२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

प्रचण्ड र बाबुरामलाई प्रश्न

अब पनि समयको आवाज नसुन्ने हो भने धेरै कुरा छुटेर जानेछन् । छुटेका कुराहरू फेरि फर्काउन त्यसपछि तपाईंहरूसँग समय नै रहने छैन ।
विश्वदीप पाण्डे

कमरेड प्रचण्ड, के उमेर भनेको मात्र समयको अंक गणित हो ? कि उमेर बढ्दै जाँदा जिम्मेवारीहरू पनि बढ्दै जान्छन् ? के तपाईं आफ्नो उमेरको नयाँ सिँढी चढ्दै गर्दा, पुराना सिँढीहरू बिर्सनुहुन्छ ? मैले प्रचण्डलाई सम्बोधन गरेर यी प्रश्न सोध्नुको कारण के भने, आज (मंसिर २६) उहाँको जन्मदिन हो ।

प्रचण्ड र बाबुरामलाई प्रश्न

विगतको सम्झनाबाट कुरा अगाडि बढाऔं । यो जनयुद्धकालको कुरा हो । त्यो बेला उहाँको कुनै जन्मदिन उत्सव यस्तो थियो, रोल्पाको एउटा झुपडीमा हामी उहाँसँगै बसेर सिस्नु र ढिँडो खाएर मनाइन्थ्यो । त्यो यस्तो समय थियो, झुपडीमा बसेर १४ इन्चको ल्यापटपमा तपाईं–हामी सँगै शाहरूख खान र प्रिटी जिन्टा अभिनीत फिल्म (वीरजारा) हेर्न पाउँदा ठूलो ‘उत्सव’ हुन्थ्यो । बसैकै ठाउँवरिपरि सेनाको हेलिकोप्टरले बम वर्षा गर्थ्यो । तर पनि हामी बाँच्थ्यौं र बाँच्यौं ।

त्यो यस्तो आँधीमय समय थियो, प्रचण्डको जन्मदिनमा उहाँकै मृत्यु वरिपरि घुमिरहेको हुन्थ्यो । माथि आकाशमा पनि मृत्यु, तल धरतीमा पनि मृत्यु । सेनाबाट बच्न दुई पाइला पनि मुस्किलले अट्ने साना बाटाहरूमा पहाडका भित्ता छाम्दै हामी टर्च पनि नबाली रातिराति हिँड्थ्यौं । प्रचण्डसहित थुप्रै कमरेडका जन्मदिन उत्सवहरू यस्तै ससाना खुसी र जीवन–मृत्युको बीचबाट गुज्रिएका थिए । त्यो यस्तो समय थियो, जति बेला हाम्रो जीवनलक्ष्य थियो— मृत्यु वा मुक्ति । तर यतिखेर समय मात्रै होइन, हाम्रो खुसीको आयतन, जीवनको लक्ष्य, विचार, वर्ग सबै बदलिएका छन् । र, फेरिएका छन् जन्मदिन मनाउने शैलीहरू । सायद आज तपाईं मेरो गृहजिल्ला रुपन्देहीमा ल्यारकाल लामा र शारदा अधिकारीहरूसँग आफ्नो जन्मदिन मनाउन जाने तयारीमा हुनुहुन्छ ।

समय कहाँ आइपुग्यो, पत्तै भएन ! प्रचण्ड कता, बाबुराम कता ! वैद्य कता, विप्लव कता ! म कुरा बाबुराम र प्रचण्डको गर्छु । किनभने ती जन्मदिन उत्सवहरू यस्ता थिए, जति बेला प्रचण्ड र बाबुराम सँगै हुनुहुन्थ्यो र उत्सव, अत्यास, जीवन र मृत्युको प्रत्येक पलमा संकल्पबद्ध देखिनुहुन्थ्यो— मृत्यु वा मुक्ति । इतिहासको यो समयमा प्रचण्डका ती दिनहरू कस्ता थिए, आज कस्ता छन् ? दिनहरूको यो घुम्तीमा उभिएर हेरिरहँदा विश्वदीपहरूलाई लाग्छ, प्रचण्डहरू गलत बाटो हिँडिरहनुभएको छ । सायद प्रचण्डलाई लाग्दो हो, बाबुराम/विश्वदीपहरू गलत बाटो हिँडिरहेका छन् ।

जनयुद्धका यी दुई कमान्डर प्रचण्ड–बाबुरामले एकअर्कालाई गलत देखाउँदै समय बिताउने हो भने, मलाई डर छ, एक दिन हाम्रो गर्विलो इतिहास पनि गलत लेखिनेछ, जसले प्रचण्ड र बाबुरामलाई मात्रै होइन, सिंगो माओवादी जनयुद्धलाई गलत साबित गर्नेछ । किनभने त्यसको सुरुआत भइसकेको छ ।

यद्यपि म स्पष्ट छु, राजनीतिक आग्रह–पूर्वाग्रहका आधारमा ‘माओवाद’ र ‘माओवादी आन्दोलन’ बारेमा अहिले र भविष्यमा पनि अनेकौं तर्क–वितर्क, समर्थन–विरोध र आलोचना–समालोचना भइरहलान् तर राजनीतिक रूपमा यो नेपाली इतिहासकै सबैभन्दा आँधीमय समय थियो । यसैको प्रहारले नेपालमा सामन्ती राजतन्त्र ढल्यो र गणतन्त्रको स्थापना भयो । यो तथ्यलाई कसैले पनि नकार्न सक्दैन ।

तर व्यवस्थासँगै समाज फेरिएन । गरिबी उस्तै, सामाजिक न्यायको अवस्था उस्तै । भ्रष्टाचार उस्तै, बेथिति उस्तै । यति बेला समाज नफेरिनु तर माओवादीहरू फेरिनुले धेरै कुरा गडबड भएको छ । र, सबैभन्दा दुःखद कुरा, माओवादी आन्दोलन इतिहासमै सबैभन्दा कमजोर बन्न पुगेको छ । सबै कुरा अन्योलग्रस्त । सबै कुरा छिन्नभिन्न ।

म सानो उमेरमै माओवादी आन्दोलनमा होमिएँ । मेरा बुबा भक्तिप्रसाद पाण्डे माओवादी आन्दोलनका एक योद्धा र प्रचण्डका नजिकको मित्र हुनुहुन्थ्यो । उक्त आन्दोलनमा मेरा बुबाको जिम्मेवारी जनमुक्ति सेनाका लागि चाहिने हतियार संकलन, खरिद तथा आपूर्ति र अन्य लजिस्टिकको व्यवस्थापन थियो ।

जोखिमपूर्ण काममा महत्त्वपूर्ण भूमिका निभाएकाले होला, माओवादी पार्टीभित्र बुबालाई सबैले ‘भक्ति चाचा’ भन्थे । हृदयदेखि नै सम्मान गर्थे । बुबाले देहान्त हुनुअघि मलाई भन्नुभएको थियो, ‘हेर् केटा, जसले जे भने पनि, तँ प्रचण्ड–बाबुराम भिडाउन होइन, मिलाउनतिर लागेस् ।’ उहाँको भनाइ थियो, ‘यी दुवै एक्लाएक्लै लागेर कतै पुग्दैनन् ।’

बुबाको उक्त आकलन यतिखेर सही साबित भएको छ । प्रचण्डसँगको सहकार्यबाट छुट्टिएका बाबुराम र बाबुरामबाट टाढा पुगेका प्रचण्ड दुवैको अवस्था खस्कँदो छ । उता, त्यत्रो ठूलो त्याग, बलिदान र सशस्त्र संघर्ष हुँदै संसदीय निर्वाचनमा पहिलो स्थानसम्म उक्लिएको माओवादी पार्टी त्यसयता निरन्तर तेस्रो स्थानमा छ । र, जनाधार खुम्चँदो छ । यता बाबुरामले पनि नयाँ विकल्पसहितको दल बनाउने भनेर लागेको यतिका समय भइसक्दा पनि भरपर्दो विकल्प तयार हुन सकेको छैन ।

यसबीच प्रचण्डले केपी ओलीसँग गरेको पार्टी एकताको पहल होस् या बाबुरामले उपेन्द्र यादवहरूसँग मिलेर जान गरेको प्रयत्न, सबै फेल खाएका छन् । माओवादीबाट फुटेर निस्किएका आधा दर्जनभन्दा बढी समूहले आफूले भनेको र सोचेको पार्टी बनाउन सकेको देखिँदैन । यहाँसम्म कि, ‘महापतन’ को हाउजुगी खडा गरेर क्रान्तिको उत्तराधिकार दाबी गर्ने कमरेड विप्लव पनि रित्तो हात ‘घुमीफिरी रुम्जाटार’ भएका छन् ।

माथिका सन्दर्भहरूबारे गमेर सायद सबैले सोच्ने बेला भएको छ, यसरी फुटले शक्ति क्षीण हुँदा कसलाई फाइदा पुग्यो ? समग्र माओवादी आन्दोलनलाई कति नकारात्मक असर पर्‍यो ? प्रचण्ड, मूल धारको माओवादी र बाबुरामलाई मात्रै हैन, सबै पूर्वमाओवादीलाई इतिहासले सोधेका गम्भीर प्रश्न हुन् यी ।

माओवादी जनयुद्धका बेला मैले बाबुराम भट्टराईको सचिवालयमा रहेर काम गरें । यतिसम्म कि, माओवादी र सात दलबीच भएको १२ बुँदे सम्झौता मैले नै टाइप गरेको थिएँ, जसलाई गिरिजाप्रसाद कोइराला र प्रचण्डसहितको छलफलपछि बाबुरामले लेख्नुभएको थियो । यतिखेर लाग्छ, बाबुरामसँग काम गर्दा मैले इतिहासको एउटा ठूलो मोडको साक्षी बन्ने अवसर पाएको रहेछु । त्यसको महत्व सम्झिँदा अहिले पनि म रोमाञ्चित र गौरवान्वित हुन्छु ।

यस्ता गौरवमय ऐतिहासिक पल मात्रै होइन, माथि उल्लिखित जीवन–मरणको क्षण भोगेका दुर्लभ मान्छेहरूमध्येको एक हुँ म । मैले माओवादी उच्च नेताहरूको भारतको र देशभित्रको भूमिगत जीवन मात्रै देखिनँ, प्रचण्ड नेतृत्वको पहिलो सरकार र बाबुराम नेतृत्वको अर्को सरकार हुँदा नेपाल देश, राज्य र राजकाज कसरी चल्दो रहेछ भनेर अनुभव पनि गरें ।

यसर्थ नै मैले २० वर्षयता राजनीतिको केन्द्रमा रहेका प्रचण्ड–बाबुरामको सम्बन्धमा आएको उतारचढाव पनि सबैभन्दा नजिकबाट अवलोकन गरेको छु । बाबुरामको सचिवालयमा काम गरे पनि मैले सदैव प्रचण्डको प्रेम, हार्दिकता र सद्भाव पाएको छु । अतः म प्रचण्ड–बाबुराम सम्बन्धको निष्पक्ष साक्षी र मूल्यांकनकर्ता हुँ ।

मेरो अनुभवमा प्रचण्ड र बाबुरामका व्यक्तित्व, गुण र अवगुण फरकफरक छन् । जनयुद्धको समयमा होस् या सरकार सञ्चालनका समयहरूमा, एउटाको कमजोरी अर्काको सबलताले छोपिदिन्थ्यो जसले पार्टीलाई निरन्तर सफलतातिर डोराउन मद्दत गरेको थियो । त्यसमा अन्य कमरेडको पनि महत्त्वपूर्ण भूमिका थियो ।

अवश्य नै, कमरेड प्रचण्डका आफ्नै कमजोरी र क्षमता छन् । संयुक्त जनमोर्चाजस्तो एउटा सानो संसदीय पार्टीलाई सिंगो जनयुद्धमा होम्ने, एक दशकभित्रै त्यसलाई नयाँ उचाइ दिने, शान्ति सम्झौता र संविधानसभाको चुनाव हुँदै संसद्मा आउने, देशको इतिहासमै पहिलो पटक संविधानसभाबाट संविधान बनाउने र संविधान निर्माण प्रक्रियामै जनताको सार्वभौमसत्ता स्थापित गर्ने, गणतन्त्र स्थापित गर्नेजस्ता कार्यहरूमा प्रचण्डको गतिशील नेतृत्वले उल्लेख्य काम र परिणाम दिएको छ । यो स्वयं बाबुराम भट्टराई र हामी सबैले अनुभूति गरेका छौं ।

यावत् उपलब्धिहरूमा र विशेष गरी १२ बुँदे सम्झौतापछि माओवादी पार्टीले आफ्नो परम्परागत राजनीतिक लाइन ‘नयाँ जनवादी गणतन्त्र’ को साटो ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ तिरको मोड समायो, जसको वैचारिक नेतृत्व प्रारम्भमा बाबुराम एक्लैको थियो । अन्ततः प्रचण्ड–बाबुराम दुवैले मिलेरै त्यसलाई पार्टीको मूल वैचारिक प्रस्ताव बनाउनुभयो । बाबुरामको क्षमता के हो ? उहाँको योगदान के हो ? प्रचण्ड सायदै अनभिज्ञ हुनुहुन्छ ।

प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री हुनुभएको एक वर्ष पूरा हुन लागेको छ । पछिल्लो समय देशमा सरकार बन्ने र भत्किने प्रक्रियाको जुन निरन्तरता छ, यस प्रक्रियामा जेजस्ता सरकार बनेका छन्, तिनैसँग तुलना गर्ने हो भने प्रचण्ड सरकारको एक वर्ष धेरै नराम्रो वा धेरै राम्रो दुवै हैन । प्रचण्ड सरकारले आफ्नो कार्यकालमा अगाडि बढाएका नक्कली भुटानी शरणार्थी, ललिता निवास, ३३ किलो तथा एक क्विन्टल सुन तस्करी प्रकारण र पछिल्लो एनसेल प्रकरणको छानबिनले थोरै भए पनि सुशासनको अनुभूति दिलाएको छ ।

तथापि सरकारले जनताको अपेक्षाअनुसार रोजगारी सिर्जना गर्न, अर्थतन्त्रलाई चलायमान बनाउन र विकास–निर्माणलाई गति दिन सकेको छैन । पहिलो पटक प्रधानमन्त्री हुँदा कमरेड प्रचण्ड सरकारप्रति जुन जनअपेक्षा थिए, त्यस्तो सायद अहिले छैन । भए पनि सामान्य र सीमित प्रकृतिको छ । औसत स्तरको । यसरी औसत मात्रै काम गर्दै जाने हो भने देश र जनताका मुख्य र जीवन्त समस्याहरूको समाधानचाहिँ कसले र कहिले गर्ने ?

प्रचण्ड सरकारको यो कार्यकाल अघिल्ला कार्यकाल (पहिलो ९ महिनाको, दोस्रो १० महिनाको) भन्दा लामो हुने देखिएको छ । तर, कांग्रेस वा एमालेको सहयोग वा समर्थनमा प्रधानमन्त्री हुनु वा त्यसमा टिकिरहनु मात्रैले कमरेड प्रचण्डको व्यक्तित्व र ऐतिहासिकताको औचित्य पुष्टि हुँदैन । माओवादी आन्दोलनको घोषित उद्देश्य काँग्रेस–एमालेको मात्रै होइन, व्यवस्थाकै विकल्प दिने थियो । देशलाई विकसित बनाउने थियो ।

तर त्यत्रो उद्देश्य बोकेको पार्टी आज किन उनै कांग्रेस–एमालेको कनिष्ठ सत्ता साझेदार बन्न पुग्यो ? त्यत्रो विद्रोहको नेतृत्व गरेको व्यक्तिको सरकारले किन औसतजति मात्रै काम गर्न सक्यो ? सँगै, सशस्त्र विद्रोहको नारा लगाउनेहरू पनि किन विद्रोह गर्न नसकी लुप्त हुने अवस्थामा पुगे ? र, नयाँ विकल्पको नेतृत्व माओवादीले गर्न सक्दैन भन्ने भाष्य कसरी स्थापित हुँदै गयो ? माओवादी आन्दोलनमा लागेकाहरूले यो प्रश्नको जवाफ खोज्न जरुरी छ । सायद यो प्रश्नमा प्रचण्ड–बाबुराम दुवैले गम्भीर हुन जरुरी छ, जसले गर्दा उनीहरूबीचको अन्तरविरोध, सहकार्य र एकताको अर्थ र औचित्य खोज्न सजिलो होस् ।

माओवादीका सबै घटक यतिखेर चुक्नुमा सम्भवतः हिजोको विचार, कार्यदिशा र त्यसका आधारमा बनेका कच्चा रणनीतिहरू कारक हुन सक्छन् । यस्तो बेला, माओवादी आन्दोलनलाई पुनर्जीवित तुल्याउन र पुनर्गठन गर्न माओवादी आन्दोलन र पार्टीकै समग्र रूपान्तरण गरेर ‘समाजवादीकरण’ गर्ने बाबुरामको सोच सान्दर्भिक हुन सक्छ ।

अहिले बाबुरामले अघि सार्नुभएको समाजवादी पुनर्गठन र ध्रुवीकरणको प्रक्रियालाई ढिलो नगरीकन अगाडि बढाउने हो भने त्यसले माओवादीसहित सगम्र प्रगतिशील शक्तिहरूलाई फेरि जोड्न र पार्टीलाई नयाँ जीवन दिन सक्छ । र, नयाँ समाजवादी विकल्प प्रस्तुत गर्न सक्छ । अन्यथा, आफ्नाहरू विभाजित भइरहने हो भने परिणाम के हुन्छ, जगजाहेर नै छ ।

अब पनि परिस्थितिलाई नबदल्ने हो भने प्रचण्डसँग अहिले देखिएको वैचारिक र व्यक्तिगत रिक्तता कसरी पूर्ति गर्ने ? बाबुरामको आफूले संगठन बनाउन नसकेको स्वीकारोक्तिलाई कहाँ लगेर विश्राम दिने ? यी दुई प्रश्न प्रश्नकै रूपमा रहनेछन् । उत्तर खोज्ने नै हो भने सायद ‘प्रचण्ड र बाबुरामको एकता र सहकार्य’ मात्र हुन सक्छ, जसले फेरि नयाँ उचाइको पार्टी, आन्दोलन र परिणाम सुनिश्चित गर्नेछ ।

किनभने व्यक्तिगत रूपमा पनि प्रचण्डलाई ओली धार छोडेर पूर्व एमालेका माधव नेपाल–झलनाथ खनालसँगको सहकार्य निकै अप्ठ्यारो छ । सँगै राजनीतिक परिदृश्यमा देखा परेका नयाँ दल, आन्दोलन र प्रवृत्तिले पनि दुवैलाई सान्दर्भिक रहिरहन नयाँ चुनौती थपेका छन्, जसको सामना दुवैबीचको एकता र सहकार्यबाट मात्र हुन सक्छ ।

यहाँनेर एकताको कुरा गर्दा मलाई लाग्छ, स्पष्ट हुनुपर्ने खास विषय हो— आन्दोलनको सम्पूर्ण पुनर्गठन र एकता । विचार, संगठन, नेतृत्व, संस्कृति, एजेन्डाको पुनर्गठनसहितको एकता । सामूहिक प्रक्रियाको एकता । दुई ठूला टाउका जोडेर मात्र त केही नहुने वास्तविकता गत चुनावपछि पनि देखिएकै हो । दुवै नेतालाई उमेरको पनि सीमा छ । त्यसकारण अबको सहकार्य वा एकताको आधार उहाँहरूले सामूहिकतामा खोज्नुपर्छ । नयाँ पुस्ताको एकतामा खोज्नुपर्छ । राजनीतिको जगमा खोज्नुपर्छ ।

फेरि पनि जन्मदिनकै कुरा, अवश्य नै उमेर अंकगणित मात्र होइन । उमेर आफैंमा अनुभवको संग्रह हो । उमेर आफैंमा आत्मबोध हो । जीवनप्रति, परिवर्तनप्रति र आफ्नै इतिहासप्रति इमानदार हुनका लागि उमेर आफैंमा जीवनको सर्वोत्तम स्कुल हो । आफ्नो जन्मदिन मनाइरहँदा उमेरको अर्थ सायद मैलेभन्दा धेरै प्रचण्डले नै बुझ्नुभएको छ । र, समवयी भएका कारण त्यसको बोध अवश्य नै बाबुरामलाई पनि हुनुपर्छ ।

अन्त्यमा, दुवैलाई म संयुक्त प्रश्न गर्छु । उमेर भनेको के हो, कमरेडहरू ? के यसले मान्छेलाई आत्मबोध गर्न र नयाँ मार्गमा हिँड्नलाई प्रेरित गर्छ ? मलाई लाग्छ, उमेर समयको बोध पनि हो, जसले युगलाई हेर्न, बुझ्न र बदल्न नयाँ दृष्टि दिन्छ । कमरेडहरू, कृपया उमेरको ख्याल गर्नुहोला । समयले तपाईंहरूले के भन्दै छ, सुन्नुहोला । अब पनि समयको आवाज नसुन्ने हो भने धेरै कुरा छुटेर जानेछन् । छुटेका कुराहरू फेरि फर्काउन त्यसपछि तपाईंहरूसँग समय नै रहने छैन ।

-पाण्डे नेपाल समाजवादी पार्टीका प्रचार विभाग प्रमुख हुन् ।

प्रकाशित : मंसिर २६, २०८० ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?