कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०९

खाएर उडाउने आयात

आयात गरिने वस्तु तथा सेवाले देशमा उद्यमशीलता, रोजगारी, मानिसको आयस्रोत, वस्तुको माग, उत्पादन र उपभोग बढ्ने अवस्था भए आर्थिक वृद्धिमा सकारात्मक प्रभाव पर्न जान्छ ।
दुर्गा कँडेल

देश पूर्ण रूपमा आत्मनिर्भर सायदै हुन्छ । कुनै न कुनै रूपमा वस्तु तथा सेवाको खरिद–बिक्री भई नै रहेको हुन्छ, चाहे त्यो विकसित देश होस् वा विकासोन्मुख । आफ्नो देशमा उपभोग गरी बढी भएको वस्तु तथा सेवा निर्यात गरिन्छ भने आफ्नो देशमा पर्याप्त नभएको आवश्यक वस्तु तथा सेवा विदेशबाट खरिद गरी आयात गरिन्छ । आयात र निर्यात कसले कति गर्ने भन्ने विषय देशले खरिद गर्ने क्षमता, मूल्य, उपभोग गर्ने वर्गको आय आदिमा निर्भर गर्छ ।

खाएर उडाउने आयात

कुनै समयमा खाद्यान्नदेखि लत्ताकपडा, जडीबुटी, चिया, कफी लगायतका विविध वस्तु तथा सेवा निर्यात गर्ने हाम्रो देश अहिले ठूलो मात्रामा भौतिक वस्तु आयात गर्छ । शैक्षिक योग्यता हासिल गर्न होस् वा स्वास्थ्य उपचार गराउन, देशबाट बर्सेनि ठूलो रकम बाहिरिएको छ । आर्थिक वर्ष २०८०/८१ को जेठसम्मको कुल आयात १४ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ बराबरको थियो । गत आर्थिक वर्षमा १७ खर्ब ६३ अर्ब २२ करोड रुपैयाँको आयात गरिएको थियो । यस्तै, आर्थिक वर्ष २०८०/८१ को जेठसम्म वस्तु व्यापार घाटा १३ खर्ब ३७ अर्ब ३९ करोड रुपैयाँ छ । गत वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा १५ खर्ब ७७ अर्ब ३९ करोड रुपैयाँ थियो । गत आवका पहिलो ६ महिनासम्म आयात नियमनका लागि चालिएका कदमबाट आयात प्रभावित हुँदा व्यापार घाटामा सुधार भएको हो ।

आयात गरिने वस्तु तथा सेवाले देशमा उद्यमशीलता, रोजगारी, मानिसको आयस्रोत, वस्तुको माग, उत्पादन र उपभोग बढ्ने अवस्था भए आर्थिक वृद्धिमा सकारात्मक प्रभाव पर्न जान्छ । तर विडम्बना नै मान्नुपर्छ आयात केवल उपभोगका लागि गरिन्छ । त्यस्तो आयातलाई ‘खाएर उडाउने आयात’ भन्दा फरक पर्दैन ।

गत साउनमा देशका १४ वटा भन्सार नाकाबाट १ खर्ब ३१ करोड २८ लाख ६१ हजार रुपैयाँ बराबरको आयात भएको तथ्यांक छ । कृषिप्रधान देश जहाँ तरकारी मात्रै एक महिनामा १ अर्ब ३२ करोड ६ लाख २ हजार आयात गरिएको छ, जुन २०७९/८० को सोही महिनाको तुलनामा ६.९ प्रतिशतले बढी हो । भारतबाट मात्रै एक महिनामा १ अर्ब २६ करोड रुपैयाँको फलफूल आयात गरिएको छ । कुल आयातको करिब दुईतिहाइ भारतबाट मात्रै हुने गर्छ । कुल आयातमध्ये भारत, चीन र अन्य देशतर्फको आयातको अंश क्रमशः ६३.३ प्रतिशत, १३.७ प्रतिशत र २३.० प्रतिशत रहेको छ । गत आर्थिक वर्षमा यसको अनुपात क्रमशः ६२.४ प्रतिशत, १३.९ प्रतिशत र २३.७ प्रतिशत थियो ।

आयात आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा केही मात्रामा घटेको देखिन्छ । बैंकहरूसँग तरलताको कमी हुनुका साथै मौद्रिक नीतिमा चालु पुँजी कर्जासम्बन्धी निर्देशनका कारण कर्जा लगानीमा अन्योल, सेयर बजारमा गिरावट, विश्वव्यापी रूपमा आएको आर्थिक मन्दीका बाछिटा, रुस युक्रेन युद्धले पारेको मूल्यवृद्धिको प्रभावसँगै व्यापार व्यवसायमा आएको शिथिलताले आयात घटेको देखिन्छ । ती अवस्थामा सहज हुनेबित्तिकै आयात पुनः बढ्न सुरु हुने निश्चित छ ।

खाएर उडाउने आयातलाई कम गर्नका लागि उत्पादन क्षमता बढाउनुपर्छ । मुलुकभित्र सम्भव वस्तु तथा सेवाको उत्पादन गर्न सकियो भने मात्र यस्तो आयातको अंश कम गर्न सकिन्छ । खाएर उडाउने आयात कम गर्न निम्न पक्षको भूमिका प्रभावकारी रहन्छ ।

राज्य : राज्य तथा सरकारका तर्फबाट सहज किसिमका नीति तथा कार्यक्रम तर्जुमा गरी लागू गराउन सक्नुपर्छ । वैज्ञानिक तथा तथ्यपरक कार्यक्रम तर्जुमा गरी त्यसको प्रभावकारी कार्यान्वयन गर्न र गराउन सक्नुपर्छ । उद्यमशीलतामा नवप्रवर्तन ल्याउनका लागि उद्योग तथा व्यवसाय दर्ता प्रक्रियालाई सहज बनाउने, पर्याप्त तालिमको व्यवस्था मिलाउने, लगानी गर्न आवश्यक रकम सहुलियत दरमा उपलब्ध गराउने, कच्चा पदार्थको उपलब्धतामा सहजीकरण गर्ने, उपकरणमा कर छुटको व्यवस्था गर्ने र उत्पादन भएका वस्तु तथा सेवालाई सहज रूपमा उपभोक्तासम्म पुर्‍याउने माध्यमको सुनिश्चितता गर्न सक्नुपर्छ । केही वर्षअघि वाणिज्य बैंकको एउटा शाखाले कम्तीमा १० वटा सहुलियतपूर्ण कर्जामा लगानी गर्ने प्रावधान ल्याइएको थियो । तर त्यसको कार्यान्वयन कति भयो, कहाँ भयो, कसरी भयो, त्यसको प्रभाव कति रह्यो भन्ने विषयमा अनुसन्धान गर्न जरुरी छ ।

राष्ट्रिय वाणिज्य बैंक सहुलियतपूर्ण कर्जा वितरण गर्नेमा सबै बैंकभन्दा माथि छ तर तिनै कर्जाको अवस्था कमजोर छ । कर्जा सुरक्षण निगममा सहुलियतपूर्ण कर्जाको बिमा गरिएको भन्ने सन्दर्भमा भाखा नाघेको ५ वर्षपछि मात्र शोधभर्ना पाउने भन्ने व्यवस्थाले बैंक तथा वित्तीय संस्थालाई अप्ठ्यारो स्थिति सृजना भएको छ । तसर्थ राज्य तहबाट नै मापदण्ड बनाएर सीप, क्षमता, दक्षता अनुभव भएका ग्राहकलाई मात्र कर्जा दिने व्यवस्था गर्ने हो कि, धितो रोक्का गरेर मात्र कर्जा दिने कि, व्यवसायको विश्लेषण गरेर दिने कि वा त्यस्ता कर्जाको बिमा गरेर जोखिम बिमाबाट कभर हुने गरेर गर्ने ? ठोस निर्णय हुनु जरुरी छ ।

बैंक तथा वित्तीय संस्था : बैंक तथा वित्तीय संस्था समाजमा स्थापना हुन्छन् । सर्वसाधारण जनताको बचत रकमलाई संकलन गर्छन् अनि त्यसलाई लगानीका रूपमा परिचालन गरी प्राप्त ब्याज आम्दानी तथा अन्य शुल्क तथा कमिसनसमेत आय आर्जन गर्छन् । त्यसबाट निक्षेपको ब्याज, कार्यालय सञ्चालन खर्च, कर्मचारी खर्च, अन्य खर्चसमेत घटाएर लगानीकर्तालाई लाभांश प्रदान गर्छन् । बैंक तथा वित्तीय संस्था ग्राहकको साथी बन्न सक्नुपर्छ न कि साहु । जो व्यक्ति उद्यम गर्न चाहन्छ, उसको कामको प्रभाव समाजमा पर्न सक्छ, उपभोगमा, रोजगारीमा, आयातमा पर्न सक्छ भने त्यस्ता वर्ग, समुदाय खोजी लगानी गर्न सक्नुपर्छ । बैंक तथा वित्तीय संस्थाले साना तथा मझौला कर्जा, कृषिसँग सम्बन्धित कर्जा, पर्यटनसँग सम्बन्धित कर्जामा लगानी बढाउन सक्छन् । यस्ता क्षेत्रको पहिचान, विश्लेषण, मूल्यांकन र छनोट गर्न सक्ने क्षमता भएका कर्मचारी कर्जा लगानी विभागमा भर्ना गर्न सक्नुपर्छ । बैंक तथा वित्तीय संस्था नाफा केन्द्रित नीति बनाएर सहरकेन्द्रित भएको, ठूलठूला लगानी तथा कर्जा अधिकेन्द्रीकरण गरिएको, एउटा क्षेत्रमा लगानी गरेको कर्जाको उपयोग अर्को क्षत्रमा प्रयोग भएको समेत अनुगमन र नियन्त्रण गर्न नसकेको बैंक तथा वित्तीय संस्थाप्रति लागेको एउटा आक्षेप हो ।

सर्वसाधारण नागरिक : सर्वसाधारण नागरिक भनेको आयातित वस्तु उपभोग गर्ने वर्ग हो । उपभोग कति र कसरी गर्ने भन्ने महत्त्वपूर्ण विषय पनि हो । केही दशकअगाडि खाद्यान्न निर्यात गर्ने, लत्ताकपडा, जटीबुटी, विभिन्न किसिमका वस्तु तथा सेवा निर्यात गर्ने देश आजका दिनमा हरियो धनियाँ मात्रै पनि ठूलो धनराशि खर्च गरेर आयात गर्छ । यस्तो परिस्थितिमा नागरिक तहबाट हरेक व्यक्तिले मैले के गर्नुपर्छ र मेरो योगदान कति महत्त्वपूर्ण छ भन्ने बुझ्न जरुरी छ । सम्भव भएसम्म स्वदेशी वस्तु तथा सेवा उपभोग गर्ने बानी विकास गर्नुपर्छ । हामीले बिर्सन हुँदैन कि हिजो शरीरको एकसरो लुगा फाटेपछि मात्र अर्को नयाँ कपडा आङमा पर्थ्यो, आज घरमा कपडाको खात छ, जसको व्यवस्थापन मिलाउन हम्मेहम्मे परिरहेको छ । तर तिनै आयातित महँगा लुगाफाटा खरिद गरिरहेका छौं । नागरिकले आफ्नोतर्फबाट के गर्न सकिन्छ भनेर सोचविचार गरी गर्नुपर्ने समय आएको छ । जबसम्म नागरिकमा म पनि एक जिम्मेवार नागरिक हुँ, जहाँ मेरो भूमिकाले मात्र पनि राज्यलाई सहयोग पुग्न सक्छ भन्ने सोच विकास हुँदैन, नागरिकमा राष्ट्रप्रतिको जिम्मेवारी र कर्तव्यबोधको महसुस हुँदैन, तबसम्म देश आत्मनिर्भर हुने विषय शब्दमा मात्र सीमित हुन्छन् ।

अन्त्यमा, सरकार, बैंक तथा वित्तीय क्षेत्र र नागरिकको संयुक्त प्रयासले आयात कम गर्ने बाटाको खोजीमा लाग्न ढिला भइसकेको छ । अनावश्यक आयातित वस्तुको उपभोग कम गर्ने, स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने, उद्यमशीलता बढाई रोजगारी सृजना गर्ने कामले समग्र देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न सक्नुपर्छ । आयात खाएर उडाउनका लागि होइन, उत्पादन, रोजगारी र निर्यात बढाउनका लागि हुनुपर्छ । खाएर उडाउने आयातको प्रतिस्थापनमा सरोकारवाला सबैले भूमिका प्रभावकारी बनाउन सके देश समृद्धिको यात्रामा अगाडि बढ्न सक्छ ।

कँडेल राष्ट्रिय वाणिज्य बैंककी नायब कार्यकारी अधिकृत हुन् ।

प्रकाशित : आश्विन १२, २०८० ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?