२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

देशमा चाहिएको सुधार

देशको समग्र राजनीतिक भविष्यको आकलन गर्नु त्यति सरल छैन । एकातर्फ युवाहरूको जबर्जस्त राजनीति प्रवेशबाट आशाका नयाँ किरण देखिएका छन् तर हाललाई सरकार बने पनि संसद्को अंकगणितले भने अनिश्चितता र अस्थिरतातर्फ संकेत गरेको छ ।

देशमा चाहिएको सुधार

अनिश्चित र अस्थिर राजनीतिले हाम्रो कहिल्यै नटुंगिने संक्रमणकालीन समाजको समग्र राजनीतिक, आर्थिक, सामाजिक, अन्तर्राष्ट्रिय सम्बन्धलाई कता पुर्‍याउला ? यस्तो स्थितिमा संक्रमणका प्राप्तिहरूलाई संस्थागत गर्दै जनताका पीडा कम गर्नेतर्फ राजनीति केन्द्रित होला ? के अब नेतृत्वको ध्यान आम नेपालीको अवस्था परिवर्तनतर्फ केन्द्रित हुन सक्ला, अन्यायमा परेकाको आँसु पुछ्ने र द्वन्द्वका घाउमा मलम लगाउनेतर्फ ध्यान जाला ? डामाडोल स्थितितर्फ उन्मुख अर्थ व्यवस्था, बिदेसिन बाध्य युवाको स्थितिमा सुधार, देशको बिग्रँदो अन्तर्राष्ट्रिय छवि र छिमेकीसँगको सीमा समस्या समाधानतर्फ एकजुट भएर लाग्ने वातावरण निर्माण होला ?

राजनीतिको खेल मूलतः तत्कालका प्रमुख खेलाडीहरू वरिपरि (पक्ष–विपक्षमा) घुम्ने गर्छन् । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र र तिनका नेता शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल नै आजका प्रमुख खेलाडी (राजनीतिक शक्ति) हुन् । दाहाल त प्रधानमन्त्री नै बनेका छन् ।

परम्परागत दलहरूको उपस्थितिका अतिरिक्त टेलिभिजन/सञ्चारकर्मीबाट राजनीतिमा होमिएका रवि लामिछाने र उनको राष्ट्रिय स्वतन्त्र पार्टीको अभूतपूर्व सफलता निर्वाचनको सर्वाधिक चाखको विषय हो । अहिले रवि त उपप्रधानसहित गृहमन्त्री नै बन्न पुगेका छन् । चन्द्रकान्त राउत र उनको जनमत पार्टी, जेलमा रहेका रेशमलाल चौधरीको नागरिक उन्मुक्ति पार्टीका उदयले के संकेत गर्छन् ? रवि अलि बढी समय र तयारीका साथ निर्वाचनमा गएका भए के हुन्थ्यो ? अरू स्वतन्त्रहरूले पनि भोलि सँगै मिलेर चुनाव लडे के असर पर्छ ? स्थापित शक्ति र तिनका नेताले अब पनि यी यस्ता प्रश्नहरूको जवाफ नखोज्ने हो भने यो निर्वाचनमा आएको बाढी अर्को चुनावमा भीषण सुनामी नबन्ला भन्न सकिन्न ।

‘शक्तिराष्ट्रको उदय र पतन’ जस्ता धेरै प्रख्यात पुस्तकका लेखक इतिहासकार पौल केनेडीले, मेरो विचारमा सर्वाधिक चाखलाग्दो कृति, ‘२१ औं शताब्दीका लागि तयारी’ मा संक्रमणउन्मुख समाजमा परिवर्तन व्यवस्थापनका चुनौतीबारे चर्चा गरेका छन् । देशमा दूरगामी खालका राजनीतिक परिवर्तन ल्याउन सफल तर तिनको सही व्यवस्थापन गर्न असफल राजनीतिक नेताका कारण लामो इतिहास भएको नेपाल कतै दैवी शक्तिबाट लोकतन्त्र, परम्पराबाट आधुनिकता, ग्रामीण कृषिप्रधानताबाट सहरी विकास, बाह्य सम्बन्धविहीनताबाट विस्तारको जटिल संक्रमणमा हराउन लागेको त हैन ? यो कठिन र चुनौतीपूर्ण संक्रमणपथमा राप्रपाले प्रतिनिधिसभामा १ सिटबाट अहिले प्रत्यक्ष र समानुपातिक गरी कुल १४ सिट जित्नु नेपाली राजनीतिक परिदृश्यमा अर्को महत्त्वपूर्ण पाटो हो । राप्रपाले प्रस्ट रूपमा वर्तमान संविधानका तीन प्रमुख आधारस्तम्भ गणतन्त्र, धर्मनिरपेक्षता र संघीयतामा विमति राखेको छ । घोषित हिन्दु राजतन्त्रवादी राप्रपा प्रमुख राजेन्द्र लिङ्देनको वर्तमान संविधान निमाणका हस्तीमध्ये एक नेपाली कांग्रेसका कृष्ण सिटौलाविरुद्धको जित, दीपक बोहराको पदासीन गृहमन्त्रीविरुद्धको जित, रवीन्द्र मिश्रको नेपाली कांग्रेसका हस्ती प्रकाशमान सिंहसँग झिनो मतान्तरको पराजयले के संकेत गर्छन् ? वर्तमान सरकारलाई समर्थन गरेको राप्रपा उही शक्ति/सत्ताकै राजनीतिमा रमाउला कि संविधानका आधारस्तम्भसँगै मेल नखाने घोषित विचार, सिद्धान्त र योजनामा अडिग राजनीतिलाई अगाडि बढाउला ? यसले भविष्यको नेपाली राजनीतिलाई कस्तो असर गर्ला ?

अत्यावश्यक सुधार

धेरै अनिश्चितताबीच रास्वपा, राप्रपा, राजपा, नाउपा र स्वतन्त्र उम्मेदवारहरूलाई जिताएर मतदाताले प्रमुख पार्टी र तिनका नेतृत्वलाई प्रस्ट सन्देश दिएका छन्- आजसम्मको परिवर्तनको प्राप्तिको श्रेय र पीडाको दोष तिमीहरूकै हो र अब प्राप्तिलाई संस्थागत गर्दै पीडा कम गर्ने, अवस्था परिवर्तन गर्ने, लामो समय अन्यायमा परेकाको आँसु पुछ्ने र द्वन्द्वका घाउमा मल्हम लगाउने मूल दायित्व पनि तिमीहरूकै हो । नेताहरूमा रहेको ‘हामीले जे गरे पनि चल्छ’ भन्ने पारा अब चल्दैन । त्यसैले तलका विषयमा सुधार अवश्यक छ-

  • संघीयताको स्वरूप छरितो र आर्थिक स्थितिले धान्न सक्ने बनाउने
  • सुशासन र कार्यदक्षताका निम्ति कार्यकारी र विधायिकाबीच भिन्नता कायम राख्ने
  • राज्यका संयन्त्रहरूको अधोगति रोक्न अति राजनीतीकरण र चरम जागिरीकरणको अन्त्य गर्ने
  • पुरस्कार र दण्डको सुसंस्कृति निर्माण गर्दै व्यवस्था परिवर्तनलाई मुलुक र जनताको अवस्था परिवर्तनतिर लैजान आर्थिक समृद्धि र सामाजिक न्यायको सुदृढीकरण गर्ने
  • प्रविधिका कारण भौतिक र आर्थिक हिसाबले विश्वव्यापीकरण भए पनि विश्व अर्थ–राजनीति र रणनीतिक व्यवस्थामा अहिले पनि ‘जब राष्ट्रिय हित र स्वार्थको प्रश्न आउँछ तब परम मित्रले समेत पहिले आफ्नै हित र स्वार्थ खोज्छ’ भन्ने कुरा बुझ्ने र व्यवहार गर्ने एवं अन्तर्राष्ट्रिय सम्बन्ध, विदेशनीति र प्रभावकारी कूटनीतिमा जोड दिने ।

आजको नेपालको मूल समस्या व्यवस्था होइन, नेतृत्वका आचरण, व्यवहार र त्यसले सृजना गरेका निराशा, आक्रोश र अविश्वास हुन् । तसर्थ माथि उल्लिखित सुधार संविधानभित्रैबाट खोज्ने यो अन्तिम अवसर हुन सक्छ । यथास्थिति नै रहे अर्को निर्वाचनमा संविधानमाथि नै प्रश्न उठी गैरसंवैधानिक कोर्स करेक्सन ठूलो मुद्दा हुन सक्छ । त्यसो भएमा देश अर्को ठूलो संक्रमणमा फस्ने खतरा छ ।

पुनः परीक्षाको घडी

बहुदलीय लोकतन्त्रमा दलहरू नै राजनीतिका प्रमुख सञ्चालक हुन् । पार्टीहरू राम्रो भए मात्र राजनीति राम्रो हुन्छ । राम्रा पार्टीहरू सही विचार–दर्शन र सिद्धान्तका वरिपरि निर्माण हुन्छन् । दूरदर्शी, त्यागी, इमानदार र निष्ठावान् नेतृत्वले ती विचार प्रस्टसँग प्रस्तुत गर्न एवं कार्यकर्तालाई संगठित, एकताबद्ध र अनुशासित बनाउन सक्छन् र जनतालाई विश्वासमा लिन्छन् । कार्यकर्ताले नेताका विचार आम जनतासम्म पुर्‍याउने, पार्टीका नीति र कार्ययोजना लागू गर्न र जनता गोलबन्द गर्न समर्थन जुटाउने गर्छन् । त्यो सबका लागि बलियो संगठन र स्रोतसाधन आवश्यक पर्छ ।

लामो र गौरवशाली इतिहास भएका, देशमा लोकतन्त्रको ध्वजावाहक, त्याग र बलिदान गरेका, बारम्बार जनताले विश्वास गरेका, देशका वडा–वडा टोल–टोलसम्म संगठन र १० औं लाख कार्यकर्ता/सदस्य भएका पुराना स्थापित पार्टी र तिनका नेतृत्व किन असफलजस्ता देखिएका छन् ? किन जनता, खास गरी युवा पुस्ता, मूलधारका पार्टीहरूसँग रुष्ट छन् ? राज्यसत्ता सञ्चालनमा अनुभव नभएका नयाँ पुस्तालाई कुनै पुरानो ट्र्याक रेकर्डबिना, खालि पुरानालाई आलोचना गर्दैमा जनताले किन यति ठूलो भरोसा र विश्वास गरेका हुन् ? के तिनले राम्रो पार्टी निर्माण गर्न र सुशासन दिन, जटिल रूपमा जकडिएर रहेको कर्मचारीतन्त्र र बाह्य चासो, प्रभाव र दबाबको सही व्यवस्थापन गर्न आवश्यक बुद्धि, विवेक, साहस जुटाई राष्ट्रिय हित प्रवर्द्धन गर्न सक्लान् ? यी सब चुनौतीबीच जो अहिले पनि प्रमुख शक्ति र पात्रका रूपमा स्थापित छन्, तिनले सही पाठ सिकी आफूलाई सुधार्लान् ?

ठूलो राजनीतिक संक्रमण (क्रान्ति, आन्दोलन) लाई बाहिर देखिने घटनाक्रमका आधारमा बुझिन्छ र प्रमुख पात्रहरू चिनिन्छन् । तर भित्री यथार्थ के र कस्ता हुन्छन्, तिनले व्यक्ति, परिवार र समग्र समाजलाई कसरी असर गर्छन् ? हाम्रोजस्तो अर्काका विचारबाट प्रेरित र उद्देश्यका निम्ति पनि पात्रहरू निर्माण हुने सतही भेलमा बग्ने समाजमा अबको नेपालीको नियति र नेपालको गन्तव्य कसरी कोर्ने ?

गहन विषयमा ध्यान नदिने, भावी पुस्ताका लागि राम्रो पद्धति र सही परम्परा निर्माणमा भन्दा खालि तात्कालिक सत्ता र शक्तिको खेलमा रमाउने नेतृत्वको भुत्तेबुद्धिका कारण लामो समयदेखि आम नेपाली संक्रमणका केही प्राप्ति ठूला पीडामा पिल्सिन बाध्य छन् । अब पनि संक्रमणको सही व्यवस्थापन गर्दै प्राप्तिहरूको रक्षा र जनताका पीडा कम गरी सार्वभौम, स्वतन्त्र, समृद्ध, शान्तिपूर्ण र लोकतान्त्रिक मुलुक निर्माणका वाचा पूर्ण गर्नतर्फ नलाग्ने र अर्को संक्रमणको भुमरीमा देशलाई फसाउने हो भने हिमालको दक्षिण भागमा अवस्थित आजको विश्व अर्थ–राजनीति र रणनीतिको केन्द्रविन्दुमध्ये एक नेपालको हाल के होला ?

प्रकाशित : पुस १३, २०७९ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?