हाब्रेको बासस्थानको सुरक्षा

पछिल्लो समय नेपालमा हाब्रेको छाला सबभन्दा बढी तस्करी गरिने वन्यजन्तुको अंगमध्ये एक हो । उसै त हाब्रेको संख्या घट्दै गएको छ, त्यसमाथि यसको छालाको तस्करी बढ्नुले निकट भविष्यमा यो लोप नै हुने खतरा बढेको छ । 
सावित्री राई

रामेछापको चुचुरे र गुम्देलका जंगल रेड पान्डा अर्थात् हाब्रेका प्रमाणित र सम्भावित बासस्थान हुन् । यी गौरीशंकर संरक्षण क्षेत्रमा पर्छन् र यहाँ हाब्रे संरक्षणका लागि विभिन्न गतिविधि भइरहेका छन् । सामान्यतः संरक्षणका गतिविधिभित्र जनचेतनामूलक कार्यक्रम र संरक्षण शिक्षाको कार्यान्वयन पर्ने गर्छन् । हरेक परियोजनामा यी गतिविधिलाई समावेश गरिन्छ । तर त्यसको प्रभावकारितालाई लिएर प्रश्नहरू पनि उत्तिकै उठ्ने गर्छन् । 

हाम्रो टोली विद्यार्थीहरूलाई हाब्रे संरक्षणबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न र संरक्षण शिक्षाको प्रभावकारिता बुझ्न केहीअघि रामेछाप पुगेको थियो । विद्यार्थीहरूलाई नै संरक्षणमा अग्रसर गराउन सकियो भने संरक्षण बढी फलदायी हुन्छ । त्यहाँ हामीले हाब्रेको बासस्थान, आहारा लगायतका विषयमा समुदायस्तरमा छलफल गर्‍यौं । यही क्रममा स्थानीय विद्यार्थीहरूलाई हामीले रेड पान्डाका बारे सुनको छौं कि छैनौं भनेर सोध्दा धेरैले सुनेको बताए, केहीले यो कालो र सेतो रङको हुन्छ भने । उनीहरूको उत्तरले हामीलाई चकित पर्‍यो । उनीहरूका विद्यालय गौरीशंकर संरक्षण क्षेत्रभित्र पर्नुका साथै हाब्रेको प्रमुख बासस्थान भएका कारण पनि धेरै जानकारी होला भन्ने सोचेका थियौं । रेड पान्डालाई हाब्रे पनि भनिन्छ भनेपछि बल्ल उनीहरूले यो रातो, खैरो, कालो रङको हुने र अनुहारमा छिरबिरे सेतो हुन्छ भन्न थाले । धेरैलाई यसको बासस्थान र आहारका बारे थाहा थिएन ।

हामीले हाब्रे देखेका छौं कि छैनौं भनेर सोध्दा केही विद्यार्थीले धेरै वर्षअघि बजार नजिकै घाइते अवस्थामा देखेको दाबी गरे । उनीहरूको कुरामा हाम्रो ध्यानाकर्षण भयो । गौरीशंकर संरक्षण क्षेत्र इलाका कार्यालयका अधिकारीसँग यसबारे सोधपुछ गर्दा थाहा भयो, यो कुरा सत्य रहेछ । सन् २०१३ मा गर्जाङ बजारनजिकै वयस्क हाब्रे घाइते अवस्थामा बाटामा फेला परेको रहेछ । त्यसलाई हेर्न हूलका हूल मान्छे जम्मा भएछन् । कुकुरले लखेटेकाले भाग्ने क्रममा हाब्रे घाइते भएको रहेछ । यसरी भेटिएको हाब्रेलाई के गर्ने भन्नेमा स्थानीय अलमलमा परेछन् । कसैले गौरीशंकर संरक्षण परियोजनाको इलाका कार्यालय (शिवालय) पुर्‍याउन सुझाव दिएछ । कार्यालयमा घनीभूत छलफलपछि हाब्रेलाई ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा राखिने निधो गरिएछ । चिडियाखाना पुर्‍याएर हाब्रेलाई औषधिउपचारका साथ बस्ने व्यवस्था गरे पनि केही समयपछि हाब्रेको मृत्यु भएको रहेछ । यो थाहा पाएर हामीलाई नरमाइलो लाग्यो । प्राकृतिक बासस्थानको विशेषता चिडियाखानामा नपाएर या कुनै अन्य कारणले मृत्यु भएको हुन सक्छ ।

यो घटनाको सम्भावित कारण सोच्दै हामी गुम्देलतिर लाग्यौं । शिवालयबाट क्यामा हुँदै झन्डै तीन घण्टा उकालो हिँड्दै हामी गुम्देल पुग्यौं । यसरी हिँड्दा हाब्रेबारे स्थानीयलाई सोध्न सजिलो भयो, हिँडाइको समय पनि उपयोग भयो । सोलुखुम्बुको जगंलमा पनि यो पाइने रहेछ । एक स्थानीयले केही वर्षअघि टाक्टोर–लामाजुराको जंगल नजिकै हाब्रे देखेको र मानिसलाई देखेपछि त्यो जंगलतिरै लागेको बताए । खेतनजिकै आएको देखेर हाब्रे त फिरन्ते हुँदो रहेछ भन्ने स्थानीयको बुझाइ थियो । स्थानीयले हाब्रे बस्तीनजिकै बारम्बार भेट्ने गरेकाले पनि यसको संख्या बढेको अनुमान लगाएका छन् । तर, यस्तो अनुमान गर्ने आधार भने हामीले पाएनौं ।

हाब्रेले धेरैजसो समय रूखमै बिताउने गर्छ । तर अचेल जंगल फँडानी, आगलागी, सडक निर्माण तथा विस्तारले तिनको प्राकृतिक बासस्थानको अत्यधिक विनाश भएको छ । यसले हाब्रेलाई विस्थापित गरिरहेको छ । बासस्थानको कमी मात्र होइन, हाब्रेको आहारामा समेत यस्ता कार्यले असर पुर्‍याइरहेको छ । जस्तो, जगंल फँडानी वा आगलागीले निगालो र मालिङ्गो बाँसलाई नष्ट गर्छ । एउटा वयस्क हाब्रेले दिनमा २ किलोसम्म बाँसको पात र कलिलो टुसा खाने गर्छ । बाँसबाट पर्याप्त पोषण नपाउनाले पनि यसले धेरै खाने गर्छ । त्यसमाथि बाँसको अत्यधिक कटानलाई पनि नियन्त्रण गर्न सकिएको छैन । नयाँ बासस्थान खोजिरहँदा वा आहाराका लागि भौंतारिँदै गर्दा हाब्रे र मान्छेको जम्काभेट हुने गर्छ । यस्तै बेला कहिलेकाहीँ जंगली जनावर वा कुकुरको आक्रमणबाट गम्भीर चोट लाग्ने वा मृत्यु हुने सम्भावना हुन्छ । अवैध सिकार र व्यापारले गर्दा पनि हाब्रेलाई जोगाउन सकिएको छैन । पछिल्लो समय नेपालमा हाब्रेको छाला सबभन्दा बढी तस्करी गरिने वन्यजन्तुको अंगमध्ये एक हो । उसै त हाब्रेको संख्या घट्दै गएको छ, त्यसमाथि यसको छालाको तस्करी बढ्नुले निकट भविष्यमा यो लोप नै हुने खतरा बढेको छ ।

हाब्रे संरक्षणका लागि सबैभन्दा पहिला यसको प्राकृतिक बासस्थानको संरक्षण र पुनःस्थापनामा ध्यान दिनु जरुरी छ । साथै जगंलको सीमामा व्यवस्थित तरिकाले घेराबार लगाउनुपर्छ ताकि कुकुरहरू जंगल छिर्न नसकून् । यसले हाब्रेको बासस्थानमा गाईबस्तुको अव्यवस्थित चरन पनि कम गर्न मद्दत गर्छ । हाब्रेको प्राकृतिक बासस्थानमा निगालो र मालिङ्गो बाँसको संरक्षणका साथै वृक्षरोपणमा पनि जोड दिनुपर्छ । सँगै हाब्रेको अवैध व्यापार तथा चोरीसिकार रोक्नुपर्छ । तस्करीकै क्रममा भेटिएका जीवित हाब्रेहरूको उचित पुनःस्थापना कसरी गर्ने र संरक्षण कार्यलाई कसरी प्रभावकारी बनाउने भनेर सरोकारवाला निकायले बेलैमा ध्यान दिन जरुरी छ । हाब्रे संरक्षणका कार्यलाई कसरी दिगो बनाउने भन्ने पनि चुनौती छ, त्यसका लागि सबैभन्दा धेरै लगानी जनचेनतामूलक कार्यक्रममै लगाउनुपर्छ । समुदायलाई नै यसको संरक्षणका लागि अघि सार्नुपर्छ । संरक्षण कार्यक्रमको नियमित अनुगमन हुनु पनि आवश्यक छ ।

प्रकाशित : आश्विन ३, २०७९ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्

संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम् समझदारी आवश्यक : सभामुख सापकोटा

कान्तिपुर संवाददाता

काठमाडौँ — सभामुख अग्निप्रसाद सापकोटाले संविधानको रक्षा र कार्यान्वयनमा क्रियाशील शक्तिले उच्चतम् समझदारी बनाएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

संविधान दिवस–२०७९ का अवसरमा आज शुभकामना सन्देश दिँदै उनले विवादलाई संवादमा रुपान्तरण गर्न, राष्ट्रिय एकता कायम गर्न र संविधानको निष्ठापूर्वक पालना गर्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।

सभामुख सापकोटाले संविधानमा लिपिबद्ध हकअधिकार कार्यान्वयनका लागि पहलकदमी लिइरहन सम्पूर्ण नेपाली नागरिकमा आग्रह गरेका छन् । नेपाली जनताको दशकौँ लामो अनवरत सङ्घर्षको परिणामका रुपमा प्राप्त भएको नेपालको संविधान लागू भएको सात वर्ष पूरा भएको जनाउँदै उहाँले संविधान जारी गरिएको यो विशेष दिनमा जनयुद्ध, जनआन्दोलन एवम् विभिन्न कालखण्डमा भएका सङ्घर्षमा जीवन अर्पण गर्ने सहिदप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

संविधान जारी भएपछि सङ्घीय संसद्, प्रतिनिधिसभाको पहिलो कार्यकाल पूरा हुने चरणमा रहेको जनाउँदै उनले भनेका छन्, 'यस अवधिमा संविधान रक्षाका लागि अनेक पहल पनि भए । हामीले लोकतन्त्रको संस्थागत विकासका लागि थुप्रै कार्यहरु सम्पादन पनि गरेका छौँ । संविधानमा मूलभूत लोकतान्त्रिक मूल्यमान्यता समेटिएका छन् । यसबीचमा भएका कमीकमजोरी सच्याएर आगामी दिनमा हुने थप अभ्यासबाट संविधान समृद्ध हुँदै जाने नै छ ।'

प्रकाशित : आश्विन ३, २०७९ ०७:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×