डेंगी नियन्त्रणमा ढिलाइ- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डेंगी नियन्त्रणमा ढिलाइ

डेंगी रोगको नियन्त्रणका लागि संघीय सरकारका साथै प्रत्येक स्थानीय तह सक्रिय हुनुपर्छ । राजनीतिक दलहरूका नेता–कार्यकर्ता चुनावी चहलपहलमा अलमलिनुभन्दा डेंगी प्रकोप नियन्त्रणतिर लागिहाल्नु आवश्यक छ ।
डा. मुकेशकुमार साह

केही महिनाअघि डेंगीले यस्तो विकराल रूप लिन्छ भन्ने कसैले सोचका थिएनन् । सरकारको हेलचेक्र्याइँका कारण अहिले डेंगी देशभरि फैलिरहेको छ । डेंगी नियन्त्रणका लागि सरकारको भूमिका प्रभावकारी बन्न सकेको छैन, मौसम पनि प्रतिकूल छ ।

जनचेतना तथा लामखुट्टे नष्ट गर्ने अभियान फितलो हुनु र बिरामीहरूको समयमै पहिचान गरी उपचार गर्न नसक्नु डेंगी नियन्त्रणमा आउन नसक्नुका मुख्य कारण हुन् । देशभरि डेंगी यसरी अनियन्त्रित रूपमा फैलिरहेको छ कि यसलाई महामारी नै मान्न सकिन्छ । कुनै पनि रोग महामारी भए, यसले आम नागरिकको स्वास्थ्य र अर्थमा पनि हानि पुर्‍याउने बुझाइ छ । डेंगीबाट मृत्यु कमै भए पनि बिरामीमा पर्ने मानसिक असर, शारीरिक शिथिलता तथा आर्थिक भारलाई गम्भीरताका साथ लिनुपर्छ ।

बिरामीमा सामान्य ज्वरो आउने, जीउ तथा जोर्नीहरू दुख्ने, वाकवाकी लाग्ने, रिँगटा लाग्ने, आलस्य हुनेजस्ता लक्षण भए चिकित्सकहरूले अन्य रोगको पहिचानका लागि गर्ने परीक्षणसँगै डेंगीको पनि गर्ने अवस्था छ । यस्तोमा सरकारले डेंगीबारे जनचेतना बढाउनुका साथै बिरामीको उपचारमा सहयोगको व्यवस्था गर्दै रोग नियन्त्रणमा रफ्तारमा काम गर्नुपर्ने हुन्छ तर सरकार प्रायः सुतिरहेकै छ । स्थानीय र संघीय सरकारबीच समन्वय हुन नसक्दा प्रभावकारी रूपमा डेंगी नियन्त्रण हुन सकेको छैन । समुदाय तथा नागरिकसमेतको सहयोग नहुनु तथा मौसम पनि प्रतिकूल हुनु रोग नियन्त्रण नहुनुको अर्को पाटो हो ।

डाक्टरको सल्लाह लिन रोगले थलिएपछि मात्र आउने वैचारिक तथा आर्थिक रूपको गरिबी पनि समाजमा विद्यमान छ । यसले पनि डेंगी उपचार तथा नियन्त्रणमा बाधा पुर्‍याइरहेको छ । त्यसमाथि सरकारले नै चासो नदिएपछि यस्तो विकराल परिस्थिति बन्ने नै भयो । सरकारले अझै तदारुकता नदेखाउने हो जोखिम झनै बढ्नेछ । अहिले सरकारले जति खर्च गरेर डेंगी नियन्त्रण गर्न सक्छ, भविष्यमा तुलनात्मक रूपमा झन् धेरै खर्च गर्नुपर्ने देखिन्छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाको पछिल्लो तथ्यांक अनुसार सबैजसो जिल्लामा संक्रमित छन् भने करिब ७ हजार डेंगी बिरामीको उपचार भइरहेको छ । यो पटक हिमाल, पहाड र तराई सबैतिर संक्रमित छन् । काठमाडौं लगायत मौसम चिसो रहने अन्य स्थानमा पनि डेंगीका प्रशस्त बिरामी छन् ।

त्रसित होइन, सचेत बनौं

विश्वमा लामखुट्टेको टोकाइबाट अति नै शीघ्र फैलने भाइरसको संक्रमणबाट हुने रोगमध्ये डेंगी एक हो । यो रोगले ग्रसित क्षेत्रमा मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यमा त असर गर्छ नै, समाजले पनि त्यसको आर्थिक क्षति बेहोर्नुपर्छ । अझ आर्थिक रूपमा कमजोर हाम्रोजस्तो समाजमा डेंगी प्रकोपले झन् धेरै असर गर्छ ।

सुरुमा बिरामीहरूमा सामान्य ज्वरो आउने, जीउ–जोर्नी–टाउ दुख्ने, बान्ता आउने तथा आलस्यता हुनेजस्ता लक्षण देखिन्छन् । रगतमा पानीको मात्रा कम भएमा कमजोरी बढ्दै जाने र रक्तचाप कम हुने पनि हुन्छ । शरीरमा प्लेटलेट (सेतो रक्त कोशिका) संख्या कम भए रक्तनलीहरूबाट रगत शरीरका अन्य तन्तुमा जाने भएकाले शरीरमा डाबर आउने, रक्तचाप निकै कम हुने र शरीरमा रगतको अभावमा बिरामी सिकिस्त भई मृत्युसम्म हुन सक्ने भएकाले बेलामै चिकित्सकको निगरानीमा मात्र उपचार गराउनु बुद्धिमानी हुनेछ ।

सामान्य वा भाइरल ज्वरो भए पनि सामान्य रूपमा लिनु हुन्न र प्रकोपित क्षेत्रका बासिन्दा समयमै अस्पताल आउनुपर्छ । यो रोग लागिहाल्यो भनेर त्रासमा बस्नु पनि हुँदैन किनकि अधिकांश बिरामीलाई सामान्य उपचारपछि घर फर्काउन सकिन्छ । ५ प्रतिशत बिरामीमा मात्र डेंगी विकराल रूपमा आउने गर्छ । यस्तो हुँदा सघन उपचार आवश्यक पर्छ । तसर्थ रोग लागेमा कोही पनि त्रसित हुनु हुन्न तर उपचार आवश्यक हुने भएकाले सचेत रहनु भने जरुरी छ ।

प्रकृतिको भर होइन, अभियानको खाँचो

डेंगी मुख्यतः पोथी जातिका एडिज लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ । एयर कन्डिसन, फूलका गमला, पुराना टायर, ड्रम, नरिवलका खोस्टा, साना खाल्डाहरूमा सफा पानी धेरै दिनदेखि जमेर बसेको भए यो रोग फैलने सम्भावना रहन्छ । उक्त प्रजातिका लामखुट्टे मुख्यतः सफा पानीमा फैलने भएकाले फोहोर नालीहरू भएको स्थानभन्दा घर आसपासका पानी जम्ने स्थानमा बस्ने लामखुट्टेबाट डेंगी फैलने सम्भावना रहन्छ ।

त्यसैले यो रोग फैलनुमा मानिसलाई नै बढी जिम्मेवार मानिन्छ । आफ्नो घर सफा राख्नु र घरवरिपरि पानी जम्ने स्थान हटाउनु नै यो रोगको उचित रोकथामको उपाय हो । साथै लामखुट्टेको टोकाइबाट बँच्न झुल लगाउने वा लामखुट्टे धूप वा क्रिम प्रयोग गर्नु पनि उत्तिकै जरुरी छ । यस्तो अभियान घरघरबाट सुरु गर्नुपर्छ ।

रोग नियन्त्रण सरकारको प्रयास मात्रले पनि सम्भव नहुन सक्छ । तापक्रम अनुकूल भए मात्र जमेको सफा पानी भएको ठाउँमा डेंगी भाइरस सार्ने लामखुट्टेको प्रजनन प्रक्रिया पूरा हुने भएकाले रोग सर्ने उपयुक्त मौसम गर्मीयाम हो । गर्मीयामको अन्त्यसँगै लामखुट्टेको कमी हुने भएकाले यो रोग पूर्ण रूपमा नियन्त्रण हुने अनुमान गर्न सकिन्छ ।

‘कहिले जाडो याम सुरु होला र रोग नियन्त्रण होला’ भनेर सरोकारवाला कुरिरहेका छन् । तर रोग नियन्त्रणका लागि प्रकृतिको पर्खाइभन्दा अहिले सामाजिक अभियान तथा सरकारको सक्रिय भूमिका टड्कारो आवश्यकता छ । अन्तमा, डेंगी रोगको नियन्त्रणका लागि संघीय सरकारका साथै प्रत्येक स्थानीय तह सक्रिय हुनुपर्छ । राजनीतिक दलहरूका नेता–कार्यकर्ता चुनावी चहलपहलमा अलमलिनुभन्दा डेंगी प्रकोप नियन्त्रणतिर लागिहाल्नु आवश्यक छ ।

-साह सुनसरी जिल्ला अस्पतालका चिकित्सक हुन् ।

प्रकाशित : आश्विन ५, २०७९ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्

दुई विदेशी नियन्त्रणमा

रासस

पर्सा — पर्साको वीरगञ्ज नाकाबाट बिनाअनुमति नेपाल हुँदै भारत जाने क्रममा अर्जेन्टिनाका दुई नागरिकलाई मंगलबार वीरगञ्जस्थित अध्यागमन कार्यालयबाट नियन्त्रणमा लिइएको छ ।

कार्यालयका अनुसार भारत जानुपूर्व अध्यागमन कार्यालयमा बाहिर जाने अनुमति लिन (स्ट्याम्प लगाउन) आएका एक महिला र एक पुरुषलाई नेपाल प्रवेश अनुमति नभएका कारण नियन्त्रणमा लिएर अध्यागमन विभाग पठाइएको हो ।

नियन्त्रणमा लिएका नागरिकमा पासपोर्ट नं एएसी १८७५५८ भएको पब्लो ग्वस्ताभो लोहोज र पासपोर्ट नं एएजी ९५६४१६ भएको मेलानी डिसेरी डिफाजियो रहेको अध्यागमन कार्यालयले जनाएको छ ।

बिनाअनुमति ८६ दिन नेपाल बसेका उनीहरूलाई अध्यागमन विभाग पठाइएको वीरगञ्जस्थित अध्यागमन कार्यालयले जनाएको छ । उनीहरू भ्रमणका लागि सन् २०२२ जुन २७ मा भारतको सुनौली नाकाबाट विना अनुमति नेपाल प्रवेश गरेका थिए ।

प्रकाशित : आश्विन ५, २०७९ ०८:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×