२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३१

बीपीको अन्तिम सन्देश

‘मुलुक अप्ठ्यारो स्थितिमा छ । बाह्य शक्ति र भूराजनीतिक संवेदनशीलता अत्यन्त बढेको छ । अब नियतिले जता लान्छ, त्यही हुने छ । तिमीले जुन भूमिमा टेकेका छौ, पैतालाको माटो हातमा लिएर एकछिन सोच ।’
होमनाथ दाहाल

राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर २०३३ पुस १६ मा बीपी कोइराला जब भारतबाट फर्किनुभयो, त्यसपछि दुईतीन वर्ष घटनाक्रम यसरी अघि बढे, अचानक जनमत संग्रहको घोषणा भयो । जनमत संग्रहमा पञ्चायतले नै जित्यो र जिताइयो । धाँधली गरेर जिताइयो । २० लाख जनमत बहुदलका पक्षमा देखियो भने पञ्चायतका पक्षमा २४ लाख ।

बीपीको अन्तिम सन्देश

पञ्चायतलाई जिताउन सरकारले मुलुकभरिको जंगल सर्वनाश गर्‍यो । अनेक किसिमका उपक्रम गरिए । त्यति बेलाका प्रधानमन्त्री सूर्यबहादुर थापाले त्यत्रो धाँधली गर्दा पनि बहुदलका पक्षमा त्यत्रो मत आयो । ब्यारेकमा मतदान केन्द्र राखिएका थिए, त्यहाँका अफिसरहरूले जता भन्छन्, जनताले भोट त्यतै हाल्ने नै भए । यति गरेर धाँधलीपूर्ण तरिकाले जनमत संग्रह गराउँदा पनि पञ्चायतका पक्षमा जम्मा बहुदलको पक्षमा भन्दा ४ लाख मात्र बढी भोट आयो । अब यो २० लाख जनमतको भोटलाई कसरी सम्मान गर्ने त ? यसैका लागि जनमत संग्रह भइसकेपछि संविधान संशोधन गर्नुपर्छ भनेर आयोग पनि बनाइयो । तथाकथित आयोग । त्यो आयोगमा बीपीसमेत सहभागी हुनुभयो । तर, त्यत्रो जनमत संग्रहबाट बलियो देखिएको बहुदलका पक्षमा संविधान संशोधन नै भएन । २० लाख जनमतको कदर भएन ।

जनमत संग्रहअघि एउटा बडो गम्भीर, महत्त्वपूर्ण राजनीतिक प्रश्न उठेको थियो । किशुनजी, गणेशमानजीलगायतबाट जनमत संग्रह गराउने सरकार सकेसम्म नेपाली कांग्रेसकै नेतृत्वमा भयो भने ठीक हुन्छ, पञ्चायतभन्दा बाहिरको शक्ति, बहुदलमा विश्वास गर्नेहरूको सरकार बन्दा पनि हुन्छ नत्र पञ्चायतलाई जिताउन धाँधली गरिन्छ भन्ने कुरा आयो । आफ्ना सहयात्रीहरूको त्यस्तो प्रस्ताव सुनेपछि बीपीले विगत स्मरण गराउनुभयो । २००७ सालमा पनि राजा त्रिभुवनले अबउप्रान्त नेपालको शासन व्यवस्था जनताका प्रतिनिधिले बनाएको संविधानअन्तर्गत चल्ने घोषणा गरेका थिए । तर, त्यसपछि जुन राजनीतिक विवाद र किचलो भयो, त्यसले गर्दा त्रिभुवनको त्यो घोषणा कार्यान्वयन गर्नेतिर मुलुक गएन ।

अझ आन्तरिक विवाद भयो । पार्टीहरूबीच झगडा भयो । अन्तिममा गएर चुनाव गराउन नेपाली कांग्रेसले कडा खालको सत्याग्रह गर्नुपर्‍यो— ‘सविनय भद्र अवज्ञा’ । २०१४ सालमा भएको सो आन्दोलनले नेपाल नै ठप्प पार्‍यो । त्यसपछि राजा महेन्द्रले चुनाव घोषणा गरे । त्यो चुनावमा उनैले चयन गरेका मान्छेहरूले भाग लिँदा पनि नेपाली कांग्रेसले १०८ सिटमध्ये ७४ सिट जितेको थियो । त्यो अनुभव पनि थियो बीपीलाई, त्यसैले सहयात्रीहरूलाई सम्झाउँदै भन्नुभयो, ‘यो विवादमा हामी नजाऔं । पञ्चायतलाई नै जिताउनु छ भने जनमत संग्रह किन गर्नुपर्‍यो ? जनतालाई किन सोध्नुपर्‍यो ? पञ्चायत त राजाले चलाइरहेकै छन् नि ! त्यसकारणले अहिले हामी जनमत संग्रहमा नजाँदा २०१०–११ सालको राजनीति फेरि दोहोरिन सक्छ । मुलुकको अवस्था अत्यन्तै संवेदनशील छ । बाह्य शक्तिको चलखेल बढेको छ ।’

अरू सबैले पञ्चायतको नेतृत्वमा हुने जनमत संग्रहको चुनाव निष्पक्ष हुँदैन भनेका थिए । आखिरमा त पञ्चायतले नै जित्यो । बहुदल पक्षको हारको सम्पूर्ण दोष बीपीमाथि खनिन आयो । अब के गर्ने ? चुनाव प्रचारमा देशभरका युवाहरू त्यस्तो उत्साहका साथ लागिरहेका थिए ! धेरै विचार–विमर्श गरिसकेपछि बीपीले ‘अब पाँच–सात ठाउँ जानुपर्‍यो, कार्यकर्ताहरू के भन्छन्, अबको राजनीति कसरी अघि बढाउने, कार्यकर्ताहरूमा उत्साह छ कि छैन, त्यो बुझ्ने मौका हुन्छ’ भनेर कार्यकर्ता भेला राख्नुभयो ।

गणेशमानजी त्यही बेला स्वास्थ्योपचारका लागि दिल्ली जानुभयो । किशुनजीले ‘म कुनै पनि आम सभामा भाग लिन्नँ’ भन्नुभयो । अब बीपीलाई लाग्यो— गणेशमानजी पनि नहुने, किशुनजीले पनि भाग नलिने भेलामा जाँदाखेरि पार्टी फुटेको सन्देश जान सक्छ । कार्यकर्तामा पनि निराशा हुने भयो । धेरै विचार गरी उहाँले परशुनारायण चौधरीलाई भन्नुभयो, ‘तिमी जसरी हुन्छ किशुनजीलाई कन्भिन्स गर । र, उहाँले सबै ठाउँमा सक्नुहुन्न भने पनि, एक–दुई ठाउँमा भए पनि भाग लिनुपर्छ ।’ त्यस बेला परशुनारायण चौधरी कांग्रेस महामन्त्री हुनुहुन्थ्यो, बीपीसँग चाबहिलमै बस्नुहुन्थ्यो, त्यहीँ खानुहुन्थ्यो ।

यही सन्देश लिएर परशुनारायण चौधरी किशुनजीकोमा जानुभयो । सबै कुराकानी गरेपछि आखिर चौधरीले किन बारम्बार यो विषय उठाइरहेका छन् भनेर किशुनजीले पनि बुझ्नुभयो । महामन्त्री चौधरी बीपीसँगै बसेका छन्, खाना सँगै खाएका छन् ! यसरी कुरा लिएर आउँछन् भने यो उनको मात्रै कुरा भएन, यो त बीपीको कुरा भयो ! यति बोध गरेपछि उहाँले सर्त राख्नुभयो भने, ‘ल, एक ठाउँमा म भाग लिन्छु । अन्त लिन्नँ ।’ त्यति गरेपछि पार्टीको भेला बहिष्कार गरेको ठहरिएन । एक ठाउँमा भाग लिएपछि अरू ठाउँमा फुर्सद भएन होला भनी बुझिने भयो ।

त्यसपछि पहिलो कार्यक्रम झापाको बिर्तामोडमा राखियो । त्यहाँ पूर्वाञ्चलका सोह्रै जिल्लाका कार्यकर्ता उपस्थित भए । बीपी, किशुनजी, गिरिजाबाबु, परशुनारायण चौधरी लगायतका नेतालाई आफ्ना अगाडि पाएपछि कार्यकर्ताहरूमा ठूलो उत्साह–उमंग देखियो । पञ्चायतले धाँधली गरेर निर्वाचन जित्दाको निराशा कार्यकर्ताहरूमा अलिकति पनि देखिएन । सबै उत्साहित थिए । यो सन्देशले बीपीलाई पनि छोयो । ए, कार्यकर्ताहरूमा त उत्साह नै उत्साह रहेछ ! राजनीति गर्ने त यिनैमार्फत हो !

त्यसपछि आमसभा भयो । आम सभालाई बीपी, किशुनजी सबैले सम्बोधन गर्नुभयो । अन्तिम दिन पत्रकार सम्मेलन गरिएको थियो । अघिल्लो दिनको आमसभामै भारतबाट पनि धेरै पत्रकार अएका थिए । त्यति बेला नेता सीके प्रसाईं, ठूला विद्वान् मान्छे, नेपाली कांग्रेसमै हुनुहुन्थ्यो । कांग्रेसमा उहाँको पनि धेरै ठूलो त्याग र तपस्या थियो । उहाँकै सत् सम्पर्कले गर्दा पनि भारतबाट धेरै पत्रकार आएका थिए । यो सब बीपीले बुझ्नुभएको थियो ।

पत्रकार सम्मेलनमा भारतीय पत्रकारहरूले बीपीलाई भने, ‘हामीले एउटा कुरा बुझेनौं । जनता चाहिँ नेपाली कांग्रेससँग हुने, जनमत संग्रहमा चाहिँ कसरी पञ्चायतले जित्यो ?’ उनीहरूको थप भनाइ थियो, ‘तपाईंले हिजो जुन आमसभालाई सम्बोधन गर्नुभयो, त्यो देख्दा जनतामा कुनै नैराश्य रहेनछ भन्ने बुझिन्छ । हाम्रो सिलिगुडीतिर अहिले इन्दिरा गान्धीले, भारतकै सबैभन्दा ठूलो नेता र प्रधानमन्त्रीले आएर सम्बोधन गर्दा पनि यति ठूलो जमघट हुँदैन होला ।’

भारतीय पत्रकारहरूका कुरा सुनेर बीपी झन् उत्साहित हुनुभयो । त्यो कुराले किशुनजीलाई पनि छोयो । वास्तवमै, कार्यकर्तामा कुनै किसिमको नैराश्य नरहेको देखियो । यसपछि किशुनजीले ‘ल, म पूरै कार्यक्रममा भाग लिन्छु’ भन्नुभयो । बिर्तामोडको आमसभा सकेर हामी सर्लाहीको मलंगवा गयौं । मलंगवामा कार्यकर्ताहरूमा झन् ठूलो उत्साह देखियो । बीपीलाई चिया खुवाउने, खाजा खुवाउने, के–के बहानामा राजमार्गका बीच–बीचमा हजारौं कार्यकर्ता जम्मा भएका थिए । पाँच–दस मिनेट बीपीका कुरा सुनाउने कार्यक्रम राखिएको थियो । तर, कार्यकर्तामा नैराश्य देखिएन । चाहे पहाडका होऊन् वा मधेशका, सबैतिरका कार्यकर्तामा ठूलो उत्साह र उमंग देखियो ।

मलंगवाको कार्यक्रम सकिएपछि तीन–चार दिन खाली थियो । त्यसपछि पाल्पाको तानसेनमा कार्यक्रम राखिएको थियो । बिर्तामोडदेखि मलंगवासम्मका भेलाबाट उत्साहित बीपीले भन्नुभयो, ‘यो बीचको खाली समयमा म काठमाडौं जान्छु र राजालाई भेट्ने कोसिस गर्छु । राजालाई भन्छु— जनमत संग्रह जसरी हुनुपर्थ्यो, भएन । कम्तीमा एउटा चुनाव त निष्पक्ष होला भनेको थिएँ, त्यो पनि भएन ।

संविधान संशोधनमा कम्तीमा बहुदलको पक्षमा २० लाख मतदाताको भावनालाई सम्मान गरेर प्रत्यक्ष निर्वाचन भएको भए राजनीति एक कदम अगाडि बढ्थ्यो । त्यो पनि भएन । म अब यी कुनै पनि विवादमा जान चाहन्नँ । किनभने मेरो स्वास्थ्य खराब भइरहेको छ । डाक्टरहरूले अन्तिम वार्निङ दिइरहेका छन् । जे गर्नु छ, गरिहाल्नुस् । एउटा सामान्य काम गरिदिनुस् । उम्मेदवार बन्न निर्वाचन आयोगले वर्गीय संगठनको सदस्यतालाई अनिवार्य गरेको छ, बहुदलको पक्षमा लागेका मान्छेहरूलाई उम्मेदवार बन्न यसबाट कठिनाइ भएकाले त्यो व्यवस्था हटाइयोस् । त्यसमा बहुदल पक्षधरहरूका लागि अत्यन्त अपमानजनक सर्तहरू राखिएका छन्, तिनलाई पनि हटाइयोस् । त्यसो भएमा मेरा मान्छेहरूले पनि चुनावमा भाग लिनेछन् ।’

बीपीले राजालाई भन्न सोचेका थप कुरा हामीलाई सुनाउनुभयो, ‘राजाकै नेतृत्वमा जसरी बेलायतमा कन्जरभेटिभ र लेबर पार्टी जन्मिएर त्यो मुलुकको राजनीति अगाडि बढ्यो, यहाँ पनि राजाकै नेतृत्वमा निर्वाचन हुन सके संसद्बाटै दुई पार्टी मात्र बन्नेछन् । बहुमत पञ्चहरूले ल्याउलान्, एक छिनलाई मानौं, तर त्यो चुनावमा नेपाली कांग्रेसले भाग लिन्छ । त्यसकारण बेलायतकै मोडलमा राजाकै नेतृत्वमा दलीय व्यवस्था गरौं । बाह्य शक्तिको चलखेल अत्यन्त बढेको छ । भूराजनीतिक संकट र संवेदनशीलता साह्रै बढेर गएको छ । मुलुकको अस्तित्व नै के हुन्छ, भन्न सकिन्न । आन्दोलनले थेग्न सक्ने अवस्था छैन ।’

राजालाई उपर्युक्त कुरा भन्ने योजना बनाएर बीपी काठमाडौं जानुभयो, तीनचार दिनसम्म उतै बस्नुभयो । तर कहीँकतैबाट राजासँग भेट्ने वातावरण बनेन । बीपीले राजालाई पाँच मिनेट मात्रै भेट्न पाए पनि राजालाई बहुदलका पक्षमा कन्भिन्स गराउनुहुन्छ भन्ने डर थियो पञ्चहरूलाई । त्यसकारण दुवैबीच भेट हुनै दिइएन । राजालाई भेट्न नदिइएपछि बीपी तानसेनमा आयोजित आमसभामा जानुभयो । तानसेनको वातावरण यस्तो अद्भुत थियो, हजारौं युवा नाच्दै ‘बीपी जिन्दावाद’ भन्दै आकाशका तारा खसाऔंलाझैं गरिरहेका थिए ।

तानसेनको कार्यक्रम सकेर काठमाडौं फर्किनुभयो । त्यसको केही दिनपछि रत्नपार्कमा कांग्रेसको आमसभा भयो । त्यहाँ बीपीले भन्नुभयो, ‘मैले सारा कोसिस गरें, केही लागेन । मुलुक अप्ठ्यारो स्थितिमा छ । मुलुकको अस्तित्व नै के हुन्छ, भन्न सकिँदैन । बाह्य शक्ति र भूराजनीतिक संवेदनशीलता अत्यन्त बढेको छ । मेरो स्वास्थ्य पनि ठीक छैन । अब नियतिले जता लान्छ, त्यही हुने छ । तिमीले जुन भूमिमा टेकेका छौ, पैतालाको माटो हातमा लिएर एक छिन सोच ।’ त्यति बेला बीपीका कुरा राजाले सुनिदिएका भए राजतन्त्र नै समाप्त हुने थिएन होला । सायद नियतिको खेल नै यही थियो ।

प्रकाशित : पुस १०, २०८० ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?