोले आफ्नो झोलाझाम्टा समेट्न थालेपछि ठाउँ ओगट्ने त अँध्यारोले नै हो । संघीयता र गणतन्त्र चाहनेहरू सडकमा आउन ढिलो गर्नु हुँदैन । आन्दोलनको रक्षाका लागि पनि भुइँमान्छेहरूमा भरोसा जगाउनुपर्छ । आन्दोलनका संकल्पहरू बाँकी नै छन् । उर्दूका शायर गालिबको पंक्ति छ– ‘गो हाथ में जुंबिश नहीं, आँखों में तो दम है ।’ सामान्यजन एक अर्को असरदार सामाजिक, आर्थिक, पर्यावरणीय र राजनीतिक आन्दोलनको अपेक्षा गरिराखेका छन् । आशंका र निराशाका क्षणमा हामीले पाब्लो नेरूदाको यो पंक्ति सम्झिराख्नुपर्छ– ‘तपार्इं सबै फूल काट्न सक्नुहुन्छ तर वसन्तलाई आउनबाट रोक्न सक्नुहुन्न ।’

सडक संघर्ष शान्तिपूर्ण नै हुनुपर्छ । सशस्त्र संघर्षका पीडा अब झेल्न सकिन्न । जोन अफ केनेडीले भनेका कुरामा फेरि घोत्लिऔं– ‘ती मान्छे जसले शान्तिपूर्ण संघर्षलाई असम्भव बनाउँछन्, तिनले हिंस्रक संघर्षको सम्भावनालाई बढाउँछन् ।’ असाध्यै दुःखकष्ट सहँदै लामो पदयात्रापछि काठमाडौं पुग्ने पीडितजन अझै अभिशप्त छन् । आमजनमा त्राण भर्ने एक मात्र विकल्प नयाँ ढंगले सोच्ने र संघर्ष मात्रै हो नत्र अन्धविश्वासको पासो कस्नेहरू सबै क्षेत्रमा संगठित हुँदै जानेछन् ।

प्रकाशित : चैत्र ८, २०८० ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?