२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

सवारी दुर्घटना कम गर्न सचेतना

बालकृष्ण साह

केहीअघि काठमाडौंबाट रुकुमकोट गइरहेको बस भूमे गाउँपालिकामा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको थियो, १२ जना घाइते भए । गत साता काभ्रेको बेथानचोकमा बस दुर्घटना हुँदा १७ जनाले ज्यान गुमाए, मकवानपुरको भीमफेदी गाउँपालिकामा पनि सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भयो । दुईपांग्रे सवारीसाधन दुर्घटनाका खबर पनि दिनहुँ आइरहन्छ । सवारी दुर्घटना नेपालको मुख्य समस्या बनिरहेको यस्ता घटनाले पुष्टि गर्छ । 

सवारी दुर्घटना कम गर्न सचेतना

विश्व स्वास्थ्य संघको अघिल्लो वर्षको एक प्रतिवेदनले नेपालमा अकाल मृत्यु र अपांगताको मुख्य कारण सवारी दुर्घटना भएको औंल्याएको छ । प्रतिवेदन अनुसार विश्वभरि प्रत्येक बर्ष १३ लाख मानिसको सडक दुर्घटनाका कारण मृत्यु तथा ५ करोड घाइते हुने गरेका छन् । सडक दुर्घटनाको कुल संख्याको ९३ प्रतिशत दुर्घटना कम तथा मध्यम आय भएका मुलुकहरूमा हुने गरेको र त्यसमा मृत्यु हुनेहरू अधिंकाशका उमेर ३० वर्षभन्दा कम उमेरको हुने पनि प्रतिवेदनमा छ ।

नेपाल प्रहरीका अनुसार सडक दुर्घटनामा परी पछिल्लो ५ वर्षमा १३ हजार ८१ जनाले ज्यान गुमाएका छन्, ३५ हजार बढी व्यक्ति गम्भीर घाइते भए । आर्थिक वर्ष २०७५/७६ मा २२ हजार ८७ वटा सवारी दुर्घटना भएका थिए, जसमा २ हजार ७ सय ८९ जनाले ज्यान गुमाए भने ४ हजार ३ सय ७६ जना गम्भीर घाइते भए । आर्थिक वर्ष २०७६/७७ मा २५ हजार ७ सय ८८ सवारी दुर्घटना भए, २ हजार २ सय ५१ जनाले ज्यान गुमाए भने ४ हजार ६१५ जना गम्भीर घाइते भए । आर्थिक २०७७/७८ मा ३३ हजार १ सय ३५ सवारी दुर्घटना भए, जसमा २ हजार ५ सय जनाको मृत्यु भयो भने ६ हजार ४ सय ४८ जना गम्भीर घाइते भए । आर्थिक वर्ष २०७८/७९ मा ३९ हजार ३ सय ७९ वटा सवारी दुर्घटनामा २ हजार ८ सय ८३ जनाले ज्यान गुमाए भने ७ हजार २ सय ८२ जना गम्भीर घाइते भए ।

नेपालमा बढ्दो सडक दुर्घटनाका कारणबारे प्रशस्त खोज–अनुसन्धान भएको छ । ट्राफिक व्यवस्थापन महाशाखाले दुर्घटना हुने कारण समेटेर बेलाबेलामा सम्बन्धित पक्षहरूलाई प्रतिवेदन दिने, ध्यानाकर्षण गराउने पनि गरेको देखिन्छ । मुख्यतः चालकको लापरवाही, सवारीको तीव्र गति, मादकपदार्थ खानु, सवारीको यान्त्रिक गडबडी, ओभरटेक, ओभरलोडजस्ता कारण सवारी दुर्घटना हुने गरेका छन् । चालक मात्र होइन पैदलयात्रुको लापरवाहीले पनि सडक दुर्घटना हुन्छ ।

सडकमा सवारीसाधनको चाप बढ्दै गएको छ । त्यसैले सडक साँघुरिएका छन्, जताततै ट्राफिक जाम हुने गरेको छ । दुईपांग्रे सवारीचालकहरूले जताबाट स्थान देख्नेबित्तिकै छिराउन खोज्ने अनि चारपांग्रेका चालकहरूले सहजै नछोड्ने गरेको देखिन्छ । यसबाहेक घरबाट ढिला निस्किने अनि सडकमा हतार गर्ने, ट्राफिक प्रहरीलाई देखाउन मात्र सडक अनुशासन कायम गर्ने संस्कारले पनि सडक दुर्घटना बढाइरहेको छ ।

पछिल्लो समय भर्खर किशोरावस्थामा टेकेकाहरूलाई कलेज आउजाउ गर्न मोटरसाइकल किनिदिनु चलनजस्तै भएको छ । कलेज पढ्न थालेपछि पनि के बस चढ्नु भन्ने धारणा व्याप्त छ । साथीहरू सबैको मोटरसाइकल हुन्छ, बजारमा पनि नयाँनयाँ मोडेल आइरहेको हुन्छ यस्तोमा आमाबुबालाई घुर्क्याएर, थर्काएर भए पनि मोटरसाइकल किन्नैपर्‍यो भन्ने तिनले ठान्छन् । कलिला उमेरका युवाहरूले सडक अनुशासन पालना नगरी चलाउँदा दुर्घटना बढेका छन् । तिनले तीव्र गतिमा सवारी चलाउँछन्, बाटो

अप्ठ्यारो भएको पनि ख्याल गर्दैनन् । त्यस्तै सडक दुर्घटनामा वास्तविक दोषी खोज्नुभन्दा पनि ठूला साधनलाई नै दोष देखाउने चलन छ, जसले गर्दा विशेषतः मोटरसाइकल चालकले सडकका सर्वमान्य सिद्धान्तविपरीत ओभरटेक तथा लेन क्रस गर्ने, दूरी कायम नगर्नेजस्ता लापरवाही गरेको देखिन्छ ।

सडक सुरक्षाका लागि यातायात व्यव्स्था विभाग तथा नेपाल प्रहरीको अगुवाइमा यातायात व्यवसायी, चालक तथा यात्रुहरूलाई सचेत गराउने, ट्राफिक नियम अवगत गराउने, सडक अनुगमन तथा सडक नियमको अनुगमन, नियन्त्रण तथा कारबाही गर्ने गरेका छन् । नेपालले संयुक्त राष्ट्रसंघको विश्वव्यापी ‘डिकेड अफ एक्सन फर रोड सेफ्टी २०११–२०२०’ लाई आत्मसाथ गर्दै सोही अनुरूप ‘नेपाल रोड सेफ्टी एक्सन प्लान २०१३–२०२०’ तर्जुमा गरेर राष्ट्रिय सडक सुरक्षाको रणनीति लिएको थियो । यस अन्तर्गत सडक सुरक्षा व्यवस्थापन, सुरक्षित सडक तथा आवागमन, सुरक्षित सवारी, सडक प्रयोगकर्ताको सुरक्षा र दुर्घटनापछिको सेवासमेत गरेर महत्त्वपूर्ण ५ खम्बा थिए । सन् २०२० सम्म सडक दुर्घटनाबाट हुने मृत्यु र गम्भीर अपांगतालाई ३५ देखि ५० प्रतिशतसम्म घटाउने लक्ष्य नेपालले लिएको थियो । अहिले त्यो सम्भव भएन । फेरि सोही नीतिलाई परिमार्जन गरेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ‘नेपाल रोड सेफ्टी एक्सन प्लान २०२०–२०३०’ तयार गरेको छ ।

जति नै योजना तथा रणनीति बनाए पनि सवारीसाधनहरूको संख्या र सडकको क्षमतासँग तिनको मेल नखानु, समयानुसार कानुन संशोधन नगर्नु र ट्राफिक प्रहरी सवारी व्यवस्थापनमा भन्दा राजस्व उठाउन बढी केन्द्रित हुनुले दुर्घटनामा कमी आउन सकेको छैन । अनावश्यक रूपमा यात्रा गर्ने, तीव्र गतिमा सवारीसाधन कुदाउने, समयमा सवारीसाधनको मर्मत नगर्ने, सडक अनुशासन कायम नगर्ने, गाडी चलाउँदा मोबाइलमा कुराकानी गर्ने, सडक अतिक्रमण गरेर व्यपार गर्ने लगायत पनि सडक दुर्घटनाको कारक बनिरहेका छन् ।

दुर्घटनामा कमी ल्याउन पैदलयात्री, साइकल, विद्युतीय रिक्सा तथा दुईपांग्रे सवारीका लागि छुट्टै लेन बनाउने, सवारी दुर्घटनाको निष्पक्ष एवं वैज्ञानिक अनुसन्धान गरी दोषी देखिएका पक्षलाई कारबाही गर्नेजस्ता कार्यलाई प्राथमिकता दिनुपर्छ । चालक अनुमतिपत्र दिँदा उमेरलाई पनि महत्त्व दिनु जरुरी छ । अभिभावकले छोराछोरीलाई अनावश्यक रूपमा सवारीसाधन खरिद गरिदिनु हुन्न । कलेजहरूले पनि विद्यार्थीलाई मोटरसाइकल चलाउन रोक लगाउन सक्नुपर्छ ।

साह चिकित्सक हुन् ।

प्रकाशित : पुस ८, २०७९ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?