२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

गान्धीका राम, अयोध्याका राम

गान्धीको रामराज्यको उत्तराधिकारको विवादले भारतको नयाँ राजनीतिको भवितव्य निर्माण गर्नेछ । कुनै बेला गान्धीको पूर्णाहुतिले मत्थर र शान्त भएको भारतको धार्मिक कट्टरता अब उनको उत्तराधिकारको विवादमा हिंसामा परिणत नहोस् ।
शंकर तिवारी

३० जनवरी १९४८ मा साँझको नियमित प्रार्थनासभामा जाँदै गर्दा हिन्दु कट्टरपन्थी नाथुराम गोड्सेले प्रहार गरेको गोली लागेपछि महात्मा गान्धीले ‘हे राम’ भन्दै प्राण उत्सर्ग गरेका थिए । ७७ वर्ष बाँचेका गान्धीको मृत्युपछिको भौतिक देहरहित जीवन पनि ७७ वर्ष पूरा भएको छ । यी ७७ वर्षमा गान्धी अनेक कारणले चर्चामा रहे ।

गान्धीका राम, अयोध्याका राम

यो वर्ष गान्धी र रामराज्यको कुरा २२ जनवरीमा उत्तर प्रदेशको अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठा गरिएपछि झन् व्याप्त भएको छ । यो स्मृतिलेख यिनै विषयको सेरोफेरोमा केन्द्रित रहनेछ ।

वैष्णव परम्परामा दीक्षित परिवारमा गुजरातको पोरबन्दरमा जन्मेका मोहन दास करम चन्द गान्धीले आफूलाई आजीवन सनातनी हिन्दुका रूपमा परिभाषित गरे । उनी लरतरा हिन्दु थिएनन्, प्रबुद्ध हिन्दु थिए । हिन्दु धर्मबारे उनको व्याख्या अत्यन्त प्राञ्जल छ । उनी भारतमा अभ्यासमा रहेका जैन, शिख, बौद्ध, कबीर पन्थलगायतको उत्पत्ति, अभ्यास र परम्पराबारे राम्रो दखल राख्थे । मुस्लिमदेखि क्रिस्चियन धर्मसम्म उनको गहिरो ज्ञान थियो । इतिहासमा कुन धर्म कसरी हिंसा–अहिंसा वा सेवाभावको सहाराले फैलियोभन्दा पनि आजको अवस्थामा यी धर्मबीच कसरी धार्मिक सहिष्णुता र समभाव अभ्यास गर्न सकिन्छ भन्नेमा त्यो ज्ञान केन्द्रित थियो । उनी उदारमना हिन्दु थिए ।

आजका पेसशेवर राजनीतिकर्मीहरूले अभ्यास गर्ने धर्मभन्दा उनले अभ्यास गरेको धर्म अलग थियो । उनले कुनै पनि धर्मको श्रेष्ठताको वकालत कहिल्यै गरेनन् बरु प्रत्येक धर्मका राम्रा पक्षको अवलम्बन गर्ने कोसिस गरे । सबै धर्मका खराब पक्षबारे उनी सचेत थिए, हिन्दु धर्ममा वर्णित ‘कोसँग बिहे गर्न हुने–नहुने र कोसँग भोजन गर्न हुने–नहुने’ विषयमा धेरै अलमलिन जरुरी नहुने तर्क गर्थे । धर्म उनका लागि राजनीतिको विस्तारित रुप थिएन, अन्तस्करणको अभिव्यक्ति थियो, जुन दैनन्दिन राजनीतिभन्दा सर्वथा माथि थियो ।

अंग्रेजहरूले भारतीय उपमहाद्वीपमा कायम रहेको उपनिवेश त्यागेर जानुपर्दा भारत र पाकिस्तानका रूपमा दुई देश बनाइदिएका थिए । पाकिस्तान धर्ममा आधारित देश बनेको थियो । दक्षिण एसियामा मुस्लिम धर्मको प्रभाव फैलिँदै गर्दा अनेक हिन्दु मठमन्दिरमा लुटपाट र आक्रमण भएका थिए, जबर्जस्ती भत्काइएका थिए । १४ औं शताब्दीमा काठमाडौंमा रहेको पशुपतिनाथ मन्दिर पनि त्यसको अपवाद हुनबाट जोगिएको थिएन । त्यसरी मुस्लिम अतिक्रमणमा परेको गुजरातको सोमनाथ मन्दिर भारत स्वतन्त्र भएलगत्तै तत्कालीन उपप्रधानमन्त्री वल्लभ भाइ पटेलको सक्रियतामा पुनर्निर्माण भएको थियो । त्यो मन्दिरको उद्घाटन समारोहमा प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरू अनुपस्थित मात्र भएनन्, उनले राष्ट्रपति राजेन्द्र प्रसादलाई समेत सहभागी हुनबाट रोक्ने असफल प्रयास गरेका थिए ।

स्वतन्त्रताको ७५ वर्षे अमृत महोत्सव मनाइरहँदा भाजपाले अयोध्याको राम मन्दिर पुनर्निर्माणलाई केन्द्रमा राख्यो र मन्दिरमा भगवान् रामको प्राणप्रतिष्ठा कार्यको अगुवाइ प्रधानमन्त्री नरेन्द्र मोदीले यजमान/कर्ता भएर आफैं गरे । कुनै बेला युरोपका दिग्विजयी सम्राट् नेपोलियनको राज्याभिषेक समारोहमा रोचक घटना भएको थियो । निम्तालु पोप नेपोलियनलाई मुकुट पहिराइदिन पाइने अनि राजकाज र धर्मबीच वर्चस्वको लडाइँमा आफ्नो हात माथि पर्ने अपेक्षामा थिए । तर नेपोलियनले सबैलाई आश्चर्यमा पार्दै मुकुट आफैं पहिरिएका थिए । धर्म राजकाजको अधीनमा रहनुपर्छ भन्ने सीमारेखालाई नेपोलियनले चरितार्थ गरेका थिए । नेपोलियनबारे हालै बनेको नेटफ्लीक्स सिरिजमा पनि यो प्रसंग छ ।

प्राणप्रतिष्ठामा मोदी आफैं कर्ता बन्नुलाई राजकाजको अधिकारसँगै धार्मिक काजको पनि अधिकार खोस्ने कार्यका रूपमा अर्थ्याउँदै धर्मगुरुहरू, विशेष गरी शंकराचार्यहरूले यो कार्यको विरोध गरे पनि उक्त समारोहमा सहभागी भएर मोदीको पहललाई अनुमोदित गरे । मोदीको कदमसँगै भारतमा राजकाजसँगै धार्मिक काज पनि राजनीति–अधीनस्थ भयो, स्वायत्त रहेन । राजसत्ताभन्दा धार्मिक सत्ता हाबी भएर भारत कतै इरानको जस्तो थियोक्रेसीको मार्गतर्फ प्रवृत्त हुने त होइन भन्ने भय पनि एउटा तप्कामा सञ्चारित भएको देखिन्छ ।

शताब्दिऔंदेखि अन्य धर्मबाट प्रताडित हिन्दु मनले आफ्नो मन्दिरको पुनर्निर्माणको विषयमा भएको राजनीतिको अनदेखा गर्नु स्वाभाविक थियो । सन् २०२४ मा हुने लोकसभा निर्वाचनमा मोदी र उनको पार्टीलाई राम मन्दिरको निर्माण कार्यबाट आर्जित चुनावी लाभांश लिनबाट कसैले रोक्न सक्ने देखिएको छैन । २०१४ मा मोदीसँग गरिएको उम्मिद २०१९ मा पुग्दा विश्वासमा बदलिएको र २०२४ मा भरोसामा परिणत हुने वरिष्ठ पत्रकार रामबहादुर रायले कुराकानीका क्रममा बताएका थिए । अल्पसंख्यकलाई रिझाउने नाममा कांग्रेस (आई) सरकारले पछिल्ला दशकमा गरेका अनेक कार्यबाट बहुसंख्यक हिन्दु खुसी नभएको कुरा भाजपा लहरले पुष्टि गरेको कांग्रेस (आई) का कार्यकर्ताहरू खुलेआम स्वीकार गर्छन् ।

सन् १९९० मा भाजपा अध्यक्ष लालकृष्ण आडवाणीको नेतृत्वमा सोमनाथदेखि अयोध्यासम्मको रथयात्रा भएको थियो । त्यो रथयात्रादेखि विभाजित भएको भारतको धार्मिक राजनीति २०२४ मा आइपुग्दा उत्कर्षमा पुगेको छ । त्यो रथयात्रामा मोदी पनि सहभागी थिए । भारत १९४७ मा स्वतन्त्र भएको भए पनि राम मन्दिरको प्राणप्रतिष्ठासँगै २०२४ मा आएर मात्र भारतीय आत्माको प्रतिष्ठा भएको मोदीले घोषणा गरेका छन् । यस क्रममा सतहमा देखिने गरी कुनै धार्मिक हिंसाका घटना भएनन् । आरएसएसका तीन लक्ष्य थिए— धारा ३७० अन्तर्गत कश्मीरको स्वायत्तताको भंग गर्ने, अयोध्यामा राम मन्दिर बनाउने र भारतभर युनिभर्सल सिविल कोड लागू गर्ने । यीमध्ये सुरुका दुई लक्ष्य मोदीले सफलतापूर्वक साधेका छन् । तेस्रो पनि ट्रिपल तलाक बिलमार्फत आंशिक रूपमा लागू भएको छ । यसरी आरएसएसको कार्यनीति सफल पार्दै मोदी आधुनिक ‘हिन्दु सम्राट्’ बन्ने मार्गमा अग्रसर देखिन्छन् ।

हिन्दु धर्मको श्रेष्ठता स्थापना गर्ने घोषित नीतिसाथ सन् १९२५ मा स्थापित राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) को, भारतीय संविधान लेखिँदै गर्दा, हिन्दु महासभाका रूपमा संविधानसभामा झिनो उपस्थिति थियो । भारतको संविधान धर्मनिरपेक्ष बनेकामा आरएसएसलाई चित्त बुझेको थिएन र त्यसलाई आफ्नो शक्ति बढाएर बदल्नुपर्ने दिशामा ऊ एकलव्य निष्ठाका साथ लागिरहेको थियो । यसकै परिणतिस्वरूप आरएसएस स्थापनाको सयौं वर्षगाँठमा उनीहरूको सपना पूरा हुने बिन्दुमा पुगेको छ । तर यसमा उनीहरूले तत्कालका लागि मध्यमार्ग रोजेका छन् । संविधानमा उल्लिखित ‘इन्डिया’ भन्दा पनि ‘भारत’ शब्दमा उनीहरूले जोड दिएका छन् । राष्ट्रपति कार्यालयबाट प्रेषित निम्तोपत्रमा ‘इन्डिया’ नभएर ‘भारत’ शब्दकै प्रचलन सुरु गरिएको छ ।

रोचक त, मोदी सरकारका द्वितीय विदेशमन्त्री एस जयशंकरका पाँच वर्षको अवधिमा प्रकाशित विदेशनीतिसम्बन्धी दुई पुस्तकका शीर्षक हेर्‍यो भने प्रस्ट हुन्छ । जयशंकरले विदेशमन्त्री हुनेबित्तिकै निकालेको पहिलो पुस्तक ‘द इन्डिया वे’ थियो भने हालै प्रकाशित दोस्रो पुस्तक हो— ‘ह्वाई भारत म्याटर्स’ । कर्मचारीका रूपमा विदेश मन्त्रालयको सचिव बन्दासम्म नेहरू कांग्रेस परम्पराबाट दीक्षित उनी मोदी सरकारमा विदेशमन्त्री भएर सहभागी हुँदासमेत भाजपा र आरएसएसको घोषित लक्ष्यबारे जानकार नरहेको स्वीकारोक्ति पछिल्लो पुस्तकमा पाइन्छ । ‘इन्डिया’ सम्पूर्ण रूपमा ‘भारत’ बन्न लागिपरेको छ ।

२०६३ को अन्तरिम संविधानबाट धर्मनिरपेक्ष बनेको नेपाल २०७२ को गणतान्त्रिक संविधानबाट धर्मनिरपेक्ष हुनुका साथै सबै सनातन धर्मको रक्षा गर्ने भएको छ । भारतीय संविधानमा उल्लिखित दुवै शब्द ‘इंडिया’ र ‘भारत’ मध्ये भाजपाले ‘भारत’ लाई जोड दिएजस्तै नेपाल हिन्दु राज्य भएन भनेर अलाप्नेहरूले नेपालको संविधान फेरि एक पटक पढ्दा राम्रै हुन्छ । तानाशाह राजा महेन्द्रको निर्देशनमा बनेको २०१९ को संविधानमार्फत पहिलो पटक हिन्दु राज्य घोषित नेपालमा २०४७ को संविधानमा ‘हिन्दु राज्य’ शब्दावलीले निरन्तरता पाएको भए पनि सनातन धर्मको रक्षाबारे २०७२ को संविधानमा जति कडाइपूर्वक नेपालका अन्य कुनै पनि संविधानमा नलेखिएको तथ्य बिर्सन हुँदैन । नेपालका राष्ट्रप्रमुख राष्ट्रपतिहरू राजाजसरी नै सबै धार्मिक कार्यमा सहभागी हुने परम्पराले निरन्तरता पाएको छ । बहालवाला प्रधानमन्त्री प्रचण्ड पशुपतिको दर्शन गर्न मन्त्रीहरूसहित पुगेका छन् । नेपालमा धर्मको राजनीति उराल्न खोज्नेहरूले भाजपाले गरेको संविधानको पुनर्पठनबाट पाठ सिक्नु श्रेयस्कर देखिन्छ ।

अन्त्यमा पुनः गान्धीको प्रसंग । गान्धीका राम–रहिम सबै भगवान्का अनेक रूपमध्ये एक थिए । सत्य र अहिंसा नै उनका भगवान्का विस्तारित रूप थिए । पहिलो कार्यकालमा गान्धीको झाडुलाई सफाइको प्रतीक मानेर जोड दिएको थियो मोदी सरकारले । दोस्रो कार्यकालमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले संयुक्त राष्ट्रसंघको महासभामै गान्धीको हत्यामा भाजपाको माउ संगठन आरएसएस मुछिएको अभिव्यक्ति दिएपछि मोदीले ‘द न्युयोर्क टाइम्स’ मा लेख प्रकाशित गरी त्यस अभिव्यक्तिको खण्डन गर्दै गान्धीको बहुआयामप्रतिको आफ्नो रुझान व्यक्त गरेका थिए । तेस्रो कार्यकालका लागि अनुमोदित हुने पूर्वसन्ध्यामा अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठा गरेर मोदी रामराज्य स्थापनाको स्वघोषित आधुनिक आरम्भकर्ता बन्न पुगेका छन् । आरएसएस–निर्देशित मोदीको यथार्थको रामराज्य र गान्धीको कल्पनाको रामराज्यको भेद खुट्याउन भने मोदीको तेस्रो कार्यकालसम्म कुर्नैपर्ने हुन्छ ।

भारतीय कांग्रेस पार्टीले बेवास्ता गरेका सरदार बल्लभ भाइ पटेलबाट सुरु गरेर जातीय/जनसंख्याका आधारमा राष्ट्रव्यापी रूपमा फैलिनुअगावै प्रदेश तहमा आरक्षणका प्रथम प्रयोक्ता बिहारका समाजवादी नेता कर्पुरी ठाकुरलाई भारतरत्न सम्मान दिएर भाजपा प्रत्येक प्रभावशाली नेताको उत्तराधिकार आफ्नो बहीखातामा संकलन गर्दै अगाडि बढिरहेको छ । यो लहरमा गान्धी पनि अल्पकाल (?) का लागि भाजपाको पोल्टामा पर्दै गएका छन् । गान्धीको रामराज्यको उत्तराधिकारको विवादले भारतको नयाँ राजनीतिको भवितव्य निर्माण गर्नेछ । कुनै बेला गान्धीको पूर्णाहुतिले मत्थर र शान्त भएको भारतको धार्मिक कट्टरता अब उनको उत्तराधिकारको विवादमा हिंसामा परिणत नहोस् । गान्धीको सर्वधर्म समभावको भावना फैलिरहोस् ।

प्रकाशित : माघ १६, २०८० ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु वर्षको ९ महिनामा वार्षिक लक्ष्यको ३२.२४ प्रतिशत मात्र विकास खर्च हुनुको अर्थ के हो ?