कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

शत्रु सिद्धान्तको धङधङी

नेकपा एकीकृत समाजवादीका दुई शीर्षस्थ नेता अध्यक्ष माधव नेपाल र ‘सम्मानित’ नेता झलनाथ खनाल अब छुट्टिन्छन् कि छुट्टिँदैनन् भन्ने होइन कि, कहिले र कसरी छुट्टिन्छन् भन्ने रहस्य मात्र खुल्न बाँकी छ ।
जैनेन्द्र जीवन

नेकपा एमालेबाट फुटेर बनेको दल नेकपा एकीकृत समाजवादी (एस) का दुई शीर्षस्थ नेता अध्यक्ष माधव नेपाल र ‘सम्मानित’ नेता झलनाथ खनालबीच दल बनेको छोटो समयमै द्वन्द्व सुरु भएको छ ।

शत्रु सिद्धान्तको धङधङी

द्वन्द्वको अन्तर्य आगामी महाधिवेशनमा हुने अध्यक्षको निर्वाचनमा दुवैको आफैं अध्यक्ष निर्वाचित हुनु नै भए पनि यस्ता पदीय र व्यक्तिगत द्वन्द्वलाई सैद्धान्तिक रूप दिने कम्युनिस्टहरूको सधैंको ‘मोडस अपर्‍यान्डी’ लाई खनालले पछ्याएका छन् । हालै सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकमा नेपालले प्रस्तुत गरेका राजनीतिक प्रतिवेदनउपर उनले फरक ‘सैद्धान्तिक’ मत राखेÙ खास गरी वर्गशत्रुको किटानी, जबज र आफूहरू सम्मिलित गठबन्धनका विषयमा । उनीहरूको मतभेद धमाधम बाहिर मिडियामै आउँदै छ । पार्टीको भ्रातृ संगठन (युवा संघ नेपाल) को बैठकसमेत दुई नेताले आआफ्ना गुटका छुट्टाछुट्टै डाक्न लागेका छन् । यी सबै अवस्था पार्टीको अवश्यम्भावी फुटका पूर्वपरिदृश्य हुन् । अब दुई नेता छुट्टिन्छन् कि छुट्टिँदैनन् भन्ने होइन कि, कहिले र कसरी छुट्टिन्छन् भन्ने रहस्य मात्र खुल्न बाँकी छ । खनालका एजेन्डा र राजनीतिक धार हेर्दा महाधिवेशनमा पराजित भएमा उनले कुनै न कुनै कट्टर कम्युनिस्ट घटकसँग आफ्नो गुटको पार्टी एकता गर्ने सम्भावना बढी छ । तर ‘ससम्मान’ फर्कन पाए बलेको आगो ताप्न एमालेमै फर्कन पनि सक्छन् । खुम्चिँदै र टाक्सिँदै गएकै दल भए पनि नेकपा एसमै बसेर चाहिँ अध्यक्षमा नेपाललाई जित्ने उनको सम्भाबना क्षीण छ ।

झगडा र फुटलाई सैद्धान्तिकीकरण गर्न पारिभाषिक शब्दावलीका रूपमा ‘जार्गन’ को पनि खुबै प्रयोग गर्छन् कम्युनिस्टहरू । प्रायः गालीका रूपमा प्रयोग भएको भन्नेबाहेक ती जार्गनको खास अर्थ सर्वसाधारणले त बुझ्दैनन् नै, पार्टीका कार्यकर्तामध्ये पनि धेरैले बुझेका हुँदैनन् । त्यस्तै एउटा चल्तीको जार्गन हो— (पार्टीको) ‘वर्गशत्रु’, जसलाई औपचारिक रूपमा भन्नुपर्दा कम्युनिस्टहरू ‘समाजको प्रमुख राजनीतिक अन्तरविरोध’ भन्छन् । खनालले आफ्नो सम्भावित विद्रोहका लागि यो जार्गनलाई आफ्नो मुख्य अस्त्र बनाउने तयारी गरेको देखिन्छ । कम्युनिस्ट पार्टी भएपछि वर्गशत्रु किटान गर्नैपर्छ र त्यसको विरुद्ध केन्द्रित प्रहार निरन्तर गर्नुपर्छ भन्ने भनाइ छ उनको । ८–९ महिनादेखि आफैं सम्मिलित सत्तारूढ गठबन्धनको प्रमुख दल र आफ्नै सत्ता साझेदार नेपाली कांग्रेसलाई ‘दलाल नोकरशाही पुँजीपति वर्गको हितमा काम गर्ने सो वर्गको प्रतिनिधि दल’ भनेका छन् उनले । माधव नेपालको प्रतिवेदनमा फरक धारणा राख्दै केन्द्रीय समितिमा मात्रै होइन, कांग्रेसलाई वर्गशत्रु किट्नैपर्ने अभिव्यक्ति उनले सार्वजनिकसमेत गरिरहेका छन् । ‘व्यावहारिक’ माधव नेपाल भने यसो गर्ने पक्षमा छैनन् । वर्गशत्रु तोक्ने कम्युनिस्ट औपचारिकतालाई निर्वाहसम्म गर्ने गरी प्रतिवेदनमा यो विषयलाई डाइल्युट गरेका छन् उनले । ‘नोकरशाही पुँजीपति वर्ग वर्तमान नेपाली समाजको प्रधान अन्तरविरोध हो’ भन्ने अभिमत छ उनको । ‘तर त्यस वर्गको हितमा काम गर्ने कुनै एउटा दलमा मात्र नभई सबै दलमा हुन सक्ने हुँदा कुनै एउटा दलसँग मात्र प्रधान अन्तरविरोध छ भन्नु (अर्थात् कांग्रेसलाई मात्र वर्गशत्रु किट्नु) उपयुक्त नहुने’ कुरा उनको प्रतिवेदनमा छ ।

वास्तवमा वर्गशत्रुको अवधारणा नै आजको विश्वमा ‘आउटडेटेड’ भइसकेको छ । वर्गसंघर्ष र क्रान्तिद्वारा वैज्ञानिक समाजवाद ल्याउने क्रममा सर्वहाराको अधिनायकत्वको चरणमा पुगिने, पुग्नुपर्ने भनी मार्क्सले प्रतिपादन गरेको सिद्धान्तको कार्यान्वयनका लागि सर्वहाराको वर्गको एकदलीय शासन हुन्छ, हुनुपर्छ भनेका हुन् लेनिनले । त्यस्तो वर्गशत्रुलाई बलपूर्वक समाप्त पार्नपर्ने मान्यता लेनिनको थियो । बीसौं शताब्दीभरि अभ्यास गर्न खोजिएको कम्युनिस्ट शासनको यो मोडल फेल खाइसक्यो । यसबीच लेनिनकै देशको भोल्गामा मात्र होइन, संसारका धेरै नदीमा धेरै पानी बगिसकेको छ । आजका सबैजसो कम्युनिस्ट कथित सर्वहाराको अधिनायकवाद र एकदलीय शासन

व्यवस्थालाई छाडेर अरू दलसँग चुनावी प्रतिस्पर्धामा भाग लिँदै लोकतान्त्रिक परिपाटीको अभ्यास गरिरहेका छन् । शास्त्रीय कम्युनिस्टहरूले शासन गरेका उत्तर कोरियाजस्ता एकदुई ससाना मुलुक अपवाद होलान्, त्यो बेग्लै कुरा हो । कम्युनिस्ट पार्टीको एकदलीय शासन रहेका चीन र भियतनामजस्ता देशले पनि माओकालीन वर्गशत्रुजस्ता जार्गनलाई त्याग्दै, बिर्संदै पार्टीमा पुँजीपतिहरूलाई ठूलो संख्यामा प्रवेश गराएका छन् । र पुँजीवादी अर्थव्यवस्था अपनाउँदै चामत्कारिक आर्थिक विकास गरिरहेका छन् ।

स्वयं नेपाल र खनालसमेत रहँदाको अविभाजित एमाले (तत्कालीन एमाले) ले नै २०४६ सालमा सम्पन्न चौथो महाधिवेशनबाट प्रतिस्पर्धात्मक बहुदलीय व्यवस्था, आवधिक चुनाब, विधिको शासन लगायतका उदार लोकतन्त्रका अवधारणाहरूलाई अपनाउने लाइन लिएको थियो । माओ विचारधारालाई त्यागेको थियो । त्यसपछि २०४९ सालमा सम्पन्न पाँचौं महाधिवेशनबाट ती अवधारणालाई सूत्रबद्ध गर्दै मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज) नामको राजनीतिक कार्यदिशा अपनाएको थियो, जुन अद्यापि कायम छ । त्यही अभ्यासले नेपाल र खनालसहित उनीहरूको पार्टीका अनेकन् नेतालाई पटकपटक प्रधानमन्त्री बनाइसकेको छ । आफूलाई प्रधानमन्त्री बनाउने प्रणालीभन्दा कम्युनिस्ट बनाइराख्ने ‘आइडलजी’ प्रति निष्ठा हुने खनाल ‘मार्क्सवादका व्याख्याता’ त होलान्, तर लोकतन्त्रवादी, व्यावहारिक र सफल नेता हुन सक्दैनन् ।

उति बेला पाँचौं महाधिवेशनमै पनि जबजको विपक्षमा उभिएका खनालले अहिले पनि जबजलाई विसर्जन गर्नुपर्ने धारणा व्यक्त गरेका छन्, जसबाट उनी विप्लवले समेत छाडेर आएको एकदलीय कम्युनिस्ट शासनको एजेन्डामै फर्कन, रमाउन चाहन्छन् भन्ने आशंका हुन्छ । जबज छाडेर एकदलीय कम्युनिस्ट शासनकै वकालत गर्ने भए वर्गशत्रु तोक्नु पनि ठीकै होला । जहाँसम्म पार्टी वर्गीय हुनुपर्छ कि पर्दैन भन्ने बहस छ, आजको दुनियाँमा त्यो यस कारणले पनि असान्दर्भिक भैसक्यो कि पुँजीवादले गरेको विकाससँगै घटेको गरिबी, बढेको सम्पन्नता र खास गरी मध्यम वर्गको तीव्र विस्तारले संसारैभरि राजनीति र समाज सबै बहुवर्गीय भैसके । कम्युनिस्टहरूले पनि सबै वर्गको मत र हितको सम्मान गर्ने, पार्टीलाई ‘ब्रोड बेस्ड’ बनाउने, प्रतिस्पर्धात्मक चुनावबाट सत्तामा जाने र त्यही प्रक्रियाबाट शान्तिपूर्वक सत्ताबाट बाहिरिने प्रणाली अपनाइसके । अब यस्तोमा प्रधान वर्गशत्रु किटेर त्यसउपर ‘प्रहार’ केन्द्रित गर्ने खनालको जिद्दीलाई पार्टी फुटाउने हदसम्मको मुद्दा बनाउनु भनेको कि त आफ्नो महत्त्वाकांक्षा र राजनीतिक स्वार्थको सैद्धान्तिकीकरणको प्रयास हो कि ओखती नभएको ‘डग्म्याटिक माइन्डसेट’ ।

कम्युनिस्टहरू सिद्धान्त घोक्छन, घोकाउँछन् । सिद्धान्त बुझाउने जार्गन घोक्छन्, घोकाउँछन् । सिद्धान्तकै काल्पनिकीमा बाँच्छन्, रमाउँछन् । ३४ वर्षपूर्वको चौथो महाधिवेशनले गरेको वैचारिक छलाङलाई ३१ वर्षपूर्वको पाँचौं महाधिवेशनले संस्थागत गरिसकेपछि पनि ती कुनैसँग ‘कम्प्याटिबल’ नहुने जार्गन रटिरहन्छन् । किनकि यो उनीहरूका प्राधिकार लेनिनले भनेको कुरा हो, अतः ब्रह्मवाक्य हो । नेपाल र खनालको दल सम्मिलित संविधानसभाले बनाएर हाल कायम रहेको नेपालको संविधानले एकदलीय व्यवस्थालाई नकारेको छ । कांग्रेस, एमाले, माओवादी, अरू थरीथरीका कम्युनिस्ट दल, मधेशकेन्द्रित दलहरू, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायत थुप्रै दलले संसद्मा जनताको प्रतिनिधित्व गरिरहेका छन्, जसको विचारधारा, एजेन्डा, राजनीतिक स्पेस, पृष्ठभूमि भिन्न छन् । तर उनीहरूमध्ये सबैजसोको साझा कुरा एउटा छ । त्यो के भने, उनीहरू सबको जनाधार, मताधार र सदस्यता बहुवर्गीय छ, यहाँसम्म कि, एमाले र एसजस्ता कम्युनिस्ट दलको पनि । त्यसैले वर्गशत्रु किटानीको राजनीति वैधानिक र राजनीतिक दुवै हिसाबले एउटा असम्भव सपना र काल्पनिकी मात्र हो ।

अन्त्यमा, केही प्रश्न खनाललाई— कांग्रेसलाई यदि वर्गशत्रु तोक्नु नै थियो भने कांग्रेसको सबभन्दा ठूलो प्रतिपर्धी दल एमालेबाट फुटेर किन आएको ? त्यहीँ बसेर शत्रुता धेरै साध्न पाइन्थ्यो होला नि कांग्रेससँग ? अनि यतिका समयदेखि त्यही वर्गशत्रु कांग्रेससँग ‘जुनियर पार्टनर’ का रूपमा गठबन्धन गरेर किन र कुन नैतिकताले सत्ता साझेदारी गरिरहेको ? कांग्रेस वर्गशत्रु भएपछि उसलाई शत्रु मान्ने कम्युनिस्ट मात्र होइन, अरू उग्र दक्षिणपन्थीहरू पनि खनालका लागि त मित्रशक्ति भएÙ के त्यसै हो ? सत्तास्वार्थ र राजनीतिक फाइदाका लागि जोसँग पनि मिल्ने र जोसँग पनि फुट्ने, छुट्टिने भए कुनै पनि दल वा शक्तिलाई वर्गशत्रु तोक्नुपर्ने संगति, अर्थ र प्रयोजनचाहिँ के ?

प्रकाशित : भाद्र २२, २०८० ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?