२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

फर्गेट यस्टर्डे !

ठगी, लिखत किर्ते, राज्यविरुद्ध र संगठित अपराध सम्बन्धी कसुरमा यो देशका पूर्वउपप्रधानमन्त्री, गृहमन्त्री, सल्लाहकार, राज्यका प्रशासक र केही गिरोह–नाइके पाँच महिनायता केन्द्रीय, भद्र र नख्खु कारागारमा पुर्पक्षका लागि थुनामा छन् । आश्चर्य यो छ कि, आफूलाई यो दुर्गतिमा पुर्‍याउने प्रहरी, प्रशासक र न्यायकर्मीहरूलाई रातारात कालापहाड पुर्‍याइदिने हुती अझै यिनै अभियुक्तहरूसँग छँदै छ ।
दोबाटोमा उभिएर कसैले ‘फर्गेट यस्टर्डे’ भन्यो भने महरा–चेहरा आँखामा उत्रिहाल्छ । जस्तो, यो सहरमा कहीँकतै सीसीटीभी फुटेजको कुरा उक्कियो भने कमरेड अर्थमन्त्री जनार्दन शर्माको हतारिँदै कुद्ने गरेको हुलिया आँखैमा आइहाल्छ ।
देवेन्द्र भट्टराई

केही महिनायता जगन्नाथ देवलस्थित केन्द्रीय र भद्रगोल जेल पुग्नासाथै अनौठो अनुभूति हुन्छ, चहलपहल र रजगज देखेर । कोही सुटबुटमा आउँछन्, कोही आसेपासे लिएरै छिर्छन् । कसैको झन्डावाल गाडी त जेलको गेट नाघेरै भित्र पुग्छ । सबैजसो मूलधारे पार्टीका वरिष्ठ जन यिनै जेलहरूमा भेटिन्छन् । त्यसमाथि सत्ताधारी दल नेपाली कांग्रेसको हकमा सानेपा मुख्यालयभन्दा यदाकदा चर्को भीड जगन्नाथ देवलतिर देखिन्छ । विशेषतः ‘दाइ’ लाई भेट्न आउनेहरूको लर्को देखिन्छ यहाँ ।

फर्गेट यस्टर्डे !

यो थलोमा कांग्रेसका नेता शेखर कोइराला तारन्तार पुगिरहन्छन् । कतिसम्म भने, अरूका लागि बन्द रहने जेलमा शनिबारसमेत पुग्छन् कोइराला, आफ्ना केन्द्रीय सदस्य भेट्न । अर्का नेता एवं परराष्ट्रमन्त्री एनपी साउद झन्डावाल गाडी लिएरै जेल जान्छन् । ठगी, संगठित अपराधसहितका अभियोगमा महिनौंदेखि पुर्पक्षका लागि थुनामा रहेका तर पार्टीबाट निलम्बनमा चाहिँ पर्न नचाहने शक्तिसम्पन्न नेता बालकृष्ण खाणको बास भद्रगोलमा छ । प्रदेश–प्रदेशका कांग्रेसी मुख्यमन्त्रीहरू, तरुण दल र नेविसंघका कथित युवा नेताहरू यतै भटिन्छन्, मानौं बीपी कोइरालाको प्रतिरूपलाई यहाँ पुर्पक्षमा राखिएको छ ।

बरु ओझेलमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी देखिन्छन् जो उही सम्मान र सुविधामा जेलमा रहेका भए पनि उनलाई भेट्न जाने शुभेच्छुकको संख्या पातलो देखिन्छ । हुन त देशदुनियाँ बदल्न माओवादी क्रान्तिमा लागेर र लगत्तै सत्ताको रापतापमा एमाले बनेका रायमाझी यही ‘बदल्ने र बदलिने’ हतारोमा थिए क्यार । संयोगले यही हतारमा बाबु टोपबहादुर र छोरा सन्दीप एकैसाथ सरकारी अन्नपानी खाएर कारागारमै बसिरहेका छन्, पाँच महिनायता ।

जगन्नाथ देवलका कारागारमा संयोगहरू धेरै खाले जुधेका छन्, एकै पटक । नक्कली शरणार्थीको गिरोह चलाउने आरोपित बाबुछोरा एकैसाथ यहीँ भेटिन्छन् । अथवा, कि त बा यहाँ छन्, छोराहरू फरार छन् । कि छोराहरू यहाँ छन्, तिनका बाआमा, भाउजू र सानिमाको बाहिरी दौडधुप असाध्य छ । श्रीमान् र देवरहरू जेलमा थुनिएपछि पद तथा साखको सनातनी सानमानमा घुम्दै निजका श्रीमती र भाउजूहरूले प्रहरी, प्रशासन, न्यायालय, सञ्चार जगत्मा सकेको उपद्रव मच्चाइरहेकै छन् । मिडियाकर्मीलाई श्रीमती वा भाउजूको तारन्तार फोन आइरहेकै छ । कुनै प्रेरणा हो कि लुकेको धम्की, थाहै नहुने गरी— ‘तिमीले सकेको गर्दै गर, हामी पनि सकेको गरौंला ।’

यो साता मात्रै, सुन तस्करीको अभियोगमा अर्का छोरा राहुल महरा केन्द्रीय कारागारमै पुगिसकेका छन् भने बा कृष्णबहादुर बडो मुश्किल र जतनले सफाइ पाएर जेलबाहिरै छन् । नक्कली शरणार्थी प्रकरण मच्चिएका बेलाका गृहमन्त्री रामबहादुर थापा (बादल) जेलबाहिरै बसेर एमाले दलको साख धानिरहेका छन् भने छोरा प्रतीक यही संगठित अपराधको भागीदार बनेर फरार सूचीमा छन् । उनै बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई शरणार्थी नेता टेकनाथ रिजालसँगै केन्द्रीय कारागारभित्र सस्वर ‘मुगलान’ उपन्यास पढिरहेका छन् भने राईका छोरा नीरज पनि फरार सूचीमै छन् ।

थुनामै रहेर यो मुलुक र पद्धति चलाउनमा अझै पनि यिनै नेताले धेरै भरथेग गरिरहेको आभास एक वा अर्को घटनासँगै अनुभूति भैरहेको हुन्छ । कतिसम्म भने ‘नत्र म मुख खोलिदिन्छु’ भनेकै भरमा हिजोसम्म सतीसालझैं लाग्ने गृहमन्त्री नारायणकाजी श्रेष्ठले रातारात अनुसन्धानमा जोडिएका प्रहरीहरूलाई जगेडासरहको स्थानमा हुर्‍याएका छन् । हिजोसम्मै इमानजमानका प्रेरक पात्र भनिएका कानुनमन्त्री धनराज गुरुङले सम्बद्ध न्यायाधीशलाई बेरीतको सरुवा गरिदिएका छन् । आश्चर्य, यही अदृश्य हैकमका कारण प्रहरी अनुसन्धानको एउटा पहलले यहाँसम्म तन्किएर आएको यो कदम अहिले पूरापूर रोकिएको छ । उपत्यका अपराध अनुसन्धानमा आएको अर्को चरणको उजुरीले अझ गहिरो–गहिरो राजनीतिक शृङ्खला र थप दाइ–भाउजूको मुखाकृति सप्रमाण बाहिर देखिने भएपछि जेलभित्रबाट सुनाइएको ‘नत्र म मुख खोलिदिन्छु’ को मन्त्रले निकै काम गरेको देखिन्छ । तैं चुप मै चुप !

कैफियतमै छ सबै प्रमाण

नक्कली शरणार्थी गिरोहका अभियुक्तहरूको अदालती वा इन्कारी बयानहरूभन्दा रोचक प्रमाण तथा किस्साहरू भने प्रतिवादीहरूले बोक्ने गरेका मोबाइलको डिजिटल फरेन्सिक ल्याब परीक्षणका नतिजामा भेटिएका छन् । अहिले पाटन उच्च अदालतमा बुझाइएका कैफियत प्रतिवेदन तथा अन्य प्रमाणको चाङमा यो गिरोहका नाइके केशव दुलाल र तत्कालीन गृहसचिव टेकनारायण पाण्डेबीचको फोन कुराकानीसमेत हेर्न–बुझ्न सकिन्छ । प्रतिवादी सानु भण्डारीको मोबाइल परीक्षणमा ‘प्रेम राई (अख्तियार प्रमुख), बादल (तत्कालीन गृहमन्त्री), टोपबहादुर रायमाझीलाई ५ करोड रुपैयाँ दिएको; मिलाएर १,६२९ जनाको फाइल पास गराउनुपर्छ’ भन्ने अडियो रेकर्डको उतार कैफियत प्रतिवेदनमा समेटिएको छ ।

गिरोहका अर्का नाइके सानु भण्डारीले आफूले तत्कालीन गृहमन्त्री (बादल) की पत्नी नैनकला थापा, अजयक्रान्ति शाक्य (पूर्वप्रधानमन्त्री केपी ओलीका पूर्वसल्लाहकार), राजेश्वर स्थापित (पूर्वमेयर विद्यासुन्दर शाक्का निजी सचिव) समेतलाई करोड–करोड रुपैयाँ बुझाएको बयान के उडन्ते तर्कना थियो र ? नाइके दुलालकै बयानमा ‘नेता केपी ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले टोपबहादुर रायमाझीका स्वकीय सचिव (लीला जीसी) मार्फत रकम बुझेको’ अर्को बयान–प्रमाण अदालतमा बुझाइएको छ । संकलित अडियो रेकर्डमा ‘टोप मामा’ र ‘सन्दीप भाइ’ भन्दै दिइएको बयान तथा रकमी हिसाबकिताब संगठित गिरोहको यो सञ्जाल आफैंले बुझाएको तरोताजा प्रमाणसरह छ । तर, अहिले यी सब तथ्यप्रमाण अदालती भाषामा ‘हेर्न नभ्याइने’ विन्दुमा छन्, अथवा ‘हेर्दाहेर्दै’ बाट निकै टाढा पुगिसकेका छन् ।

काठमाडौं जिल्ला अदालतले गत असार १ गते सुनाएको थुनछेक आदेशपछि ‘यो बेरीतको आदेश बदर गरिपाऊँ’ भन्दै सबै आरोपित उच्च अदालत पुगे पनि लगातारका पेसी पर सार्नेभन्दा अरू उच्च कानुनी निरूपण बाहिर आउन सकेकै छैन । अर्कातिर, यो प्रकरणमा तत्कालीन गृहमन्त्री बादल, गृहसचिव प्रेम राई, ओलीका निजी सहायक बज्राचार्य र कैफियत प्रतिवेदनमा प्रमाण बनेर आएका अरू थुप्रै नाममाथि अनुसन्धान (वा, बयान) नभैकन यो संगठित अपराधको मुद्दा अब टुंगिने सम्भावना देखा परेको छ ।

अन्यथा, नक्कली शरणार्थी बनाउने गिरोहका बयान र कैफियत प्रतिवेदनमा जोडिएर आएका नामहरू त्यत्तिकै हावासरि आएका त होइनन् ? गृहसचिवपछि अख्तियार प्रमुखमा पुगेका प्रेम राईले आफैंविरुद्ध अख्तियारमा परेको उजुरी तामेलीमा किन राखे ? आफ्नै गोजीमा रहने आफ्नै मोबाइल किन र कसरी ‘फ्याक्ट्री रिसेट’ भयो भन्ने कुरा आफैंलाई थाहा नहुने गृहमन्त्री खाणले अरू केके कुरा थाहा नपाएका थिए होलान् ? भुटानी शरणार्थी समस्या समाधानको उपाय सुझाउन पूर्वसहसचिव बालकृष्ण पन्थीले दिएको प्रतिवेदन २०७८ मंसिर १२ मा मन्त्रिपरिषद्मा लैजाँदा त्यसमा कसरी कसले हेराफेरी गर्‍यो ? यस्ता थुप्रै जिज्ञासा बाँकी छन् जसमा प्रहरी अनुसन्धान र सही अर्थको सोधखोज हुन सकेकै छैन ।

तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको बयानमा भनिएको छ, ‘बालकृष्ण पन्थीको संयोजकत्वमा गठन भएको कार्यदलले तयार पारेको प्रतिवेदनमा यूएनएचसीआरसँग समेत छलफल भएको थियो । यसमा मन्त्रीज्यू (खाण) लाई गिफ्ट आएको थियो, गिफ्ट के थियो ? थाहा भएन ।’ यसरी संशय र आशंकाका अनेक पत्र–पात्रलाई बीचैमा छाडेर तथा पाँच महिनाअघि नै पक्राउ पुर्जी दिएर अझै फरार रहेका एक दर्जनभन्दा बढी आरोपितलाई खोज्दै नखोज्ने र पक्राउ नगर्ने यो हदको गैरजिम्मेवारीलाई गृह मन्त्रालयले ढिलोचाँडो आत्मसात् गर्नैपर्ने हुन्छ ।

अनुसन्धानको दायरा किन पनि यो चरणमा अविश्वस्त हुँदै गएको देखिन्छ भने, थुनामा रहेकामध्ये केहीलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको केरकारमा लगेर सम्पत्तिको हिसाबकिताब खोज्ने काम थालिएको रहेछ । तर, यसमा जो लाखौं–करोडौं रुपैयाँको चलखेलका भागीदार देखिन्छन्, तिनलाई शुद्धीकरण गर्न–गराउन खोजिएकै देखिन्न, बरु गिरोहका झोले एजेन्ट सागर राई, शमशेर मियाँ वा शरणार्थी नेता टेकनाथ रिजालका बैंक खाताहरू मात्रै पल्टाउने काम भएको छ । शुद्धीकरणमा करोडौं रुपैयाँको चलखेलमा जोडिएका खाण, रायमाझी वा गृह मन्त्रालयमा आठ महिना मात्रै बस्दा सुरक्षागार्डमार्फत ७५ लाख रुपैयाँभन्दा बढी बैंक दाखिला गर्ने गृहसचिव पाण्डेमाथि पनि सम्पत्ति शुद्धीकरण जाइलागेको छैन । यो नामको शुद्धीकरण आफैंमा ‘नत्र मुख खोलिदिन्छु’ को ग्रहणमा परिसकेको देखिन्छ ।

गत वैशाखको सुरुआतमा निकै हल्लीखल्ली भयो, नक्कली भुटानी शरणार्थी गिरोहका सहनाइके सन्देश शर्मा र कांग्रेस नेतृ आरजु राणाबीचको फोन–रेकर्डेड संवादलाई लिएर । कांग्रेस केन्द्रीय सदस्य एवं सांसद आरजु राणा यो ‘फेक’ अडियोको हुलिया बोकेर प्रहरीको साइबर ब्युरो पुगिन् । दुर्भाग्य, ब्युरोमा निवेदन परेको दुई महिनापछि नेपाल प्रहरीका तर्फबाट विज्ञप्ति आयो, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु राणा देउवालाई रकम बुझाएको भनेर सार्वजनिक भएको अडियो दाङका सन्देश शर्माको आवाजसँग मिलेको छ ।’

यो प्रमाणपुर्जा पाएपछि भने बरु प्रहरीका अपराध अनुसन्धान, खोजबिन, बयान, सर्जिमिन वा अरू प्रक्रिया एकाएक सेलाए । उसो भए ‘फेक’ भनिएको अडियो फेक होइन रहेछ, शासन–सत्तामा शक्तिशाली मानिने आरजुलाई बुझाएको रकम भने ‘फेक’ थिएछ ? जनताले सधैं जान्न चाहिरहे, तर पछिका अनुसन्धानमा कहीँकतै यो सरोकारै जोडिएन । बरु थुनामा रहेका अग्रज नेताहरूबाटै अनेक सेवासर्तसहितको चर्को बोली सुन्न थालियो— ‘नत्र मुख खोलिदिन्छु ।’

अनगिन्ती दृष्टान्त

असोज तेस्रो साता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालले दाबी गर्दै आएको कालापानी–लिम्पियाधुरा क्षेत्रमा पुगेपछि संसद्मा केही सांसदले यसबारे जिज्ञासा उठाए । यसबारे न मुलुकका प्रधानमन्त्रीले केही बोलेका छन्, न त प्रतिपक्षी दलका नेताले नै । नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा

सार्वजनिक भएको साढे तीन वर्ष हुनै लाग्दा देशको अद्यावधिक क्षेत्रफल कति हो भन्ने टुंगो छैन । विद्यालयका पाठ्यक्रममा राखिएको नयाँ भूगोलको पाठ हटाउनुपरेको छ । उहिले ६० वर्षअघि नाभी, कुटी, गुन्जीमा जनगणना गरिएथ्यो भनेरै ‘मेरा हजुरबाले बन्चराको बिँडले अजिंगर मारेथे’ शैलीमा गफास्ट बन्नेबाहेक अरू तरकिब केही देखिएको छैन । बरु कालापानी पर्तिरको पार्वती कुण्डतिरै फर्केर आफ्नो साँधसीमाका बारेमा ओली, देउवा, दाहाल सबैले भने हुन्छ— फर्गेट यस्टर्डे !

आज यताको ईपीजीको हालत त्यही छ । उताको बीआरआई पनि त्यस्तै छ । पानीजहाजदेखि रेलसम्मका प्रकरण आमजनलाई दिनदहाडै तर्साउने आत्माझैं बनेका छन् । अझ बृहत्तर रूपमा— नटुंगिएको छ संक्रमणकालीन न्याय, न शान्ति प्रक्रिया । बरु उत्सव मनाउन थालिएको छ, जनयुद्ध दिवसको । अझ उल्टै, कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय पाएका नेपालगन्जका रिगल (योगराज ढकाल) राज्य तहबाटै आममाफी पाएपछि अहिले गाउँगाउँमा विजयोत्सवमा निस्केका छन् । यसबारे प्रधानमन्त्री दाहाल भन्छन्, ‘मलाई चर्को दबाब आयो ।’ राष्ट्रपति पौडेल भन्छन्, ‘मन्त्रिपरिषद्को निर्णय खारेज गर्ने अधिकार मसँग छैन । मसँग त्यस्तो विशेषाधिकारै छैन ।’ बोल्नुपर्ने दाइ–भाउजू र यो श्राद्धकर्ममा पोलिएका रक्षामन्त्री खड्का पनि बोलिरहेका छैनन् किनभने गुन्डा नाइके रिगल परे कांग्रेसी योद्धा ! यसकारण यहाँ पनि वागेश्वरी मन्दिरतिर फर्केर भनौं— फर्गेट यस्टर्डे !

ठूलो हल्ला र राष्ट्रिय पर्वझैं गरेर ललिता निवास प्रकरण आयो र गयो । अर्बौं रुपैयाँबाट सुरु भएको हिसाबकिताब लाखौं रुपैयाँको धरौटी ‘डिल’ मा गएर टुंगियो । सुरुमा पशुपतिको जलहरी सुनले उत्पातै गर्‍यो, महिनादिन संसद् रोकियो । आखिरमा ‘जलहरी सुन कोट्याइएकै रहेछ’ भन्ने प्रमाण मिलेपछि त्यही संसद् छेकथुन गर्ने शीर्षस्थ नेताका भर्ती–कार्यकताहरू जेल गए । ३३ किलो सुनदेखि १ सय किलो सुनसम्म त्यस्तै कामचलाउ नजिर बन्यो । देखाउने दाँत र खाने दाँतको नजिर ! अब गिरीबन्धु चियाबगानदेखि दमक औद्योगिक पार्कसम्म यस्तै नजिर दोहोरिने छाँट देखिन्छ । फेरि पनि मनकामना मातातिर फर्केर भनौं— फर्गेट यस्टर्डे !

अन्त्यमा, धेरै धन्यवाद छ माओवादी प्रखर नेता, पूर्वमन्त्री, पूर्वसभामुख कृष्णबहादुर महरालाई जसले आम जनमानसलाई सम्झनामा आइरहने गरी ‘फर्गेट यस्टर्डे’ भन्न सिकाए । महरा छायाछविको पहिलो चरणमा खुलेआम नैतिक–चारित्रिक क्लेश देखिएको थियो, अदालतले सफाइ दिइहाल्यो । दोस्रो पटक, फेरि सुन काण्डमा शुद्ध्याइँ गर्नै नमिल्ने गरी महराको चेहराभरि दागैदाग देखिएको थियो, फेरि पनि वैतरणी पार गराइयो । तर यत्ति ख्याल गर्नैपर्छ, सफाइ पाएर पनि महराको छवि अहिले पहेंलपुर छ, २४ क्यारेटको सुन लेपन गरिएको !

दोबाटोमा उभिएर कसैले ‘फर्गेट यस्टर्डे’ भन्यो भने महरा–चेहरा आँखामा उत्रिहाल्छ । जस्तो, यो सहरमा कहीँकतै सीसीटीभी फुटेजको कुरा उक्कियो भने कमरेड अर्थमन्त्री जनार्दन शर्माको हतारिँदै कुद्ने गरेको हुलिया आँखैमा आइहाल्छ । गाउँबस्तीमा कसैलाई सर्पले डसेको समाचार मात्रै सुने पनि पूर्वप्रधानमन्त्री झलनाथ खनालको सम्झना झलझली आउन थालिहाल्छ । कहीँकतै दूरदराजमा ‘बिना ढेउवा के’ सम्बोधन कसैले निकालेमा अर्का पूर्वप्रधानमन्त्री माधव नेपाल मनमस्तिष्कमा छाइहाल्छन् । आजको हाम्रो समयले जन्माएका अपार विम्ब हुन् यी । यी विम्बहरू सम्झन जति मुश्किल छ, बिर्सन उति नै कठिन छ । वर्षौंवर्ष हराएर अहिले फुत्त उदाएका कवि मीनबहादुर विष्टको एउटा कविताको शीर्षक छ– ‘एउटा निरीह देश’ । कविताको अंशले भन्छ–

‘होइन, ककसका छौंडा हुन् यी !

कोही चढेका छन् मेरो घरको छानामा

कोही बुइँगलमा

कोही बैठक कोठामा

कोही बार्दलीमा

कोही करेसामा

भान्सामा, बेडरुममा

बगैंचामा, आँगनमा

ममाथि राज गरेजस्तो

कोही भर्‍याङ उक्लिरहेछन्

कोही भर्‍याङ ओर्लिरहेछन्

होइन, ककसका छौंडा हुन् यी !

होइन, ककसका छौंडा चढिरहेछन् मेरो शिरमाथि

र, मेरो शिर निहुरेको छ !

होइन, ककसका छौंडा चढिरहेछन् मेरो घरको छानामाथि !

र मेरो घरको छाना चुहिएको छ

यो मेरो घर हुन सक्दैन

यो मेरो देश हुन सक्दैन ! ! ’

प्रकाशित : आश्विन २९, २०८० ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?