कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

‘नवनायक’ हरूको ताउरमाउर

परीक्षण हुँदै गरेका नवोदित नेताहरूले जोसजाँगर कायम राख्दै आवेग र अहंको सही व्यवस्थापन गर्न सके मात्रै त्यसले बिथोलिएको राजनीतिलाई सन्मार्गमा ल्याउने भूमिका खेल्न सक्छ । अन्यथा चुरीफुरी, आवेग र आलाकाँचा गतिविधिले राजनीति थप गिजोलिएर अस्थिरता अनि अराजकतातर्फ घचेटिन सक्छ ।
राजाराम गौतम

'एउटा दुःखी देशले नायकको खाँचो बोध गर्छ ।’ प्रख्यात जर्मन साहित्यशिल्पी बर्तोल्त ब्रेख्तको नाटक ‘लाइफ अफ ग्यालिलियो’ मा प्रयुक्त यी शब्दहरूले कहीँ न कहीँ नेपाली समाजको चरित्रलाई पनि बयान गर्छन् । नेपाली समाज सदैव एउटा नायकको खोजीमा हुन्छ । यहाँ नायक बन्ने र बनाउने दौडधुप चलिरहन्छ । जस्तो कि, यो समय चलिरहेको छ ।
यति बेला सिङ्गो नेपाली समाजमा निराशा, आक्रोश र चरम असन्तुष्टि व्याप्त छ । यो आक्रोश र असन्तुष्टिको सुई कुनै बखत समाजले नै ‘नायक’ करार गरेका नेताहरूप्रति लक्षित छ । जनताका आशा, अपेक्षा र भरोसामा खरो उत्रन नसकेका पुराना ‘नायक’ हरू अब आम असन्तुष्टि र निराशामा कतै पुरिँदै छन् । र, त्यही आक्रोशको जगमा नयाँ ‘नायक’ हरू जन्मिँदै छन् । अर्थात्, नेपाली राजनीतिका ‘आइकन’ हरू फेरिँदै छन् ।

‘नवनायक’ हरूको ताउरमाउर

हिजो त्याग, संघर्ष, समर्पण, विचार, मूल्य, आदर्शका आधारमा ‘आइकन’ हरू जन्मिन्थे । आज त्यो आधार भत्किँदै गएको छ । आज सामाजिक सञ्जालहरूले ‘आइकन’ हरू निर्माण–विनिर्माण गर्छन् । सामाजिक सञ्जालहरू जनमत निर्माणका बलिया स्रोत हुन् । यी स्रोतहरूले प्रियतावादी राजनीति फस्टाउनमा मलजल गर्न थालेका छन् ।

सञ्जालहरूमा पोखिएका मत–अभिमतका आधारमा यति बेला चर्चाको चुलीमा छन् ः धरानका मेयर हर्कराज राई (साम्पाङ), काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने । यी पात्रहरूप्रतिको सञ्जाल आकर्षण र मोह देख्दा लाग्छ, यति बेला नेपाली राजनीतिका सर्वाधिक शक्तिशाली पात्र यिनै हुन् ।

प्रियतावादी राजनीतिको लाममा ज्ञानेन्द्र शाही, राजेन्द्र लिङ्देन, सीके राउत लगायत अरू पनि पछि–पछि लाग्दै गरेका पात्रहरू छन् । यद्यपि, अहिले हर्क, बालेन र रविप्रतिको आकर्षण अलि बढी नै छ । लोकप्रिय राजनीतिको सिँढी चढ्दै गरेका यी पात्रका कतिपय बोली र व्यवहारले राष्ट्रिय मात्रै होइन, अन्तर्राष्ट्रिय क्षेत्रको समेत ध्यान खिच्न थालेका छन् । जुन रफ्तारमा यी नेताहरूको प्रभाव र समर्थनको दायरा फराकिलो हुँदै छ र जुन स्तरमा यीभित्र जागृत महत्त्वाकांक्षाको वृक्ष बढ्दै छ, राष्ट्रिय राजनीतिमा यी बेवास्ता गर्न नमिल्ने हैसियतमा उक्लिएका छन् । यी नेताका बोली, व्यवहार अनि हरेक गतिविधि राष्ट्रिय विमर्शका विषय बन्नुले यसको पुष्टि गर्छ ।

के धूमिल हुँदै गएको नेपाली राजनीतिमा यी पात्रको उपस्थितिले सुधारका नयाँ मानकहरू निर्माण होलान् ? पटक–पटकको राजनीतिक आन्दोलनबाट खारिएको नेतृत्वले पूरा गर्न नसकेको जनअपेक्षा यी ‘आलाकाँचा’ नेताले पूरा गर्लान् ? यी पात्रहरूका गतिविधि र कर्म ‘नयाँ जोगीले धेरै खरानी घसे’ जस्तो मात्रै होला कि यी साँच्चिकै नेपाली समाजका ‘मुक्तिदाता’ साबित होलान् ? अथवा, यिनका अपरिपक्व र आवेगपूर्ण व्यवहारले राजनीति थप अराजक र अस्थिर त हुने होइन ? यस पटकको यो स्तम्भ यी केही प्रश्नसहित सञ्जालमा उदाएका ‘नवनायक’ हरूमा समर्पित छ ।

सुरु गरौं ‘पानी मान्छे’ अर्थात् साम्पाङको प्रशंसाबाट । कोकाहा खोलाबाट धरानमा खानेपानी ल्याएर साम्पाङले स्याबासीलायक काम गरेका छन् । खानेपानीबाट कति धरानवासी लाभान्वित भए, खर्च र उपलब्धिहरूको सामाजिक लेखाजोखा होला नै, तर चुनावअघिदेखि नै उनले खानेपानी ल्याउने जुन प्रतिबद्धता र अठोट गरेका थिए, अनि जसरी उनी यो अभियानमा डटे, सफलता र जसका हकदार उनै हुन् । निर्वाचित जनप्रतिनिधिले श्रम, जनता र माटोसँग जोडिएर के–कसरी काम गर्नुपर्छ भन्ने कुराको एउटा उदाहरण नै बने उनी । खासमा, अरू स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरूका लागि यति बेलाका साम्पाङ एउटा प्रेरणा हुन् ।

तर, उनको व्यक्तित्वको अर्को पाटो पनि छ । सामाजिक सञ्जालमार्फत उनले व्यक्त गर्ने गालीगलौजले चाहिँ उनकै मर्यादा र कामको अवमूल्यन गरिरहेको हुन्छ । उनी निर्भीक र निडर देखिन खोज्छन् । त्यो राम्रो हो । तर, अदालतको परिसरमै अल्लारे शैलीमा ‘सिङ्गल सिङ्गल भिडौं’ भन्ने उनको बोलीले कता–कता प्रश्न उठ्छ, के यो बोली विकासप्रेमी भनिएका उनै मेयरको हो ?

साम्पाङको अर्को विशेषता हो— गीतसंगीतमा लगाव । संगीतमा उनी सृजनात्मक लाग्छन् । उनी गीतसंगीतबाटै कतिपय सन्देश प्रेषित गर्छन् तर उनले बुझ्नुपर्छ, ती ‘गाली संगीत’ ले क्षणिक आवेग र प्रतिक्रियालाई शान्त पार्लान्, सामाजिक सञ्जाल खपतकर्ताहरूले मनोरञ्जन लिँदै वाहवाही पनि गर्लान् तर ती ‘कालजयी’ होइनन् । बरु ती उनको बन्दै गरेको छवि धुमिल्याउने ‘काल’ साबित हुनेछन् ।

साम्पाङले असन्तुष्टि पोखेझैं निश्चय पनि हाम्रो न्याय प्रणाली सुस्त छ । अख्तियार ‘लुरे’ छ । राजनीति कलुषित छ । तर, यी सबैलाई ठाउँमा ल्याउनका लागि नै जिम्मेवार राजनीतिक नेतृत्व चाहिएको हो । त्यसैले सञ्जालको सस्तो लोकप्रियतामा रमाउने कि जिम्मेवार बन्ने ? काम गर्ने हुटहुटी भएका साम्पाङले नेतृत्वदायी भूमिकामा बसेपछि असहमत र असन्तुष्टहरूलाई पनि मिलाएर लैजान सक्नुपर्छ । जेमा पनि प्रतिक्रिया गर्ने र सामाजिक सञ्जालमा गालीगलौजमा उत्रिँदा अन्ततः त्यो सस्तो लोकप्रियता हासिल गर्ने माध्यममा सीमित हुनेछ । उनले बिर्सन हुन्न, अहंकार र आत्मविश्वासबीच मसिनो सीमारेखा मात्रै कोरिएको हुन्छ । कतै उनले आफूलाई अति आत्मविश्वासी देखाइरहँदा अहंकार प्रस्फुटन गरिरहेका त छैनन् ?

साम्पाङसामु उठेको यो प्रश्न काठमाडौंका मेयर बालेन शाहका हकमा पनि उठ्छ । साम्पाङ र शाह फरक पृष्ठभूमिबाट आएका नेता हुन्, यद्यपि केही पक्षमा यीबीच समानता देखिन्छ । यी दुवैमा काम गर्ने हुटहुटी छ । सबैभन्दा ठूलो कुरो, अधिकांश राजनीतिक नेतृत्व भ्रष्टाचार र कुशासनमा लिप्त भएका बेला अहिलेसम्म यी दुवैको छवि स्वच्छ नै छ । दुवैको यो ठूलो नैतिक बल हो । तर, आवेगपूर्ण व्यवहार र प्रतिक्रिया गरिहाल्ने यी नेताको दुर्बल चरित्र पनि सतहमै देखिन्छ । बालेन यसमा अझ

अगाडि छन् । सामाजिक सञ्जालमार्फत उनले गर्ने अधिकांश टिप्पणीले विवाद सृजना गर्ने गर्छन् । एक पटक उनले लेखे, ‘सिंहदरबारको

फोहोर उठ्दैन । साँच्चिकै देश सफा गर्नुपरे, त्यहाँका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ ।’ अर्को पटक लेखे, ‘नयाँ पुराना सबै नेता चोर हुन् । कसैलाई देशको माया छैन ।’ उनका यस्ता आवेगपूर्ण अभिव्यक्ति आपत्तिजनक र अराजक मात्रै छैनन्, पदीय मर्यादा र गरिमाको बर्खिलाफसमेत छन् ।

बालेन काठमाडौं महानगरको ‘नगरपिता’ भएको एक वर्ष कट्यो । यसबीच उनले केही सुधारका कामहरू गरेका छन् । बेसमेन्ट पार्किङ व्यवस्थापन, विपन्न नागरिकका छात्रवृत्ति/छुट/सुविधाहरूलाई लिएर शिक्षा र स्वास्थ्यसँग जोडिएका सुधारात्मक पहलहरू, फोहोरको अस्थायी व्यवस्थापन, अनलाइनबाटै सेवाग्राहीले सुविधा लिन सक्ने डिजिटल प्रणालीको विकास, कतिपय अनधिकृत घरटहरा भत्काउने लगायतका प्रशंसनीय काम गरेका छन् । तर, टुकुचा उत्खनन, सुकुम्बासी बस्तीमा डोजर चलाउने, फुटपाथ व्यापारीको वैकल्पिक व्यवस्था नगरी तीप्रतिका निर्मम व्यवहारजस्ता उनका अपरिपक्व र गृहकार्यबिनै थालिएका आवेगपूर्ण कामहरू आलोच्य रहे ।

त्यसमाथि कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा राख्ने र भारतीय फिल्म चल्न नदिने ‘फरमान’ ले उनलाई थप आलोचित बनायो । भारतको सांस्कृतिक अतिक्रमणविरुद्ध सांकेतिक विरोधमा उत्रिए भन्दै सञ्जालका समर्थकहरूले उनका यी कदमको खुलेर प्रशंसा गरे । तर, यथार्थमा उनका यी कदम पनि अपरिपक्व, आवेग र प्रियतावादी राजनीतिमा रमाउने सन्दर्भबाटै प्रेरित छन् । सरकारले ‘कूटनीतिक नोट’ मार्फत भारतसँग यी सन्दर्भहरूमा उसको पोजिसन सोध्नुपर्थ्यो, त्यो सकेन । प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रमणका दौरान मुद्दा उठाउन नसकेर निरीहता देखाएकै हुन् । यसो भनिरहँदा पनि यी संवेदनशील विषयलाई सस्तो लोकप्रियताको औजार बनाउने मनसायलाई उचित ठहर्‍याउन सकिँदैन । भारतीय हैकम र थिचोमिचोबाट त्राण पाउन कूटनीतिक तहबाटै समाधान खोज्न बलियो राजनीतिक नेतृत्व र उसको इच्छाशक्ति चाहिन्छ । भारतको सांस्कृतिक अतिक्रमणविरुद्ध नेपालका कम्युनिस्टहरूले कम विरोध गरेका थिए र ? सुरुङ युद्धको घोषणा गर्दै भारतीय विस्तारवादको मुद्दामा राजनीतिक रोटी सेक्नेहरू आज गेरु वस्त्र धारण गरेर विदेशी प्रभुको भक्तिभावमा तल्लीन छन् । त्यस अर्थमा कूटनीतिकस्तरबाट समाधान खोजिनुपर्ने विषयलाई सस्तो लोकप्रियताको औजार बनाउँदा वाहवाही त पाइन्छ तर त्यसले कुनै निष्कर्ष दिदैन । सारमा, यति बेलासम्मका बालेनको नियतमा शंका गर्न मिल्दैन, यद्यपि ‘दबंग मेयर’ को छवि बनाउँदै बढेका उनको ‘र्‍यापर एटिच्युड’ त्याग्न नसक्नुचाहिँ ठूलै कमजोरी हो ।

प्रियतावादमा रमाइरहेका अर्का पात्र हुन्, रवि लामिछाने, जो बालेनबाटै प्रेरित हुँदै हतारिएर राजनीतिमा आएका छन् । चर्चित टेलिभिजन पत्रकारको छवि बनाएका रवि राजनीतिमा आउनेबारे सोच्दै थिए, कांग्रेस–एमालेजस्ता पुराना दलहरूबाट ‘ल्याट्रल इन्ट्री’ का उपायहरू खोज्दै थिए, स्थानीय तह निर्वाचनमा बालेनको जितले उनलाई राजनीतिमा हामफाल्न ढिलो गर्न नहुने सन्देश दियो । त्यसमाथि श्रीमती निकिताले हौस्याएपछि हतारहतार राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेर एकदुई महिनामै उनी उपप्रधान तथा गृहमन्त्रीको कुर्सीमा पुगे । टीभीमा लगातार बहत्तर घण्टा बोलेर विश्व रेकर्ड कायम गरेका रविको यो पनि चानचुने रेकर्ड थिएन । यद्यपि, अवैध नागरिकता र पासपोर्ट दुरुपयोगको आरोप लागेका रवि अदालतबाटै दोषी करार भए र छोटो अवधिमै सत्ताच्युत हुन पुगे ।

यी घटनाक्रमबाट रविलाई राजनीतिक लाभ नै पुग्यो । यसबीच उनमा देखिएको विचलन र आवेगका बावजुद दोस्रो पटक भारी मतले जनअनुमोदित भएर संसद् पुगे । गुमेको गृहको विरासत प्राप्त गर्ने प्रयत्न गरे, त्यो नसकेपछि अहिले उनी ‘रचनात्मक प्रतिपक्ष’ को भूमिकामा छन् । उनका संसद्का प्रस्तुतिहरूले आम मानिसलाई रोमाञ्चित नै पार्छन् । मान्छेहरू उनले के बोल्छन् भनेर कुर्न थालेका छन् । उनी पनि निराश मान्छेहरू के सुन्न चाहन्छन्, त्यही बोलिदिन्छन् । शनिबार मात्रै उनले भने, ‘मान्छेहरू हाम्रो पार्टीको विचार छैन भन्छन् । हामी विचारको कुरा पछि गर्दै गरौंला, अहिले हाम्रो विचार भएभरका भ्रष्टलाई जेल कोच्ने हो ।’

खासमा यति बेला रवि नेतृत्वको पार्टीले जुन अपार समर्थन पाइरहेको छ, त्यो हेर्दा यो त्यसको मान राख्न आफ्ना नीति–कार्यक्रमहरू तय गर्ने, संगठनलाई आकार दिने बेला हो । ‘सर्टकट’ बाटोबाट सत्तामा पुगिहाल्ने कि राजनीतिमार्फत साँच्चिकै लोककल्याणमा जुट्ने ? उनले गम खानुपर्ने प्रश्न हो यो । केहीकेही भ्रष्ट त अहिले पनि जेलमा कोचिन थालेका छन् । बरु, ‘स्टन्ट’ हरूलाई कम प्राथमिकता दिँदै थप भ्रष्टहरूको पहिचान गर्न संसद्बाटै दबाब सृजना गर्नेतिर लाग्ने हो कि ?

सत्तामा पुग्न हतारिएको देखिने गरी लामिछानेले प्रियतावादी बाटो नै राजेका छन् । संसद्देखि सार्वजनिक वृत्तसम्ममा उनले कुलीनतन्त्रविरोधी राजनीतिक रणनीति अख्तियार गरेका छन्, जो लोकप्रियतावाद हो । जनसाधारणलाई सपना बाँड्ने, कुलीनतन्त्रको चर्को विरोध गर्ने लोकप्रियतावादीहरूको अन्तर्यमा सत्तामा कसरी पुग्ने भन्ने आकांक्षा लुकेको हुन्छ । तिनले अरू सबैलाई अयोग्य र भ्रष्ट देख्छन् अनि आफैं मात्र देश बनाउन योग्य र सक्षम रहेको भन्ठान्छन् । उनीहरूलाई लाग्छ, यो तिनको आत्मविश्वास हो । तर, दुनियाँले यहीँनेर अहंकार देख्छ ।

बालेन र साम्पाङझैं लामिछानेका लागि पनि अहं व्यवस्थापन ठूलो चुनौती हो । प्रियतावादमा रमाउँदै जाँदा नै अहंकार र स्वेच्छाचारिता बढ्ने हो भन्ने दृष्टान्त पुराना ‘नायक’ हरूको स्खलित छविले पनि देखाइसकेकै छ । त्यसकारण, केही गरौं भन्ने हुटहुटी पालेका ‘नवनायक’ हरू यहीँनेर सम्हालिनु आवश्यक छ । परीक्षण हुँदै गरेका यी नवोदित नेताहरूले जोसजाँगर कायम राख्दै आवेग र अहंको सही व्यवस्थापन गर्न सके मात्रै त्यसले बिथोलिएको राजनीतिलाई सन्मार्गमा ल्याउने भूमिका खेल्न सक्छ । अन्यथा चुरीफुरी, आवेग र आलाकाँचा गतिविधिले राजनीति थप गिजोजिएर अस्थिरता अनि अराजकतातर्फ घचेटिन सक्छ ।

त्यसो हुँदा हाम्रो नियति ब्रेख्तले भनेझैं ‘नायक खोज्ने दुःखी देश’ मै सीमित हुनेछ । के हामी नायकहरूप्रति गर्व गर्ने समृद्ध देश बन्न सक्दैनौं ?

प्रकाशित : असार ४, २०८० ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?