कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शास्त्रीय चिन्तनमा पशुबलि

यज्ञमा विधिपूर्वक गरिने पशुबलिलाई शास्त्रले हिंसा (वध) मानेको छैन । अहिंसा (अवध) मानिएकैले दुर्गापूजा आदिमा पशुबलि दिने चलन चल्दै आएको हो ।
रामचन्द्र गौतम

हिमाल पहाड तराईलाई आफूमा समाहित गरेको; वनजंगल, पाखापखेरा, उकाली–ओराली आदिले मनोरम बनेको; अनेक नदनदी, तीर्थस्थल, मठमन्दिर, शक्तिपीठ आदिको विद्यमानताले परम पावन हुन पुगेको छ नेपालभूमि ।

शास्त्रीय चिन्तनमा पशुबलि

शान्त, सुन्दर, रमणीय, सबैका निम्ति आकर्षक यो भूमिमा अनेक वर्ण, जाति र सम्प्रदायका मानिस बसोबास गर्छन्; परस्परको स्नेह, सद्भाव, सहयोग, समन्वयका साथ आ–आफ्ना पूर्वजहरूद्वारा प्राचीनकालदेखि आचरित एवं परिपालित धर्म, कर्म, संस्कार, संंस्कृतिको अनुसरण गर्छन् । अनुसरण वा उपासना गरिने संंस्कृतिहरूमा, राष्ट्रलाई चिनाउने राष्ट्रियताका रूपमा रहेका जगदीश्वरी दुर्गा भवानीको पूजा–आराधना गरेर मनाइने बडादसैंजस्ता चाडपर्व र अन्य जात्रा–मात्रा, उत्सव आदि पर्छन् । यी चाडपर्वहरू सबैले श्रद्धा, आस्था, उत्साह, उमंग र रामरमिताका साथ मनाउने गर्छन् । यसरी मनाइने वा पुजिने देवताहरूमा भैरव, भीमसेन आदि पर्छन् भने देवीहरूमा काली, भद्रकाली, चण्डिका, चामुण्डा, कालरात्रि आदि अनेक नामका दुर्गादेवीहरू पर्छन् । समाराधित, सम्पूजित यी देवदेवीहरूलाई शास्त्रको निर्देशअनुसार निष्ठाका साथ आ–आफ्नो परम्पराअनुरूप बोका, भेडा, राँगा आदि पशुको र हाँस, कुखुरा आदि पन्छीको विधिपूर्वक बलि (भोग) पनि दिने गर्छन् । यसरी पशुपन्छीको बलि दिने शास्त्रीय चलन आर्यावर्त (भारतवर्ष) को शीर्षस्थान आर्य तपोभूमि हाम्रो नेपालमा आदिमकालदेखि नै अविच्छिन्न चलेर आइरहेको छ ।

देवतालाई जगत्पिता मानिएको छ भने देवीलाई जगन्माता । यस्ता पितृ–मातृका स्थानमा स्थापित देवदेवीले आफ्ना सन्तानका रूपमा रहेका पशुपन्छीको भोग कदापि खाँदैनन्; उनीहरूले नखाने वस्तुको भोग दिनु शास्त्रविपरीत हो, धर्मविरुद्ध हो, पशुपन्छीको बाँच्न पाउने अधिकारको हनन गर्नु हो; त्यस कारण देवदेवीलाई पशुपन्छीको बलि दिने चलन तत्काल बन्द गर्नुपर्छ भन्ने तीव्र आवाज हाम्रै समाजका केही मानिसबाट चर्को रूपमा आइरहेको छ । यसरी एक थरी मानिसले पशुबलि दिनुपर्छ भन्छन् भने अर्का थरी मानिस दिनु हुँदैन भनी विरोध गर्दै आएका छन् । यस्तो किन भइरहेको छ, यसमा वास्तविकता के छ र शास्त्रीय निर्णय केकस्तो छ भन्ने कुराको यथार्थ जानकारी सर्वसाधारणलाई गराउनु नितान्त आवश्यक छ । यहाँ यही विषयलाई शास्त्रीय निर्णयका आधारमा उठाउने प्रयत्न गरिएको छ ।

नेपालमा विशेषतः शैव, शाक्त, सौर, गाणपत, वैष्णव आदि सम्प्रदायका मानिस बसोबास गर्छन् । वैष्णवचाहिँ दुई प्रकारका छन्— वैष्णवी दीक्षा ग्रहण गरी विष्णु वा विष्णुका राम, कृष्ण आदि कुनै अवतारलाई मात्र प्रधानता दिने वैष्णव र वैदिक धर्म–अनुयायी वैष्णव ।

वैदिक धर्म–अनुयायीहरूमा केही स्मार्त छन् भने केही वैष्णव । त्यस्तै, शाक्तहरूमा पनि दुई थरी नै छन्— दक्षिणाचार र वामाचार । जल, अर्घ, पञ्चामृत आदि सात्त्विक वस्तु समर्पण गरेर देवीको पूजा–उपासना गर्ने शाक्त दक्षिणाचार हुन् भने रक्त, मांस, मद्य आदि राजस एवं तामस पदार्थ चढाएर देवीको अर्चना–उपासना गर्ने शाक्त वामाचार हुन् । वामाचार बाहेकका शाक्तहरू र वैदिक–इतर वैष्णवहरूले नै प्रायः पशुबलिको निषेध गरेको पाइन्छ । पशुबलिको निषेध गर्ने शाक्तहरू र निषेधन नगर्ने वैदिक धर्मावलम्बी वैष्णवहरू गणेश, सूर्य, देवी, शिव, विष्णु सबै देवताको पूजा गर्छन् । कसैले विष्णुलाई मुख्य मान्छन् भने कसैले शिव, कसैले देवी, कसैले सूर्य र कसैले गणेशलाई । यी सबैको एकै ठाउँमा नित्य पूजा गर्दा जल–चन्दन आदि सात्त्विक वस्तु मात्र चलाउने गरिन्छ । तिथि, बार, नक्षत्र, मास, पक्ष आदि विशेष पर्व पारेर देवीको मात्र पूजा गर्ने र कुलदेवताको पूजा गर्ने वैदिक धर्म–अनुगामी कसैले गन्ध–अक्षता–पुष्प आदि सात्त्विक पदार्थ मात्र चढाएर पूजा गर्छन् भने कसैले गन्ध–अक्षता आदिका साथ आफ्नो कुल–परम्पराअनुसार पशुपन्छीको बलि चढाएर राजस पूजा गर्छन् ।

सात्त्विक, राजस, तामस गरी तीन प्रकारका पूजामा ब्राह्मणले चाहिँ सात्त्विक पूजा मात्र गर्नुपर्ने शास्त्रीय विधान छ । तर ब्राह्मणहरू पनि चरित्र, क्रियाकर्म, आचरण, पेसा आदिका हिसाबले धेरै प्रकारका हुन्छन् । जस्तै— ब्रह्मसम, देवसम, ऋषिसम ब्राह्मण; अनुचान ब्राह्मण/क्षत्रीयसम र वैश्यसम ब्राह्मण । त्यसपछि हुन्छन्— शूद्रसम, निषादसम, चाण्डालसम, म्लेच्छसम र पशुसम ब्राह्मण । यस्ता ब्राह्मणहरूमा ब्रह्मसमदेखि अनुचानसम्मका विशुद्ध ब्राह्मणहरूका निम्ति मात्र सात्त्विक पूजाको विधान छ । यो विधान पनि देवी र कुलदेवताको पूजा गर्दा मात्र लागू हुने हो; सोमयाग–निरूढ पशुबन्धयाग आदि महत्तम वैदिक यज्ञमा त यी विशुद्ध मानिने ब्राह्मणले पनि पशुबलि दिनैपर्ने हुन्छ । वध मात्र गर्ने होइन, वध गरिएको पशुको मांसभक्षण यज्ञ गर्ने कर्ता र गराउने आचार्य, ऋत्विक आदि ब्राह्मणले पनि गर्नैपर्छ । नगरेमा पाप भागी हुनुपर्छ भनी मनु–वशिष्ठ आदि शास्त्रप्रवर्तकले ठोकुवा नै गरेका छन् ।

क्षत्रीयसम र वैश्यसम ब्राह्मणले देवीको राजस पूजा नै गर्नुपर्ने हुन्छ । शूद्रसमदेखि पशुसमसम्मका ब्राह्मणले चाहिँ आआफ्नो चलनअनुसारको राजस वा तामस जुन पूजा गर्दा पनि हुने देखिन्छ । त्यसपछि क्षत्रीय, वैश्य र मूर्धावसिक्त आदि अनुलोम ३६ प्रकारका जातिका निम्ति राजस पूजाको मात्र निर्देश शास्त्रले गरेको छ । शूद्रसमेतका जाति, जनजाति, दलित र सूतवैदेहक आदि प्रतिलोम संकर जातिका निम्तिचाहिँ मासु र रक्सीसमेतको तामस पूजाको बलियो विधान शास्त्रद्वारा प्रतिपादित छ । तर तामस पूजा गर्नुपर्ने जातिले मद्यबिनाको राजस पूजा, मद्यमांस दुवै नभएको पुष्प–अक्षता आदिले युक्त साधारण पूजा पनि गर्न सक्छन् र त्यसको चलनसमेत छ । त्यस्तै, राजस पूजामा अधिकार प्राप्तलाई सात्त्विक पूजामा पनि अधिकार हुन्छ ।

सात्त्विक पूजामा नपर्ने राजस र तामस पूजाभित्र पर्ने पशुबलिको विस्तृत विधान सनातन धर्मको मूलस्थानमा प्रतिष्ठित वेद, वेदको व्याख्या स्मृति नामले प्रसिद्ध लोकधर्म प्रतिपादन गर्ने धर्मशास्त्रमा, शिवजीको मुखारविन्दबाट निःसृत आगमसंज्ञा पाएको तन्त्रशास्त्रमा पनि पाइन्छ । शैवतन्त्र, शाक्ततन्त्र, सौरतन्त्र, गाणपततन्त्र आदि सबै तन्त्रशास्त्र एवं कालिका पुराण, देवी पुराण, भविष्य पुराण, विष्णु धर्मोत्तर पुराण, सौर पुराण, मार्कण्डेय पुराण आदि अनगिन्ती पुराणले त्यस्तो विधानबारे दिशा निर्देश गरेका छन् । यिनै शास्त्रको विधानअनुसार पशुबलि कुनै विशेष तिथि–बारमा, चैत्रशुक्ल, आश्विनशुक्ल आदि पर्वविशेषमा र निरूढ पशुबन्धयाग, सोमयाग आदि पूर्णवैदिक यज्ञमा गरिन्छ । नेपालमा पशुबलि विशेषतः दसैंमा बढी हुने गरेको छ । दुर्गाको पूजा–उपासनाका निम्ति विशिष्टकाल दसैं बडादसैं, शारदोत्सव, नवरात्र, दुर्गोत्सव आदि नामले पनि प्रसिद्ध छ । यस्तो पवित्रतम विविध नामले प्रख्यात दसैं भगवती दुर्गा भवानीको तृप्तिका निम्ति पुण्यतम पर्व हो । यो पर्वमा दुर्गा भवानीको प्रसन्नता, तृप्ति, सबलता, सन्तुष्टि, अजेय शक्ति सम्पन्नताका निम्ति पशुबलि दिनुपर्ने अकाट्य एवं अखण्डनीय विधान शास्त्रले गरेको छ ।

यस्तो विधान गर्दागर्दै पनि केही मानिसले देवदेवीलाई पशुबलि दिनु सर्वथा गलत हो भनिरहेका छन् । त्यो भन्नु उनीहरूले शास्त्रको मर्म बुझ्न नसक्नु हो । देवी तत्त्व के हो, कसरी कुन शक्तिद्वारा दुर्वृत्तको विनाश गरी देवता, मनुष्य आदि सद्वृत्तको रक्षा गर्छिन् भन्ने कुराको ज्ञान गर्न नसक्नु हो ।

पशुबलि बन्द गर्नुपर्ने आवाज उठाई शाक्त–इतर सम्प्रदायले शक्तिका उपासकहरूको बलि दिन पाउने अधिकारमा रोक लगाउन खोज्नु अनुचित हो, वेदविरुद्ध हो । वेदको ‘माहिंस्यात् सर्वाभूतानि’ वाक्यको खास अर्थ हो— बिनाविधि हिंसा नगर, विधि पुर्‍याएर मात्र जीवहिंसा गर । वेदले सोमयाग–निरूढ पशुबन्धयाग जस्ता विशिष्ट यज्ञको विधान गरेको छ । ती यज्ञमा पशुवध गर्नैपर्छ । वध गरिएको पशुको प्रत्येक अंगको मन्त्रपूर्वक यज्ञीय अग्निमा हवन गर्नुपर्छ र शेषमांस यज्ञमा बस्ने सबैले खानुपर्छ ।

जसले शक्तिकी अधिष्ठातृ देवी भगवती दुर्गाको उपासना गर्दैनन्, जजसले वैष्णवीदीक्षा लिएर वा नलिएर पनि विष्णु वा विष्णुका कृष्ण आदि कुनै अवतारलाई मात्र प्रधानता दिने गरेका छन्, जसको कुलमा देवदेवीलाई पशुबलि दिने परम्परा छैन, जो वेदमूलक नभएको निर्मूल धार्मिक सम्प्रदायमा लागेका छन्, त्यस्ता मानिसले, निवृत्तिमार्गमा लागेका योगी–सन्त–महन्त–महात्माहरूले र आचरण, कर्म आदिद्वारा पूर्ण रूपमा ब्राह्मणत्व संरक्षण गरिरहेका विशुद्ध ब्राह्मणले पनि यज्ञमा बाहेक देवीको पूजाआजामा पशुबलि दिनुपर्ने निर्देश शास्त्रले गरेको छैन ।

पशुबलि दिनुपर्ने आदेश शास्त्र–प्रयोजकले ती मानिसलाई दिएका छन्, जसले घरपरिवार, धनसम्पत्ति, मानसम्मान, पदप्रतिष्ठा, भोगविलास आदिमा आसक्त भई गृहस्थ आश्रममा बसी प्रवृत्ति मार्गलाई आत्मसात् गरेका छन् । त्यस्ताले अनि देश र जनताको हितका निम्ति राज्यले पनि पशुबलि शास्त्रीय मान्यताअनुसार दिनुपर्छ ।

राज्यले राज्य सुसञ्चालनका निम्ति प्रभुशक्ति, मन्त्रशक्ति, उत्साहशक्तिको आर्जन गर्नु अत्यावश्यक हुन्छ । यिनीहरूको सञ्चयन भगवती दुर्गाको पशुबलिका साथ गरिएको पूजा–उपासनाबाट मात्र हुन सक्छ भन्ने शास्त्र–प्रणेताको दृढ धारणा छ । यही आधारमा नेपालमा जनताको उन्नति, प्रगति, सुस्वास्थ्य, सुरक्षा र सुखशान्तिका निम्ति दसैंजस्ता विशिष्ट पर्वमा राज्यका तर्फबाट संस्थापित तथा समाराधित भगवती दुर्गालाई र भद्रकाली, दक्षिणकालीजस्ता विभिन्न शक्तिपीठमा पनि पूजाआजा गरी श्रद्धा, आस्था र विश्वासका साथ विधिपूर्वक पशुपन्छीको बलि चढाउने गरिन्छ ।

दसैंजस्ता पर्वमा भुवनेश्वरी भगवती दुर्गाको जुन रीतले पूजा–आराधना गरिन्छ, त्यसलाई शास्त्र–प्रवर्तकले सुख, शान्ति, प्रगति र इच्छापूर्तिको पूर्ण आधार महान् यज्ञका रूपमा स्थापित गरेका छन् । त्यसैले यज्ञमा विधिपूर्वक गरिने पशुबलिलाई शास्त्रले हिंसा (वध) मानेको छैन । अहिंसा (अवध) मानिएकैले दुर्गापूजा आदिमा पशुबलि दिने चलन चल्दै आएको हो । यसको पुष्टि शास्त्रहरूले यसरी गरेका छन्—

यज्ञार्थे बलयः सृष्टाः स्वयमेव स्वयंभुवा ।

अतस्त्वां धातयाम्यद्य तस्माद्यज्ञे वधोऽवधः ।।

– कालिका पुराण

तस्यां ये ह्युपयुज्यन्ते प्राणिनो महिषादयः

सर्वे ते स्वर्गतिं यान्ति घतां पापं न विद्यते ।।

– भविष्यपुराण

एवं हृष्टैर्निशां नीत्वा प्रभाते अरुणोदये ।

घातयेन्महिषान्मेषानग्रतो नतकन्धरान् ।।

शतमर्धशतं वापि तदर्धं वा यथेच्छया ।

सुरासवधृतैः कुम्भै स्तर्पयेत्परमेश्वरीम् ।।

–निर्णयसिन्धु, पृ. २३५

व्रतं च जागरश्चैव नवम्यां विधिवद्बलिः ।

पशुघातश्च कर्तव्यो गवयाजवधस्तथा ।।

– देवीपुराण

मानिसले भगवतीलाई दिएको पशुबलिको अवलोकनबाट देवताहरूले पनि अति प्रसन्न एवं विश्वस्त हुँदै यस्तो उद्घोष गरेका छन्— अब पशुपन्छीको भोग प्राप्त गरेपछि भगवती दुर्गा शक्तिशालिनी बन्न पुग्छिन् र असुर, मनुष्य आदिमा जति पनि दुष्टहरू छन्, तिनीहरूको विनाश गरी वा तिनलाई सन्मार्गमा प्रवृत्त गराई देवता, सद्वृत्त एवं चराचर जगत्कै संरक्षण गर्न समर्थ हुन्छिन् ।

जगतितलमा समुद्भव प्राणी मात्रको एक मात्र अन्तिम उद्देश्य हुन्छ— यो दुःखरूपी संसारबाट मुक्ति पाउनु । विवेकशील प्राणी मानिसको मुक्तिका निम्ति जप, तप, तीर्थ, व्रत, दया, दान, उपकार आदि अनेक उपाय शास्त्रदर्शित छन् । तर विवेकहीन पशुपन्छीका निम्ति यी कुनै पनि उपाय सार्थक हुँदैनन् । उनीहरू मुक्त हुने एक मात्र उपाय भनेको देवदेवीको स्थानमा र यज्ञयज्ञादिमा विधिपूर्वक बलि हुन पाउनु नै हो । देवस्थल, यज्ञस्थल आदि पवित्रतम स्थानमा पूजा–उपकरणद्वारा सम्पूजित, सम्मानित, समादृत भई श्रवणीय (मोक्षप्रद) मन्त्र श्रवण गरी बलि हुन पाउनु तिनीहरूका निम्ति सौभाग्य हो । पशुपन्छीलाई परम गतिमा पुर्‍याउन सक्ने मानिस मात्र हुन् ।

गौतम पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष हुन् ।

प्रकाशित : आश्विन १६, २०७९ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?